- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युवा वर्ग समाजको सबैभन्दा उर्जायुक्त र धेरै सम्भावना भएका शक्ति हो । युवा वर्गको सहकार्य र सकारात्मक सोच एवं व्यवहारले समाजलाई गति दिन सक्छ । अर्को शब्दमा त्यसलाई विकास भन्न सकिन्छ । युवा वर्गलाई एउटा बन्दुकसँग तुलना गर्न सकिन्छ– जुन बन्दुक प्रहरीको हातमा पर्दा न्यायको पक्षमा काम गर्छ र ज्यानमाराको हातमा पर्दा उसले जघन्य अपराध गरिरहेको हुन्छ । वैचारिक रूपमा सद्विचारबाट विभुषित युवा र गलत विचार र संगठनबाट प्रभावित युवाको तुलना गर्दा भयावह रूपमा भिन्नता देख्न सकिन्छ ।
एउटा युवकले सपनामा आफ्नो धर्म अनुसारको आस्था केन्द्रले आफ्ना छोराहरूलाई मार्दा धर्म हुन्छ र बच्चाहरूको पनि कल्याण हुन्छ भनेको हुँदा ५ वर्षभन्दा कम उमेरका दुईवटा सन्तालाई काटेर मारेछन् । यो दुर्घटना १४-१५ वर्ष पहिले बंगलादेशमा भएको थियो । भारतीय एक महिलाले आफ्नो पतिको मृत्युपछि तुरुन्तै आत्महत्या गरिछन् । मृत्युपछि पति र उनी सँगै बस्न पाइन्छ भन्ने विश्वास उनमा रहेछ । धेरै पहिला भियतनाममा अमेरिका नराम्रो हो भन्ने भावना यति बढी फैलाइएको रहेछ कि, कतिपय भियतनामीहरू अमेरीकीहरूको विरुद्धमा जे गर्न पनि तयार भएछन् । तर, अहिले अमेरिकाले ठीक गरेको रहेछ भन्ने उनीहरूलाई आभाष भएको तथ्य उनीहरू अमेरिकासँग सम्बन्ध राख्न उत्सुक भएबाट र उनीहरूको आफ्नो विचारले देशलाई माथि पुर्याउन नसकेबाट सायद प्रष्ट भएको छ ।
यी उदाहरणहरूको संकेत कता हो भने मानिसलाई बच्चा वा युवा अवस्थामा असम्भव, परिणाम अत्यन्त नराम्रो आउने खालका विचारहरू पनि आकर्षक रूपमा काल्पनिक मीठा तर्कहरूका आधारमा राम्रा छन् भनेर विश्वास दिलाउन सकिन्छ । त्यो विश्वासलाई बारम्बार विभिन्न तरिकाबाट दोहार्याउने काम भएपछि नयाँ मस्तिष्क परिवर्तित हुन्छ, उ त्यसैको अन्धभक्त हुन्छ र अनावश्यक बलिदानको लागि समाजलाई आर्थिक र शारीरिक समेतका हानी हुने विभिन्न कार्य गर्न उ उत्प्रेरित हुन पुग्छ ।
सम्भवतः धार्मिक अन्धविश्वास र राजनैतिक असहष्णिुताको कारणले विश्वमा सबैभन्दा बढी विवाद, झगडा र हत्या भएका होलान् । यसको प्रमुख कारण विषयुक्त वैचारिक खुराक नै हो । यसबाट मुक्त गर्न सक्नु सबैभन्दा पहिलो आवश्यकता हो । मानवलाई नकारात्मक सोचबाट अलग राख्न सक्नु निष्पक्षता अर्थात् विवेकशील रूपमा मानिसलाई तयार राख्नु र राम्रा संभावनाहरूलाई मानवीय विवेकका आधारमा स्वीकार गर्न सक्नु आजको आवश्यकता हो । युवाको लागि यो सबैभन्दा महत्वपूर्ण छ । किनभने युवाले गलत सोच लिएमा सबैभन्दा बढी गल्ति गर्न सक्छ र राम्रो सोच लिएमा सबैभन्दा बढी उपयोगी र सिर्जनशील बन्न सक्छ ।
युवा वर्ग र राजनीति
युवाको परिभाषा अत्यन्त विवादास्पद छ । युवा अवस्था कतै १६ वर्षबाट शुरु हुन्छ भने कतै १८, २०, २१ वर्ष आदिलाई मानिएको छ । त्यस्तै युवा अवस्थाको अन्त्य ४०, ४५ वा ६० कति वर्षमा हुने हो भन्ने विषयमा पनि एकता छैन । हरेक मानिसमा रहेका अलग अलग शारीरिक र मानसिक अवस्थाले युवा अवस्थाको अलग अलग अवधि निर्धारण गर्छ भन्न पनि सकिन्छ । राजनेता विश्वेश्वरप्रसाद कोइरालाले युवा उमेरको कारणले भन्दा उससँग भएको सुझबुझपूर्ण उत्साह र क्रियाशीलताको आधारमा मानिन्छ भन्ने संकेत गरेका छन् । अर्थात् सिक्ने र व्यवहारमा खरो रूपमा लागू गर्ने, सधैं जागरुक र उत्साही रहने एवम् आफ्नो त्यो जुझारुपनलाई समानता, विकास जस्ता सकारात्मक क्षेत्रमा लगाउने जुन अत्यधिक तीव्रता जीवनमा हुन्छ त्यो अवस्थालाई नै युवा अवस्था हो भन्ने मान्नु पर्ने हुन्छ ।
कहिलेकाँही पूर्व परिभाषाले युवाको परिभाषालाई नै अप्ठेरोमा पारेको हुन्छ । नेपालमा काँग्रेसमा २०१७ सालमा लोकतन्त्र स्थापनामा परिपक्क भैनसकेका तर २०१७ सालपछि लोकतान्त्रिक संघर्षमा सक्रिय हुँदै आएको पुस्तालाई युवा पुस्ता भन्ने गरिएको पाइन्छ । अब आएर त्यस पुस्ताका नेताहरूले ६०-६५ वर्ष पार गरिसकेपछि पनि दोस्रो पुस्ता र युवा पुस्ता त्यसै पुस्तालाई पनि भन्ने गरिन्छ । यस्तो अवस्था भारत तथा चीनमा पनि पाइन्छ । भारत र चीन दुवै देशमा उनीहरूको वर्तमान व्यवस्था र अवस्था ल्याउने समयमा परिपक्व भैनसकेका र पछि राजनीतिमा स्थापित भएका नेताहरूलाई युवा पुस्ताका नेता भन्ने गरिन्छ । यद्यपि उनीहरू पनि ६० वर्षभन्दा माथिका छन् । पश्चिमी राष्ट्रहरूमा क्रान्तिको कुनै लक्ष्मण रेखा त्यति प्रष्ट नभएको हुँदा ६० वर्षभन्दा कम उमेरकाहरूलाई युवा भन्ने गरेको प्रायः पाइन्छ ।
मूलभूत रूपमा युवा भन्नाले शारीरिक र मानसिक रूपमा बढी सक्रिय भएको अवस्थालाई मान्नुपर्छ । शुरु अवस्थाको युवा सिक्दै, सिकाईलाई व्यवहारमा लागू गर्दै शारीरिक दौडधुप र परिश्रमलाई स्वभाविक मान्दै अगाडि बढेको हुन्छ र क्रमशः उ परिपक्व बन्दै गएर वैचारिक रूपमा धेरै हदसम्म पूर्ण परिपक्व र शारीरिक रूपमा उत्साहित अवस्थामा रहन्छ । वैचारिक परिपक्वता र शारीरिक रूपमा उर्जायुक्त अवस्था नै देश र समाजका लागि सबैभन्दा अहं समय हो । देश र समाजका लागि धेरै गर्न सक्ने बेलामा स्वभावैले राजनीतिमा पनि सकारात्मक सोच भएको अवस्थामा अवश्य पनि युवाको भूमिका महत्वपूर्ण रहन्छ ।
दुनियाँमा समाजलाई सबैभन्दा बढी प्रभाव पार्ने मानव कार्य राजनीति नै भएको छ र हो पनि । वाष्पयन्त्रको आविष्कार, घीर्नी आदिको आविष्कार तथा नून, चिनी, पानीको औषधियुक्त प्रयोगले मानव जातिलाई विकसित हुने बाटो खोलेको छ तथा स्वास्थ्यमा ठूलो फड्को मारेको छ । मानिसहरूलाई भने ती वस्तुको आविष्कारहरूको नाउँभन्दा सयौँ गुना बढी विश्वमा नाम चलेका राजनेताहरूका बारेमा जानकारी छ । भन्न खोजिएको कुरा के हो भने राजनीति आफैंमा महत्वपूर्ण छ । यसले राम्रा कुराहरूलाई व्यवस्थित गर्न सक्छ र राम्रा सोचहरू आउने र संरक्षण गर्ने र समग्र समाजलाई अग्रगति दिन सक्छ ।
यसका साथै हिटलर, चाउचेस्कु, पोलपोट आदिले राजनीतिको एकपक्षीय उग्र र अमानवीय प्रयोगबाट विश्वलाई नै अपूरणीय क्षति पुर्याउन पनि सक्दछन् । उनीहरूले ठूलो जनसमुदायलाई अन्यायको रक्षा गर्ने र व्रेनवास भएको रिमोट कन्ट्रोल, दलाल वा रोवोट बनाउन सक्छन् । यो विडम्बनाबाट पाठ लिएर राजनीतिले राम्रोको लागि र सम्भावित नराम्रोको विपक्षमा वा भएका नराम्राहरूका विपक्षमा काम गर्ने र जनमत तयार गर्ने काम गर्न सक्नुपर्छ । यो पक्ष वैचारिक मात्र होइन व्यवहारिक इमान्दारीबाट पनि परिभाषित हुन्छ, हुनुपर्छ । संसारै हाँक्ने राजनैतिक दुनियाँलाई दृढ निश्चयी, इमान्दार र विवेकशील जत्थाको आवश्यकता छ । युवा वर्ग त्यसैको लागि हो जुन वर्गले आफूले रोपेको विरुवाको फलको स्वरूप आफैंले अनुभूत गर्न सक्छ ।
राजनीतिको लक्ष्य र युवा
राजनीति के हो र राजनीतिको लक्ष्य के हो ? भन्ने बारेमा बारम्बार विभिन्न सैद्धान्तिक र व्यवहारिक अडान देखिने कारणले विविधता भएको महसुस हुन्छ । राजनीति भनेको साम्यवाद, समाजवाद, पूँजीवाद, गान्धीवाद आदिको प्रयोग होइन । मूलभूत रूपमा राजनीतिका लक्ष्य भनेको त समाज वा राष्ट्र वा दुनियाँको हितका लागि समानता र विकासका लागि निश्चित लक्ष्य सहित समाजलाई नै साथ लिएर अगाडि बढ्ने र राज्य संचालनमा भूमिका खेल्ने प्रक्रिया वा माध्यम हो । वादहरू त राजनीतिको लक्ष्यका बाटाहरू मात्र हुन् । समाजमा अहिले राजनीतिको लक्ष्य वाद भएको छ । वाद बाटो भएको जस्तो अनुभूति हुन छोड्दैछ ।
एकातिर हामी लोकतन्त्रको कुरा गर्छो, अर्कोतर्फ हामी विपक्षीहरूप्रति असहिष्णु छौं । लोकतन्त्र र विपक्षीहरूप्रतिको असहिष्णुता एक साथ जान सक्दैनन् । यो भावनाको विकास युवामा आवश्यक छ । कुनै पनि दलका नेताहरूले युवाहरूलाई एकोहोरो बनाएर आफ्नो लक्ष्य पूरा गर्न सक्लान् । आफ्ना अन्धभक्त र रक्षक बनाउन सक्लान् तर ती युवाहरूले स्वतन्त्र रूपमा वस्तु र विचार लिने र विश्लेषण गर्ने क्षमता गुमाएका हुन्छन् । यो भन्दा ठूलो विडम्बना केही हुँदैन । युवाहरूमा कुनै पनि दलमा लाग्नुभन्दा पहिला वस्तु र विचारप्रति निष्पक्ष रूपमा विश्लेषण गर्ने क्षमताको विकास आवश्यक छ । विश्लेषणको तरिका, विश्लेषणको आवश्यकता, निष्पक्ष सोचको आवश्यकता र त्यसबाट प्राप्त हुने वास्तविक र उपयोगी आनन्दको अनुभूति लिन सक्ने शिक्षा युवाहरूमा आवश्यक छ ।
युवालाई राजनीतिको लक्ष्य र अधिकतम् एकता तथा लक्ष्य प्राप्तिका लागि सबैभन्दा बढी सकारात्मक हुनुपर्ने दीक्षाको आवश्यकता छ । लक्ष्य वाद होइन, लक्ष्य त अधिकतम समानता र विकास हो । त्यसका लागि न्यूनतम शुरुवात, साझा न्यूनतम कार्यक्रमको मूल्यांकन र कार्यान्वयन नै हो । आज विश्वमा कुनै वाद पनि पूर्ण सफल र पूर्ण असफल छैन बरु जतिसुकै राम्रो र समानताको सिद्धान्त लिएको र अरुलाई नराम्रो भन्ने गरेको भए पनि एकदलीय तानाशाही व्यवस्था अन्ततोगत्वा असफल भएको छ, वाध्यतावश व्यवहारमा परिवर्तन गर्नुपरेको छ तथा व्यक्तिगत सत्तालिप्सामा आधारित विकास विरोधी र जनविरोधी व्यवस्थाको रूपमा मात्र परिणत भएको पाइन्छ एकदलीय तानाशाही व्यवस्था ।
यसतर्फ मनन् गरी जुनसुकै सिद्धान्तका भए पनि अविचलित दलीय व्यवस्था, मताधिकार, जनतामा सार्वभौमिकता र दलहरूप्रति अविचलित समान व्यवहार हुने पद्धति सबैको साझा अवधारणा हो भन्ने भावनाको परिष्कृत सोच आजको आवश्यकता हो । युवाहरूमा यसबारे प्रष्ट र व्यापक सोच आवश्यक छ । तथा यी न्यूनतम आधारप्रति समर्थन र विश्वास भएपछि मात्र युवा वर्ग राजनीतितर्फ क्रियाशील भएमा उनीहरूले समाज वा राष्ट्रलाई सही दिशा दिन सक्ने हुन्छन् भन्नु स्वभाविक हुन जान्छ ।
यस सन्दर्भमा बी.पी. कोइरालाले भनेका छन् – ‘‘समाजका अरु तत्व र वर्गभन्दा बढी तरुण वर्गमा आदर्श भावना, नैतिकता, लोकतान्त्रिक अनुशासनवद्धता, त्याग, सक्रियता, निर्भिकताको आवश्यकता छ ।’’ राजनीतिको लक्ष्य र बाटो बीचको भिन्नताको प्रष्टता विवेकपूर्ण किसिमले खिच्न सक्नुपर्छ । लक्ष्य अपरिवर्तनीय हुन सक्छ तर बाटो परिवर्तन हुन सक्छ । बाटोले समय, परिस्थिति र प्रविधिलाई समेट्छ भने लक्ष्य वादभन्दा पर मनले कल्पना गरेको सुसभ्य, सुसंस्कृत, विकसित र न्यायपुर्ण हुन्छ जुन अवस्थाले वाद र विचारसँग सम्बन्ध राख्दैन । युवालाई प्रथमतः लक्ष्यप्रति विवेकपूर्ण रूपमा समर्पित गराउनुपर्छ, पद्धतिलाई त्यसपछि राख्नुपर्छ । यसो भएमा सचेत र संघर्षशील भएको प्रष्ट हुन पुग्छ । राजनीतिलाई व्यापक जनचासो र जन परिचालनको विषय बनाउन युवाको भूमिका स्वभावैले अहं छ ।
राजनीतिमा युवा वर्गको प्रवेशको आवश्यकता
समाजलाई सबैभन्दा बढी प्रभावित कामकाजी आधारमा विज्ञानले पारेको छ । खाद्यान्नको विकास, प्रविधिको विकास, चिकित्सा क्षेत्रको विकास आदि नभएको भए सायद समाजको अवस्था कस्तो हुने थियो भन्ने कल्पना पनि गर्न सकिँदैन । त्यसका साथै शिक्षाले समाजका धेरै क्षेत्रमा महत्वपूर्ण छाप दिएको छ । राजनीतिले त्यस्तो अमिट छाप दैनिक जीवनमा पारिरहेको महसुस हुँदैन । तैपनि हामीलाई मानसिक रूपले हलचल ल्याउने, समेट्ने, उत्साहित गर्ने तथा सकारात्मक र नकारात्मक रूपमा प्रभावित गर्ने प्रमुख कडी भने राजनीति भएको छ । सबै विकासका वा संरचनाका अंगहरूलाई परिचालित गर्ने माध्यम राजनीति नै बनेको छ । त्यसकारणले राजनीति व्यवस्थित, निष्पक्ष, असल लक्ष्यमा आधारित र वैचारिक विविधतालाई अर्को राम्रो नयाँ सम्भावनाको पृष्ठभूमि हो भन्ने सोचाई राख्न सक्ने हुनु परेको छ ।
राम्रो नराम्रो जे भए पनि भावना र विचारको आधारमा एकत्रित गर्न सक्ने संस्था वा व्यक्तिले जनता र देशलाई राम्रो र नराम्रो दुवैतर्फ लग्न सक्छ । मीठो गलाको आधारमा वा संयुक्त राष्ट्रको माध्यमद्धारा प्रभावित गर्न सक्ने अवस्था हुन्छ आदि आदि । तालिवानको अफगानिस्तान, पोलपोटको कम्पुचिया, नेल्सन मण्डेलाको दक्षिण अफ्रिका तथा सुझबुझ पूर्ण पश्चिमी, अमेरिकी तथा जापानी जनताका नेताहरू आदि यसका केही उदाहरणहरू हुन् । नराम्रो कामको लागि पनि जनतलाई मीठो तर्कका आधारमा गुमराह पारिएकै हुन्छ र जनताको समर्थन लिइएकै हुन्छ । युवाले यसलाई चिरेर सत्यलाई तितो भए पनि आत्मसात् गर्ने र असत्यलाई तात्कालिक र व्यक्तिगत एवं पार्टीगत फाइदा भए पनि छोड्न सक्नुपर्छ ।
यस तथ्यले युवाको राजनीति प्रवेशलाई प्रष्ट पार्छ । युवाहरूको राजनीति प्रवेश उत्साह र उत्सर्गका लागि आवश्यक छ । त्यो प्रवेश सत्य, निष्पक्षता, विवेकशीलतामा आधारित भै अगाडि बढ्ने मौकाको रूपमा व्यवस्थित हुन सक्यो भने देश सही बाटोमा जान सक्छ । देशको आवश्यकता उत्साहपूर्ण समर्पित युवाबाटै पूरा हुन्छ ।
राजनीतिमा युवा वर्गको भूमिका
राजनीतिमा युवा वर्गको भूमिकाले बारम्बार नव रक्त संचार गर्छ । मूलतः वैचारिक रूपमा एकतावद्ध नभएका युवालाई एकतावद्ध गरेर विकास निर्माणमा सहभागी गराउन सहयोग गर्छ । वर्तमान राजनैतिक परिपाटीलाई हेर्दा युवा शक्तिलाई राजनीतिको मूलप्रवाहमा स्पष्ट नीतिगत आधारमा प्रवेश गराइएको देखिँदैन । सबै जसो राजनैतिक दलहरूका विचारहरूलाई मूल राजनैतिक संगठनमा प्रष्ट पार्न उनीहरूको प्रतिनिधित्व जरुरी छ र त्यसका लागि उपयुक्त संयन्त्र निर्माण गर्न ढिला भैसकेको छ । युवा संगठनमा तहगत रूपमा केही प्रतिशत विद्यार्थी संगठनका नेताहरूको सहभागिताका लागि कुनै पनि राजनीतिक दलको कुनै पनि तहको संगठनमा त्यही तहको युवा संगठनको तथा सचिवहरू पदेन सदस्य हुने व्यवस्थाले नीति निर्माण तहमा युवाको प्रष्ट पहुँच पुर्याउन सहयोग पुग्ने हुन्छ । यसप्रकारको सहभागिताको मात्रालाई समेत व्यवस्थित गर्न सकिन्छ ।
युवाले एउटा व्यापक सोच राखेर अगाडि बढ्नु आवश्यक छ । युवाको सहभागिता गराउँदा क्षेत्रीय, जातिय, भाषिक आदि सन्तुलनको अवस्थालाई ध्यान दिएकै हुनुपर्छ । नेपालजस्तो बहुभाषिक, बहुधार्मिक र बहु आयामिक अवस्था रहेको देशमा राजनैतिक दलहरूबाट सस्तो लोकप्रियताका लागि जातीय, भाषिक आदि आधारमा संगठनहरू त खोलिएका छन् तर त्यसले गर्दा सक्षमहरू राजनीतिको मुख्य संगठनबाट पर रहने अघोषित वातावरण त तयार भएको छैन ? यसतर्फ ध्यान पुग्नैपर्छ । अर्थात् राजनीतिमा युवा वर्गको निर्णयात्मक तहमा प्रवेश र भूमिका आवश्यक छ र त्यो पनि सबै पक्ष समेटेर हुनुपर्छ ।
राजनैतिक दलहरू र युवा वर्ग
राष्ट्र निर्माणमा युवा वर्गको सबैभन्दा अहं भूमिका हुने भएको हुँदा राजनैतिक दलहरूले युवा वर्गलाई समावेश गर्नु स्वभाविक हो । तर यो समावेशीकरण नीति निर्माणमा समेत सहभागिताका लागि हुनुपर्छ । सम्बन्धित राजनैतिक दलको हितका लागि जनमत तयार गर्ने र सभा समारोहमा बढी संख्या देखाउनु मात्र युवाहरूको काम हुनु हुँदैन । अझ राजनैतिक दलहरूको अन्धभक्त बनाएर राष्ट्रिय सम्पत्ति नास्ने, मास्ने काममा युवा वर्गलाई लगाउनु भन्दा वैकल्पिक सृजनात्मक प्रतिवद्धताको बाटोमा लगाउन सकिन्छ ।
कुनै एउटा राजनैतिक दलको विद्यार्थी संगठनको नेता विपक्षीहरूसँग झडप हुँदा सख्त घाइते भयो । त्यस घाइतेको टाउकोमा चोटबाट रगत बग्न थाल्यो । केही समयपछि उ बेहोस भयो । विचरा त्यो युवालाई पहिला तुरुन्त अस्पताल लग्नु पर्नेमा विपक्षीको विरोधमा जनमत बनाउन शहर परिक्रमा गरियो । सम्भवतः उपचार ढिलो भएका कारणले ७-८ घण्टापछि उनी मरे । तर उनलाई शहीद मानिदिएको हुँदा उनका परिवार र आफन्तहरू दंग छन् । कार्यकर्ता मारेर राजनीति गर्ने यस्तो प्रवृत्तिलाई युवाले समयमा बुझ्नुपर्छ । युवाको शक्ति गर्नका लागि हो, मर्नका लागि होइन । अन्तिम विकल्पमा मात्र खुसीसाथ मर्न तयार हुनुपर्छ । विवेक नभरिएका युवाहरूलाई मर्न र मार्नको लागि उकासेर राजनीति गरिने र उनीहरूकै समर्थन लिने राजनीतिको आत्मघाती ज्यानमारा प्रवृत्ति साह्रै घातक हो ।
राजनैतिक दलहरूले आफ्ना युवा कार्यकर्ताहरूलाई सक्षम, प्रष्ट र विवेकशील बनाउनु भन्दा आफ्ना भक्त बनाउने र पार्टीका लागि अंधेरी कसिएका जीवित रोबोट बनाउने प्रवृत्तिबाट पोषित युवाहरू पछि राजनीतिको उपल्लो तहमा पुग्दा उनीहरूसँग निष्पक्ष भएर सत्य देख्ने आँखा हुँदैनन् र अर्को तर्फ उनीहरूले पनि आफ्ना कार्यकर्तालाई आफ्नै अन्धभक्त बनाउन चाहने हुन्छन् । आज युवामा हुनुपर्ने निष्पक्षता र युवालाई राजनीतिमा कस्तो प्रारम्भिक शिक्षाको आवश्यकता छ भन्ने विषयमा अध्ययन, छलफल, निष्कर्ष यसैकारणले आवश्यक भैसकेको छ ।
युवा वर्ग र कमजोरीहरू
राजनीतिमा धेरै दिग्गज युवाहरू लागेका छन् । तिनीहरू प्रौढ बन्दा त्यो अनुभवले काम गरेकै छ । आज भन्दा करीब ३० वर्ष पहिलासम्म पनि राजनीति संघर्ष थियो र बलिदान थियो । अनि एउटा महान लक्ष्यप्रतिको चाहना थियो । अब राजनीति त्यस्तो मात्र रहेन । दैनिक अनुभवले लक्ष्यको नाउँमा व्यक्तिगत फाइदाको विषय राजनीति बनेको आरोप पनि लागिरहेको छ । अन्य कार्यमा असफलहरू समाजसेवा होइन फाइदापूर्ण पेशाको आशामा राजनीतिमा लागेका र आफ्नो व्यक्तिगत फाइदाकै लागि राजनीतिमा लागेको आरोपहरू बारम्बार सुन्नमा आएका छन् । काम गर्दै सिक्दै गर्ने र सम्पर्क र संगतले राम्रो फाइदा लिन सकिने हुँदा लोक सेवा पास गर्न नसक्नेहरूका लागि काम गर्ने थलो राजनीति भएको छ भन्ने आरोप पनि लाग्न थालेको छ । यो आरोप सत्य नहोला तर आरोप लगाउनका लागि पनि केही आधारहरू त छन् कि ?
यी आरोपहरूलाई व्यवहारिक रूपमा कसरी खण्डन गर्ने ? युवाले बिना लोभ लालच राजनीतिलाई समाजसेवाको रूपमा बरु पेशा अर्को गरेर भए पनि बाँकी समय राजनीतिलाई दिएर स्वाभिमान साथ आफ्नो लागि नभै देश, समाजका लागि राजनीति गरिरहेको छु भन्ने आत्मविश्वास लिने र देखाउने पनि बेला आयो कि ? वैकल्पिक पेशाको साथमा राजनीति–जसले राजनीतिलाई परजीवी नबनाएर पवित्र र स्वाभिमानी बनाउँछ भन्ने मान्यता विकास गर्ने क्षमता भएको शक्ति युवा मात्रै हो । व्यक्तिगत स्र्वार्थ बिनाको राजनीति र पारिवारिक समस्यालाई स्वभाविक रूपमा निराकरण गर्दै अगाडि जान सकेको राजनीति वास्तवमा स्वच्छ हुन्छ । युवाका लागि राजनीति सँगै वैकल्पिक जनजीविकाको आफ्नै पाखुरामा आधारित स्रोतले भ्रष्ट नेताहरूको पछि लाग्नुपर्ने वाध्यताको अन्त्य हुन्छ र आज केही हदसम्म र भोलि धेरै हदसम्म देशको राजनीति सम्मानित हुने हुन्छ ।
विवेकहिन अनुशासन, असलहरूको अनावश्यक विरोध, नेताहरूको अन्धभक्ति तथा आर्थिक कारणले भ्रष्टहरूको गलत आचरणको भण्डाफोर गर्न नसक्नु युवाहरूका कमजोरी त होइनन् ? युवा वर्ग सबै राजनीतिमा नै हुनुपर्छ र छन् भन्ने पनि होइन । राजनीतिमा सिधै नदेखिएका युवाहरूको पनि ठूलो भूमिका छ र त्यो भूमिकालाई उजागर गरिनुले देश विकासलाई र लोकतन्त्रको स्थायित्वलाई ठूलो सहयोग प्राप्त हुन्छ । उनीहरू निष्पक्ष मूल्यांकन गरेर सत्य तथ्यको पछाडि सक्रियताका साथ लाग्न सक्छन् ।
उनीहरूले राजनैतिक दलका कमजोरीहरू देखाउने तर लोकतान्त्रिक वातावरणको अजेयतालाई जनसमक्ष ल्याउने काम गर्न सक्छन् । राजनीतिभन्दा बाहिरका युवाहरूलाई निष्पक्ष भएर राजनीतिको मूल्याकंन गर्ने प्रविधि र आवश्यकताको बारेमा ज्ञान हुने र त्यसतर्फ संगठित हुने परिपाटी भएमा राजनैतिक दलहरू बाध्य भएर इमान्दार बन्ने वातावरण तयार हुन्छ । यस्ता युवा वर्गलाई लोकतान्त्रिक परिपाटीमा सेनानीको रूपमा विकसित गर्न सकिनुले लोकतान्त्रिक परिपाटीलाई दुषित हुनबाट रोक्न सकिन्छ । यसको अझ व्यवस्थित अध्यापन आवश्यक छ ।
युवाहरूले बुझ्नुपर्ने तथ्यहरू
राष्ट्र निर्माणको काममा कुनै एक विचार मात्र महत्वपूर्ण हुन्छ भन्ने धारण सत्य होइन भन्ने सत्य सावित भैसकेको छ । विवेकपूर्ण रूपमा हेर्दा समेत यो प्रष्टै देखिन्छ । मूलभूत रूपमा हाम्रो लक्ष्य भनेको राष्ट्रलाई एकतावद्ध तवरले अगाडि बढाउनु नै हो । यसका लागि प्रथम लक्ष्य मेलमिलापपूर्ण रुपमा समस्याहरूका साझा विन्दुहरू पहिल्याएर समाधान गर्नु नै हो । मेलमिलाप असमानतामा, अभावमा कायम रहन गाह्रो हुन्छ । त्यसलाई अन्त्य गर्न बहुआयामिक समानता र भरोसा आवश्यक छ । त्यो आपसमा रहेको भित्री डरको र वर्ग संघर्षको आन्तरिक जोड घटाउको परिणाम हो भनेर मान्दा हुन्छ ।
त्यसो नभएमा वर्ग संघर्ष प्रकट रूपमा बाहिर आउँछ । वर्ग संघर्षलाई वैधानिकता र मूलभूत रूपमा शान्तिपूर्ण तरिकाले अगाडि बढाउने काम राजनैतिक दलहरूले गर्छन् । यसलाई युवा वर्गले मनन् गर्न सक्नुपर्छ । जनताको लक्ष्य मानवीय समानता र अभावहिनता हो । त्यसका लागि यही बाटो नै उपयुक्त हुन्छ भन्ने छैन र जनचाहनाको सबैभन्दा महत्वपूर्ण स्थान छ भन्ने मान्यताको स्वभाविक परिणति पूर्ण लोकतन्त्र हो । यी सबै प्रश्नको स्वभाविक उत्तर लोकतन्त्र हो । उदाहरणका लागि बर्मामा समाजवादी व्यवस्था छ भनेर त्यहाँका शासकहरू भन्छन्, चीन र श्रीलंकामा पनि समाजवाद छ भनिन्छ । जहाँ लोकतन्त्र छैन त्यहाँको समाजवाद भनेको त्यहाँको सत्ताधारीले आफू मात्र राम्रो देखाउन गरेको प्रचार हो भन्न सकिन्छ । शास्त्रीय रूपमा तर्क गर्ने हो भने चीन र वर्माको समाजवादमा भिन्नता छुट्याउन गाह्रो छ ।
चिनिया नेताहरूले माक्र्स, लेनिन र माओलाई मान्नु समाजवाद हो भन्छन् भने वर्मामा नेताले आफ्नो विचारलाई समाजवाद भन्न नपाउने कारण के छ ? पाकिस्तानि सत्ताले पनि आफूलाई समाजवादी भने हुन्छ । वास्तवमा समाजवाद वा लोकतन्त्र वा पूँजीवाद वा अरु केही भन्ने हो भने पनि त्यो देखाउने वा प्रष्ट्याउने सम्पूर्ण कसी पूर्ण लोकतान्त्रिक परिपाटी नै हो । अन्यथा नेता र समूहको आफ्नो स्वार्थको लागि दिइने नाम जे पनि हुन सक्छ, कुनै हुन सक्छ, र त्यो समाजवाद नै पनि हुन सक्छ । यो कसैमाथिको आक्षेप र कुनै दल माथिको प्रशंसा होइन बरु लोकतन्त्रमा जन अधिकारको सवलताको सवाल हो ।
राजनीति र राजनीतिज्ञ कस्तो हुनुपर्ने ? लोकतान्त्रिक परिपाटीको आवश्यता, निष्पक्षताको महत्व, राष्ट्र निर्माणमा सबैको भूमिकाको मेलमिलापपूर्ण सहअस्तित्वको आवश्यकताको अनुभूति समेतका व्यापक अध्यापन युवाहरूमा आवश्यक छ । यो कार्य सरकार वा राजनैतिक दलहरूले नै साझा एजेण्डा बनाएर सार्वभौम विचारहरू सहित सबै दलका मानिसहरू राखेर प्रशिक्षण दिन सकिने गर्न सक्नुपर्छ ।
अनायासै राजनीतिमा लाग्ने होइन । राजनीतिज्ञ बन्नका लागि लिनुपर्ने निश्चित सार्वभौम शिक्षा राजनीतिमा लाग्नेहरूले लिनुपर्ने अनिवार्य आवश्यकता आजको टड्कारो हो र यो शिक्षा युवा अवस्थामा नै दिइने हुनुपर्छ । अबको लक्ष्य भनेको सबैभन्दा उपयुक्त माध्यमद्धारा विकास गर्ने र विकासको फल सकेसम्म बढी समानुपातिक रूपमा जनतामा बाड्ने खाका बनाउनु, सामाजिक समानताको लागि पहल गर्नु, जनतालाई विश्वास दिलाउनु र जनताले विश्वास गरेपछि इमान्दारी साथ लक्ष्य पूरा गर्न र जनतालाई विश्वासघात नगर्नु नै हो । राजनीतिक समानता प्राविधिक रूपमा देशमा छ भनिएतापनि त्यसलाई व्यवहारिक रूपमा अझ सबल पार्नु र जनहितको लागि योजना बनाउनु नै आजको आवश्यकता हो । यसका लागि शुरुवात आवश्यक छ । नयाँ कुराको शुरुवात युवाबाट हुन सक्छ र बढी उपयुक्त पनि हुन्छ । किनभने युवा देशका वर्तमान र भविष्य दुवै हुन् ।
बी.पी. कोइरालाका नजरमा युवा –‘‘म तरुणहरूलाई उमेरले मान्दिन । मैले कतिपय उमेरका तरुणहरूलाई देखेको छु – जो भीरु, रुढीवादी, उत्साहरहित, आदर्श शून्य छन्, त्यस्तालाई म तरुण मान्दिन । उमेरले तरुण नभएतापनि मेरो माथि उल्लेख गरेको तारुण्यको शर्त मुताविक म आफूलाई तरुण भन्ठान्छु । मैले कतिपय उमेरका बुढाहरूलाई देखेको छु– जो तरुणहरूलाई उत्साहद्धारा मात गर्दछन् । मेरो दृष्टिमा तरुणोचित गुणले एउटा शक्ति तरुण कहलाइने अधिकार पाउँछ न कि उसको उमेरले ।’’ साँच्चै नै तरुण उमेर होइन आदर्श सहितको उन्माद हो तर त्यो अवस्था प्रायः वा अपवाद बाहेक ५०-६० वर्षको उमेर भित्रमा नै देखिन्छ ।
कमजोरीहरूमा सुधार कसरी ?
राष्ट्रको प्रबलीकरणका लागि युवाको जत्तिको भूमिका अरुको हुन सक्दैन । उनीहरूको व्यवहारले उनीहरूको भूमिकालाई निर्धारित गर्छ र उनीहरूलाई दिइएको जिम्मेवारीले उनीहरूको भूमिका निर्भर हुन्छ । उनीहरूको वातावरण र उनीहरूको शिक्षाले उनीहरूलाई व्यवहारमा खरो उतार्न सहयोग गर्छ । अनि व्यवहारले उनीहरूलाई परिपक्व बनाउँछ ।
– युवाहरूलाई मूल्य निरपेक्ष, विवेकवान र अरुको विचारको सम्मान गर्न सक्ने लोकतान्त्रिक शिक्षा दिइनु आवश्यक छ ।
– उनीहरूलाई सकारात्मक र सृजनात्मक एवं सहयोगी भावनाको विकासको वातावरण तयार गरिनुपर्छ ।
–राजनैतिक दलहरूको नीतिगत तहमा उनीहरूको संस्थागत प्रतिनिधित्व हुनुपर्छ । त्यो प्रतिनिधित्व तल्लो निकायदेखि माथिल्लो निकायसम्म हुन आवश्यक छ ।
– विकास निर्माणका कार्यहरूमा युवाको अगुवाईलाई राम्रो स्थान दिइने वातावरण दिइनु पर्दछ ।
– उनीहरूको प्रतिनिधित्वमा सबै क्षेत्र, तह र तप्का समेटिनु पर्छ । उनीहरूलाई शारिरीक श्रमप्रति सम्मान गर्ने, श्रम गर्ने र स्वावलम्बी एवं आत्मनिर्भर बन्ने व्यवसायिक पेशामा प्रोत्साहित गरिनुपर्छ । युवा राजनीतिज्ञहरू पनि त्यस्तो काम गरेर आत्मनिर्भर हुनुपर्छ र अन्यलाई पनि प्रोत्साहन गर्नु पर्छ ।
– दुनियाँका सबै वाद र विचारहरू मेरा हुन, मेरा लागि पनि हुन् त्यसैले म कुनैलाई अनावश्यक घृणा गर्दिन, मैले अरुभन्दा उत्तम आफूले लिएको विचार हो भन्ने सोचेर यसमा लागेको हुँ । खुला दिलले विचार गर्दा म परिष्कृत हुनुपर्ने आवश्यकता देखियो वा अर्को राम्रो लाग्यो भने मैले त्यसलाई आत्मसात् गर्न सक्नुपर्छ । समाज विकसित हुँदै जाने हुँदा आउन सक्ने नयाँ शान्तिपूर्ण विचारलाई दबाउनु मूर्खता, अमानवीय र विकास एवं प्रगति विरोधी हो, त्यसलाई मैले ध्यान दिँदै नयाँ विचारहरू सजिलैसँग फुल्न सक्ने वातावरण दिनुपर्छ भन्ने भावना युवामा विकसित हुनैपर्छ ।
यी कार्यहरूका लागि संस्थागत प्रयासको पनि आवश्यकता हुन्छ । राज्य पक्ष, सामाजिक संस्थाहरू, स्वयं राजनैतिक दलहरू समेतले निष्पक्ष मापदण्ड बनाएर युवाहरूलाई महान विचारले विभुषित गर्नुपर्छ अनि देश-समाजका लागि सुखद परिणाम स्वतः आउँछ । युवाहरूमा समेत न्यूनतम साझा लक्ष्यप्रतिको सम्मान, आफ्नो विचार जस्तै अरुका विचारमा पनि राम्रा पक्ष हुनसक्छन् भन्ने धारणा, विचारभन्दा विकास र समानता महत्वपूर्ण हो भन्ने भावनाको अनुभूति आवश्यक छ ।
विपक्षीहरूलाई शत्रुवत हेर्ने व्यवहारले विदेशी चलखेल बढ्छ, परम्परावादीहरूले फाइदा लिन सक्छन्, कुनै पनि अतिवादीहरू हावी हुन सक्छन् । व्यवस्था मात्रै बहुदलीय तर भावना आफ्नो मात्र एउटा दल भन्ने सोच बहुदलीय लोकतन्त्रको मर्मभित्र पर्दैन ।
अन्त्यमा,
समाज, राज्यमा युवा वर्गको महत्वपूर्ण भुमिका भएको हुँदा गलत पक्षमा युवा जानु हुँदैन । गलत पक्षमा गएको हुँदा युवालाई नै देशका समस्या देख्नु पनि हुँदैन । युवालाई सकारात्मक भावना दिन नसक्नु र नकारात्मक सोच भएकाहरूले फाइदा उठाउनु सत्ता पक्षको आफ्नो कमजोरी पनि हो भन्ने मान्नुपर्छ ।