arrow

'महाकाली नदीमा पुल बन्न नदिन एमाले खुलेर लागेको छ' (अन्तर्वार्ता)  

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
ramesh_lekhak.jpg

कञ्चनपुर । मंसिर २१ गते देशका ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचन आउन अब ३ दिन मात्र छ । निर्वाचन नजिकिएसँगै कञ्चनपुरका राजनीतिक दल तथा तिनका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । सबै उम्मेदवारहरु आफ्नो पक्षमा मत बटुल्न आमसभा घरदैलो तथा चुनावी सभामा व्यस्त छन् । कञ्चनपुरका तीन वटै क्षेत्रमा उम्मेदवारहरु चुनावी एजेण्डा र घोषणा पत्र लिएर आफ्नो विजय यात्राका लागि संघर्षरत छन् । 

पहिलो चरण अन्र्तरगत ७ नम्बर प्रदेशका दार्चुला, बैतडी, बझाङ्ग र बाजुरामा मंसिर १० गते निर्वाचन सम्पन्न भईसकेको छ । कञ्चनपुरका उम्मेदवारले आ–आफ्नो पक्षमा मत तान्नका लागि गाउँ टोल तथा जनताको घरदैलोमा पुगिरहेका छन्  । उम्मेदवार र दलहरुले आ–आफ्ना राष्ट्रिय, प्रादेशिक एव स्थानीय चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुग्दै भोट मागि रहेका  छन् । 

जिल्लामा पनि राजनीतिक दलहरुले घरदैलो, कोण सभा, चुनावी सभा एव भेटघाटलाई चुनावी कार्यक्रम केन्द्रीत गरेका थिए । विस २०७२ सालमा जारी भएको नेपालको नयाँ संविधान कार्यान्वयनका लागि तीन चरणमा स्थानीय तह निर्वाचन पश्चात अर्को प्रदेश र प्रतिनिधी सभा निर्वाचनको हामी अन्तिम संघारमा छौँ । 

यसैबीच कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक पनि पनि आफ्नो चुनावी क्षेत्रका गाउँ बस्ती टोलमा भेटघाटलाई तीव्र पारेका छन् । लेखकले विद्यार्थी जीवनदेखि नै वि.सं २०३७ सालदेखि राजनीतिक यात्रा शुरु गरेका थिए । लेखक अहिले प्रतिनिधि सभा सदस्यका लागि चौथो पटक चुनावी मैदानमा उत्रेका छन् । 

लामो समयदेखि राजनीति समाजिक आन्दोलनमा होमिएका लेखक ७ नम्बर प्रदेशका अनुभवी, संघर्षशील, मेहनती, इमान्दार, कुसल बहुमुखी प्रतिभावका नेताका रुपमा जनतामाँझ परिचित छन् । उनलाई यस क्षेत्रमा बढिजसो जनताले मन्त्री ज्यू भनेर चिन्दछन् ।  नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सिद्धनाथ विज्ञान क्याम्पसको नेपाल विद्यार्थी संघको स्वतन्त्र विद्यार्थी यूनियनको सचिवदेखि राजनीतिक यात्रा थालेका लेखक आईएस्सी सकेर त्रिचन्द्र कलेज काठमाण्डौँ, भारत स्थित लखनौँमा नेपाली विद्यार्थी यूनियन गठन गरेर समेत नेपाली विद्यार्थीको हक हितका लागि संघर्ष गरे । 

अध्ययन सकेर गृह जिल्ला कञ्चनपुर आएका लेखक वि.सं २०४८ सालमा नेपाली काँग्रेस पार्टी कञ्चनपुरका सचिव भए । प्रथम पटक विस २०५६ सालमा चुनाव लडेका लेखकलाई पहिलो सफलता स्वरुप निर्वाचन जिते । जुन उनको जीवनका लागि राम्रो प्रेरणादायी स्रोत बन्यो । संसदीय निर्वाचन जितेपछि उनी एकिकृत महाकाली विकास सन्धी सञ्चार संयुक्त समितिको जिम्मेवारी पाए । वि.सं २०५८ सालमा कांग्रेसको सचेतक भएका लेखक २०६२÷०६३ को जनआन्दोलनमा नेपाली काँग्रेस प्रजातान्त्रिक समुहबाट आन्दोलन परिचालन समितिको सदस्य भई आन्दोलिनमा होमिए ।

दोस्रो जनआन्दोलनका क्रममा लेखक ३ महिना जेल परे । लेखक नेता मात्र नभई बहुमुखी प्रतिभाका धनीका रुपमा परिचित व्यक्तित्व हुन् । उनी कुनै दिन पत्रकार अधिवक्ता तथा प्राध्यापक थिए । यी सबै पेशा त्यागेर देश र जनताका लागि भन्दै उनी नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रामा होमिएका छन् । 

विस २०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सभाषद् भएका लेखकको शान्ति प्रकृयामा भूमिका निर्वाह गरे । विस्तृत शान्ति सम्झौता, अन्तरिक संविधानका उनको भूमिका थियो । वि.सं २०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट भारीमतले निर्वाचित भएका लेखक विस २०७४ मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । तेस्रो पटक संसदमा प्रतिनिधित्व गरेका लेखकको यो चौथो पटकको यात्रा हो ।

उनी चौथो पटकको संसदको यात्रामा सफल या असफल के हुन्छन्, त्यो जान्नको लागि भने निर्वाचनको मतपरिणाम नआउन्जेल कुर्नैपर्ने हुन्छ । तीन पटक लगातार संसदमा प्रतिनिधित्व गरेका लेखक श्रम राज्य मन्त्री हुँदै विस २०७३ सालमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री भएका थिए । मन्त्री हुँदा लेखकले यस क्षेत्रको विकास निर्माणमा भूमिका निर्वाह गरेका थिए । यस पटकको निर्वाचनमा काँग्रेसका तर्फबाट लेखक र संयुक्त वाम गठबन्धनका उम्मेदवार डा. दिपक भट्ट र विच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

३ नम्बर निर्वाचन क्षेत्रमा ४४ हजार ७८९ महिला र ४२ हजार ३३६ पुरुष गरी कुल  ८७ हजार १२५ मतदाता छन् । यी नै मतदाताले लेखक या भट्टको भाग्य रेखा कोर्ने छन् । निर्वाचनको प्रचार प्रसारमा होमिएका काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकसँग ईश्वर बडूले हाम्राकुरा डटकमका लागि गरेको कुराकानी :

तपाईको चुनावी प्रचार प्रसार कस्तो रह्यो ?
मेरो प्रचार प्रसारको गतिविधि राम्रै भएको छ । हालको निर्वाचनको क्षेत्र बढेको छ । चुनावमा जतिसुकै समय भएपनि कम हुँदो रहेछ । हरेक मतदाताको घरदैलोमा पुग्न पाए राम्रो हुन्थ्यो, तर म हरेक टोल, बस्ती, वडामा पुगिसकेको छु । तथापि पनि मैले सञ्चार माध्यमहरु एवं समाजिक संञ्जाल मार्फत मतदातासँग भोट मागिरहेको छु । सबै साथीभाइ एवं पार्टीका नेता कार्यकर्ताको साथले मेरो चुनाव प्रचार प्रसार अत्यन्त राम्रो रह्यो । 

मतदाताको घरघरमा पुग्दा यस क्षेत्रका मतदाताको रोझान कस्तो देख्नुभयो ?
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता अत्यन्तै चेतनशील बुझ्ने नागरिक छन् । काँग्रेसका पक्षमा जनलहर उत्पन्न भएको छ । जनता काँग्रेसलाई भोट हाल्न अत्यन्तै आतुर छन् । मैले यस निर्वाचन क्षेत्रका मतदाताको रोजाई काँग्रेस नै भएको पाए । जनता कहिले भोट हाल्ने दिन आउँदा भनेर पर्खिरहेका छन् । जनताले काँग्रेसलाई भोट हाल्छन् । रुखलार्इ भोट हाल्ने दिन पर्खिएर बसिरहेका छन् । काँग्रेसलार्इ २१ गते धेरै भन्दा धेरै मतदाताले मत दिन्छन् ।

तपार्इँको अभिव्यक्ति र हाउभाउले त चुनाव जित्नेमा ढुक्क जस्तै देखिनुहुन्छ । किन यति कन्फिडेन्ट ?

मेरो चुनाव जित्ने आधार थुप्रै छन्, त्यसैले पनि म अलिक कन्फिडेन्ट जस्तो देखिएको हुनसक्छ । मैले अघिल्लो चुनाव देखि अहिलेसम्म यस क्षेत्रमा गरेका कामका कारण मतदाताहरु म प्रति धेरै सकारात्मक हुनुहुँदो रहेछ । त्यसैले म खुशी छु । नेपाली जनताले नेपाली काँग्रेसलाई विश्वास गरेका छन् । राष्ट्रिय एजेण्डाहरु कांग्रेसले नेतृत्व नदिएमा सम्बोधन हुदैनन् भन्ने कुरा पनि जनताले बुझेका छन् । मात्र र काँग्रेस जनताबीचको कडी राम्रो छ । यो देशको हरेक राष्ट्रिय एजेण्डा काँग्रेसकै नेतृत्वमा पुरा भएका छन् । 

राष्ट्रिय मुख्य मुख्य एजेण्डा सम्बोधन गर्ने काँग्रेस पार्टी नै हो । काँग्रेसले नेतृत्व नलिँदा राष्ट्रिय एजेण्डा सम्बोधन हुन नसकेको जनताले मनन् गरेका छन् ।  देशमा शान्ति संविधान ल्याउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विगतमा एकातिर माओवादीले जनयुद्धमा हतियार उठायो, अर्कातिर सेनाले हतियार उठायो । 

दुवैका बन्दुकले जनता मारे । काँग्रेसले दुवै बन्दुककोबीचमा गएर उभियो । यो हिक्मत काँग्रेस बाहेक अरु पार्टीले गरेन । जुन बेला काँग्रेस सभापति स्वः गिरिजाप्रशाद कोइराला नेतृत्वमा शान्ति गर्दै थिए । एमाले हेर्दै थियो । अन्तरिक र संविधान बनाउने कुरा काँग्रेस नेतृत्वमै भयो । कम्युनिष्ट पार्टी संविधान सभामा ठूला भएर पनि केही गरेनन् । त्यसै कारण पहिलो संविधान सभा असफल भयो । कम्युनिष्टले संविधान सभा असफल बनाए । आफू पनि असफल भए । दोस्रो संविधान सभामा काँग्रेस ठुलो पार्टी बन्यो । संविधान पनि बनायो । यसले जनतामा विश्वास जगाएको छ । अर्काे कुरा विकास निर्माणको हो । काँग्रेसले जे जे विकास गर्न सकेको छ, त्यो अरु पार्टीले गर्न सकेका छैनन् ।  

आधा दशक भन्दा बढी समयमा तपाईँले सुदूरपश्चिममा के के गर्नुभयो ? जुन अहिले भोट माग्ने आधार बनोस् ।

अबको मेरो मुख्य एजेण्डा भनेको राजनीति विकास र विकास सम्बृद्धिका लागि नै हो । मैले यस क्षेत्रको बेरोजगारी, गरिबीबाट मुक्त गर्ने एउटै उपाय कञ्चनपुरलाई व्यवसायिक नाका बनाउने हो । कञ्चनपुरलाई नेपाल, भारत र चीनसँग जोडेर त्रिदेशीय नाका बनाउने मेरो मुख्य एजेण्डा हो । कञ्चनपुरलाई सजिलै भारतको राजधानी दिल्ली र उत्तरतिर महाकाली कोरिडोर हुँदै चीनको तिङकरसँग जोडेर यस क्षेत्रको आर्थिक विकासमा फड्को मार्ने र यहाँको गरिबी, अभाव र बेरोजगारी अन्त्य गरि आर्थिक सम्बृद्धि मेरो मुख्य योजना छ । प्रकृया अघि बढिसकेको छ । पुर्वाधार समेत बनिरहेका छन् । चार लेनको पुल त्यसलाई पूर्णता दिन सुक्खा बन्दरगाह बनाएर नेपाल भारत पारवाहन र सँगसँगै ब्रम्हेदबदेखि तिङकर जोड्ने त्रिदेशीय नाका बनाउने हो । 

५ वर्षभित्रै कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकसित गराएर देशकै ठुलो नाकाको रुपमा स्थापित गछौँ । आफ्नै पालामा महाकालीमा चार लेनपक्की पुल निर्माण हुँदैछ । विकासको कुरा गर्दा मलाई एउटा कुरा भन्न मन लाग्छ । एमालेले मलाई लेखकले १५÷१८ वर्षमा के ग¥र्याे ? भन्छन् । मलाई यो कुरामा खुसी लागेको छ । यस क्षेत्रमा भएका विकासका काममा मैले गरेको भनेर एमालेका नेता चुनाव लड्दैछन् । यदी विकास नभएको भएमा कसले विकास ग¥यो । रमेश लेखकले के ग¥यो ? भन्दा विकास नभएको एजेण्डा छैन् । महाकालीमा झोलुङ्गे पुल कसले बनायो । कहिले बनायो देखाउनुप¥यो । महाकाली जोगबुढा, कमिकाटे खोलामा पुगेका बजेट काँग्रेसले ल्याएको हो । मैले गरेको विकासका कामलाई एमालेले मैले गरेको हुँ भनेर चुनाव लड्दैछन् । विकास नै नभएको हो त ? महाकालीमा बनेको झोलुङ्गे पुल मैले नै बनाएको हुँ । 

चुनावका दौरानमा विकासमा मुद्दा उठेका छन् । मेरो सबैभन्दा महत्वपूर्ण योजना विकास हो । सुदूरपश्चिम विश्वविद्यालयको ऐन र सुप विश्वविद्यालयलाई मेरै पहलमा कञ्चनपुरमा स्थापना गरे । लडाई गरेर यो विश्वविद्यालय मैले नै यहाँ ल्याएको हुँ, अहिले सुप विश्वविद्यालयका १५ आंगिक क्याम्पस बनाउने छलफल गरेर निर्णय गराएको छु । यस्तै मेरो एजेण्डा महाकाली तेस्रो चरण हो । विकास र लोकतन्त्र रक्षाका लागि पनि आफुलाई जनताले भोट दिने मैले आशा लिएको छु ।

घरदैलोको क्रममा तपाईँले जनताको आवश्यकता के के देख्नु भयो ? 

हामीले जनताको अपेक्षा थुप्रै पाएका छौँ । जस्तै विकास, रोजगारी नै हो । जुन बस्तीमा गएपनि विकासै कुरा उठ्ने गरेको छ । जनताले विकास गर्ने काँग्रेस नै हो भनेर भन्दैछन् । जति पनि विकास भएको छ, त्यो काँग्रेसले गरेको जनतामा विश्वास छ । भोलिका दिनमा पनि विकासका लागि जनताले काँग्रेस रोजेका छन् । हाम्रो ईमान्दारिता लगनशिल र यस क्षेत्रको विकासका लागि निर्वाह गरेको भूमिका प्रति जनताले राम्रो टिप्पणी गरेका छन् । आफु मन्त्री हुँदा ३० बर्षकै बढि बजेट ल्याएर विकास गरेको छु । कुन पार्टीले यत्रो बजेट यहाँ ल्याएको छ । एकै बर्षमा ४२ पुल बनिरहेका छन् । म मन्त्री हुँदा पहिले एमाले अध्यक्ष केपी प्रधानमन्त्री थिए । उनले भीमदत्तक सडक कालोपत्रेका लागि ४ लाख २० हजार दिए । 

मैले ३० करोड ल्याएर भीमदत्तका सबै सडक कालोपत्रे गदैछु । यहाँको विकास केपी ओलीले गर्छकी मैले त्यो तपाई आफै बुझ्नुहोस ।  पक्की पुल निर्माण, नदी नियन्त्रण, सिँचाई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, आर्य घाट निर्माण, पर्यटकीय क्षेत्रको विकास गर्ने, सुकुमबासीलाई जग्गाधनी बनाउने मतदाताले हामीबाट अपेक्षा लिएका छन् । चुनावका दौरानमा जनताको घरदैलोमा पुग्दा जनता हामीप्रति आशावादी देखिएका छन् । जनताले हामीहरुसंग आफ्ना स्थानीय समस्या राखिरहेका छन् । जनताले अझैपनि सडक, विद्युत, खानेपानी, ढल निकास, खानेपानी, नदी नियन्त्रण, रोजगारीका विषय हाम्रा सामु राखिरहेका छन् । मैले सबै समस्या बुझ्दै समाधान गर्नेछु । 

पार्टी प्रति जनताको सोचाईमा पहिले र अहिले के फरक सोचाई पाउनु भयो ?

मुख्यतया राजनीतिकका लागि भोट हो । कञ्चनपुरको यो क्षेत्र लोकतन्त्र र काँग्रेसका पक्षमा छ । स्थानीयमा काँग्रेसले टिकट ढिला दिदा समस्या भयो । हामीले यस पटक टिकट चाँडै टुङगो लगाएर चुनावी मैदानमा उत्रेका छौँ । हाम्रो पक्षमा मतदान हुने टे«न्ड पाएका छौँ । पहिले भन्दा पनि अहिले काँग्रेसप्रति जनताको सोचाई धेरै सकारात्मक भएको पाएँ ।  

तपार्इँ महाकाली नदीमा चार लेनको पुल बनाउने कुरा गर्दैहुनुहुन्छ त्यसको ठेक्का पनि भएर निर्माण कार्य सुरु भएको बताउनुहुन्छ तर तपाईका प्रतिष्पर्धीले पुलको मोडेल परिवर्तन गर्नेकुरा गर्दैहुनुहुन्छ, यो विवादास्पद कुरा कसरी अघि बढ्ला ? 

महाकालीमा चारलेनको पुल बन्ने कार्य सुरु भईसकेको छ साढे ३ अर्बको लागतमा यो पुल बन्नेछ । महाकालीपुलको ठेक्का नहुँदासम्म एमालेले काँग्रेसले झुट्टा बोलिरहेको छ, भन्दै हाम्रा बिरुद्धमा अफवाह फैलाए । जब पुल ठेक्का भएर सम्झौता भएर बन्ने प्रक्रिया अघि बढ्यो अब पुल बन्न नदिन षड्यन्त्र भईरहेको छ । पुल बनेपछि काँग्रेसले जस लिने भन्दै एमालेले षड्यन्त्र गरिरहेको छ । 

ठेकेदारले काम गर्दा डिजाईन परिर्वतनका कुरा आए । त्यो सरासर पुल बन्न नदिने खेल हो । दोधाराचाँदनीका लागि शारदा नरहको कहाँबाट रेगुलेटर दिने भन्ने कुरा छलफलमा छ । सिँचाईका लागि ६ अर्ब बजेट चाहिन्छ, दुवै विषय टुङग्याउदैछौँ । केपी ओलीले चार लेनको पुल बनाएको भन्ने भ्रम कुरा हुन् । यो पुल शिलान्यास हुँदादेखि नै यसको विरोधमा एमाले भित्रभित्रै षड्यन्त्र गर्र्दै थियो । अब महाकालीमा पुल बन्न थालेपछि खुलेरै विरोधमा लागेको छ ।

पुलको शिलान्यास समेत भई काम सुरुवात भईसकेको अवस्थामा यसको डिजाईन परिवर्तन गर्नेकुरा पुल बन्न नदिने संकेत हो । यो एमालेको प्रायोजित षडयन्त्र हो । सर्वे भएर, लगत निकालेर, ठेक्का सम्झौता गरेर ठेकेदारले काम गर्न थालिसकेपछि प्रोजेक्टको डिजाइन परिवर्तन हुन सक्दैन । डिजाईन बदल्दा पनि एमालेका साथीहरुले त्यसमा नहर बनाउने कुरा गर्दैछन् । यसो गर्दा अहिलेको नक्सा तथा स्टमेट समेत फेरिन सक्छ, ‘म ब्रीज बनाउने कुरा गर्दैछु उनीहरु बैराज बनाउने कुरा गर्दैछन् ।’ ब्रीज र बैराज बनाउने काम फरक भएकाले अहिले बन्न लागेको पुलको पुरै नक्सा परिवर्तन गर्नुपर्दछ ।

यसो गर्दा सम्पूर्ण प्रक्रिया नयाँ तरिकाले जानुपर्ने हुन्छ जसका कारण अहिलेको बन्न लागेको पुलको काम रोकिन जान्छ । मेरा प्रतिस्पर्धीले एकातिर केपी ओलीले पुल बनाउने काम गरेको हो भन्नुहुन्छ अर्कातिर आफ्नै पार्टी सभापतिले स्वीकृत गरेको डिजाईन परिवर्तन गर्ने कुरा भ्रमपूर्ण हो । प्रायोजित र षडयन्त्रपूर्ण ढङ्गले यो योजनामाथि आक्रमण हुँदैछ । यस पुलको शिलान्यास भएदेखि नै एमाले यसको विरोधमा थियो त्यतिबेला पर्दा्भित्रबाट विरोध भईरहेको थियो तर अहिले एमाले पार्टी सामुन्ने आएर यो योजनाको विरुद्धमा लागेको छ ।     

अन्तमा मतदातालाई केही भन्नुहुन्छ ?

म आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुलाई शान्ति संविधान र विकासका निर्माणका लागि म र काँग्रेसलाई भोट दिन अनुरोध गर्दछु । यो देशलाई औद्योगिक एजेण्डा हो । त्यो एजेण्डा पुरा गर्ने म तत्पर छु । यस क्षेत्रको विकास र सम्बृद्धिका लागि म तयार छु । तसर्थ मलाई अमुल्य मतदिन अनुरोध गर्दछु । धन्यवाद
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ