arrow

स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्ने

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
local-level.jpeg

काठमाडौँ । संविधानले दिएको अधिकार प्रयोग गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

नेपाल नगरपालिका संघले आइतवार यहाँ आयोजना गरेको प्रदेश नं ३ बाट निर्वाचित नगर प्रमुख र उपप्रमुखको भेलामा उनिहरुले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय तहलाई सम्पन्न स्थानीय सरकार बनाउनुपर्नेमा जोड दिए ।

तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार बलियो हुनुपर्ने बताए । उनले संविधानमा रहेको व्यवस्थालाई अंगालेर राम्रो नीति निर्माण गरेर स्थानीय अधिकार उपभोग गर्नुपर्ने धारणा राखे। “स्थानीय तहले आफैँ नीति निर्माण गरी कार्यान्वयन गर्ने हो”–उनले भने, “तर त्यही नीति निर्माणमा चुक्यौँ भने स्थानीय सरकार बलियो हुँदैन ।”

पौडेलले जनप्रतिनिधि उद्घाटन, गोष्ठी, भ्रमण, कर्मचारी सरुवामा अल्झिनुभन्दा पनि नीति निर्माण र नीति कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा संविधानविद् डा विपिन अधिकारीले स्थानीय तहलाई पनि संघ र प्रदेशमा जस्तै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार रहेको भन्दै संविधानले दिएको अधिकारलाई उपयोग गर्न स्थानीय तहले ढिला गर्न नहुने बताए  ।

“संविधानले दिएको अधिकार ढिला गर्ने हो भने स्थानीय तहको अधिकार कुनै न कुनै नाममा केन्द्र वा प्रदेशबाट मिचिन थाल्छ”–उनले भने, “त्यसैले संविधानले दिएको अधिकार प्रयोग गर्न पछि पर्न हुदैन ।”

कार्यक्रममा ‘संघीयतामा स्थानीय सरकारः संविधानको कार्यन्वयन र अधिकार’ विषयको कार्यपत्र प्रस्तुत गर्दै कृष्णप्रसाद सापकोटाले संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाए  । उनले संविधानले स्थानीय तहका अधिकार उल्लेख गरेपनि अहिलेसम्म उपभोग गर्न नपाएको बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा बजेट बाँडफाँडमा अर्थ मन्त्रालय हाबी भएको पनि उनको भनाइ रहेको थियो । कार्यक्रममा नुवाकोटका बेलकोट नगरपालिकाका प्रमुख राजेन्द्ररोमन खनालले संविधानले स्थानीय तहको अधिकार दिएपनि उपभोग गर्न नपाएको गुनासो गरे ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले संविधानमा भएका अधिकार उपयोग गर्नका लागि कानुनी अड्चन भएको बताए । भेलामा प्रदेश नं ३ का करिब ५० जनप्रतिनिधिको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ