- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुरेन्द्र सिटौला वाग्मती बोर्डिङ स्कूल सुकेधाराका संस्थापक प्रधानाध्यापक हुन् । ३७ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत उनले २०३६ सालदेखि अध्यापन सुरु गरेका हुन् । ६६ वर्ष अघि ताप्लेजुङ जिल्लाको निभुरादिन गाउँ विकास समितिमा जन्मिएका सिटौलाले २०२७ सालमा विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । सन् २०१५ मा शिक्षा मन्त्रालयले तयार पारेको एक रिपोर्ट अनुसार उत्कृट १६ औं स्कूलको रुपमा वाग्मतीको नाम उल्लेख गरिएको थियो । लामो समय शिक्षण अनुभव रहेका र राजधानीमा एउटा नमुना विद्यालयको रुपमा वाग्मती बोर्डिङ स्कूललाई विकास गर्न सफल उनीसँग हाम्राकुरा डटकमले गरेको कुराकानी उनकै शैलीमा तल प्रस्तुत गरिएको छ ।
सुरुवाती संघर्ष
झण्डै ३० वर्ष अघि भर्खर भर्खर जनमत संग्रह सम्पन्न भएर मुलुकमा केही खुकुलो पञ्चायती शासन सुरु भएको समय थियो । एकदमै कडा प्रणाली केही खुकुलो हुँदा शिक्षा क्षेत्रमा पनि केही बढी नै स्वतन्त्रता छाएको अनुभूति हुँदै थियो । त्यतिबेला विश्वविद्यालयका गुरुहरुमा पनि राजनीतिक विचारको आधारमा बैचारिक संगठन खोल्ने होड नै चलिरहेको थियो । तर, नेपालको शिक्षा प्रणालीको विषयमा चिन्तित हुने गुरुहरु भने निकै कम भेटिन्थे । निजी विद्यालयहरुमा गुरुहरुद्वारा भन्दा पनि व्यवसाय गर्ने उद्देश्यले स्कूल सञ्चालन गर्ने सञ्चालकहरुको जमात नै थियो । कुनै निजी स्कूलमा काम गर्दैगर्दा त्यहाँकी लेखा शाखामा काम गर्ने एक कर्मचारीले नौ कक्षा पढेका विद्यालयसञ्चालकलाई पिएचडी गरिसकेका गुरुहरुले नमस्कार गर्नेगरेकोले पैसा ठूलो कुरा हो भन्ने प्रसंग उठाएपछि हामीहरुमा पनि यो स्कूल चलाउने काम त हामीले गर्नुपर्ने काम पो रहेछ भन्ने सोचाई आएको हो ।
जनमत संग्रहको केही समय पछि म लगायत अमृत साईन्स क्याम्पसमा पढाउँदै गर्दा अमृत साईन्स क्याम्पसको गुरुहरुमा शिक्षा क्षेत्रमा आफैंले पनि कसरी योगदान दिन सकिन्छ ? भन्ने विषयमा बहस चल्यो । प्राज्ञिक क्षेत्रका मानिसहरु अरुको निर्देशनमा काम गर्नुपर्ने तर, गैर प्राज्ञिक क्षेत्रका मानिसहरुले विद्यालय सञ्चालन गरिरहेको देखेपछि उनीहरुमा पनि आफैंले केही गर्नु पर्छ भन्ने धारणा आयो र आफैं विद्यालय खोल्ने काममा तयारीमा जुट्यौँ । विद्यालय खोल्ने विचारको नेतृत्व म आफैंले गरेको थिएँ । त्यतिबेला विद्यालय खोल्नु भन्दा पहिले धेरैले मलाईँ सहयोग गर्ने मौखिक बचन पनि दिएका थिए । सुरुमा त सबैले हुन्छ हुन्छ भने तर, पछि घर खोजिसकेपछि भने साथीहरुले खुट्टा कमाउन थाले ।
त्यतिबेला स्कूल सञ्चालन गर्नको लागि काठमाडौंको नक्साल भगवती बहाल नजिकै एउटा ५ रोपनी क्षेत्रफलमा फैलिएको घर भाडामा लिएँ । घरबेटीले त्यो घरको भाडा हजार भने । त्यतिबेला सहप्राध्यापकको तलब जम्मा ७ सय ५० रुपैयाँ थियो । आफूसँग श्रीमती सुत्केरी हुने बेलाको लागि भनेर जम्मा पारेको ३ हजार रुपैयाँ नगद र केही श्रीमतीको गहना मात्रै थियो । तर, पैसा नभएपनि हिम्मत हारिएन । श्रीमतीको गहना बैंकमा राखेर भनेपनि चलाउने भनेर पाँचहजार भाडामा घर बैना दिईयो । त्यस लगत्तै हामीहरु त डेरा नै त्यहीँ सर्यौं । तर, विडम्बनाको कुरा हामी डेरा समेत सरिसकेपछि साथीहरुले यो कामबाट हात झिके ।
हिम्मत जुटाएर त्यत्रो घर भाडामा लिईसकेको अवस्थाबाट फिर्ता हुनसक्ने ठाउँ पनि थिएन । बरु अझै हिम्मत जुटाउनु पर्ने आवश्यकता थियो । यस्तो अवस्थामा मैले छाउनीको चक्रपथसँगै जोडिएको ४ आना जग्गा ९० हजारमा विक्री गरेर विद्यालय सञ्चालन सुरु गरेको हुँ । त्यो मेरा पिताको नाममा थियो । मैले आफूले गर्नलागेको कामको विषयमा जानकरी दिएपछि उहाँले पनि जग्गा बेच्नको लागि अनुमती दिनु भयो । राम्रो कामको लागि भन्दा श्रीमतीले पनि आफ्नो गहना बैंकमा राख्नको लागि सजिलै सहमती दिईन् र बुबाले पनि छाउनीको जग्गा विक्री गर्न सजिलै स्वीकृति दिनु भयो । त्यस्तो भएको थिएन भने कसरी अहिले यत्रो बोर्डिङ चलाउन सकिन्थ्यो त ?
प्रशासनको अवरोध
स्कूल त ऋण धन गरेर जसो तसो चलाउन थालियो । तर, बीचैमा पञ्चायती सरकारको गिद्देदृष्टि लागिहाल्यो । प्रशासनले विद्यालय बन्दै गर्नको लागि निर्देशन दियो । त्यतिबेला सहायक शिक्षामन्त्री थिए केशरबहादुर विष्ट । उनीकहाँ विद्यालयका प्रतिनिधि मण्डल गएर संविधान विपरितको काम नगर्ने भनेर धेरै विन्ती गरेपछि एउटा कागज गर्न लगाएर विद्यालय सञ्चालन गर्न दिने आश्वासन दिएका थिए उनले । उनले भनेजस्तै गरी हामी संविधान विपरितका कुनैपनि गतिविधि सञ्चालन गर्ने छैनौं भनेर कागज गरेपछि बल्ल स्कूल सञ्चालन सुरु भएको हो । त्यही स्कूल अहिले ३१ वर्षको वसन्तमा आफ्नो क्षमता प्रदर्शित गर्दै बसिरहेको छ । अहिले विद्यालयमा १५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने १५० भन्दा बढीले रोजगारी पाईरहेका छन् ।
स्कूल सञ्चालनको उद्देश्य संस्कृति र परम्पराको रक्षा
यो विद्यालय काठमाडौंका अन्य विद्यालयको भन्दा फरक विशेषता बोकेको विद्यालयको रुपमा पछिल्लो समय विकास भएको छ । यो विद्यालयमा आफ्ना संस्कृति संरक्षणको लागि एउटा छुट्टै र विशिष्ठ प्रयास गरिएको छ भने आधुनिकतालाई पनि त्यत्तिकै आत्मसाथ गरिएको छ । पूर्वीय वाङ्मयको व्याख्या गर्ने संस्कृत भाषादेखि आधुनिकताको व्याख्या गर्ने अँग्रेजीसम्मलाई विद्यालयले महत्वका साथ अध्ययन गराउने गरेको छ।
अहिले कक्षा ५ देखि कक्षा ७ सम्म विद्यालयले अनिवार्य संस्कृत शिक्षाको व्यवस्था गरेको छ । त्यस्तै, ६ कक्षादेखि नौ कक्षासम्म अनिवार्य रुपमा विद्यालयले चिनियाँ भाषा कक्षा सञ्चालन गर्दै आएको छ । संस्कृतिको संरक्षणको लागि भनेर विद्यालयले पञ्चैबाजा विद्यालयमा नै राखेको छ । अरु सबै बाजाहरु विद्यार्थीहरुले नै बजाउने गरेका छन् । तर, नरसिंहा भने धेरै श्वास चाहिने भएकोले बाहिरबाट मान्छे ल्याएर बजाउनु पर्छ । समय समयमा बाजागाजा गर्ने र आफ्नो संस्कृति झल्काउने विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, विद्यालयको विशेष कार्यक्रममा भिन्नभिन्न जातिका मानिसहरुले आ आफ्नै जातिको भेषभुषा लगाएर आउनुपर्ने व्यवस्था गरिएको छ । यसले प्रत्येक बालबालिकालाई आफ्नो संस्कृति र पहिचानको बारेमा जानकारी दिने लक्ष्य हामीहरुको छ । पैसा कमाउने लक्ष्य हुनु मानिसको स्वभाविक कुरा भएपनि अहिले हाम्रो बोर्डिङले आफ्नो संस्कृति संरक्षण तर्फ पनि आफ्नो ध्यान केन्द्रीत गरेको छ ।
शिक्षाको गुणस्तर भन्दा पनि पैसामा हिसाव गर्छन् अभिभावक
विद्यार्थीहरुको समस्या समाधान गर्ने काम हाम्रो हो । तर, कतिपय अभिभावकहरुमा नै मैले समस्या देख्ने गरेको छु । कतिपय अभिभावकहरु विद्यालय आउँदा सधैंभरी पैसाको कुरा मात्रै निकालेर गुनासो गर्ने गरेका छन् । समाजले पैसालाई मात्रै केन्द्रमा राखेर कुरा गर्ने गरेको अनुभूति मैले गरेको छु । छोराछोरीले कति गुणस्तरीय शिक्षा लिएका छन् होईन कि कति पैसा खर्च भएको छ भन्ने कुरामा बढी केन्द्रीत हुनु वास्तवमा अभिभावकको पनि समस्या हो कि जस्तो अनुभूति मैले गर्ने गरेको छु । अभिभावकहरु हामीकहाँ आएर अरु केही बन्न सकेन भने छोरा छोरी मास्टर भएपनि बन्छन् कि ? भन्ने कुरा राख्छन् । यो उहाँहरुको अबुझपना हो जस्तो लाग्दछ । हामीले पनि उहाँहरुलाई मास्टर नबनेपनि ठेकेदार अवश्य बन्छ भन्दा अभिभावकबाट ठेकेदार बने झनै राम्रो हुन्छ भन्ने जवाफ आउने गरेको छ । यसले पनि हाम्रो समाज बौद्धिकतालाई भन्दा पनि बढी पैसामुखी बन्ने गरेको अनुभूति भएको छ ।
समाजमा अरु विद्यालय भन्दा अब्बल र गुणस्तरीय ठहरिनको लागि अतिरिक्त क्रियाकलापमा बढी ध्यान दिनुपर्ने हुन्छ । हामीले शिक्षकहरुलाई पनि सरकारी तलबस्केल भन्दा २५ प्रतिशत बढी दिनुपर्ने हुन्छ । यही बाध्यताका कारण पनि निजी स्कूल केही महंगो हुने भएको हो । स्कूलमा आउनेगरेका अभिभावकहरुले भेटेर गुरुहरुलाई नमस्कार गर्ने गरेका छन् । तर, उनीहरुको नमस्कारमा फिलिङ भेटिँदैन । यसले पैसा मात्रै लिईरहेको छ भन्नेगरी खिन्न मानसिकताले नमस्कार गर्ने गरेका छन् । त्यसैले उहाँहरुको नमस्कारमा एयर होस्टेजको जस्तो फिलिङ भेटिने गरेको छ ।
प्याव्सन/एनप्याव्सन दुख पोख्ने फोरम मात्रै
हामी पनि प्याव्सनको सदस्य छौं । तर, यो संस्थाले अरु केही सहयोग गर्ने होईन । यो त मात्रै एउटा दुख पोख्ने फोरम मात्रै हो । सबै दुख गर्ने भनेको आफैंले हो । हामीले पढाएका विद्यार्थीहरु अहिले धेरै ठाउँमा पुगिसकेका छन् । न्यूरो हस्पिटलमा न्यूरोलोजिस्ट मनोज गजुरेल छन् । अरु पनि धेरै महत्वपूर्ण पदहरुमा पुगिसकेका छन् । सरकारी निकायमा सहसचिवसम्म बनिसकेका छन् हाम्रा विद्यार्थीहरु । यी बाहेक समाजका सबै तहर तप्कामा हाम्रा विद्यार्थीहरु पुगिसकेका छन् । उहाँहरु आफ्नै बलबुताले त्यो ठाउँमा पुगेका हुन् भन्नेमा त कुनै शंका छैन । तरपनि उनीहरुको जीवनको मार्गदर्शक बन्न सकेकोमा भने मलाई गर्व लागेको छ ।
दुख भुलाउन इनोसेन्ट बच्चा र संस्कृतको साहारा
स्कूले सानो बच्चाको इनोसेन्ट व्यवहार यदी थिएन भने सायद म डिप्रेसनमा फस्न पनि सक्थेँ । मलाई सधैं त्यही बच्चाको व्यवहारमा रमाउन मन लाग्छ र त्यसैमा रमाउने गरेको छु । त्यस्तै, संस्कृत शिक्षा मेरो दुख भुलाउने मूल साथी बनेको छ । धेरै तनाव भएको बेलामा संस्कृतका केही श्लोेकहरु पढियो भने यसले मेरो आधा पीडा भुलाउने गरेको छ ।
मैले आफूले त धेरै संस्कृत पढ्न पाईन । यसमा मलाई दुख लागेको छ । तर मैले मेरा सन्ततीहरुलाई संस्कृत र संस्कृतिको बारेमा अहिलेदेखि नै ज्ञान दिन चाहन्छु । अहिलेका मेरा विद्यार्थीहरु पछि संस्कृत र अँग्रेजीमा समेत अब्बल बनून् भन्ने सोचाई मेरो छ ।
यो उमेरमा आईपुग्दा मलाई जस्तो समस्या हुन्छ त्यो उमेरमा त मेरा विद्यार्थीहरु पनि प’ग्छन् र त्यो समयमा उनीहरुले पनि समस्यालाई चिर्नको लागि संस्कृत र संस्कृतिको साहारा लिन सकून् भन्ने मेरो चाहाना हो । त्यो बेलामा उनीहरुले पीडा भुलाउन सकून् भनेर संस्कृत सिकाएको हो । कहिलेकाँही यही संस्कृतबाट नै एसेम्ब्ली कन्ड्रक्सन गर्छु । अर्काे कुरा चिनियाँ एम्बेसीबाट यहाँ भाषा शिक्षक बोलाएर चिनियाँ भाषा पनि अनिवार्य विषयको रुपमा राखेर सिकाउने गरिएको छ । अबको युगमा भनेको नेपालका दुई ठूला छिमेकी र ठूला ईकोनोमी यिनै दुई देशहरु हुन् । भारतको त जसोतसो धेरैले भाषा बोल्न जानेकै हुन्छन् । तर, चिनियाँ भाषा धेरैलाई समस्याको विषय बनिरहेको देखेर यसैलाई अन्त्य गर्नको लागि हामीले चिनियाँ भाषा पनि सिकाउन लागेका हौं ।
ब्राह्मण बन्न पाएकोमा गर्व
म जन्मिएपछि मैले समाजलाई केही दिनुपर्छ भन्ने कुरा मलाई लागिरहेको छ । मेरो लक्ष्य शिक्षक बनेर बाँचेको छु र आर्यघाट जाँदा पनि शिक्षक नै बनेर जाने चाहाना मेरो छ । तर, त्यो भन्दा अघि मैले समाजप्रति र आफ्नो पछिल्लो पुस्ताप्रति ईमान्दार बन्नुपर्छ र समाजलाई ढाँट्नु हुन्न भन्ने बुझाई मेरो छ । संस्कृतमा भनिन्छ नि जन्मतो जायते शुद्र कर्मतो विभुक्षते अर्थात् जन्मिँदा सबै शुद्र भएर नै जन्मिन्छन् । तर, उनीहरुले गरेको कामको आधारमा जात निर्धारण गरिन्छ । म पनि जन्मिँदा शुद्र भएर जन्मिएको हो । तर, म अहिले समाजको शिक्षक अर्थात् ब्राह्मण बनेको छु । समाजको ब्राह्मण बन्न पाएकोमा मलाई संसारको सबैभन्दा खुशी लागेको छ । केही पीडाहरु त भित्र पनि सबैको गुम्सिएकै हुन्छ । मेरो पनि एउटा पीडा पूर्वीय दर्शनको कुरा धेरै जान्न सकिएन भन्ने छ । तर, म कामदार बनेर होईन जागिर दिने कर्मदाता बनेर बाँच्न विद्यार्थीहरुलाई सिकाउने गरेको छु । मैले विद्यार्थीहरुलाई आफ्नो दासता स्वीकारेर आफ्नो संस्कृति विर्सिएर विदेश जानु हुन्न भन्ने सन्देश दिने गरेको छु ।
साहित्यमा पनि त्यस्तै
मेरो रुची साहित्यमा त्यत्तिकै रहेको छ । साहित्यिक यात्रामा कथाहरु र ग्रन्थहरु बढी पढ्ने गरेको छु । केही दिन अघि मात्रै मैले गरुण पुराण पढेर सकेको छु । मैले कविताहरु लेख्ने पनि गरेको छु । मैले लेखेका ५५ वटा भन्दा बढी कविताहरुको संग्रह यही चैत भित्र नै प्रकाशन पनि गर्दैछु । त्यसको भूमिका राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखिदिनु भएको छ ।