मास्टरकाे त्यो कुटाई, स्कुल गएको पहिलो दिनमै टुट्यो पढ्ने रहर (अन्तर्वार्ता)

'जीवनमा जम्मा एक दिन स्कुल देखेँ'

प्रकाशित मिति : २०७४ फाल्गुण १५ मंगलबार

काठमाडौं । जम्मा एक दिन स्कुल गएको थाहा छ उनलाई । उनी हरिराम थारु । उनले ठ्याक्कै आफ्नो उमेर भन्न पनि सकेनन् । कति वर्षको हुदाँ स्कुल गएको थिएँ भन्ने पनि राम्ररी याद छैन उनलाई । मात्र यत्ति थाहा छ । स्कुल गएकै दिन शिक्षकले भाँटो हाने । आफुलाई पिट्ने शिक्षकको अनुहार अलिअलि याद छ, उनले भने, ‘कुटाई खाएको चैँ राम्ररी थाहा छ ।’ उनलाई थाहा थिएन कि त्यो नै जीवनमा स्कुल गएको एक मात्रै दिन होला भनेर । शिक्षकको त्यो कुटाई पनि उनले कहिल्यै स्कुल जाने हिम्मत गरेनन् । हुन त पढेको भए के हुन्थे भन्ने थाहा छैन उनलाई । तर, उनलाई त्यही एक दिनले अहिले साइकलयात्री बनाइदियो । अहिले उनी काठमाडौंमा साइकल डोर्‍याएर घर–घरमा ग्याँस सिलिण्डर पुर्‍याउने काम गर्छन् । यमुना भण्डारीले तिनै हरिराम थारुसँग गरेको कुराकानीः
० तपाईको घर ?
–गुवारी बर्दिया ।

० तपाईलाई कुट्ने शिक्षको नाउ भन्न मिल्छ ?
–थाहा छैन । अलिअलि अनुहार याद आउँछ ।

० शिक्षकले कुट्नुको कारण के थियो ?
–पहिलो दिन स्कुल गएको । प्रार्थना गर्दा लाइन बस्न जाँनिन त्यही भएर होला ।

० शिक्षकको कुटाई खाँदा कत्रो हुनुहुन्थ्यो ?
–मलाई यत्ति वर्षको थिए भन्ने थाहा छैन । सानै थिएँ ।

०स्कुल गएको याद छ ?
–साथीहरुसँग गएको थिए । कापीको एउटा पाना हल्लाउँदै गएको ।

०स्कुल टाढा थियो ?
–घर नजिकै थियो । गाउँमा त्यही मात्रै थियो स्कुल ।

० घरबाट फेरि पढ्न पठाएनन् ?
–कसैले केही भन्नु भएन । अहिलेको जस्तो पढाउनै पर्छ भन्ने चेतना कहाँ थियो र ? गए नि नगए नि आफ्नो खुसी । स्कुल जाने रहर पहिलो दिनमै टुटिहाल्यो । त्यसपछि सोच्न सकिन ।

० स्कुल नजाँदा साथीहरुले जिस्काएनन् ?
–पहिले कस्ले पढेका थिए र ? पढ्नेले पढे नपढ्नेले पढेनन् ।

० स्कुल छोड्ने तपाई मात्रै हो कि अरु पनि थिए ?
–हामी पाँच जनाको ग्याङ थियो । उपद्रो पनि खुब गरियो । पैसा जम्मा गरेर फिलिम हेर्न गइन्थ्यो । पैसा नभएको बेला बारीमा पसेर तोरी झार्ने, अनि बेचेर खर्च जुटाउँथ्यौँ ।

० त्यो भन्दा अरु स्कुल थिएनन्, किन नजानु भएको ?
– एउटा मात्रै थियो स्कुल । त्यहाँ जानै मन लाग्दैन थ्यो । अहिले चैँ पढेको भए हुन्थ्यो जस्तो लाग्छ ।

० अनि साथीहरुले नि कुटाई खाएको सुन्नु भो ?
–अँ । साथीहरुले सुनाउँथे । सरहरुले भकुरेर कुट्नु हुन्थ्यो रे ।

० साथीहरु पढेर के–के भए ?
–कोही राम्रै छैन् । कोही म जस्तै हुन् । कोही काठमाडौंमा छन् । कोही मजदुरी गर्न भारत गएका छन् ।

० परिवारमा क–कसले पढ्नु भएको छ ?
–जेठो दाईले अलिकति पढ्यो । काइलो दाईले नि अलिकति पढ्यो । आठसम्म हो । त्याँ भन्दा माथि त बाउले खर्च गर्न सकेनन् । हामी पाँच जना दाजुभाइ थियौँ । परिवार धान्न मुस्किल भो । कसरी पढ्नु ? 

० अहिले छोरा छोरीलाई चैँ पढाउनु भएको छ कि छैन ?
–अहिले दुईटै छोराले १२ पास गरेका छन् । अरु पढाउन सकिन । पेट पाल्ने कि छोरा पढाउने ।   

नयाँ