arrow

सुवास नेम्वाङलाई दुई प्रश्न : पार्टी एकताको आधार के ?, माओवाद स्वीकार्नु हुन्छ ?

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
subash-chand-nembang.jpeg

काठमाडौं । एमाले स्थायी समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले अब पार्टी एकतामा कुनै शंका नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘माओवादीमा प्रचण्डले पार्टी त्रिशुलीमा विसर्जन गरायो भन्ने व्यक्तिगत विचारहरु उठेजस्तै एमालेमा पनि चुनावको बिचबिचमा पुग्दा समेत यो ठिक भएन भन्ने प्रश्न उठिरहेको थियो । तर, यी आफ्ना व्यक्तिगत धारणाहरुका बाबजुद संस्थागत रुपमा एमाले र माओवादी केन्द्रले के गर्‍यो ? यसका अध्यक्ष प्रचण्ड र केपी ओलीले के गरिराख्नु भएको छ ? प्रश्न भनेको त्यो हो । यसमा कही कतै अलिकति पनि विवाद रहेको छैन । हामी पार्टी एकतातर्फ अघि बढेका छौँ । अब अगाडि बढ्छौँ ।’

कुरा गर्ने क्रममा नेम्वाङले आफुहरु निर्वाचित मात्रै भएको र अहिलेसम्म सांसद भइनसकेको सुनाउँदै ‘हामीले निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई बधाई दियौँ तर, प्रधानमन्त्रीले अहिलेसम्म दिनु भएन’ –पनि भने । नेम्वाङले हामीले साेधेका दुई प्रश्नकाे भने घुमाउराे जवाफ दिएका छन् ।

पार्टी एकताको आधार के ?  
एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता हुने भनेर घोषणा भयो । घोषणा भएको दिनदेखि केही साथीभाईहरुलाई यो एकता मन परेको छैन । हामीले यो पूरानो परिपाटी भत्काउनलाई जनताको बिचमा यो लिएर गएर, हाम्रो घोषणापत्र समेत जनताबाट अनुमोदन गरायौँ । गठबन्धनलाई जनताबाट अनुमोदन गराएर हामी सरकार सञ्चालन गर्न चाहन्छौँ । हारेछौँ भने हामी प्रतिपक्ष भएर बस्ने छौँ, हामीले भन्यौँ । यो त राम्रो परिपाटी हो नि । संसारभरीको लोकतान्त्रिक परिपाटी हो । तर केही साथीहरुलाई मन परेन । त्यही कोणबाट त्यति बेला पनि उठेको थियो ।  कहाँबाट तालमेल गर्छन् ? यिनिहरु तालमेल गरेपनि सफल हुँदैनन् । त्यहीबाट उठिरहेको छ यिनिहरुको एकता हुँदैन । असम्भव छ आदी । म धेरै त्यतातिर जान चाहन्न । म यति निवेदन गर्न चाहन्छु–हामीले पार्टी एकताको घोषणा गरिरहँदा यो एकता आजैको दिनबाट सुरु भयो भनेर केन्द्रीय निर्देशन समिति बनायौँ । हाम्रा शीर्ष नेताहरु रहेको । त्यसैको निर्देशन बमोजिम हामीले चुनावमा तालमेलको घोषणा गरेका थियौँ । त्यो तालमेल गर्‍यौँ पनि । त्यो तालमेल अनुसार निर्वाचनमा वाम र देशभक्त प्रगतिशील गठबन्धन बनायौँ । त्यो भनेको हाम्रो पार्टी एकताकै कदम थियो । हामी त्यही अनुसार अगाडि बढेका थियौँ । हामीले त्यो व्यवहारमा उतार्‍यौँ ।

त्यतिमात्रै होइन हामीले दुई पार्टीको साझा घोषणापत्र जारी गर्‍यौँ गठबन्धनको तर्फबाट । त्यो जनताद्वारा अनुमोदित भयो । यो महत्वपूर्ण तथ्यलाई विर्सनु हुन्न । यो भनेको के हो भने, अब पाँच वर्ष हाम्रो गठबन्धनको चल्ने आधार भनेकै त्यही हाम्रो घोषणापत्र हो । जुन हामीले बनायौँ जनताले अनुमोदन गरे । भन्नुस् त अब हामी यता उति जान सक्छौँ अब । यो त जनताबाट अनुमोदित दस्तावेज हाम्रो हातमा छ  । पाँच वर्ष यसै बमोजिम चल्नु पर्छ । एक छिनलाई मान्नुस हामी छुट्टियौँ रे, अनि हामी कसरी चल्छौँ ? दुवै त्यही घोषणा बमोजिम चल्छौँ नि हैन र ? जनताले त अनुमोदन गरेको छ । यो त सामान्य कुरा हो । हामी अब एकतातर्फ अगाडि बढ्यौँ । त्यही अनुसार अहिले हामीबीचमा छलफल चलिरहेको छ । आवश्यक गृहकार्य गरिरहेका छौँ ।

अनि पार्टी एकता अगाडि कि सरकार गठन भनेर जाँदा केही साथीले यसैमा औंला घुसार्न खोजेको देखिन्छ । यिनिहरुको कुरा यहाँ मिलिरहेको छैन भनेर । यसले यो अगाडि भन्छ । यसले यो अगाडि भन्छ । तर, कुरा त्यो होइन । हाम्रा दुई अध्यक्षकोबीचमा र हाम्राबीचमा कुनै विवादै छैन । संविधान र कानून बमोजिम सरकार तत्काल निर्माण गर्ने कुरा हो । त्यो तत्काल निर्माण गर्ने प्रक्रिया अगाडि बढाउँछौँ र पार्टी एकताको कुरा पनि अगाडि बढाउँछौँ । यसमा एक अर्कासँग जोडिएका शर्त बन्दी छैनन् ।

‘माओवाद’ स्वीकार्नु हुन्छ ?
एउटा तप्का हिजो पनि थियो । एकताको घोषणा गर्दा प्रचण्डले एमालेमा विलय गरायो माओवादीलाई, त्रिशुलीमा लगेर विसर्जन गरायो पार्टीलाई भन्ने तप्का । यस्ता किसिमका विचारहरु, आफ्ना असन्तुष्टीहरु, दृष्टिकोणहरु सबैतिर हुन सक्छन् । एमालेमा पनि यो ठिक भएन भन्ने चुनावको बिचबिचमा पुग्दा समेत प्रश्न उठिरहेको थियो । तर, यी आफ्ना व्यक्तिगत धारणाहरुका बाबजुद संस्थागत रुपमा एमाले र माओवादी केन्द्रले के गर्‍यो ? यसका अध्यक्ष प्रचण्ड र केपी ओलीले के गरिराख्नु भएको छ ? प्रश्न भनेको त्यो हो । यसमा कही कतै अलिकति पनि विवाद रहेको छैन । हामी पार्टी एकतातर्फ अघि बढेका छौँ । अब अगाडि बढ्छौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ