arrow

राज्यको असमावेशी अनुहार, अब राष्ट्रियसभा अध्यक्षमा को ?

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
sanghiya-samsad.png

काठमाडौं । संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरे पनि वाम गठबन्धनले हालसम्म राज्यको प्रमुख निकायमा समावेशी अनुहार पठाएको छैन । 

राज्यको मुख्य निकाय राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा एउटै अनुहार परेको छ ।

राज्यको चार प्रमुख निकायमध्ये तीन निकायमा एउटै अनुहार परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी बन्ने निश्चित जस्तै छ । निर्वाचनको औपचारिक प्रक्रिया मात्रै बाँकी छ ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली र सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । सभामुखमा माओवादीबाटै बनाउँदा पनि ओनसरी घर्ती बनाउन सकिन्थ्यो । 

संक्रमणकालको भन्दै राष्ट्रपति दाहोराइएको बेला यसअघि राम्रो काम गरेकी घर्तीलाई माओवादीले दोहोराएन । एमालेबाट पूर्व सभामुख सुबास नेम्बाङको समेत रुची थियो । तर, सभामुख महरा बनेका छन् । 

अब बाँकी राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन बाँकी छ । राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबारका लागि तोकिएको छ । 

बुधबार निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । अब राष्ट्रियसभामा फरक अनुहार नपठाए राज्यको अनुहार पूर्णत असमावेशी बन्नेछ ।  वाम गठबन्धनको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको छ ।


अब राष्ट्रियसभामा को ?
राष्ट्रिय सभा अध्यक्षका लागि एमालेका पर्शुमेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेना दाबेदार देखिएका छन् । राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेपछि गुरुङ र तिमिल्सेना दाबेदार देखिएका हुन् । राष्ट्रिय सभा अध्यक्षको पनि प्रतिनिधिसभाका सभामुखको जस्तै भूमिका हुने संवैधानिक व्यवस्था छ ।


को हुन् गुरुङ ?
एमालेबाट दाबेदार मध्ये गुरुङ सबैभन्दा सिनियर नेता हुन् । एमाले पोलिटव्युरो सदस्य गुरुङ ०४८ मा संखुवासभाबाट १ बाट  र ०५६ मा संखुवासभा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०५६पछि एमाले संसदीय दलको सचेतक भएर पनि काम गरेका थिए । उनले त्यतिबेला सचेतकको भूमिका कुशलतापूर्वक सञ्चालन गरेका थिए । 

०५१ मा एमाले संखुवासभा जिल्ला अध्यक्ष भएका गुरुङ संविधानसभा निर्वाचनमा उम्मेदवार बनेनन् । उनलाई समानुपातिक तर्फ अवसर पनि दिइएन । उनले २०६४ देखी २०६९ सम्म नेकपा (एमाले) मुख्यालयमा कार्यालय सचिवको जिम्मेवारी सम्हाले । 

एमालेले संघीय मामिला विभाग प्रमुख स्थापना गरे यता उनी यो विभागका प्रमुख हुन् । नेपालको संघीयता र स्थानीय तहको बारेमा गहिरो जानकारी राख्ने गुरुङ हालका सात प्रदेशको खाकाका प्रस्तावक समेत हुन् । एमालेका अन्य नेताहरुले समेत १० देखी १४ प्रदेशको खाका प्रस्तुत गरीरहेको बेला उनले बढ्रीमा ८ प्रदेश हुने भन्दै उनले खाका प्रस्तुत गरेका थिए । पछि उनकै खाका अनुसार नेपालको ७ प्रदेश निर्माण गरिएको हो । 

पहिलो संबिधान सभा विघटनपछि तत्कालिन उपाध्यक्ष अशोक राई सहित आदिवासी जनजाति नेताहरुले एमाले पहिचान बिरोध पाटीको आरोप लगाएर बाहिरिएपछि गुरुङको बिभागले देशभरी प्रशिक्षण चलाएका थिए । 

उनले पुन संरचनाको वैज्ञानिक खाका प्रस्तुत गरेर एमाले जनजाति र पहिचान बिरोधी होइन भन्ने तथ्यलाई कार्यकर्ताको विचमा प्रस्तुत गरेका थिए । 

हाल कार्यान्वयनमा रहको स्थानीय तहको परिकल्पनाकार र  प्रस्तावक समेत हुन् उनी । हाल ७ सय ६६ स्थानीय तह कार्यान्वयनमा छ । उनले पहिलोपटक ९ सय २५ स्थानीय तहको प्रस्ताव गरेका थिए । एमालेको यो प्रस्तावलाई नै मिलाएर ७ सय ६६ बनाइएको हो । 


संसदीय अभ्यासको पनि जानकार नेता गुरुङ एमालेभित्र इमानदार नेताका रुपमा परिचित छन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव समेत रहेका गुरुङलाई राष्ट्रिय सभामा अध्यक्ष बनाउन दबाब बढेको छ । 

स्रोतका अनुसार गुरुङको बारेमा एमालेका शिर्ष नेताहरु ‘कन्भीन्स’ छन् । एमालेका एक नेता भन्छन्,‘उहाँको योगदान र भूमिकाबारे सबै शिर्ष नेता जानकार र कन्भीन्स हुनुहुन्छ ।’

को हुन् तिमिल्सेना ?
एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् । पार्टीमा लामो समय काम गरेकाले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने तिमिल्सेनाको दाबी छ । उनी पहिलोपटक राष्ट्रिय सभामा सांसद भएका हुन् । तिमिल्सेना संसदीय अभ्यासमा नयाँ हुन् ।

राष्ट्रिय सभामा कुल ५९ जनामध्ये ५६ जनाले मात्र भोट हाल्न पाउँछन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम दुई र राजपा दुई सदस्य छन् । त्यस्तै, राष्ट्रपतिबाट तीनजना मनोनीत भएका छन् ।

उपाध्यक्ष टुंगो लागेन
राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी भागमा परेको हो । तर, संघीय समाजवादी फोरमसँग वार्ता जारी भएकाले उपाध्यक्षको निर्णय गरिएको छैन । फोरमले तीन मन्त्रीसहित सभामुख वा राष्ट्रिय सभाको अध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ । 

तर, एमाले–माओवादीले दुई मन्त्रीसहित एक राज्यमन्त्री दिने गरी छलफल अगाडि बढाएका छन् । फोरमसँगको वार्ता टुंगिएपछि मात्र माओवादीले उपाध्यक्षको टुंगो लगाउने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन ४ चैतमा हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ