arrow

प्लास्टिकजन्य फोहोर र व्यवस्थापन

logo
सुरेश गजुरेल,
प्रकाशित २०७४ चैत ३ शनिबार
plasticscrapyard.jpg

पुनर्वास । हाम्रो दिनचर्याका अवश्यकीय बस्तु भाँडाकुडा, फर्निचर, पाईप, हवाईजहाज, मोटर कार आदि प्रत्येक बस्तुमा मुख्य तथा सहायक श्रोतकोरुपमा प्लास्टिक प्रयोग भएकै हुन्छ । सस्तो, टिकाउ र औधोगिक उत्पादन हुँने हुँदा यसको उत्पादन र प्रयोग दिनानुदिन बढ्दै गईरहेको छ । आर्थिक दृष्टिले प्लास्टिक मित्तव्ययी, सर्वसुलब पहुँच, हलुगों, ओसारपसार र भण्डारण गर्न पनि सजिलो हुँने जस्तो विविध कारणले हामी प्लास्टिककै बस्तुहरु छनौट गर्न बाध्य छौं । दैनिक उपभोग्य बस्तुहरु खरिद विक्रि गर्दा कागज, जुट, झाईबरको झोला भन्दा प्लास्टिकको झोला बढि बलियो र सस्तो पर्छ । यस कारण पनि हामी जस्ता न्यून क्रयक्षमता भएका मानिसहरुलाई प्लास्टिकका बस्तु रोज्नुको विकल्प छैन् । मानव जिवनमा प्लास्टिकको उपभोग दिन प्रतिदिन बढ्दै छ ।

प्लास्टिकले हाम्रा दैनिकिमा केहि सजिलो बनाए पनि यसका अवगुणहरु पनि प्रसस्त छन् । यसबाट उत्सर्जन भएको फोहोर व्यवथापन एउटा दिर्घ जटिल समस्याको बिषय हो । जतातै अव्यवस्थित रुपमा प्लास्टिक फाल्नले वाताबरण फोहोर हुँने, पानीको मूहान, नदी नाला प्रदुषित हुँने तथा नगर गाउँको शोभा नै कुरुप पारिदिने गर्दछ ।

प्लास्टिकलाई व्यवसायिकरण, बहुउपयोगिता र सस्तो बनाउन ईथाईलिनकरण गरेर पोलिईथाईलिनको निर्माण गरिन्छ । प्लास्टिकलाई नरम, दरिलो र टिकाउ बनाउन ईष्टर थ्यालेटको मात्रा ९५ प्रतिशत सम्म प्रयोग भएको हुँन्छ । नेपालमा अहिले २० माईक्रोन भन्दा पातलो र १६।३२ भन्दा सानो प्लास्टिक उपादन वा विक्रि वितरण गर्न पाईदैन् ।

जथाहावी फालिने प्लाष्टिकजन्य फोहोरले मानव स्वास्थ्य तथा पर्यावरणलाई त हानी गर्छनै समग्र फोहोर व्यवस्थापनलाई समेत कठिन बनाई दिएकोछ । साधारणतया हामी प्लास्टिक फोहोरलाई तीन प्रकारले वयवस्थापन गर्ने गर्दछौं :
१. लापरवाहीपूर्ण जतासुकै फ्याकि दिने ।
२. जम्मा गरेर गाड्ने ।
३. जलाउने ।


गाउँ घरमा हामीले प्लास्टिकजन्य फोहोर व्यवस्थापन यसरी नै गर्ने गरिन्छ । तर माथि उल्लिखित सबै अभ्यासहरु मानव तथा प्रर्यावरणमैत्री छैनन् । प्लास्टिकलाई घाम, जीवाणु, लेउ, झ्याउ, ढुसीले पनि गलाउन सक्दैन् । यो किट, पशु पंक्षीको आहार पनि बन्न सक्दैन् । माटो, पानीको अम्ल, क्षारसंग पनि प्रतिकृया गर्न नसक्ने हुँदा माटो, पानीले पनि गाल्न सक्दैन् । प्लास्टिक माटोमा गाड्दा जैविक उत्पादन प्रणालीमा समेत प्रत्यक्ष असर पार्दछ भने प्लास्टिक जलाउदा पनि अत्याधिकरुपमा नोक्सानदायि कार्बनडाईअक्साईड, कार्बनमोनोअक्साईड जस्ता विषालु ग्याँस उत्पादन हुँने गर्दछ ।

घरेलु प्रयोगमा पनि प्लास्टिक झोला (झिल्ली) लाई पनि चार भागमा बर्गिकरण गरेको छ । झोलजन्य खाद्य बस्तु (होटलको खाना, तेल, डेरीको दुध दही) को लागि सेतो पारदर्शी सेतो गुणस्तरीय, निलो वा हरियो अन्य अखाद्य बस्तुहरु, कालो प्लास्टिक फोहोरजन्य बस्तुको लागि मात्रै प्रयोग गर्नु पर्ने प्रावधान छ ।

तथापि मापदण्ड विपरित बजारमा प्लाष्टिकका स–साना फोलाहरु बिक्रि बितरण भईरहको छ जसका कारण फाहोर पनि त्यहि मात्रमा बृद्धि भईरहको छ । फोहोर हाल्ने कालो प्लास्टिक झोलामा नै खाद्यबस्तु, पकाएको वा झोलवाल खाने कुरा खुलेआम विक्रिवितरण गरिरहेको अवस्था छ ।

फलिएको प्लास्टिक (रिसाईकल) बाट बनेको कालो झिल्लीमा खाद्य सामाग्रीहरु राख्नु स्वास्थ्य हित विपरित हो तर सस्तो हुँने हुँदा आम जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड भईरहेको छ । यस्ता पलाष्टिक झोलामा हालिएको अत्याधिक ईष्टर थ्यालेटले विभिन्न अगंहरुको सकृय कोषिका मार्छ, अण्डकोस, डिम्वासय, गर्भ आवस्थाको भूर्ण, बाँझोपन, हार्मोनको गडबढि, कुपोषण जस्ता मानव प्रजनन्मा सिधा असर पुर्याई रहको हुँन्छ ।

फोहोर व्यवस्थापन तथा सरसफाईका लागि राज्यले विभिन्न अबधारणा बनाएको छ । त्यसै अनुरुप वतावरणमैत्री शासन पनि एक हो । स्थानीय शासन ब्यवस्थालाई बातावरणमत्री तथा जिम्मेवार बनाउई वातावरण र विकासमा समन्वय तथा सहकार्य गर्न प्रत्साहन गरी वातावरणको दीगो व्यवस्थापनमा स्थानीय स्वामित्व बढाउने उद्दश्यले २०७०।६।२३ बाट सबै नगरपालिका र गाविसमा यो नीति लागू भईसकेकोछ छ । यद्यपि कार्यन्वयन कस्तो छ भन्ने सवाल समिक्षाको बिषय हो । वातावरणमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य र सरसफाई, नविकरणीय उर्जा, हरियाली शहरी सौदन्र्य, खानेपानी, विपद् व्यवस्थापन, बन तथा भूसंरक्षण, भौतिक निर्माण आचार संहिता, ध्वनी प्रदुषण नियन्त्रण, जंगल, पार्क पोखरी, फोहोर व्यवस्थापन, कृषि, जस्ता विभिन्न आधाभूत शिर्षकहरुमा जिल्ला, नपा, वडा, टोल र घर परिवारले गर्नै पर्ने (आधारभूत सूचक) तथा गर्न सकिने (विकसित सूचक) को व्यवस्थाहरु उल्लेख गरिएको छ ।

जसमध्ये प्लास्टिकजन्य फोहोरको हकमा घर परिवारको तहमा आफनो घरको फोहोरको बर्गिकरण गरी प्लास्टिकलाई छुट्टै जम्मा गरि बिक्रि वा निर्धारित स्थलमा जम्मा गरिएको हुँनु पर्ने, पलास्टिक झोलाको सट्टा जुट, कपडा, कागजको झोला प्रयोग गर्ने । टोल तहमाः समुदायका सदस्यले न्यूनतम बार्षिक २ पटक आफ्नो टोल भित्र सामुहिकरुपमा सरसफाई अभियान संचालन गरी घरेलु फोहोर, झारपात, प्लास्टिक हटाउने । आफ्नो टोल सडक, नाला, गल्ली, खोला, खेत, बन, चौरमा प्लास्टिक फोहोर नभएको । वडा तहमा संकलित प्लास्टिक वडा कार्यालय, आफै किन्ने वा कुनै संघ संस्था वा व्यक्तिले किन्ने व्यवस्था मिलाएको हुँनु पर्ने । नगरपालिका तहमा प्लास्टिक प्रयोग बन्देज गरिएको हुँनु पर्ने, प्लास्टिक झोलाको विकल्पमा वातवरणमैत्री झोला उत्पादन गर्न प्रोत्साहित भएको हुँनु पर्ने, पलास्टिक प्रयोग तथा व्यवस्थापन गर्ने कार्यका लागि वडाका कम्तीमा २ जना व्यक्तिलाई तालिम दिएको र त्यो व्यक्तिलाई प्लास्टिक संकलन कार्यमा लगाएको हुँनु पर्ने, प्लास्टिक पुनः प्रयोग गरी सामाग्री उत्पादन गर्ने कार्यमा नगरपालिकाले सहयोग गरेको हुँनु पर्ने र उक्त कार्य प्रगतिको मूल्याकंन गरि केन्द्रले विकासमा बजेट थप गरेर प्रोत्साहन गर्ने जस्ता कार्यहरु उल्लेख गरेको छ ।
यसै अनुरुप २०७१ सालमा नै पुनर्वास नगरपालिकाहरुले वतावरणमैत्री शासन प्रारुप–२०७० हस्ताक्षर गरि प्लास्टिक झोला प्रयोग नगर्न नगराउन धेरै पटक सार्वजनिक सूचना नै जारी गरिसकेकोछ । तथापि निर्णय नै भए पनि यो एक गर्नै पर्ने पहलकदमी थियो । यो निर्णयलाई कार्यान्वयन गर्न भने ठोस योजना र पुर्वाधारको आवश्यकता छ ।

अहिले प्लास्टिक झोलाको विकल्पमा फाईबर, कागज वा जुटको झोला दिईएको छ । बैकल्पीक झोला केहि महंगो हुने हुँदा न्यून आर्थिक क्षमता र जनचेतनाको अभावका कारण यो अभियान त्यत्ति सरल छैन् भन्ने पनि हामीले विर्सनु हँुदैन् । त्यस कारण पालास्टिक प्रयोगले निम्त्याउने जोखिमहरुको बिषयमा समुदायमा व्यापक जनचेतना अभियान संचालन गर्नु पर्दछ । प्लास्टिक झोला प्रयोगलाई कुण्ठित गराउदै लैजान प्रथमतः उपभोत्ता र व्यापारीलाई यसको विकल्पमा अपनाउने क्रियाकलापमा प्रति सचेतना बनाउनु पर्दछ । प्लास्टिक झोला कम प्रयोग गर्ने, विकल्पमा कागज, फाईबर, जुटको झोला वा सामान खरिद गर्न जाँदा झोला बोकेर जाने बानी जागृत गर्ने अभियान चलाउनु पर्दछ । यसले गर्दा फोहोर स्वतः उत्पादन कम हुदै जान्छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५ मा पनि फोहोरमैला यथाशक्य कम गर्नु पर्ने र आफ्नो क्षेत्रभित्र विसर्जन हुँन सक्ने फोहोरमैलाको विसर्जन वा पुनः प्रयोगको व्यवस्था मिलाई बाँकी फोहोरमैैला मात्र निष्काशन गरी फोहोरमैैलाको परिमाणलाई घटाउन निर्देश समेत गरेको छ ।


प्रयोग भईसकेको प्लास्टिक जन्य फोहोरको संकलन गर्न कवाडीहरु परिचालन तथा संकलन केन्द्रहरु स्थापना गर्ने । बर्गिकरण गरिएका प्लास्टिकहरु पुनप्रशोधन (रिसाईकल) गरि पाईप आदि जस्ता उत्पादन गर्ने उद्योग तथा कार्यलाई प्रोत्साहन र अनुदान दिने कार्यक्रम ल्याउनु पर्दछ । प्रयोग भईसकेको प्लास्टिकहरु संक्लन गरी गुन्द्री (चटाई), डालो, पिर्का, हस्तकाला सामग्री बनाई अव्यवस्थित फोहोर विसर्जनलाई पुनः उपभोग सकिन्छ । फोहोरमैला व्यवस्थापनमा प्राविधिक सहयोगको लागि पु¥याउन तथा तत्सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र बिस्तार गरिनु पर्दछ । विभिन्न जाति समुदायका बिशिष्ट परम्परागत शिपको सदुपयोग गरेर फालिएको प्लास्टिकलाई आम्दानीको श्रोतमा परिणत गर्ने रचनात्मक कार्यहरु गर्न सकिन्छ । जस्तै यहा थारु समुदाय डालो, ढकिया, डोरी बुन्ने कलामा निपुण हुँन्छन, त्यस कलालाई उपभोग गरे समुदायको परम्परागत शिप र कलालाई संरक्षण, प्रवद्र्धन र आर्थिक लाभ पनि हुँन्छ । दलित, जनजाति, मधेशी महिला, अपागं, विपन्नहरुका समुह वा सहकारीलाई कागज, फाईबर, डोरी आदिबाट झोला बनाउने तालिम, अनुदानका कार्यक्रमहरु संचालन गरि फोहोरलाई मोहरमा परिणत गर्ने अभ्यासलाई दिर्घकालीन व्यवस्थापन गर्नु स्तानीय तहको दायित्व हुन्छ ।

यस्ता किसिमका कार्यक्रम संचालन गर्न फोहोरमैला व्यवस्थापन ऐन, २०६८ मा स्थानीय निकायले फोहोरमैला न्यूनीकरण, पुनःप्रयोग तथा पुनःचक्रीय प्रयोगलाई प्रोत्साहन गर्न कार्यक्रम संचलन गर्ने तथा उद्योगको उत्पादन प्याकिङ्ग गर्न प्रयोग गरेकेको वस्तुलाई पुनः प्रयोग गरी फोहोरमैलाको परिमाणलाई घटाउने काममा प्रोत्साहन गर्न सम्बन्धित उद्योगसँग नगरपालिकाले समन्वय गर्न सक्ने दफा १० मा ब्यवस्था गरेको छ । निजी क्षेत्रबाट फोहोरमैला व्यवस्थापन न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, सङ्कलन, ढुवानी, प्रयोग, पुनः प्रयोग, पुुनः चक्रीय प्रयोग वा प्रशोेधन लगायतको विविध काम गर्न सकिने दफा १४ मा स्पष्ट ब्यवस्था गरिएको छ । साथै उक्त कार्य सार्वजनिक तथा निजी क्षेत्र (व्यक्ति, सामुदायिक संघ, संस्था) साझेदारीमा फोहोरमैला व्यवस्थापन गर्न सकिने दफा १७ मा स्पष्ट उल्लेख गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि नवीनतम अवधारणाहरुको विकास गर्ने, त्यस्तो कार्यलाई प्रोत्साहित गर्ने तथा फोहोरमैला व्यवस्थापन कार्यमा योगदान गर्ने व्यक्ति वा संंस्थालाई केन्द्रले सम्मान स्वरुप उपयुुक्त पुरस्कार दिन सक्ने व्यवस्था दफा ४९ मा उल्लेख गरिएको हुँदा स्थानीय सरकार र नीजि क्षेत्रसंगको सहकार्य र परिचालनबाट कार्यक्रमहरु संचालन गर्न कुनै नीतिगत बाधाहरु छैन् । वातावरणमैत्री स्थानीय शासन–२०७० को लक्ष्य हासिल गर्न पनि स्थानीय तहले यो कार्य गर्नु पर्ने हुन्छ ।

प्लास्टिक भनेको पोलिथिन झिल्लीमात्रै हैन्, प्लास्टिकबाट बनेका सबै बस्तुहरु पर्दछन् भन्ने मनन् गरौं । मानव जिवन र पर्यावरणीय दृष्टिकोणबाट प्लास्टिक कुनै अर्थमा पनि फाईदाजनक छैन् । प्लास्टिक प्रयोगलाई क्रमिकरुपमा आफनो दिनचर्याबाट घटाउने बानी बसाल्नु पर्दछ । हामी उपभोत्ताहरु पनि सजग हुँनु पर्दछ । कालो झिल्लीमा खाद्य सामाग्री बेच्ने पसलेहरुबाट सामान खरिद नगरेर कालो कालो झिल्ली हटाउने नैतिक दवाव दियौं । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन नगरपालिका र नागरिक दुवैको साझा सवाल हो । सबैको असल सहयोग र प्रयासले मात्रै प्लास्टिक प्रयोगलाई न्यूनिकरण र रोक्न संभव छ । किनभने स्वास्थ्य हाम्रो हो, रोगी भए हामी आफैले दुःख पाउछौं । स्वास्थ रहौं, जैविक जिवन पद्धतीमा फर्कियौं ।

(लेखक पुनर्वास नगरपालिकाका कार्यपालिका सदस्य हुन् )

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ