arrow

दुधकोशी–२ काे वाधक विद्युत प्राधिकरण : हलो हड्काएर गोरु चुट्ने काम गर्‍याे (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
janak_raj.jpg

सोलुखुम्बु र खोटाङमा निर्माधीन दुधकोशी–२ आयोजना निर्माणमा नेपाल विद्युत प्राधिरकणले टाङ अड्काएकाे कुरा खुलेकाे छ । २३० मेगावटको दुधकोशी–२ आयोजनाको प्रवर्द्धन भारतीय कम्पनी हो । दुधकोशी हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरेको याे आयोजनामा प्राधिकरणले ग्रिडिङको काम रोकेर आयोजना प्रभावित पारेको कम्पनीका जनसम्पर्क अधिकृत जनकराज खनालले बताएका छन् । करिब ३४ अरब रुपैयाँ लाग्ने याे अायोजनामा प्राधिकरणले हलो हड्काएर गोरु चुट्ने गरेको काम गरेको आरोप खनालले लगाए । राज्यले प्रकृया अघि नबढाउने र स्थानीयलाई आयोजना निर्माण छिटो सुरु गर्न दबाब दिन लगाएको दुखेसो जनसम्पर्क अधिकृत खनालले गरे । वास्तविक समस्या के हो ? दुधकोशी–२ आयोजना कहिले सुरु हुन्छ भन्ने विषयमा खनालसँग हामीले कुरा गरेका छाैँ ।

० दुधकोशी–२ आयोजना के हुँदैछ ?
– आयोजनाले अनुसन्धान प्रकृया सकेर, निर्माणका लागि उत्पादन अनुमतिपत्र लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएका छौं । तर नेपाल विद्युत प्राधिकरणले तल्ला दुधकोशी जलासययुक्त आयोजना अपग्रेड गर्ने भनेर हाम्रो अनुमतिपत्र रोकिदिएको छ ।

० अनुमतिपत्र प्राप्त भए निर्माण प्रकृया अघि बढ्छ ?
– हामी पूर्णरुपमा तयारी अवस्थामा छौं । यदि हामीले निर्माण नगर्ने हो भने राज्यलाई कर तिरेर किन परियोजना ओगटेर बस्ने ?

० झोलामा खोला ओगटेर बार्गेनिङ गर्ने चलन छ नि ?
– त्यो ट्रेन पनि छ, नभएको होइन । तर दुधकोशी–२ लाई हामीले त्यसरी हेरेका छैनौं । ज्वाइन्ट भेन्चर (जेभी) मा जानुपर्ने बाध्यता विस्तारै आउँछ । किनभने ठूलो आयोजनामा लगानी थुप्रै लाग्छ । दुधकोशी–२ आयोजना भारतीय कम्पनीले निर्माण गर्न लागेको हो । यो कम्पनीले अर्को लगानीकर्तालाई जेभीमा जाऔं भनेको छ ।

० यो त सामान्य प्रकृया भयो, तर खोला ओगटने रणनीति त होइन ?
– पछिल्लो समय सरकारले झोलामा खोला ओगट्यो भनेर धेरै लाइसन्स रद्द गरेको छ । राज्यको यो स्वागतयोग्य काम हो । धेरै वर्षसम्म ओगट्दा राज्यलाई फाइदा पुग्दैन । सचेत नागरिकले सोच्ने हो भने खोला ओगट्ने काम अपराध सरह हो । तर यो प्रकृयामा कस्तो आभास आयो भने– निर्णयकर्ताले पनि सचेत भएर यो काम गर्नुपर्छ । निर्णयकर्ता स्वविवेक अधिकार दिइएको छ, कानुनमा स्पष्ट छैन । विवेक प्रयोगगर्दा कसैलाई काखा, कसैलाई पाखा गर्ने परम्परा अन्त्य हुनुपर्छ, कानुनले स्पष्ट मार्गनिर्देशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।

० दुधकोशी–२ ले लाइसेन्स खल्तीमा राखेको छैन ?
– सामान्य मानिसले बुझ्दा दुधकोशी–२ को लाइसेन्स खल्तीमै छ । तर हाम्रो प्राविधिक कारण छ । हाम्रो योजना अगाडि बढाउन विद्युत प्राधिकरणको ग्रिड कन्डिसनको कामले रोकिदियो । प्राधिकरणले आफ्नो जलासययुक्त आयोजना निर्माणका लागि हाम्रो आयोजना रोकिएको हो । हामी मर्कामा छौं ।

० नत्र तपाईंहरु तयारी अवस्थामा ?
– हामी पूर्णरुपमा तयारी अवस्थामा छौं, स्थानीय जनता आयोजना हाम्रो ठाउँमा बनोस् भन्ने पक्षमा हुनुहुन्छ । म त्यहाँ धेरै समय बसेर काम गरेको छु । तर हाम्रो काम प्राधिकरणले नै अवरोध गर्दिएको छ ।

० यो विषयमा प्राधिकरणसँग छलफल गर्नुभएको छैन ?
– प्राधिकरणसँग हामीले पटक पटक छलफल गरिसकेका छौं । प्राधिकरणले हामीसँग उत्पादन क्षमता घटाउनुहोस् भन्छ । त्यहाँको भूगोलले हामीलाई माथि सार्नसमेत दिएन । पावर हाउसका ल ागि माथितिर अप्ठयारो भूगोल छ, जहाँ अहिले छ, त्यहाँ राम्रो छ । तर प्राधिकरणले क्षमता घटाएर माथि सर्नुहोस् भन्छ । हामीले उपयुक्त स्थान भेटेका छैनौं ।प्राधिकरणले राष्ट्रका लागि भनेको छ । यदि राष्ट्रका लागि हो भने हाम्रो आयोजना पनि लिइदिनुस् भनेका छौं, हामी सहयोग गर्न तयार छौं । तर, दुःख दिने नियत राख्नु हुँदैन ।

० प्राधिकरणले आयोजना निर्माण अवरोध गर्‍यो भन्न खोज्नुभएको हो ?
– हो, प्राधिकरणको विरुद्ध हामी कहीँ जान सकेनौं । समस्या समाधान नभएसम्म हामी माथि जान सक्दैनौं । ग्रिड कनेक्सनको चरण पार नगरी पिपिएमा जान पनि पाइँदैन, उत्पादन लाइसेन्स लिन पाइदैन । राज्यलाई राजस्व तिरेर हामी अहिले खाली हात छौं ।

० समस्या समाधानका लागि पहल भइरहेको छ ?
– पहल भइरहेको छ, हामीले विद्युत प्राधिकरणका उच्च अधिकृतसँग छलफल गरिरहेका छौं । मिलेर जाऔं भन्नुहुन्छ, तर हाम्रो ग्रिडको कुरा उहाँहरु गर्नुहुन्न । ग्रिडको काम नगरी हामी चटपटाउन सक्दैनौं ।

० मिलनविन्दु के ?
– विद्युत प्राधिकरणले सञ्चालन गरेको आयोजनाको शक्ति बढाउने हो भने हाम्रो कम्पनी लिइदियोस् ।

० त्यसका लागि तपाईंहरु तयार ?
– राष्ट्रका लागि योगदान दिन हामी तयार छौं । तर, हामीलाई उचित क्षतिपूर्ति चाहिन्छ ।

० तपाईंहरुले खोजेजस्तो वातावरण भए ?
– अवरोध हट्यो भने हामी लगानी ल्याउँछौं, हाम्रो एफडिआई भइसकेको छ । स्थानीय तहमा हामीले विदेशी पैसा ल्याएर खर्च गरिरहेका छौं । वातावरण सहज भए हामी आफै बनाउन जान्छौं, सहज भएन भने राज्यले लियोस्, हामीलाई क्षतिपूर्ति दियोस् ।

० आयोजना बनाउने सबै साधनश्रोत हुँदा पनि हात बाँधेर बस्नुपरेको छ ?
– हो, अहिले भएकै त्यही हो । आयोजना होल्ड गर्न पाइँदैन भनेर स्थानीयले आवाज उठाउन थालिसके । विद्युत प्राधिकरणलाई हामीलाई बार लगाइदिएको छ, उता स्थानीयले हामीलाई दबाब दिइरहेका छन् । ल हेर्नुस् कत्ति मर्कामा छौं हामी ।

० आयोजना निर्माणका लागि के के गर्नुभएको छ ?
– ढुंगामाटो (ड्रिलिङ) परीक्षण हामीले दुई वर्षअघि नै गरी सक्यौं । त्यसपछि वातावरण प्रभाव मूल्यांकन (इआईए) २ वर्षअघि नै स्वीकृति भएको हो । स्थानीयसँग सार्वजनिक सुनवाई गरिसकेका छौं । हामीले गर्न मिल्नेजत्ति सबै काम गरिसक्यौं । तर राज्यले गर्दिनुपर्ने प्रकृयागत कुराहरु नगरिदिएर हाम्रो काम अडिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ