- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ । तपार्इंलार्इ शत्रुमाथि विजय हाँसिल गर्ने कसरी भन्ने चिन्ता छ ? जो कोहीको पनि जीवनमा सफलताको लागि शत्रुलार्इ आफ्नो बाटोबाट पन्छाउनु आवश्यक हुन्छ । त्यसकोलागि के गर्न सकिन्छ ? यसको केही सुझाव कौटिल्यले दिएका छन् । कौटिल्यको जन्म इसापूर्व चौथो शताब्दीमा नेपालको तराईमा भएको थियो । पहिलेको मिथिला विदेह माथि मगधका अजात शत्रुले विजय प्राप्त गरेपछि सो प्रदेश त्यसबेला मगधको अधीनमा आएर लामो समयसम्म मगधको अधीनमा रहेको वा गाभिएपछि मिथिलाको अस्तित्व समाप्त भई गुमनाम रूपमा रह्यो ।
त्यसबेला मगधको सिमाना हिमालयको काखसम्म विस्तार भएको कुरा इतिहासमा उल्लेख छ । मगधले बज्जी गणतन्त्र तथा विदेह गणतन्त्र आफ्नो अधीनस्थ पारेकाले ‘विदेह’ छुट्टै राज्य नभएर मगधको अंग बनेकाले चाणक्यलाई विदेहवासीका रूपमा नलिई उनी मगधका मानिएका हुन् । तर, उनको जन्म भने वर्तमान नेपालको तराईको प्राचीन मिथिला प्रदेशमा थियो । यो कुरा उनलाई त्यसबेला भएको पहाडी प्रदेशसम्बन्धी ज्ञानले पनि पुष्टि गर्दछ ।
आचार्य कौटिल्य प्राचीन नेपालका एक महान् राजनीतिज्ञ तथा विचारकका रूपमा रहेका छन् । आचार्य कौटिल्यलाई चाणक्य, विष्णु गुप्त, विष्णु शर्मा आदि नामले जानिन्छ । चाणक्यको नाममा अर्थशास्त्रलाई ‘कौटिल्यको अर्थशास्त्र’ भनिन्छ । उनले व्यवहारिक राजनीति दर्शन प्रतिपादन गरेका छन् र आचार्य कौटिल्यको राजनीतिक दर्शनले नेपालमात्र होइन, पूर्वीय राजनीति तथा राजनीति दर्शन अत्यन्त बढी प्रभाव पारेको देखिन्छ ।
नेपालको तराईमा जन्मेका कौटिल्यको महान् व्यक्तित्व एक पारंगत राजनीतिज्ञका रूपमा मौर्य साम्राज्यको विपुल यसका साथ एकप्राण भएर यस क्षेत्रको इतिहासमा आफ्नो कीर्ति अमर बनाए । उनी कुनैपनि राज्य माथि आफ्नो प्रभाव बढाउन त्यहाँ गुप्तचर परिचालनको विकल्प छैन ।
चाणक्यको विचारमा गुप्तचर व्यवस्था
कौटिल्यले गुप्तचर व्यवस्थालाई अत्यधिक महत्व दिएका छन् । चरद्वारा मुख्यतः तीनवटा मुख्य कार्य सम्पन्न गरिने कुरा उल्लेख छ । यसमा राजाका आँखाका रूपमा गुप्तचरहरूद्वारा नै राजालाई शत्रुको शक्ति तथा गतिविधि थाहा हुन्छ । चरद्वारा नै राज्यलाई आन्तरिक तथा बाह्य घटनाहरूको सही सूचना प्राप्त हुन्छ र यसको अभावमा राज्य भंग हुन्छ, त्यसैले चरले सूचनादाताका रूपमा काम गर्दछ ।
चरद्वारा नै राज्य तथा राजाको रक्षा हुन्छ । चरका सहायताद्वारा शत्रुको शक्तिको विनाश गर्नुपर्छ । कापटिक, उदास्थित, ग्रहपतिक, वैदेहक, तापस, शत्री, तीक्ष्ण, रसद तथा भिक्षुकी आदि अनेकौँ प्रकारका गुप्तचर हुन्छन् । धर्मोपधा उपायबाट अमात्य वर्गको परीक्षा गरेपछि राजाले गुप्तचरको नियुक्ति गर्नुपर्ने राय कौटिल्यको छ ।
महामन्त्री, मन्त्री, पुरोहित आदिकहाँ गुप्तचर नियुक्ति गरेपछि आफूप्रति प्रजाहरू तथा नगर निवासीको अनुराग द्वेष आदि जान्नका लागि राजाले गुप्तचरहरूको नियुक्त गर्नुपर्छ। गुप्तचरहरूले आपसमा विवाद खडा गरेर जनताको प्रतिक्रिया बुझ्न सक्छन् । त्यसमा राजा विरोधी र समर्थनको विवाद खडा गर्दा जनताको राजाप्रतिको धारणा बुझ्न सकिन्छ ।
राजालाई सहयोग गर्ने तथा राजासँग क्रुद्धहरूप्रति पनि जासुसले ध्यान दिनुपर्छ । राजाप्रतिका दोषीलाई चुपचाप मार्नुपर्छ । यसरी नै शत्रु देशमा राज्यले कृत्य पक्षका पुरुषलाई विभिन्न तरिकाबाट आफ्नो पक्षमा मिलाउनुपर्छ । त्यस्तै अकृत्य पक्षका पुरुषलाई भेट तथा दण्डबाट आफ्नो पक्षमा पार्नुपर्छ । यी काम गुप्तचरद्वारा सम्पन्न गरिनु पर्छ । यसरी कौटिल्यले गुप्तचरको कार्यलाई राज्य सञ्चालनमा अत्यन्त महत्वपूर्ण स्थान दिएका छन् ।