arrow

गगनले संसदमा भने : अब परिणाम चाहिन्छ, त्यो पनि नगदमा खनखन्ति

दुई तिहाईको दिव्यशक्तिको मोह पछाडीको नियत के हो?

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
gagan.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले संघीय संसदमा आइतवार ऐतिहासिक सम्वोधन गरेका छन्।नेपाली काँग्रेसले किन प्रधानमन्त्रीलाई विश्वासको मत नदिइ प्रतिपक्षमा बस्छ भन्ने बारेमा केन्दरीत थापाको भाषण यो संसद शुरु भएयताकै उत्कृष्ट  थियो। उनको यो भाषणले नेपाली कााग्रेस प्रतिपक्षी बेञ्चमा समेटिने हैसियतामा आइपनि हौसला वुलन्द छ भन्ने संकेत गरेको छ। संसदमा काँग्रेस नेता थापाले सरकार २ तिहाइको पछि लाग्नुको नियत के हो ? मुलुकमा संस्थाहरु हुँदा हुँदै व्यक्ति बलियो बनाउनुपर्छ भनेको के हो भन्दै सरकार तथा प्रधानमन्त्री माथि प्रश्नै प्रश्नका चाङ खडा गरेका छन् ।

संसदमा पहिलो पटक आफ्नो मन्तव्य राख्ने क्रममा नेता थापाले विपीलाई सम्झेर आफ्नो कुरा शुरु गरेका थिए।  विपी कोइरालाले २००५ सालमा नेपाली काँग्रेसको ध्येयको बारेमा लेखेको एउटा सन्दर्भ उल्लेख गर्दै थापाले भने नेपाली काँग्रेस जनताको प्रतिनिधीको संस्था बनाउन चाहन्छ। त्यस्तो संस्थाबाट सरकार बनाउन चाहन्छ र त्यो सरकार जनताको प्रतिनिधीको संस्थाप्रति उत्तरदायी होस। विपीले भने जस्तै जनताको प्रतिनिधीको संस्था संसद त बन्यो तर त्यसलाई राजाले खाइदिए। दोस्रो पटक पनि राजाले खाइदिए। लामो संघर्षपछि राजसंस्था नै फालिएर नयाँ संविधान जारी हुँदै यहाँसम्म आइपुगेको थापाले संसदमा स्मरण गराए।

लामो संघर्षपछि संविधानमा वहुलवादमा आधारित वहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली नै नेपालको शासकीय स्वरुप हुने लेखिएको छ। यसप्रति प्रधानमन्त्री तथा विभिन्न दलका नेता सांसदहरुले आफ्नो तथा दलका तर्फबाट प्रतिवद्धता जनाएकोमा खुसी व्यक्त गरेपनि त्यसबाट सन्तुष्ट नभएको थापाले बताए। राजाले पटकपटक खाइदिएको कारण अहिले पनि काँग्रेसलाई आशंका रहने गरेको छ थापाले भने। संविधान संसोधनको विषय अघिल्लो संविधानसभामा राख्दै गर्दा यसको बारेमा उच्चारण गर्नु नै राष्ट्रघात हुन्छ भन्नेहरु कसरि अहिले संविधान संसोधनको मुद्धामा सहमत भएर आए थापाले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीप्रति प्रश्न तेर्स्याए। 

संविधानसभामा नस्विकार्ने एमाले आज संविधान संसोधन गर्न माथापच्चि गरेर सहमतिमा पुग्दै छ भन्ने चर्चा भएको छ । स्पष्ट वहुमतमा रहेको सरकार दुई तिहाईको समर्थन पुर्‍याउने लोभमा हिजो राष्ट्रघात देखेको संविधान संसोधन गर्ने ठाउँमा आएको छ। आखिर के का लागि? दुई तीहाइको दिव्यशक्तिको मोहको पछाडीको दौडिनुको कारण के हो ? यसको पछाडीको नियत के हो ? 

प्रधानमन्त्री ओली लिक्वान र महाथिर महम्मदको प्रशंसक भएको सुनेको उल्लेख गर्दै थापाले देशमा बलियो नेतृत्व नहुँदा देशमा विकास र स्थिरता हुन नसकेको ओलीले विश्वास गर्ने गरेको साथीहरुले सुनाउने गरेको बताए। थापाले भने, ' त्यस्तो वलियो नेता हामीले महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र देखेर आइसकेका छौ, ३० बर्ष हामीले व्यहोरेर आइसकेका छौ। अब बलियो राजनेताको नाममा  हामीलाई अर्को कुनै त्यस्तो महापुरुष चाहिएको छैन।' 

संविधानले राज्यको अधिकारहरुलाई स्पष्टसँग भनेको छ र त्यसको व्याख्या समेत गरेको छ। केन्द्र प्रदेश र स्थानिय तहमा अधिकारहरु संविधानमै बाँडिएको छ। सरकार, सदन र अदालतको सीमारेखा पनि कोरिएको छ। संवैधानिक आयोगहरुको व्यवस्था पनि छ। यि संस्थाहरुलाई बलियो बनाउने हो। यस्ता संस्थाहरुलाई संरचनागत रुपमा वलियो बनाएर जनतालाई राज्यले गरेका कामहरु देखाउने हो। विश्वास आर्जन गर्ने हो। तर यस्ता संस्थाहरुलाई बलियो बनाउनेतर्फ नभइ ब्यक्ति बलियो बनाउनेतर्फ लाग्यौ भने फेरि अर्को दुर्घटना हुने उनले प्रधानमन्त्रीलाई चेतावनी दिए। संविधानले गरेका व्यवस्थाहरुलाई कमजोर बनाउँदै व्यक्ति बलियो बनाउने प्रवृतीको विरुद्ध काँग्रेस उभिन्छ र त्यो दुर्घटना रोक्न चाहन्छ त्यसकारण पनि काँग्रेस प्रतिपक्षमा बस्न चाहन्छ थापाले थपे। 

दलहरुले पटकपटक आन्दोलनमा समृद्धीको बाचा गरेको थापाले स्मरण गराए। हिजो राजाका कारणले भएन भन्यौ राजा फाल्यौ। संविधानको कारणले भएन भन्यौ संविधान फाल्यौ। एकात्मक व्यवस्थाका कारणले भएन भन्यौ त्यो व्यवस्था पनि फाल्यौ। अब हामी स्थिरता नभएको कारणले समृद्धी ल्याउन सकेनौ भनिरहेका छौ। त्यसका लागि अस्थिर सरकार पनि फाल्यौ र स्थिर सरकार पनि ल्याएका छौ। केन्द्र प्रदेश सबैतिर स्थिर सरकार बन्दै छ। केपी ओली शक्तिशाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ काँग्रेस जस्तो जिम्मेवार प्रतिपक्ष छ। अब यस्तो बेलामा वामगठवन्धनलाई आफ्नो घोषणापत्रमा भनेको कुरालाई ध्यानमा दिएर काम गर्न थापाले सुझाव दिए। अब कसैले काम गर्न सरकारलाई रोक्न सक्दैन। दिन गन्ति गर्नुस र काम थाल्नुस।

थापाले प्रधानमन्त्रीलाई औंल्याउँदै सम्झाएः 

पाँच बर्षमा प्रत्येक बर्ष दश प्रतिशत आर्थिक बृद्धिदर हुने वामगठवन्धनले घोषणापत्रमा उल्लेख गरेको छ। भ्रष्टाचार शून्य हुन्छ। दुई बर्षभित्र नेपालले एउटा पनि कृषी उपज बाहिरबाट किन्नु पर्दैन। पाँच बर्षभित्र हामीले नै बेचेर पैसा कमाउँछौ। ५ बर्षभित्र नेपालका सबै कृषी योग्य जमिनमा सिंचाइ हुनेछ। फास्ट ट्रयाक ५ बर्षमै बन्नेछ। नीजगढको विमानस्थल ५ बर्षमा बन्नेछ। पूर्व पश्चिम रेलमार्ग ६ लेनको मात्र हुनेछैन त्यसको छेउबाटै विद्युतिय रेलपनि कुद्नेछ। २५ लाख पर्यटक नेपालमा भित्रिनेछन। २० प्रतिशत वजेट शिक्षामा छुट्याइनेछ। प्रत्येक प्रदेशमा एक हजार जनाले उपचार पाउने हजार शैया सहितको अस्पताल खोलिनेछ। सबै खाले महिला हिंसाको अन्त्य हुनेछ। जो महिला हिंसामा संलग्न हुन्छ उसलाई आजिवन श्रम सहितको कारावास हुन्छ भनेर गठवन्धनको घोषणापत्रमा तपाइले लेख्नुभएको छ। मलाई यहाँ तैले हाम्रो घोषणापत्र कण्ठ पारेर आइस भनेर भन्नुहोला। कण्ठ मात्र होइन कण्ठस्थ पारेको घोषणापत्रलाई यो सदनमा पटक पटक दोहोर्‍याउनेछु, काम भए नभएको गन्ती गराउनेछु। अब यदि तर जस्ता कुनै पनि कुरा आफूहरु सुन्न तयार नभएको उल्लेख गर्दै थापाले घोषणापत्र अनुसार काम गर्न वाम गठवन्धनलाई चुनौती दिए। 

अब कुनै पनि छलछामले काम नगर्ने थापाले बताए। अब कुनै किन्तु परन्तु होइन। अब परिणाम उधारोमा पनि होइन खनखन्ती नगदमा चाहिने थापाले बताए। काँग्रेसका सांसदहरुमा उत्साह भरेका थापाले सम्वोधन गरिरहँदा सत्तारुढ दलका सांसदहरु पनि एकटकले ध्यान दिएर उनलाई सुनिरहेका थिए। नेपाली काँग्रेस अब प्रतिपक्षमा बसेर जनताको लागि माग्ने काम गर्छ। प्रतिपक्ष बेञ्च देखाउँदै थापाले भने त्यो प्रतिपक्षको बेञ्चमा बसेर अब माग्ने पालो हाम्रो हो। त्यसका लागि पनि हामी प्रतिपक्षमा बस्न चाहन्छौ। त्यसकारण पनि हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौ उनले भने। 

पहिचानका मुद्धामा एमालेको अडानमा थापाको प्रहारः 

राज्यको अस्तित्व विविधतासँग जोडिएको छ। संविधानले विविधताको पहिचान मात्र हैन सम्मान पनि गरेको छ। राज्यव्यवस्थाको सञ्चालन र विकासमा विविधतालाई सँगसँगै लैजानुपर्छ भनेर यो संविधानले भनेको छ। विविधताको वैधानिकता संविधानले दिएपनि विविधताको वैधता भने व्यक्तिको सोचले पनि निर्धारण गर्छ। मधेश केन्द्रीत दलहरुले विश्वासको मत दिने भनिरहनु भएको छ। प्रदेशमा हामीलाई दिनुभयो केन्द्रमा हामी दिन्छौ भनेर लेनदेनको कुरा भएको होला त्यसमा हामीलाई भन्नु केहि छैन। तर मधेश केन्द्रीत दलहरुले मत हाल्दैमा विगतका दुई अढाइ बर्षमा एमालेका अध्यक्ष केपी ओलीले राखेको वाणी र अडानबाट नेपालमा धोती लाउनेहरुको मन जसरी फाटिएको छ आज त्यो मतले जोड्दैमा त्यो मन जोडिदैन। नेपालको सन्दर्भमा मात्र हैन अन्तराष्ट्रिय रुपमा आइरहेको राष्ट्रिय भावनावाला अभियानलाई हेर्नुपर्ने हुन्छ। पहिला त्यो अभियानले एउटा लोकप्रियता हासिल गर्छ। त्यसपछि निर्वाचनबाट निर्वाचित भएर आउँछ। विस्तार विस्तारै त्यहि निर्वाचनलाई नै निल्छ। हामीलाई आशंका छ। त्यो आशंका नेपालका सन्दर्भमा असत्य होस। तर यो वेलामा हामीले खवरदारी नगरे कस्ले गर्छ। त्यहि भएर पनि हामी प्रतिपक्षमा बस्दैछौ। अन्तराष्ट्रिय सम्वन्धलाई सन्तुलित ढंगले लिएर जाने प्रधानमन्त्रीले आस्वस्त पार्नुभएको छ। हामी त्यो हेर्छौ। नभए खबरदारी गर्न पनि प्रतिपक्षमा बस्न चाहन्छौ। बरालिन खोजेमा सरकारलाई सहि बाटोमा ल्याउन पनि हामीले प्रतिपक्षमा बस्न चाहन्छौ। 

ओलीलाई बोलीमा लगाम लगाउन सुझावः

संसदको चुनाव लड्दै गर्दा मेरो एउटा अनुभव छ। एमाले अध्यक्ष ओलीले मेरो निर्वाचन क्षेत्रमा आएर भन्नुभएछ यो केटो सेलिब्रेटी हो फोटो खिच्न मात्र काम लाग्छ। मैले त्यसलाई हल्का रुपमै लिए। चुनावकै बेलामा कम्युनिष्टहरुमा सबैभन्दा शुद्ध कम्युनिष्ट विप्लवका कार्यकर्ताले मलाई लक्षित गरि बम पड्काए। एमालेका साथीहरुले भनेछन यो काँग्रेसले आफै पड्कायो। एमाले अध्यक्ष ओलीले भन्नुभएछ यो काँग्रेसले पड्काएको हुनसक्छ। हामीले चुनावको बेलामा यस्तै आरोप लगाउन सक्छन केहि छैन भनेर त्यसलाई पनि हल्का रुपमै लियौ। चुनावको बेला जे बोले पनि हुन्छ भनेर उहाँहरुले भन्नुभएको होला भनेर हामीले त्यसलाई वास्ता पनि गरेनौ। तर सम्माननीय केपी ओली अब एमालेको अध्यक्ष मात्र होइन देशको प्रधानमन्त्री हुनुहुन्छ। अब जे पनि बोल्न पाइन्न। अब प्रत्येक बोलीको हिसाव राखिन्छ। अब प्रत्येक बोलीको हिसाव किताव मागिन्छ। अब यो सदनमा हिसाव किताव माग्ने पनि कोहि चाहिन्छ। त्यसकारण हामी विश्वासको मत नदिइ प्रतिपक्ष बेञ्चमा बसेर प्रत्येक बिषयबस्तुमा हिसाव किताव माग्न चाहन्छौ। त्यसकारण हामी प्रतिपक्षमा बस्न चाहन्छौ। प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना। प्रधानमन्त्रीबाट सफल प्रतिपक्षका लागि हामीलाई पनि शुभकामना प्राप्त हुने्छ भन्ने विश्वास व्यक्त गर्दछौ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ