- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । समाजवादलाई यस्तो टोपको संज्ञा दिइएको थियो जुन टोप आ–आफ्नै प्रकारले सबैले लगाउन चाहन्छन् । विश्वमा जतिसुकै अन्याय गरे पनि, बेइमानी गरे पनि, तानाशाही व्यवस्था लादेपनि, जनताको रगतको होली खेले पनि, राजनीतिज्ञहरू समाजवादको नाउँले पवित्र बन्न चाहेको पाइन्छ ।
सद्दाम हुसैनको बाथ समाजवादी पार्टी थियो तर उनले विरोधीहरू मूलतः कम्युनिष्टहरू, अन्य समुदायका मानिसहरू र साना र कमजोर छिमेकीहरूलाई देखि सहेनन्, क्वाप्पै खाए र खान खोजे । बर्मामा पनि समाजवादी पार्टी सत्तामा छ तर समाजवाद र लोकतन्त्रको पक्षधर नेतृ आङ सान सुकी सताइएकी छिन् । चाउचेस्कुले आफ्ना गतल कामको विरोध गर्नेलाई आफ्नै माटोमा नै मिलाएका थिए । उनी यति भ्रष्ट थिए कि सत्ता र सुख सयल उनको एवं परिवार र आफन्तहरूको मात्र पेवा थियो । कम्युनिष्ट भएका हुँदा उनी आफूलाई समाजवादी भन्थे । उनी मारिनुभन्दा पहिला विश्वभरका कम्युनिष्टका श्रद्धाका केन्द्र थिए।
साँच्चै नै एकदलीय व्यवस्थामा भएको अन्याय त्यो अवस्थाको अन्त्य भएपछि मात्र देख्न सकिने रहेछ जुन चाउचेस्कुको देशमा समेत भयो । वुद्धिजीवीहरूको विवेकपूर्ण चेतनाको लागि यो वैचारिक सौगात हो । पूर्वी जर्मनीमा एरिक होनेकरले विरोधीहरूलाई सखापै पार्थे । स्टालीनले त सत्ताको लागि विरोधीहरूलाई त मारे मारे लेनिनलाई समेत अन्याय गरेका हुन् भन्ने गरिन्छ । रुस र पूर्वी यूरोपमा तानाशाही व्यवस्था स्थापना गर्नका लागि करोडौं मानिसहरूको हत्या भयो । त्यो झुण्डले गरेको आमहत्या हिट्लरी आमहत्याभन्दा धेरै बढी थियो । फरक यति मात्र हो कि हिटलरसँग त्यो बदनामी छोप्ने धोती थिएन, उ तिरस्कृत भयो र हुनु पनि पर्ने थियो तर अन्य तानाशाहीहरूसँग अन्याय लुकाउने, जनतालाई दुःख दिने, जनताको नाउँमा मोज मस्ती गर्ने तर लुक्ने र लुकाउने धोती थियो अर्थात् सिद्धान्तको धोती ।
परिवेश वा महानता भनौं– मिखाइल गोर्वाचोभ, बोरिक यल्त्सिन, भ्यादिमीर पुटिन आदि जस्ता महान नेता र चेतनशील वृद्धिजीवी एवं श्रमिकहरू त्यो अन्धकारबाट मुक्त हुनुभयो र रुसी तथा पूर्वी युरोपेली जनताहरूलाई मुक्त गराउनु भयो । परोक्ष रूपमा सम्पूर्ण दुनियाँलाई तानाशाही व्यवस्था जति नराम्रो अनुमान गरिएको हुन्छ त्यो भन्दा धेरै नराम्रो हुन्छ भन्ने देखाइदिन सफल हुनुभयो । उहाँहरू धन्य हुनुहुन्छ ।
समाजवादको नाउँमा चलेको तानाशाही व्यवस्थाको अन्त्यले भ्रमको रूपमा भए पनि कम्युनिष्टले समानता दिन्छ भन्ने विश्वास दिलाइएकाहरू अप्ठेरोमा परेका छन् । कम्युनिष्टले लिने ठाउँ उग्रवादीहरू, जातिय संघहरू, धार्मिक अतिवादीहरू समेतले लिन थालेका छन् ।
वास्तविक समानता दिने राजनैतिक सोच समाजवाद हो, जुन समाजवादले लोकतन्त्र र आर्थिक समानतालाई आफ्नो प्रमुख एजेण्डा बनाउँछ भन्ने तथ्य व्यवस्थित तथा संगठित रूपमा संचार समेतको माध्यमद्धारा अगाडि बढाउन सकिएको छैन । भ्रम र निराशालाई तोडेर सर्वहारा र गरीब वर्गलाई वास्तविक मुक्तिको अनुभूति दिन समाजवादीहरू अगाडि बढ्ने अवसर पनि आएको छ ।
कम्युनिष्टहरूले मानव विकासको क्रममा पहिलो पटक प्रत्यक्ष वा परोक्ष रूपमा स्वभाविक मानव विकासलाई अवरुद्ध गरेकोमा अब द्रुत गति दिने काम समाजवादीहरूको हुनुपर्छ । अतिवादीहरूलाई परास्त गर्ने जिम्मेवारी समाजवादीहरूको हो । यो चुनौती र अवसरलाई बुझेर समाजवादीहरू व्यवस्थित रूपमा अगाडि बढ्न सकेमा कम्युनिष्टहरूको पतनपछिको खाली ठाउँ भर्न सकिनेछ । तथा गैर सैद्धान्तिक एवं गैर मानवीय उन्माद र आतंकहरूलाई रोक्न सकिनेछ । अनि समुन्नत समाजका लागि अगाडि बढ्न सकिनेछ ।
समाजवादलाई वास्तविक निमुखाहरूको आवाज हो भन्ने विश्वास दिलाउन यसभन्दा पहिला कम्युनिष्टहरूले एकदलीय व्यवस्थामा आधारित व्यवस्थालाई प्रयोग गरेका थिए । यो व्यवस्था एकदलीयताको कारणले समाजवाद होइन जनताको सम्पत्ति नेताहरूले ब्रम्हलुट गर्ने राज्य पूँजीवादी व्यवस्थामा परिणत भयो । तसर्थ जनतालाई समता दिने तर दिन नसकेमा जनताले सजाय गर्न पाउने परिपाटीको सार्थकतालाई प्रष्ट गर्न सक्नुपर्छ ।
(लेखक पराजुली नेपाली काँग्रेसका नेता हुन। )