arrow

चौधरी आक्रमणमा संलग्न रहेको आशंकामा ३ जना पक्राउ

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७४ फागुन २९ मंगलबार
mamata_chudhary1.jpg

धनगढी । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कैलाली प्रहरी प्रमुख बिनोद घिमिरेको नेतृत्वको टोलीले सोमबार राति सुखड क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

प्रहरीले उनीहरु नेकपा माओवादी (विप्लव समुह) का कार्यकर्ता हुनसक्ने अनुमान गरेको छ । थप अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने कैलाली प्रहरीले जनाएको छ ।

सोमबार राति ८ बजेर १० मिनेटतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई अपरिचित समूहले काम छ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । 

चौधरीको कम्मर मुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद घिमिरेले  बताएका छन् । 

उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । 

थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज लगिए पनि उनको कम्मरमा धसेको गोलि झिक्न नसकिएकाले काठमाडौं थप उपचारका लागि लैजाने तयारी गरिएको एसपी घिमिरेले बताए । 

गम्भीर चोट लागे पनि उनको अवस्था भने खतरामुक्त रहेको बुझिएको छ । उपचारमा संलग्न चिकित्सकले चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घिमिरेले बताए ।

बोक्सीको आरोपमा कुटिएकी युवतीको घटना प्रहरी चौकीमै मिलाएको भन्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नगर प्रमुख चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो । 

विप्लव समुहका नेता ओमप्रकाश पुनले सामाजिक सञ्जालमा बोक्सी प्रकरणमा नगरप्रमुखलाई कारवाही नगरे ‘जनसत्ता’ले कारवाही गर्ने चेतावनी दिएका थिए ।

३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर आक्रमण गरेको बुझिएको प्रहरी उपरिक्षक घिमिरेले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

उक्त मोटरसाइकल कसको हो भन्ने अबेर रातिसम्म खुलेको छैन । नगर प्रमुख चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर उनलाई अस्पताल पुर्याइएका थिए । घरभित्र बसेका बेला बाहिर बन्दुक पड्किएको आवाज सुनेपछि बाहिर आउँदा आक्रमण भएको थाहा पाएको पाण्डेयले बताए ।

 ‘घरमा पुगेकै बेला मेयरमाथि आक्रमण भएको देखेपछि दुवै जनाले आक्रमणकारीलाई रोक्न खोजे, तर पेस्तोल देखाएर तर्साए,’ पाण्डेयले भने, ‘मेयरकी भाउजुले पनि रोक्न खोजे पनि आक्रमणकारी पेस्तोल देखाउँदै मार्ने धम्की दिएर भागेको प्रत्यक्षदर्शी हरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ