arrow

यस पटक रेडियो दिवसमा हामीले मौलिकता खोजेका छौं (अन्तर्वार्ता)

logo
गोपाल झा,
प्रकाशित २०७४ फागुन १ मंगलबार
gopal_jha.jpg

काठमाडौं । मंगलबार विश्वभर विश्व रेडियो दिवस मनाईँदै छ । युनेस्कोले तय गरेको फेब्रुअरी १३ को दिन विश्वभरका विभिन्न मुलुकहरुले औपचारिक कार्यक्रम गरी यो दिवस मनाईरहेका छन् । नेपालमा पनि रेडियोसँग सम्बन्ध राख्ने विभिन्न संस्थाहरुले यो दिवस मनाईरहेका छन् । यसै सन्दर्भमा हामीले रेडियो दिवसको सुरुवात, रेडियोका चुनौती र यसको समाधानको विषयमा ब्रोडकास्टिङ एशोसिएसन नेपालका अध्यक्ष गोपाल झासँग संक्षिप्त वार्ता गरेका थियौं । 

विश्व रेडियो दिवस कहिलेदेखि र केका लागि मनाउन थालियो ?
आजकै दिन अन्य मुलुकहरु जस्तै नेपालमा पनि विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ । १३ फेब्रुअरी अर्थात् मंगलबार विश्वभरका रेडियो र रेडियोकर्मीहरुले यसको महत्व र यसको प्रभावकारीताको कामना सहित विश्व रेडियो दिवस मनाउने गरेका छन् । १३ फेब्रुअरी २०१२ मा युनेस्कोले यसलाई विश्वभरीका रेडियोको प्रभावकारीताको लागि भनेर यो दिवसको सुरुवात गरेको हो । भिन्न भिन्न नारा लिएर ६ वर्षसम्म यो दिवस मनाईरहँदा विश्वभर यसको प्रभावकारिता भने चुलिँदै गएको हामीले महशुस गरेका छौं । 

यस पटकको रेडियो दिवस कसरी मनाउँदै हुनुहुन्छ ? 
यस अघिका वर्षहरु र यस वर्षको रेडियो दिवसमा खासै त्यस्तो उल्लेखनीय फरक त केही पनि छैन । तर, यसपटक हामीले आफ्नै मौलिक नारा सहित यो रेडियो दिवस मनाउने तयारी गरिरहेका छौं । युनेस्कोले तय गरेको 'खेलकुद र रेडियो' भन्ने नारालाई छाडेर हामीले 'संघीयता कार्यान्वयनमा रेडियोको भूमिका' भन्ने नारा सहित रेडियो दिवस मनाउँदैछौं । हामीले आजकै दिनदेखि संघीयतालाई प्रभावकारी बनाउनको लागि रेडियोले कस्तो भूमिका खेल्न सक्छ ? भन्ने विषयमा हामी बहस र छलफल मार्फत् एउटा निचोड निकालेर त्यसै अनुसार अघि बढ्ने तयारी गरिरहेक छौं । यस अघिका राजनीतिक परिवर्तनमा प्रशंसनीय काम गरेको रेडियोले संघीयता कार्यान्वयनमा कसरी सहयोग गर्न सक्छ ? भन्ने विषयमा बहस र छलफल गरी यो दिवस मनाउँदैछौं । 

रेडियो दिवस मनाउन थालेदेखि यसको प्रभावकारीता र यसका समस्या समाधानमा केही महत्वपूर्ण काम भएका छन् ?
धेरै भएका छन् । रेडियो वास्तवमै पनि अझैसम्म धेरै मानिसको विश्वासको आधार र सजिलो माध्यमका रुपमा रहेको छ । यसले नेपाल मात्रै नभएर ईन्डोनेसिया, फिलिपिन्स र अफ्रिकाका देशहरुमा अझै पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ अर्थात् अन्य मिडिया भन्दा पनि रेडियो कै प्रभावकारिता बढीरहेको छ । भारतले अहिले यसको महत्व बढाएर एफएम ब्राण्डमा पनि लाईसेन्सहरु दिन सुरुवात गरिसकेको छ । माल्दिभ्स, भुटान जस्ता देशहरुमा पनि यसको व्यापकता बढीरहेको छ । यसरी मनाईने दिवसहरुले अरु कुरा भन्दा पनि यसको व्यापकता बढाउनको लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ । 

नेपालमा जनआन्दोलन र राजनीतिक परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको २०५२ सालमा एफएम ब्राण्डबाट प्रशारण सुरु भएपछि आवाजमा स्पष्टता, स्थानीय भाषा र लवजमा रेडियो सञ्चालन जस्ता विषयहरुले यसको महत्व झनै बढाईदिएको छ । तर पछिल्ला दिनहरुमा आएका अन्य माध्यमहरुले रेडियोको विकासमा साँच्चिकै चुनौती त थपेका छन् । यही चुनौती चिर्नको लागि र रेडियोको प्रभावकारीता जोगाईराख्नको लागि रेडियो दिवस मनाउने गरिएको हो । रेडियो दिवस मनाउने थालेपछि यसको प्रभावकारीतामा पनि बृद्धि भएको छ । 

यस वर्ष नेपालमा कस्तो हुँदैछ कार्यक्रम 
यस पटक ब्रोडकास्टिङ एशोसिएसनले संघीय राजधानी केन्द्रीत कार्यक्रमलाई छाडेर प्रदेशमा नै यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा विशेष प्रभातफेरि कार्यक्रम सहित रेडियो दिवस मनाउने कार्यक्रम रहेको छ । यसमा धनगढीका मेयरले कार्यक्रमको उद्घाटन गर्नुहुने छ । पहिलो पटक हामीले यसरी प्रदेशमा कार्यक्रम गरेको र मौलिक रुपमा संघीयता कार्यान्वयनको विषयलाई उठान गरेर कार्यक्रम गरेकोले यो पटकको रेडियो दिवस झनै महत्वपूर्ण छ । 

पछिल्लो समयमा नेपाली रेडियोमा देखिएका मूलभूत समस्या, चुनौती र समाधानका उपायहरु के के छन् ?
पछिल्लो समय हाम्रो रेडियोमा देखिएका मूल चुनौती भनेको नै अन्य मिडियासँगको प्रतिस्पर्धा र प्रभावकारिताको मुद्दा हो । यसमा हामी चुनौती सामना गर्नको लागि लडिरहेका छौं । दोस्रो कुरा सरकारी तवरबाट रेडियोको बैज्ञानिक मूल्यांकन नहुनु पनि समस्याको विषय हो । पछिल्लो ऐन र निर्देशिकामा यस विषय समेटिएका छन् यो हाम्रोलागि खुशीको कुरा हो । तर, यसलाई हु बहु कार्यान्वयन गर्नको लागि पनि हामीले संघर्ष गर्नैपर्ने देखेका छौं । 
 
यस बाहेक रेडियोहरुले विज्ञापनको बजारमा झेल्नु परेका समस्याहरु पनि हाम्रोलागि टाउको दुखाईको विषय बनेको छ । साँच्चिकै रेडियोले ५ वर्ष मुनीका बभ्भाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने विषयमा फैलाएको जनचेतना कति प्रभावकारी बनेको छ । यो झट्ट हेर्दा सानो देखिन्छ । तर, यसको महत्व कति धेरै छ ? तर, रेडियोको महत्वलाई हामीले बुझाउन सकिरहेका छैनौं । हामीले महत्व बुझाउन सक्ने हो भने हामी अन्य माध्यमसँग प्रतिस्पर्धा गर्ने होईन कि हामीसँग अन्य माध्यमहरुले प्रतिस्पर्धा गर्नेछन् । तर, हाम्रो अहिलेको मूल समस्या भनेको नै अहिलेसम्म रेडियोले अरुको प्रचारप्रसार गर्यो अब यसले आफ्नै प्रचार प्रसार गर्नुपर्ने बेला भएको छ र आवश्यकता देखिएकोछ । 

अन्तमा ? 
अन्तमा, म ब्रोडकास्टिङ एशोसिएसनको तर्फबाट सम्पूर्ण रेडियो र रेडियोकर्मीसँगै सम्पूर्ण स्रोताहरुलाई पनि हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो साथी भनेको रेडियो नै हो । यसको प्रभावकारीताको लागि सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने छ । त्यसैले यसमा सबैले हातेमालो गरेर रेडियो दिवस मनाऔ र यसको प्रभावकारिताको लागि जुटौं भन्दै आजको दिन रेडियो दिवसको सम्पूर्णमा शुभकामना अर्पण गर्न चाहन्छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ