प्रदेशका नाममा जथाभावी खर्च नगरौं : डा. देवकोटा (अन्तर्वार्ता)
प्रकाशित २०७४ माघ २३ मंगलबार
446
Shares
स्थानीय वित्तीय स्वशासनविद् डा.खिमलाल देवकोटाले सही तवरले संघीयताको व्यवस्थापन गर्न सक्यौं भने साँच्चिकै हाम्रा लागि यो श्रीखण्ड हो, नभर खुर्पाको बिँड भनेका छन् । उनले यस्ताे प्रयास काेही कसैबाट नहाेस् भनेका छन् । हामीले स्थानीय वित्तीय स्वशासनविद् डा.देवकाेटालाई श्रीखण्ड र खुर्पाको बिँड भनेर केलाई संकेत गर्न खाेज्नु भएकाे हाे भन्दै साेधेका छाैँ ।
० संघीयता वित्तीय व्यवस्थापनको हिसाबले श्रीखण्ड कि कुकाठ ?
– मैले चाहिँ श्रीखण्ड भनेको छु, हामीले संघीयतालाई श्रीखण्ड बनाउन सक्छौं । तर, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्नुपर्छ । सरकार, राजनीतिक दल, सञ्चार, नागरिक समाज र निजी क्षेत्रले सहयोग गर्नुपर्छ । सरकारको भूमिका महत्वपूर्ण हुन्छ । यसबीचमा सरकारले अनेक निर्णय गरेको छ, त्यसको वहस नगरौं, कर्मचारी स्वइच्छिक अवकास (भीआरएस) एउटा पाटो हो । यस्ता खर्च गर्नुभएन । कर्मचारीको भीआरएस जाँदा ६८ अर्ब ४० करोड रुपैयाँ खर्च हुने रहेछ । ८६ हजार कर्मचारीमा छन् । यही यथावत राख्ने हो भने अझै २० हजार पुग्दैनन् । भीआरएसबाट कर्मचारी पठाउँदा झन्डै २३ हजार कर्मचारी जाँदैछन् । जसले गर्दा राष्ट्रलाई थप भार हुनेभयो । राजनीतिक दल सबै सकरात्मक हुनुपर्छ । अब बन्ने सरकार पनि त्यसरी अघि बढ्नुपर्छ । अबको संविधानअनुसार प्रदेशमा २२ जना सम्मको सरकार बन्ने रहेछ । वाम गठबन्धनले ११ जना मात्र मन्त्री बनाउने निर्णय गरे, यो सकरात्मक हो । तपाईं हामी पनि सकरात्मक बन्नुपर्छ ।
० खर्च व्यवस्थापनको चुनौति कत्तिको कठिन छ ?
– पहिलो चुनौति संघीयताको व्यवस्थापन, दोस्रो चुनौति राजनीतिक व्यवस्थापन, तेसूो विकास र सुशासनको चुनौति हो । संविधानको आधारभूत सिद्धान्तमा उल्लेख भएअनुसार हाम्रो लक्ष्य भनेकै मुलुकको दीगो शान्ति, समृद्धि र सुशासन हो । संघीयताका लागि यति खर्च लाग्छ, उति खर्च लाग्छ भनेर संघीयतालाई बद्नाम गर्ने हिसाबले आयो । खर्च हुँदैन, तर सही ढंगले व्यवस्थापन गर्न आवश्यक छ । सामान्य खर्चमा पनि हामी देश सञ्चालन गर्न सक्छौं । प्रदेशको अस्थायी मुकाम बस्दा खासै धेरै खर्च लागेन । सरकारसँग अहिले पनि ३ हजारभन्दा बढी क्षेत्रीय कार्यालय छन् । जिल्लामा हाम्रो अझै सात हजार इन्टिच्युसन छन् । तिनै इन्टिच्युसन प्रयोग गरेर प्रदेश सरकार सञ्चालन गर्न सकिन्छ । केन्द्रमा रहेको ३२ मन्त्रालय आधा घट्छ । केन्द्रीय तहमा हुने खर्च प्रदेश र स्थानीय तहमा जान्छ । शिक्षाको ७५ प्रतिशत कार्यसञ्चालन स्थानीय तहमा गएको छ । त्यसकारण यहाँ आत्तिनुपर्दैन ।
० अहिले गरिएको खर्चलाई भविष्यका लागि लगानी भनेर बुझ्नु ?
– प्रदेशको संरचनाका लागि अहिले धेरै खर्च नगरौं । प्रदेशको मुकाम भएकाले पछि परिवर्तन हुनसक्छ । प्रदेशको राजधानी तोक्दा त्यसले विकासको सन्तुलन ल्याउनुपर्छ । जसले गर्दा नयाँ ठाउँमा नयाँ सहरको विकास हुन्छ । नयाँ ठाउँमा सहर निर्माण गर्दा विकासमा सन्तुलन ल्याउँछ । त्यसकारण अहिले प्रदेशका लागि जथाभावी खर्च नगरौं । कर चुहावटले गर्दा संघीय व्यवस्थापनमा चुनौति आइरहेको छ । करमा बसेर काम गर्ने मोटाउने, मुलुक गरिब हुने अवस्था आयो । त्यसकारण हामीले कर प्रशासनलाई चुस्त बनाउनुपर्छ ।
० यी कुरामा वित्त आयोगले भूमिका खेल्नसक्छ ?
– वित्तीय आयोगले अहिले गर्ने कोर काम नै त्यही हो । संविधानको धारा ६० मा प्रदेश र स्थानीय तहलाई बाँड्ने अन्तर सरकारी वित्तीय हस्तान्तरण गर्ने परिणाम राष्ट्रिय प्राकृतिक तथा वित्तीय आयोगको सिफारिसअनुसार हुनेछ ।