arrow

हिउँदे वर्षामा ह्रास आयो : के को असर हो, के भन्छन् विज्ञ ? (कुराकानीसहित)

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
maniratna.JPG

विगत ५ वर्षको तथ्यांकलाई केलाएर हेर्ने हो भने पुस महिना नभइ वर्षा हुँदैन, गत वर्ष पुस १० गते वर्षा भयो, त्योभन्दा अघिल्लो वर्ष पुस १६ गते वर्षा भयो । यो वर्ष पुस महिना बित्दा वर्षा भएन । अर्थात् हिउँदे वर्षाको आगमनमा ढिला हुँदै गएको देखिन्छ । विगत ८–९ वर्ष यताको तथ्यांक हेर्दा यस्तो देखिन्छ । यिनै विषयमा मौसमविज्ञ एवं प्राध्यापक मणिरत्न शाक्यसँग हामीले कुरा गरेका छौँ ।

० हिउँदे वर्षामा ह्रास आउन थालेको हो ?
– यसपटक मात्र ह्रास आएको होइन, विगत ५ वर्षको तथ्यांकलाई केलाएर हेर्ने हो भने पुस महिना नभइ वर्षा हुँदैन, गत वर्ष पुस १० गते वर्षा भयो, त्योभन्दा अघिल्लो वर्ष पुस १६ गते वर्षा भयो । यो वर्ष पुस महिना बित्दा वर्षा भएन । अर्थात् हिउँदे वर्षाको आगमनमा ढिला हुँदै गएको देखिन्छ । विगत ८–९ वर्ष यताको तथ्यांक हेर्दा यस्तो देखिन्छ ।

० हिउँदे वर्षा पुसमा हुनुपथ्र्यो होइन ?
– हो, सामान्य जाडो याम मंसिरबाट सुरु हुन्छ । मंसिर सुरुसँगै मेघ गर्जनसहित पानी पर्नुपर्ने हो । यसपटक एकचोट पनि मेघ गर्जेको आवाज सुनिएको छैन । मंसिरमा पूर्णरुपले वर्षा कम हुँदै गइरहेको छ । मंसिरमा पानी नपरेको धेरै वर्ष भइसकेको छ । पुसको मध्य काटेपछि वर्षा हुन थालेको थियो, यो वर्ष पुस सकिँदा पनि वर्षा भएन ।

० वर्षा नभए पनि जाडो अत्याधिक भयो होइन ?
– यो वर्षको जाडोलाई अत्याधिक भन्न मिल्दैन । किनभने पहिला काठमाडौंको जाडो माइन ३ दशमलब ५ सम्म हुन्थ्यो । माइनस २ धेरै पटक भएको छ । विगत ३–४ वर्षयता शुन्य दशलमब ५ अर्थात् शुन्यभन्दा तल झरेको छैन । यो वर्ष पनि शुन्यभन्दा तल गएन । अहिले नै न्यूतम तापक्रम ५–६ पुगिसकेको छ । जाडोका बेला नेपालगन्जमा माइनस ३ सम्म पुग्थ्यो । यसपटक शुन्य दशमलब ३–४भन्दा तल जान सकेन । कठ्याङ्ग्रीने जाडो भएकै छैन ।

० जाडोले मान्छे मरिरहेका छन् त ?
– सही कुरा हो, तर माइन ३ पुग्ने स्थानमा अहिले ३–४ भन्दा बढी तापक्रम तल झरेको छैन । विभिन्न कारणले मान्छे मरिरहेको हुनसक्छ । शितलहर चल्ने, कठ्याङ्ग्रीने जाडो हुन सकिरहेको छैन ।

० अब वर्षा हुने संकेत देखिएको छैन ?
– अहिलेसम्म देखिएको छैन, दक्षिण एसियामा नेपाललाई हेर्दा वर्षायाममा मनसुन पूर्वबाट आउँछ, हिउँदमा पश्चिमबाट मनसुन आउँछ । पश्चिमीभेगमा सबभन्दा पहिला हिउँदे वर्षा हुन्छ । त्यसपछि विस्तारै पूर्व्तिर लाग्छ । यसपटक पश्चिमबाट चल्ने हावा सक्रिय हुनसकेन । जुन किसिमले बादल ल्याउनुपर्ने हो, त्यो पनि सकेन । पानी पर्ने संकेत २–३ पटक आएको हो । यूरोप महादेशबाट हावा आउनुपर्छ । इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै नेपाल पस्ने हो, त्यो सिस्टम दुई चारपटक आएको हो । तर त्यो कमजोर भएको कारणले गर्दा नेपालमा मात्र होइन, दक्षिण एसियाको विभिन्न स्थानमा वर्षा हुनसकेन । यही कारणले प्रर्याप्त मात्रामा हिउँ पनि परेन । हिउ नपरेकै कारणले हुस्सु, बादल र कोइरो पनि लागेन, चिसो पनि भएन । वायुको तापक्रम अलिकति बढेको हो ।

० पश्चिमबाट आउने वायुलाई केले अवरोध गर्‍यो ?
– हिउँदे याममा पश्चिमबाट वायु आइरहेको हुन्छ । बीचमा एटलान्टिक र भूमध्य सागरलगायत ३–४ वटा समुन्द्रले पश्चिमबाट आउने हावामा जलवास्पको मात्रा थपियो भने बादल फर्मेसन हुन्छ । त्यही बादल पश्चिमबाट पूर्वतिर सर्दै आयो भने त्यसले एक किसिमले अवरोध खडा गर्छ । जसले गर्दा हामीकहाँ वर्ष हुन्छ । अहिले हामीकहाँ पश्चिमबाट हावा चलेको छ, तर अवरोध खडा हुन सकेन । जसका कारणले वर्षा हुनसकेन ।

० त्यसको लागि न्यूनचापीय क्षेत्र बन्नु पर्ने हो ?
–हो । न्यूनचापीय क्षेत्र भन्दाखेरि हावामा जलवाष्प थपिएपछि न्यूनचापीय केन्द्र बन्छ । जस्तो, हावाको प्रेसर घट्दै जान्छ । हावाको प्रेसर घटेपछि बादल बन्छ । बादल बनेपछि पानी पर्छ । त्यसैले न्यूनचापीय क्षेत्र बन्नु पर्ने हो । त्यो न्यूनचापीय क्षेत्र बन्न सकेन । बाफ बनेपनि जुन किसिमबाट न्यून हुनुपर्दथ्यो त्यो भएन ।

० यसलाई स्थानीय वायुले प्रभाव पार्छ ?
–स्थानीय वायुको प्रभाव नपर्ने भन्ने होइन । युरोप महादेशमा जति चिसो छ । त्यहाँबाट चिसो हावा आउने र त्यो हावा हिमालयको फेद हुँदै पाकिस्तान, भारत हुँदै नेपाल पस्ने हो । त्यो हावा बहने बेलामा, हिमालको बाटो भइ बग्ने बेलामा हिमालय पक्कै पनि चिसो भएका कारणले गर्दा हावा चिसो हुन्छ र लोकल फेनामेना त हुन्छ तर, त्यो लोकल फेनामेना भन्दा मेजर फेनामेना हामीकहाँ कमजोर देखियो ।

० हिउँदे वर्षाको ह्रासको कारण के हुनसक्छ ?
– विश्वप्यापी रुपमा बन्ने एक प्रकारको फेनामेना हो । दक्षिण एसियाका सबै देशमा पश्चिमी वायुको असर परिरहेको हुन्छ । त्यही असरले गर्दा हामीकहाँ वर्षा हुने हो । यसपटक वर्षा नहुनुको कारण पश्चिमी वायुको प्रभाव कमजोर हुनु हो । यो कमजोर हुनुको कारण ग्लोबल प्रभाव पनि हो । वर्षामा ह्रास आउनुको कारण सिस्टम गडबडी हो । त्यो सिस्टम प्रसान्त महासागरमा देखिने एउटा प्राकृति प्रक्रिया हो । हामीकहाँ दुईटा समुद्रले बढी रोल खेलेको छ । दक्षिण एसिया भन्दाखेरि, एकातिर हिन्द महासागर छ र अर्कोतिर प्रशान्त महासागर छ । वास्तवमा प्रशान्त महासागर र हिन्द महासागरबीचको इन्टर्‍याक्सनको कारणले गर्दा हिउँदे पर्षा हुने र मनसुन आउने असर गरिरहेको हुन्छ ।

अहिले अध्ययनबाट के देखिएको छ भने प्रशान्त महासागरको पूर्वी भागको समुद्रको पानी औषत भन्दा पनि तातो हुने, चिसो हुने प्रक्रिया चल्दो रहेछ । प्रशान्त महासागरको पूर्वीय भागको पानी औषत भन्दा तातो हुने प्रक्रिया भयो भने एउटा किसिमको मौसम हुँदो रहेछ । त्यो भन्दा कम भयो वा चिसियो भने, अर्को खालको मौसम हुँदो रहेछ । त्यसरी पूर्वीभाग समुद्रको पानी औषत भन्दा तातो भयो भने त्यसलाई एलिनो भनिदो रहेछ, औषत भन्दा चिसो भयो भने, त्यसलाई ल्यानिना भनिदो रहेछ । यी स्पेनीश नाम हुन् । यो दुई यस्तो प्राकृतिक प्रक्रिया हो, जो आफै अर्डर गरिरहेको हुन्छ । चार–पाँच वर्ष एलिनो लाग्छ र चार–पाँच वर्ष ल्यानिना लाग्छ । त्यसैले सन् २०१४ देखि एलिनोको प्रभाव छ । यो चार पाँच वर्षको समयमा हामी कहाँ मनसुन पनि राम्रो भएन । पानी औषत भन्दा कम परेको छ । त्यसैले अध्ययनले एलिनो चल्दा तापमान बढ्ने र हिउँदे वर्षामा पनि प्रभाव पर्ने देखाएको छ । त्यसैले दक्षिण एसियासहित नेपालमा चार–पाँच वर्षदेखि हिउँदे वर्षा कम हुँदै गएको छ । तर, अब ल्यानिना सुरु भयो भने अर्को वर्ष पुसमै पानी पर्न सक्छ होला । त्यसकारण यो ग्लोवल फेनामेना हो । विश्वमा हुने प्राकृतिक प्रक्रियाले हामीकहाँ पनि असर परिरहेको हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ