arrow

प्रदेश ३ काे मुख्यमन्त्री मै हुँ : राजेन्द्र पाण्डे(अन्तर्वार्ता)

logo
हाम्रा कुरा
प्रकाशित २०७४ पुष ४ मंगलबार
rajendra_pandye1.JPG

प्रदेशसभामा बहुमत ल्याएको नेकपा एमालेले ३ नम्बर प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने निर्णय नहुँदै विवाद सुरु भएको छ । मुख्यतः पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र धादिङबाट निर्वाचित राजेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ । यसै विषयमा राजेन्द्र पाण्डेसँग गरेको कुराकानी–

० ३ नम्बर प्रदेशमा सरकार कस्तो बन्छ ?
– ३ नम्बर प्रदेशमा नेकपा एमाले एक्लै पूर्ण बहुमतमा छ । हामीले माओवादीसँग बाम गठबन्धन गरेर निर्वाचन लडेका छौं । मुलतः २ पार्टीको सरकार बन्छ ।

० बहुमत भए पनि एमाले एक्लैले सरकार बनाउँदैन ?
– हामी एक्लै सरकार बनाउँदैनौं, वाम गठबन्धनकै सरकार बन्छ ।

० मुख्यमन्त्रीको दाबेदार हो तपाईं ?
– हो, मुख्यमन्त्रीको उम्मेदवार मै हुँ । म चार पटक संसदको सदस्य भइसकेको व्यक्ति हुँ, सचेतक, प्रमुख सचेतक र मन्त्री भइसकेको, प्रशासनिक अनुभव पनि भएको र पार्टीको नेता पनि भइसकेको हुनाले यदि मैले मुख्यमन्त्रीको जिम्मेवारी पाएँ भने राम्रोसँग निर्वाह गर्न सक्छु ।
यो राजधानी प्रदेश पनि हो, नयाँ संरचना हो । नयाँ संरचनाको सुरुवात गर्ने मान्छेलाई धेरै चुनौति आउने छन् । धेरै मेहनत गरेर यो प्रदेशको काम स्थापित गर्नुपर्ने हुन्छ । यो प्रदेशले धेरै मामिला झेल्नुपर्छ । र, हामीसँग प्रशस्त सम्भावना छ । श्रोतलाई हामीले सदुपयोग गर्न सकेऔं भने विकास गर्न र जनतालाई सुविधा दिन सक्छौं । अब समृद्धिको अभियान सुरु गर्नुपर्छ । मगन्ते देशको रुपमा हामी परिचित छौं, हामीले आफ्नो श्रोत परिचालन गरेर विकास गर्न सक्यौं भने अरुलाई सहयोग गर्न सक्ने हुन्छौं ।

० तपाईंको इच्छा हो कि पार्टी पनि सकरात्मक छ ?
– अहिले पार्टीले निर्णय गरेको छैन, विभिन्न व्यक्तिले म इच्छुक छु भनिराखेका छन् । कतिपय नेतासँग म कहाँ उठ्नुपर्छ भनेर कुरा गर्दा ३ प्रदेशको मुख्यमन्त्री महत्वपूर्ण ठाउँ हो, तपाईंले राम्रो भूमिका खेल्न सक्नुहुन्छ, तपाईं उठ्दा हुन्छ भन्नुभएको छ । यो कुरा पार्टी अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्यलगायत धेरै नेताले तपाईं मुख्यमन्त्री बन्नुपर्छ भन्नुभएको छ ।

० अष्टलक्ष्मीले म निर्विवाद मुख्यमन्त्री भन्नुभएको छ ?
– ३ पटकसम्म मुख्यमन्त्री बन्ने व्यक्ति तपाईं हो भन्ने पहिलो व्यक्ति अष्टलक्ष्मी शाक्य हुन् ।

० ३ नम्बर प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी अरु पनि हुनुहुन्छ नि ?
– हुनुहुन्छ । इच्छा राख्न जसले पनि पाउँछ । पार्टीले निर्णय नगरेसम्म सबैको सम्भावना मात्र हो ।

० पार्टीले अरुलाई नै मुख्यमन्त्री बनायो भने सहयोग गर्नुहुन्छ ?
– सर्वसम्मत गर्ने हाम्रो प्रचलन हुन्छ, सर्वसम्मत भएन भने मेरो समर्थन कस्तो रहेछ भनेर उसले त्यो पनि हेर्न पाउँछ । ०७० को निर्वाचनपछि संसदीय दलको नेताका लागि झलनाथ खनाल र केपी ओलीबीच चुनाव भएको होइन र ? यी सबै विधि प्रयोग हुनसक्छ ।

० माओवादी केन्द्र र एमाले एउटै पार्टी बन्छ ?
– दुईवटा पार्टी मिल्ने भन्ने टुंगो भइसकेको छ । विवाद अन्त्यको मेकानिजम छ । पार्टीमा लाखौं कार्यकर्ता छन्, तर केन्द्रीय कमिटी यतिजनाको बनाउने भनेपछि सकेसम्म सर्वसम्मत नत्र निर्वाचनको विधिबाट टुंगोमा पुर्‍याइन्छ । दुईवटा फरक ढंगले संगठित भएका पार्टीहरु एक ठाउँमा जम्मा हुँदा केही समय अप्ठ्यारा हुन्छ नै, पार्टी नेतृत्वले इच्छाशक्ति देखाउन सक्दा विवाद समाधान भएर जान्छ ।

० प्रदेशमा सरकार बनाउने विषयमा माओवादीसँग छलफल भएको छ ?
– त्यस्तो केही छलफल भएको छैन । माओवादी केन्द्रले ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री माग्नुभएको छ । १ र ३ मा एमाले एक्लै बहुमतमा छ । २ नम्बरबाहेक अरुमा ३–३ सिट घटी छौं । हामी सरसल्लाहबाटै अगाडि बढ्छौं ।

० सरकार बन्नुअघि नै पार्टी एकता हुन्छ ?
– हुँदैन, पार्टी एकता अगाडि नै सरकार बन्छ । समयले पनि सरकार नै अघि बन्छ जस्तो लाग्छ मलाई ।

० पार्टी एकता र सरकारसँगसँगै भन्छ नि ?
– त्यो कोसिस गर्ने कुरा हो, तर दुईवटा पार्टीका बीचमा एकता गर्ने कुरा चाहिँ त्यत्ति सजिलो छैन, धेरै कुरा छन् । पार्टी एकता नभइ सरकार नबनाउने भन्ने कुरो हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ