arrow

निजी मेडिकल कलेजले आईओएमलाई टेर्दैनन्, अनि लुट मच्चिदैन त ? (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
jivan_k.JPG

निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीले राजधानीमा प्रदर्शनसमेत गरे । यसको विभिन्न सरोकारवालाहरुले आलोचना र विरोध गरेका छन् । सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले पनि विरोध गरेको छ । उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ । तर विभिन्न बाहनामा मेडिकल कलेजहरुले अतिरिक्त शुल्क असुलेको भन्दै विद्यार्थी सडक आन्दोलनमा पुगेका हुन् । यसै सन्दर्भमा हामीले  सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सका एकजना प्रतिनिधि डा. जीवन क्षेत्रीसँग कुराकानी गरेका छाैँ ।

० सरकारले तोकेको शुल्क कति हो ?
– सरकारले दुई वर्ष अगाडि जुन शुल्क तोकेको थियो, त्यही हो । प्रत्येक दुई दुई वर्षमा पुनमूल्यांकन गर्ने गरी तोकेको हो । गत वर्ष पुनमूल्यांकन भएअनुसार उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ५० हजारको हाराहारीमा शुल्क तोकेको थियो ।

० अर्को वर्ष चाहिँ बढ्ने हो ?
– हो, मुद्रास्फिती हेरेर शुल्क बढ्ने हाे । दुई-दुई वर्षकाे फरकमा मुद्रास्फिती  हेरेर शुल्क हेरफेर हुने हाे ।

० अहिले आन्दोलन केका लागि ?
– तीन चार वर्षअघिसम्म निजी मेडिकल कलेजहरुले मोलमोलाइ ढंगले शुल्क लिने चलन थियो । दुई वर्षअघिदेखि सरकारले शुल्क तोकेर कार्यान्वयन गर्न त्रिविविलाई निर्देशन दिएको थियो । अघिल्लो वर्ष आईओएमको पदाधिकारी नभएको मौका पारेर अयोग्य विद्यार्थी भर्ना गरेर धेरै शुल्क लिएका थिए । यसपटक आईओएमले काउन्सिलिङ गरेर विद्यार्थी पठाएको हुनाले यो इस्यु बाहिर आएको हो । यो समस्या यसभन्दा अगाडि विकराल थियो । यो समस्या पहिलेदेखि भए पनि अब विद्यार्थीले प्रतिकार गर्न पुगेका छन् ।

० विद्यार्थी ठगिनबाट जोगिदै छन ?
– जुन प्रयास अहिले भएको छ, त्यो सह्रानीय छ । विद्यार्थी यसरी संगठित भएपछि जसरी अहिलेसम्म ठगी भइरहेको थियो, त्यसलाई निरन्तरता दिन कठिन होला । उनीहरुलाई यही बेला प्रोत्साहन गर्नुपर्छ, ठगीबाट बचाउनुपर्छ ।

० तोकेभन्दा बढी शुल्क लिनलाई के गरिन्छ ?
– बाहना पारेर विद्यार्थीसँग पैसा माग्ने गरिन्छ भने खुलेआम बिना भर्पाइ वा बेग्लै चेकबाट पैसा दियौं भनिन्छ । कतिपय कलेजले सेकेन्ड एयरमा गएर अतिरिक्त पैसा माग्ने, कतिले होस्टलमा बसेको मात्रै १५–२० लिने गरेको पाइन्छ । विद्यार्थीबाट पैसा असुल्न अनेक तिकडम अपनाएका छन् ।

० चेकबाट पैसा माग्ने भनेको के हो ?
– भर्नाका बेला आधा रकम कलेजको खातामा रकम जम्मा गरेर विद्यार्थी पढन जान्छन् । भर्ना हुने बेलामा अतिरिक्त वा थप शुल्क लियौं भनेर यसभन्दा अगाडि विद्यार्थीसँग कलेजले मोलमोलाइ गथ्र्यो । जसले अतिरिक्त रकम बुझाउँछ, ऊ भर्ना हुन्थ्यो, जसले तिर्दैन उ भर्ना हुन पाउँदैन थियो, किनभने ओपन हाउसअन्तर्गत विद्यार्थी छनोट हुँदैन थिए । यसपटक विद्यार्थीहरु योग्यता र क्षमताका आधारमा कलेज पढ्न आएका छन् । यसपटक मेडिकल कलेजलाई दबाब परेपछि यो कुरा बाहिर आयो । विद्यार्थी संगठित हुने अवसर पाए । नियमक निकायले तोकेभन्दा बढी पैसा लिएर कलेजले ठगी गर्न खोजेका छन् । निर्लज्ज हिसाबले विद्यार्थीसँग चेकमार्फत कलेजले पैसा मागिरहेका छन् ।

० आइओएम चार्ज भनेको के हो ?
– मेडिकल कलेजले वार्षिक रुपमा विश्वविद्यालयलाई वार्षिक रुपमा तिर्छन् । त्यसका लागि विद्यार्थीबाट उठाइएको होला । परीक्षा शुल्कबाहेक अरु नहुनुपर्ने हो । शीर्षकमा नजाऔं, अतिरक्ति शुल्क ल्याउ भनेपछि ती शीर्षक ठूला कुरा भएनन् ।

० नियमन कसले गर्छ ?
– एक हदसम्म आईओएमले नियमन गर्छ, निजी मेडिकल कलेजले आईओएमलाई टेर्दैनन, यो विडम्बना छ । आईओएमलाई टेर्ने भएको भए निजी मेडिकल कलेजले यो दुस्साहस गर्दैन थिए । अाइअाेएमलाई टेर्दैनन् । अनि लुट मच्चिदैन त ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ