arrow

ग्रेटवालमा आई लभ यू

logo
अजय अलौकिक,
प्रकाशित २०७४ फागुन २६ शनिबार
Aloukik_chin_cover.jpg

म सन् २००६ मा पहिलो पल्ट चीनको राजधानी बेजिङ आएको थिएं, पर्यटकको रूपमा । यता बेजिङ उड्नु अघिसम्म पनि चीन नेपालकै हाराहारीमा होला भन्ने लागेको थियो। हद भए खासा जस्तो यस्तो सोचेको थिएं। हुन त केही वर्षअघिसम्म पनि धेरै नेपालीले यस्तै सोच्थे होलान। तर यहाँ पुग्दा म दङ्ग परें। तीन छक्क परें। लामा चौडा बाटो, सडकको सञ्जाल फ्लार्इओभर अनि अग्लाअग्ला गगनचुम्बी भवन। जताततै पार्क त्यसमाथि ओलम्पिकको स्वागतका लागि तयारी चल्दै थियो त्यति बेला। 

दक्षिणको छिमेकभन्दा पर नगएको यो मनुवालार्इ यो नै यूरोप यो नै अमेरिका जस्तो लागेको थियो। हलिउड चलचित्रमा हेर्दैआएका दृश्य सबै यतै देखिन्थ्यो। यसरी हजार वर्षभन्दा बढीको इतिहास बोकेको बेजिङ शहरको आधुनिकता, भव्यता देखेर म मुग्ध नै भएं भनेर यहाँ शब्द सिँगारिरहनु नपर्ला।

अनि त्यो भ्रमण बसाइको मुख्य लक्ष्य त पारिवारिक भेटघाट भइ नै हाल्यो त्यस बाहेक सानैदेखि स्कूले जीवनदेखि मनमा बसेको ग्रेटवालमा पाइला टेक्नु थियो। विश्वका सात आश्चर्य भनेर पढेका केही संरचनामा ठूलो भएपछि जान्छु भनेर त्यही बेला अठोट गरेको पनि थिएं। तर त्यही सहज रूपमा बिना भिसा जानसकिने भारतको सात आश्चर्यमध्येको एक प्रेमको निशानी ताजमहल भने हेर्ने अवसर पाएको थिइन। के हुने रहेछ आखिर जीवनमा। जीवनमा इच्छाएका, चाहेका, खोजेका केही कुराबस्तुहरू जुन सहज ढङ्गमा नै प्राप्त हुनसक्ने खालका भए पनि अप्राप्य हुने रहेछन् या टाढिने रहेछन्, पर धकेलिने रहेछन्। या त्यसको बदलामा ठूलै चिट्ठा पनि पर्ने सम्भावना हुँदो हो।

हो। मैले ताजमहल पुग्नुअघि नै ग्रेटवाल पुगुँला भनेर कहिले सोचे जस्तो लाग्दैन। तर आजको दिनसम्म यही एउटा अद्भुत आश्चर्यलाग्दो मानवनिर्मित भौतिक संरचनाको अवलोकन गरेको छु। स्पर्श गरेको छु। एक पटक होइन दुर्इ पटक पनि होइन पटक पटक। अनि यहीँ सदा स्मरण रहोस् भनी बोलेको पनि थिएं मायाका तीन शब्दहरू आई लभ यू।

चिनियाँ जनताको श्रम, मेहनत र बुद्धिको प्रतिफल ग्रेटवाल मानव सभ्यताको गौरव हो। यो शक्तिको प्रतीक पनि हो। साथै शान्तिको प्रतीक पनि जुन देशभित्र शान्तिको अपेक्षामा निर्माण गरेको हो। ७ हजार किलोमिटरभन्दा लामो यस ग्रेटवाल एउटा विशाल ड्रागन जस्तै चीनको विशाल भूमिमा फैलिएको छ। पूर्वको बोहाइ सागरदेखि पहाड र नदीहरू पार गरेर सुदूर पश्चिमको गोबी मरुभूमिसम्म फैलिएको छ। यसै विश्वको चमत्कार मध्येको एक ग्रेटवाललार्इ सन् १९८७मा विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।

चीन बसाइको लामो अवधिमा ग्रेटवाल धेरै पटक गइयो। धेरै ठाउँको ग्रेटवाल गइयो। ठाउँठाउँ अनुसार ग्रेटवालको दृश्य, अनुभव पनि फरक हुनसक्छन् या छन्। तर जुनसुकै ठाउँको ग्रेटवाल चढे पनि विशाल संरचनाले मन हल्लाइदिन्छ। आश्चर्य लाग्नु त स्वाभाविक नै भयो। प्रश्नहरू पनि तेर्सिन्छन् मनमा। तर चिनियाँ योजना, कल्पना, चिनियाँ जनताको सामर्थ्य, परिश्रम, मेहनतलार्इ नमन नगरिरहन सक्दिन। आधा चीन फैलिएको ग्रेटवालको अरु प्रान्त र शहरबाट आरोहण गर्नु बहादुरी गाथाको अर्को अध्याय भन्ने लाग्छ। साथै चीनमा एउटा उखान नै छस् ग्रेटवाल आरोहण नगरी साहसिलो पुरुष मानिँदैन। खासमा यो भनाइ माओ च तुङको हो। ‘ग्रेटवाल नचढेको मान्छे बहादुर मान्छे होइन।’ 

अनि चिनियाँ र विदेशी पर्यटकहरुले ग्रेटवाल चढ्ने कुरालाई गौरवको प्रतीक मानेका छन्। अवश्य पनि ग्रेटवाल चढ्न पाउनु शान हो, विश्वको आश्चर्य लाग्ने मानवनिर्मित संरचनामा खुट्टा टेक्न पाउनु गौरव हो। मानव सभ्यताको एक जीवित इतिहास पुर्खाको धरोहर एक अद्वितिय सम्पदा हो। यो इतिहास र सभ्यताको भव्य र शानदार प्रमाण हो।

यसै ग्रेटवालको सबैभन्दा धेरै पटक चढेको भाग या ठाउँ भनेको पैचिङको हो। अहिले, मलार्इ बेजिङभन्दा पनि यता कै स्थानीय उच्चारणमा पैचिङ भन्न सहज लाग्छ सात वर्ष भइसक्यो यी कानले पैचिङ सुन्न थालेको अनि किन नलागोस् त। र पैचिङ बसाइको क्रममा सबैभन्दा धेरै पटक चढेको पैचिङको ग्रेटवाल अर्थात् पातालिङ अङ्ग्रेजीमा बाडालिङ हो। 

पातालिङ ग्रेटवाल पैचिङ शहरको यानछिङ जिल्लामा पर्दछ। पातालिङको अर्थ आठ दिशा जाने लेक हो। चारैतिरका अरू पहाडभन्दा अग्लो र चारैतिर जान सक्ने भएकोले नै यसलार्इ पातालिङ नामाकरण गरिएको बुझ्न सकिन्छ। यहाँको ग्रेटवालको निर्माणको लागि मिङ राजवंशले एक सय वर्ष लगाएको भनिन्छ। यो मिङ राजवंशको महत्वपूर्ण सैनिक किल्ला र राजधानी पैचिङको महत्वपूर्ण सुरक्षा नाका थियो। 

यो धेरै पटक चढियो र यो क्रम अझै जारी नै छ। किनकी यहाँ पैचिङबाट सहज रूपमा जानसकिन्छ र यसलार्इ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरिएको छ अनि सबै पर्यटक यतै ओइरिन चाहन्छन् र आफ्ना साथीभाइ, नाताकुटुम्ब, इष्टमित्र तथा चिनजानका व्यक्तिलार्इ बारम्बार लैजाने गरेको छु। अहिले म मेरो पहिलो अनि सदा स्मरणमा रहने गरेको २००६को ग्रेटवाल चढाइको वर्णन गर्ने अनुमति चाहन्छु।

आदरणीय बुवा कृष्ण केसी चीनमा रहनु हुँदा म आफ्नो परिवार भेट्न, मेरी पत्नी र छ महिना पुगेकी छोरीलार्इ भेट्न आएको थिएं। त्यसै क्रममा पातालिङ ग्रेटवाल चढेका थियौं जुन यहाँबाट पुग्न धेरै सहज छ अरूको तुलनामा। त्यस बेला पैचिङभित्र अरू ठाउँमा पनि ग्रेटवाल छ भन्ने कल्पना नै गरिएन। त्यहीँ मात्र पुग्दा नै मनमा अटाएन। कति विशाल, पहाडमाथि आँखाले भ्याएसम्म फैलिएको छ, चारैतिर। त्यो विशाल आश्चर्यलाग्दो अद्भुत संरचना। त्यसमाथि बाटोमा पनि पातालिङ पुग्दानपुग्दै ग्रेटवालहरू दायाँबायाँका पहाडमा देखिएको थियो। अनि अर्को एउटा भव्य संरचना तलबाट हाम्रो गाडि हुँइकेको थियो। त्यसको नाम अर्कै रहेछ, जुयोङ पास भनिदो रहेछ। धेरै पछि थाहा पाइयो।

पातालिङ ग्रेटवालतर्फ मन दौडेदेखि नै उत्सुक थिएं नै। बाल्यकालमा देखेका अनगिन्ती सपनाहरू जुन अहिले कति यादमा नै छैनन् तर एउटा भने पूरा हुँदैथ्यो। हर्षविभोर भइसकेको थिएं म त्यसको प्राङ्गनमा टेकेपछि नै। अनि भाइ प्रतीगले हामी सबैलार्इ एक एक वटा टिकट दियो अनि उक्लियौं मानवले नै पहाडमाथि निर्माण गरेको पर्खालमा। 

कति अचम्म, त्यो त टाढैबाट हेर्ने, यसो छुने अनि अडेससम्म लाउन पाइन्छ कि भनेर सोचेको त्यो पर्खालमा त मजाले चढ्न नै पाइने। पर्खालभित्र त भर्याङ अनि उक्लियौं। कति फराकिलो, कतै भर्याङ, कतै बाटो नै। अब अर्को टावर अब त्यहाँसम्म भन्दै हामी चढ्दै गयौं अनि यसै बीच भाइ प्रतिगतर्फ फर्केर भने। “ल बाबु, अब फोटो होइन, भिडियो नै खिच्नु। हुन त तिम्रो अघि अलि अफ्ठ्यारो नै लाग्ला तर म यो मौका गुमाउन चाहन्न।” अनि मैलै मेरी प्रियसी मेरी अर्धाङ्गिनीको हात समाए र भनें। “हेर, तिमीले धेरै पटक भन्ने गरेकी छौ कि मैले तिमीलार्इ कहिले आई लभ यू भनेन भनेर। उहिले लभ गर्दा भन्थ्यौ तर पछि कहिले भनेनौ।” उनलार्इ ग्रेटवालपछि अर्को आश्चर्य लाग्यो कि असहज महसूस गरे थाहा भएन। तर म भने बोल्दै गएं। “तर त्यस्तो होइन मैले बारम्बार भन्ने गरेको छु, त्यसकारण अब सदा याद रहिरहोस् भनेर म यस अद्भुत मानव संरचनामा उभिएर फेरि पनि दोहोर्याउछुँ, तिमीलार्इ भन्छु मनभित्रको आवाज सुनाउँछु, आई लभ यू।”

अङ्गाले, उता भाइ भिडियो लिँदै थियो। चिनियाँको परिश्रम, दुःख देखेर भावुक भएकै थिएं फेरि एक पटक माहौल भावुक बन्यो। मेरो लागि उनका लागि। त्यस पछि चिनियाँ सामर्थ्यको प्रतीक, साहसको प्रतीक, शान्तिको प्रतीक अनि प्रेमको प्रतीक ग्रेटवालको चोटीसम्म पुगेर झर्यौं। 

विश्व प्रसिद्ध ग्रेटवालको इतिहासलार्इ पल्टाउँदा यसको निर्माण ईपू सातौं शताब्दीतिरबाट भएको देखिन्छ। प्राचीन कालमा ग्रेटवाल जनता, शान्ति, सुरक्षा तथा प्रतिरक्षाका लागि महत्वपुर्ण थियो नै यसले प्राचीन युगमा कृषिको विकास र आर्थिक व्यापारको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको थियो। अहिले यसको भव्य विशाल संरचना र वरपरको परिदृश्यका कारण पर्यटकीय आकर्षणका साथै लभस्पोट पनि बनेको छ।
(अजय अलौकिकको अलौकिक चीनबाट, यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ। लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञको रूपमा कार्यरत छन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ