काठमाडौँ । पछिल्लो समयमा स्थानीय बजारमा चलेको समानान्तर आर्थिक अभ्यास भन्दा धेरै पहिल्यै देखि अनौपचारिक प्रकृतिको आर्थिक क्रियाकलाप नेपाली उपभोक्ताको रोजाईमा पर्दै आएको विभिन्न अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनहरुले उल्लेख गरेको छन् । निर्वाहमुखि परम्परागत कृषि उपजको उत्पादनले जीवन चलाउँदै आएका अधिकांश उपभोक्ताको आर्थिक दैनिकी अनौपचारिक हुनु अस्वाभाविक पनि होइन । नेपालको भूगोलमा पाइने कच्चापदार्थबाट तयारी उत्पादन गर्ने औधोगिक संरचनाको शुरुवात नै नभएको मुलुकको आर्थिक क्रियाकलापलाई लगाईने गरेको यस्तो आरोप अस्वाभाविक हो भनेर प्रतिवाद गर्ने क्षमता राज्यसँग पनि छैन ।
राजनीतिक अस्थिरताको लामो यो अवधिमा देशको नीतिनिर्माणको तह विशेषतः राजनीतितन्त्र एवं कर्मचारीतन्त्रमा देशको औधोगिक विकास अन्तिम प्राथमिकतामा प¥यो । पुँजीवादी विश्व अर्थतन्त्रले निर्वाध उपभोगवादी संस्कृति पछ्याउँदै आएको छ । यस्तो संस्कृतिबाट जनस्तरमा आम उपभोक्ता प्रभावित छन् । यधपी, देशको घरयासी अर्थतन्त्र यस्तो अभ्यासलाई धान्ने क्षमतामा छैन । आर्थिक उपार्जनमा जस्तो सुकै पहुँच भएपनि मितव्ययी ढंगले खर्च गर्ने वित्तीय अनुशासन अपेक्षाकृत कमजोर छ ।
२१ खर्ब कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार भएको मुलुकमा ०७२ साल प्रारम्भ भएदेखि थपिएको अनपेक्षित प्राकृतिक र राजनैतिक विनासले झन्डै १२ खर्ब रुपैयाँको प्रत्यक्ष नोक्सानी पुर्याएको छ । यस्तो चौतर्फी प्रतिकुलतामा समेत नागरिकको धैर्यता गुमेको छैन । आर्थिक क्रियाकलापको अध्ययनमा रुचि राख्ने सवैलाई अहिले नेपालको पछिल्लो अवस्थाले आश्चर्यचकित तुल्याईदिएको छ । यति सानो अर्थतन्त्र भएको मुलुकले यो नोक्सानी थेग्ने क्षमता कसरी निर्माण ग¥यो ? खासमा नेपाली अर्थतन्त्रको मेरुदण्ड के रहेछ ? पुनः खोजि शुरु भएको छ ।
मेरुदण्ड कृषि कि रेमिट्यान्स ?
प्राचीन–पाषाणकाल र नव–पाषाणकालका वीचको विभेद छुट्याउने एकमात्र तथ्य भनेको खाध्य वनस्पतिलाई रोपेर उत्पादन गर्नु र पशुपालनको शुरुवात हुनु हो । कृषिको कारणले स्थायी ग्रामीण जीवन र शहरहरुको शुरुवात भयो । नव–पाषाणकालीन क्रान्ति कहाँ र कहिले प्रारम्भ भयो ? यसै भन्न नसकिए पनि समथर मैदानमा उत्पादन हुने उपजले ती गाउँ र शहर एक हदसम्म शान्त थिए र क्रान्ति अत्यन्तै विस्तारै सम्पन्न भयो ।
विश्व इतिहासमा संरक्षित यी तथ्यले समेत कृषि समस्त मानव जातिको पहुँचमा पुगेको एक परम्परागत पेशा हो । रेमिट्यान्स द्वितीय विश्व युद्वको आसपास वा त्यसको लगत्तै पछि बढ्ता प्रचलनमा आएको हो तर, नेपालमा अहिले प्रचलित लाहुरे संस्कृति यो भन्दा धेरै पुरानो मानिन्छ । यसर्थ प्राविधिक रुपमा रेमिट्यान्सलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड स्वीकार गर्न अप्ठ्यारो भएपनि स्थानीय स्तरमा मूलतः चल पुँजीको रुपमा यसको व्यापक प्रचलन अत्यन्तै पुरानो भइसकेको छ ।
गोपालाबंशी र महिषपालबंशी शासन व्यवस्थाको इतिहास सुरक्षित गरेको नेपालका लागि कृषि पेशा समस्त पेशामा जेठो मानिन्छ । लिच्छविकालीन शासक अंशुवर्मा ( ई.स. ६०५–६२१) खेतीपाती र पशुपालनको विकासमा जोड दिएका थिए । विज्ञान प्रविधिको यतिबिघ्न विकास भएको थिएन दिनभर खेतबारीमा समय व्यतित गर्नु, खाध्य उत्पादन रोप्नु र खर्कमा पशु चौपायाको चरिचरन गर्ने जस्ता कामसँग हाम्रो पुर्ख्यौली सम्बन्ध जोडिएको छ ।
यो पुँजीवादी विश्व अर्थतन्त्रमा समेत यो कर्मले विश्ववासीलाई नै छाडेको छैन । फरक यति हो निर्वाहमुखी कृषिलाई अहिले व्यवसायीकरण गर्ने कामको शुरुवात भएको छ । नेपालको हकमा कृषिको व्यवसायीकरण राष्ट्रिय प्राथमिकतामा नपरे पनि जनस्तरमा युवाले अन्तर्राष्ट्रिय बजारमा आर्जन गरेको रेमिट्यान्सलाई त्यहीं व्यवसायीकरणको मुख्य श्रोत बनाउँदै आएका छन् । झन्डै २५ प्रतिशतको हाराहारीमा रहेको गरिवी जनसंख्या झुण्डिने पेशा कृषि हो ।
विश्वलाई आश्चर्य चकित तुल्याउने पहिलो अन्तर्य यहिँ हो । राज्य पुग्न नसकेको ठाउँमा अन्य अध्ययता पुगेर कसरी खोजीनीति गर्ने ? सम्बत् ४० को दशकसम्म नेपालले नेपाली माटोमा उत्पादन हुने कच्चा कृषि उपज अन्तर्राष्ट्रिय बजारमा निर्यात गथ्र्योे । त्यतिखेर कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड मात्र थिएन जीविकोपार्जनको मुख्य श्रोत समेत थियो । कुल ग्राहस्थ उत्पादनमा एकतिहाई हिस्सा ओगटेको कृषिमा कुल जनसंख्या मध्य दुईतिहाई आश्रित थियो ।
देशमा व्याप्त गरिवीको न्यूनीकरणमा कृषिलाई त्यहीं अनुरुपको परिभाषामा समेटिएको थियो । पछिल्ला केहि वर्षदेखि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान घट्दो क्रममा छ । संयोग भनौं वा समयको माग वि.स. २०४२ मा प्रथम पटक वैदेशिक रोजगार ऐन जारि भएपछि आजसम्म खाध्यन्न निर्यात हुन सकेको छैन । खाध्यान्न निर्यात हुने ठाउँमा तिनै खाध्यान्न उत्पादन गर्ने उर्वर युवा निर्यात भएका छन् ।
तिनै युवाले अन्तर्राष्ट्रिय श्रम बजारमा आर्जन गर्ने रेमिट्यान्स अहिले नेपालका ६० प्रतिशत घरधुरीमा भित्रिन्छ । कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत हाराहारीमा आप्रवाह हुने रेमिट्यान्सले देश पनि ढुक्कटुक्क चलेको छ । विश्वलाई आश्चर्य चकित तुल्याउने दोस्रो अन्तर्य यहिँ हो । यस्तो अर्थतन्त्र भएको मुलुकमा परिक्षणकालमा रहेका कार्यकारी प्रमुखले समय तोकेर पाइपलाइनबाट ग्यास वितरण गर्ने र मुलुकलाई लोडसेडिङ मुक्त गर्ने कसम खाएका छन् । नेपाली अर्थतन्त्रको आकार बुझेका सर्वसाधारण र गहिराईमा पुगेर अध्ययन गर्ने क्षमता भएका अध्ययताहरुलाई आश्चर्य चकित तुल्याउने तेस्रो अन्तर्य यहिँ हो ।
निष्कर्ष
नागरिक स्तरमा एकापसमा झाँगिएको परम्परागत पारस्परिक सम्बन्धले समेत कतिपय आर्थिक व्यथाहरुलाई लुकाईदिएको छ । समाजमा विधमान कतिपय परम्परागत विनिमयका माध्यम छन् । एकापसको नाता–सम्बन्धमा जेलिएको समाजमा त्यस्ता परम्परागत संस्कार अप्ठ्यारोमा बढ्ता प्रयोग हुन्छन् । यस्तो सदभाव खण्डित तुल्याउने कतिपय प्रयासहरु नभएका होईनन् र हुँदै पनि छन् । समाजमा जरो गाडेर बसेको यस्तो संरचानाले झट्ट वास्तविकतालाई सतहमा ल्याउन दिँदैन् । यहीँ वास्तविकता भित्रको नागरिक सदभावले मेरुदण्ड विनाको दैनिक आर्थिक क्रियाकलापलाई धानेको छ ।
यस्तो प्रकृतिको आर्थिक क्रियाकलाप पूर्णतः अनौपचारिक हुन्छ । घरव्ययभार संचालनमा प्रयोग हुने यस्तो प्रणालीको सुविधालाई दुरुपयोग गर्ने गरि अहिले सानाठुला समानान्तर आर्थिक क्रियाकलाप संचालन भएका छन् । त्यस्तो क्रियाकलापमा संलग्न व्यक्तिलाई निगरानीमा लिने काम भएको छैन । समाज विरोधी क्रियाकलापबाट यसरी संचित हुने फ्रिजयोग्य धनलाई निरुत्साहित गर्ने जिम्मेवारीमा रहेको सरकार बिथ्यामा सपना बाड्न हिँडेर हाँसोको पात्र बनेको छ ।