arrow

लालबाबुको रोचक सपथ : ‘२ मिनेटमा दौरा सुरुवाल लाँए, तर आधा घण्टा जाममा परे !’ (अन्तर्वार्ता)

‘५ मिनेटमा शीतल निवास पुग्न भनियो, सपथ खान माइक अगाडी उभ्याएपछि मात्रै मन्त्री हुँदैछु भन्ने थाहा भयो’

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
Lalbabu-Pandit.jpg.jpeg

नयाँ सरकार गठन, वाम सरकार प्राथमिकता र चुनौती विषयमा हामीले नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितसँग कुरा गरेका छौँ ।

० सबै भन्दा पहिले यहाँलाई बधाई छ ?
–धन्यवाद ।

० थाहै नपाई मन्त्री खान पाइँदो रै’छ है मन्त्री ज्यू ?
– (हाँस्दै) मलाई थाहै थिएन ।

० अचम्म लाग्यो होला ?
–सपथ ग्रहण समारोहमा पनि पुगेको थिइन । टेलिभिजनबाट अन्तर्वार्ता दिएर कोठा नजिकै आइपुगेको थिए । तुरुन्त पाँच मिनेटमा आउनुस् भनेर बोलाहट भयो । तर, म काठमाडौंको जामले आधा घण्टा भन्दा बढी ढिलो पुगे । मलाई कुर्दा सपथ ग्रहण समारोह नै ढिलो गर्नुपर्ने अवस्था आयो ।

० मन्त्री बन्दैछु भन्ने कुरा शीतल निवास पुगेपछि मात्रै थाहा भो ?
–त्यहाँ गएपछि मात्रै थाहा पाए । सुरुमा मलाई विना विभागिय मन्त्री बन्छु होला भन्ने लागेको थियो । एकै चोटी माइकबाट भनियो । सपथ ग्रहण गर्ने बेलामा थाहा पाए, म चैँ फलानो मन्त्री भनेर ।

० ओलीको नजरमा पहिलो नम्बरमा पर्नु र थाहै नदिई सपथ खुवाउनुको कुनै विशेष कारण छ ?
–प्रधानमन्त्रीज्यूले विश्वास गर्नु भयो। पार्टीले विश्वास गर्‍यो । त्यही कारणले म पहिलो नम्बरमा नियुक्त भएको छु । कामको जिम्मेवारी सम्हाल्दै छु ।

० पार्टीको यो वा त्यो समूहलाई मिलाउने भन्ने हुन्छ, त्यसमा पर्नु भएको त होइन ?
–म चुनाव जितेपछि बधाई दिनको निम्ति नेताहरु कहाँ जम्मा एक दुई मिनेट भेट गर्न पुगेको थिए । त्यसपछि मेरो कुनै नेतासँग भेट पनि भएन । फोन सम्पर्क पनि भएन । एकै पटक संसदीय दलको बैठकमा उपस्थित भए । त्यो दिन उपस्थित हुँदा ४ बजे प्रधानन्त्रीको सपथ हुन्छ भनेर भनियो । मिल्यो भने एक दुई जना मन्त्री पनि पर्न सक्ने अवस्था हुन्छ भनेर जानकारी गराइएको थियो । त्यसपछि म टेलिभिजन कार्यक्रमका लागि गए । ४ बजेसम्म टेलिभिजन कार्यक्रममै थिए । त्यहाँ बोल्दा मोबाइल स्वीच अफ थियो । त्यसपछि म आफ्नो डेरा तीनकुने नजिकै पुगेको थिए । गाडीबाट ओर्लिने बेलामा फोन आयो । पाँच मिनेटभित्र शीतलनिवास दौरा सुरुवाल लगाएर पुगिहाल्नुस् भनियो । एक दुई मिनेटमै दौरा सुरुवाल लगाए । पिक आवर भएकोले गर्दा म शीतलनिवास पुग्दा ४ः४० भइसकेको थियो । तोकिएको समय भन्दा ४० मिनेट ढिलो भइसकेको थियो । ढिलाई मलाई कुनै सन्दर्भमै भएको मेरो अनुमान छ । म पुग्नासाथ धुन बज्न थालिगो । सुरुमा प्रधानमन्त्रीको सपथ भयो । पछि मन्त्रालयनै तोकेर दुई जना मन्त्रीलाई सपथ दिलाईयो । त्यही सपथ लिँदा पहिला थाहा पाएको । नभए पूर्वजानकारी केही पनि थिएन ।

० सपथ खान जाँदा जाममा पर्नु भो ?
–काठमाडौंको जामै न हो । प्रधानमन्त्री ज्यूको सपथ ४ बजे भनिएको थियो । ४ः१० मा म तीनकुने थिए । म ४ः४० मा मात्रै पुगे ।

० सरकारका प्राथमिकता के हुन् त ?
– सरकारको पहिलो प्राथमिकता के हो भने, मुलुक संघीय लोकतान्त्रिक गाणतन्त्रमा प्रवेश गरेको कारणले एकातिर स्थानीय तह, एकातिर प्रादेशिक संरचनाहरु र केन्द्रीय सरकारका विभिन्न मन्त्रालय, विभागहरुको समायोजन गर्दै छिटो भन्दा छिटो जनतालाई विकासको बाटोमा लैजानु नै अहिलेको मूल प्राथमिकता हो ।

० अनि सकारका मूल चुनौती के हुन् ?
–सरकारको साधारण खर्च पहिले यसै बढेको थियो । अहिले व्यवस्थापन गर्दा केही खर्चको भार बढ्ने स्थिति छ । अर्कोतर्फ साधारण खर्च घटाएर जनताको चाहनालाई केन्द्रीत गरेर चालु विकास निर्माणको योजनासहित नयाँ थप विकासका योजनाहरु लिएर जनताकोबीचमा जानु पर्ने नै अहिलेको मूल चुनौती हो ।

० पहिले भन्दा केही भिन्नता महसुस गर्नु भो ?
–पहिले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिँदा जनसम्पर्कको मन्त्रालय थिएन। कर्मचारीको मन्त्रालय भन्ने थियो। जनताको कम अनुभूति थियो । म जाँदाखेरि कम पहिचानको मन्त्रालय थियो। मैले पछि जनताको मन्त्रालय बनाए र एउटा उचाईमा लगेकै हुँ। प्रशासनभित्रका विकृति र विसंगतिलाई हटाएर लैजाने सन्दर्भमा अघि बढेकै हुँ। सबैतर्फबाट साथ सहयोग पाएकै हुँ। अहिले आउँदा पनि सबैलाई थाहा भएकै छ। काठमाडौंमै कतिपय ठाउँमा सुत्ने बेलामा मात्रै मास्क हटाउनु पर्ने अवस्था छ । धूँवा धुलो प्रदुषण एकातिर छ भने, चुरेको संरक्षण हुन नसकिरहेको अवस्था अर्कोतिर छ। देशभर प्राकृतिक स्रोतमाथिको दोहनले गर्दा भयाभह अवस्था छ ।

० त्यो त तपाईकै मन्त्रालयको काम भयो । अनि अब केपी ओलीको तस्वीर फरक देखिएला त ?
–मुलुक संघीयतामा प्रवेश गरेको छ । र, सबैलाई समेटेर जानुपर्ने अवस्था छ । अहिले पनि केन्द्रीकृत शासन प्रणालीको अवशेषहरु हटाउन बाँकी नै छ । विभिन्न पक्षहरु छन् । कति पक्ष सकारात्मक छन् भने कति पक्ष नकारात्मक पनि छन्। सकारात्मक पक्षलाई अंगाल्दै नकारात्मक पक्षलाई हटाउँदै सबैलाई समेटेर स्थायी सरकार दिने मूख्य अभिभारा हो । भविष्यमा त पार्टी एकीकरण हुँदैछ। अहिलेको सन्दर्भमा स्थानीय, प्रदेश र केन्द्रमा सबै वाम शक्तिले सरकार बनाएको स्थिति छ। यसले गर्दा सबैलाई समेट्ने गरेर गरिब, पछौटेपन भएको, युवा विदेश पठाउने, दातासँग मागेर प्रशासन चलाउनु पर्ने अवस्थाको अन्त्य हुनु पर्दछ। केही नयाँ गर्न खोज्दा अर्काकै मुख ताक्नु पर्ने स्थिति छ । नेपालाई आत्मनिर्भर बनाउन प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग र साधारण खर्च घटाएर तथा विकास खर्च बढाएर मुलुकलाई सम्वृद्धिमा लैजाने पहिलो प्राथमिकता हो । यही कुरा हामीले चुनावका बेला पनि भनेका थियौँ । त्यो बेला अब आइसक्यो । मेरो अनुभूति यही हो ।

० संवैधानिक अंग त पूरा भयो । तर, प्रशासनिक पुनःसंरचनाबारे हामीले सोचेका छौँ ?
–प्रशासनिक पुनःसंरचनाबारे आयोगले नै रिपोर्ट बनाएको छ। प्रशासन सुधार आयोगको रिपोर्ट छ। पुनःसंरचना आयोगको रिपोर्ट छ। तिनै रिपोर्टका आधारमा हामी पुनःसंरचनामा प्रवेश गछौँ

० कर्मचारी समायोजन, सुरक्षा निकायको बस्दोबस्त भएकै छैन, अफ्ठ्यारो छैन ?
–थुप्रै ऐन कानुन बनाउनु पर्ने छ। व्यवस्थापन स्रोत परिचालन गर्नु पर्ने अवस्था छ। सबैलाई साथ लिएर अघि बढ्नु पर्ने छ। झण्डै मुलुक अस्थिरतातर्फ जान्छ कि भन्ने खतरा थियो। त्यो सबै समस्यालाई चिरेका छौँ । फेरि पनि बाँकी समस्याहरुलाई चिरेर अघि बढ्छौँ ।

० अब के खतरा टरिसक्यो त ?
–अब कुनै त्यस्तो खतरा छैन । अब व्यवस्थापनको कुरा मात्रै हो । व्यवस्थापनका हामी केन्द्रीत हुन्छौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ