arrow

अाेलीले प्रचण्डकाे लागि बाटाे खाली नगरेर हुन्छ ? : देवेन्द्र पाैडेल (अन्तर्वार्ता )

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
devendra_paudel.JPG

पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्ड निर्णय गर्नुपर्ने बाग्लुङबाट नवनिर्वाचित माओवादी केन्द्रका नेता देवेन्द्र पाैडेलले बताए । माओवादी केन्द्रको बैठकले समेत एमालेसँग सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको थियो । एमाले र माओवादी केन्द्रको पार्टी एकता कहाँ पुग्यो भन्ने विषयमा जनता नेता देवेन्द्र पाैडेलसँग गरिएकाे कुराकानी:

० केन्द्रीय समितिको बैठकमा के छलफल भयो ?
– ३–४ वटा विषयमा छलफल भयो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरेर सात प्रदेशको अस्थायी राजधानी र प्रदेशप्रमुख तोक्नेबारेमा राजनीतिक सहमति गरेर टुंगो लगाउँ, अन्यथा लिङ्गरिङ भयो भने जनमत निराशतिर फर्किन्छ । दोस्रो पार्टी एकताबारे नेकपा एमाले अध्यक्ष केपी ओलीसँग वान टु वान कुराकानी गरेर लगत्तैसंयोजन समितिको बैठक राखेर पार्टी एकताको प्रकृयालाई गति दिनुपर्छ भनेर छलफल भयो । निर्वाचनको क्रममा देखिएको कतिपय असन्तुष्टि, सहमति, असहमतिका बारेमा छानबिन गर्नुपर्ने थियो, त्यसका लागि कार्यदल बनाएर एक साताभित्र टुंगो लगाउन भन्ने भयो । पार्टी एकता, ध्रुवीकरणको पक्षमा आएका साथीहरुको जिम्मेवारीको टुंगो निर्वाचनको क्रममा लाग्न सकेको थिएन । त्यो जिम्मेवारी टुंग्याउनका निम्ति संगठनात्मक संरचनामा सेट गर्नलाई एउटा कार्यदल बनाउनुपर्छ । त्यो कार्यदलले सिफारिस गर्नुपर्छ । समग्र राजनीतिक परिस्थितिको बारेमा छलफल भयो । अध्यक्ष प्रचण्डले यो परिस्थितिलाई यसरी सम्हाल्नुपर्छ भनेर ब्रिफिङ गर्नुभयो ।

० संगठन व्यवस्थापनमा अध्यक्षले बढी नै जोड दिनुभएको हो ?
– पार्टी एकता भनेर जनताका माँझमा बोलिसकेको हुनाले यसबाट हामी दायाँबाया गर्न मिल्दैन । यसमा दुईवटा विषय सम्बन्धित छन् । आधारभूत विचार के लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा ठोस रुपमा आउनुपर्छ । दुईवटै पार्टीको संस्थागत संरचना माथिको खाकालाई कसरी टुंगो लगाउँछौं भन्ने संगठनात्मक विषय टुंग्याउनुपर्छ । यो दुईवटा कुरा टुंगोमा पुर्‍याएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो ।

० छलफल अहिलेसम्म पदीय फाँडफाँडमै छ ?
– पदीय भन्ने कुरा बाहिर आयो, संगठनात्मक व्यवस्थापनको पाटो हो, स्वभाविक रुपमा दुई पार्टी एकै ठाउँमा आउने भनेपछि तत्कालको संरचना, मुख्य नेताहरुको व्यवस्थापन, सरकार र पार्टीको नेतृत्व कसरी सम्हाल्ने, कसरी जिम्मेवारी बाँडफाँड गर्ने भन्ने कुरा स्वभाविक रुपमा एकता भन्नेवित्तिकै जोडिएर आउने विषय हो । एमाले अध्यक्ष ओलीसँग भेटेर पार्टी एकताको विषय टुंगोमा पुर्‍याउनु होस् भनेर हामीले भनेका छौं ।

० तपाईंको अध्यक्षलाई प्रधानमन्त्री वा पार्टी नेतृत्वमध्ये एउटा पद चाहियो ?
– प्रधानमन्त्री वा पार्टीको नेतृत्वमध्ये एक पद हाम्रा अध्यक्षलाई चाहिन्छ भन्ने निर्णय पार्टीको हो । म पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा छु । पार्टी एकता भनेको एउटा पार्टी अर्कोमा प्रवेश होइन, एकले अर्कोको अस्तित्व ग्रहण गरेर दुई पार्टीबीचमा सम्मानजनक मर्जको रुपमा बुझ्नुपर्छ ।

० दुई पार्टीको अध्यक्षको व्यवस्थापन चुनौतिपूर्ण भयो होइन ?
– मुख्य चुनौति यो मात्र होइन, मुख्य कुरा आधारभूत विचार हो । संविधानको प्रस्तावनामा लेखिएको नेपाली जनताको स्वामित्व र अपनत्व प्रकृतिको समाजवादउन्मुख राज्यप्रणाली ल्याउने त्यसका निम्त एउटा सशक्त प्रगतिशील पार्टीको आवश्यकता भएको हुनाले हामी अलग अलग ठाउँमा रहनुभन्दा एउटै पार्टी बनाएर जाऔं भन्ने कुरा प्रमुख र वैचारिक कुरा मुख्य हो । वैचारिक विषयलाई कार्यान्वयनका निम्ति संगठन, प्रणाली र सिस्टमको आवश्यकता हुन्छ, यसलाई सम्बोधनका निम्ति पहिलो सर्त भनेको मुख्य नेताहरुको व्यवस्थापन र तल्लो तहका कार्यकर्ताको व्यवस्थापन र समायोजन हो ।

० पार्टी एकताबारे दुवै अध्यक्षहरु मौन छन् नि ?
– एकता जसरी पनि हुनुपर्छ भनेर हामी दोस्रो तेस्रो तहका साथीहरु पनि गम्भीर छलफलमै छौं । सबैले स्वामित्व र अपनत्व ग्रहण गर्ने एकता हुनुपर्छ । लगत्तै पछि एउटा समूहले अर्को पक्षलाई हेप्यो वा उपेक्षा गर्‍यो भन्ने म्यासेज जानसक्छ । एकता हुनेवित्तिकै नकरात्मक विषय आउनसक्छ । त्यस्तो विषय नआउनका निम्ति हामीले सम्मानजनक एकताको पक्षमा छौं ।

मैले बुझेअनुसार मसँग छलफल गरेका एमालेका साथीहरुले एउटै व्यक्तिलाई सबै नेतृत्व दियौं भन्नुभएको छैन । अनौपचारिक रुपमा चलेका कुरा हुन् । दुई नेताको संघन छलफलका लागि हामीले वातावरण बनाउनुपर्छ । कहाँ समस्या परेको, के गर्दा सहज वातावरण हुन्छ । कुन समस्याको गाँठो फुकाइदियो भने एकताका लागि सहज हुन्छ । के गर्दा हुन्छ भनेर हामीले छलफल चलाएका हौं ।

० ओलीलाई प्रधानमन्त्री दिए, प्रचण्डलाई पार्टी अध्यक्ष दिने अडान नछाड्ने हो ?
– यो चाहिँ छलफल चलेको हो । हामी सबै पार्टी एकताको पक्षमा छौं । एमाले अध्यक्ष ओलीको भूमिका महत्वपूर्ण छ । पार्टी एकतासँगसँगै उहाँको इच्छा, रुचि र चाहना के हो, त्यहीअनुरुपको नेतृत्व सम्हाल्नुपर्छ । उहाँले सरकार वा पार्टीको नेतृत्वमध्ये एउटा लिनुपर्छ । दुवै लिन्छु भन्नु वस्तुवादी हुँदैन । उहाँले पार्टी एकताको पक्षमा बोल्ड डिसिजन गर्नुपर्छ । त्यसो गर्दा प्रचण्डका लागि बाटो खाली गर्दिनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ