- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा स्पष्ट कानुन हुँदा पनि सार्वजनिक यातायातमा चालकको दुरुपयोग बढेको छ । सवारी चालकहरुले आफूले चलाएको गाडीले ठोक्किएर कोही घाइते भयो भने गाडी ब्याक गरेरै किच्ने गरेका खुलासासमेत हुँदै आएका छन् । आखिर चालकहरु किन यस्तो आपराधिक काम गर्छन् त ?
कोही चालक कसैले पनि गाडी ब्याक गरेर किच्ने अपराध गर्दैन भनेर आफ्नो पेशा मर्यादित भएको बताउँछन् त कोही चालक जिन्दगीभर उपचार गर्नुपर्ने भएपछि किन छाड्ने ? भनेर घाइते छाड्नु भन्दा मार्नु नै उपयुक्त हुने तर्क गर्छन् । जस्तो कानुन त्यस्तै काम भनेर उनीहरु पन्छिने गर्छन् । खुल्लमखुल्ला अपराध भइरहेको छ भने यो कार्यलाई रोक्ने कि देखेर पनि नदेखेजस्तो गर्ने ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अन्तर्गत परिच्छेद १० मा सजाय सम्बन्धि व्यवस्था रहेको छ । सवारी दुर्घटना गराई ३५ दिन भित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई सर्वस्व सहित जन्मकैद हुन्छ तर उदेश्य ज्यान मार्ने हुनपर्छ र मृत्यु नभएमा अवस्था हेरी ५ देखि १२ वर्ष सम्म कैद हुनेछ । तर ज्यान मार्ने उदेश्य नभएको तथापी लापरवाहीको कारण ज्यान गएमा कसुर अनुसार २ देखी १० वर्ष सम्म कैद हुन्छ ।
यदि कसैको ज्यान जान सक्ने अवस्था नहुदा पनि मृत्यु भएमा चालकलाइ एक वर्ष सम्म कैद वा २हजार जरिवाना तथा दुवै हुन सक्नेछ । अंगभंग भएको आवस्थामा बदनियतले गरेको भए आठ वर्ष सम्म कैद र १० हजारसम्म जरिवाना सामान्य अवस्था भएमा आठ वर्षसम्म कैद र पांच हजार रुपैया जरिवाना या त त्यो भन्दा पनि कम सजाय हुनेछ ।
किरिया खर्च र क्षतिपूर्ति बापत बुझाउने रकम चालक, सवारी धनी वा व्यवस्थापक मार्फत भराईदिनु पर्छ । ज्यान मारेमा क्रिया खर्च बापत १०हजार र क्षतिपूर्ति बापत दुर्घटना बीमाको रकम, अंगभंग भएको अवस्थामा समेत क्षतिपूर्ति बापत बिमाको रकम र खर्च बापत ५ हजार रुपैया प्रदान गर्नुपर्छ र यो रकम प्रमुख जिल्ला अधिकारीले चालक, सवारी धनी वा व्यवस्थापक मार्फत तत्काल उपलब्ध गराउनु पर्छ ।
नियमको अवज्ञा गरि कुनै व्यक्तिलाई चोटपटक लागेमा त्यस्तो व्यक्तिलाई तत्कालै औषधि खर्च बापत प्रमुख जिल्ला अधिकारीले चोटपटकको स्थिति विचार गरी चालक, सवारी धनी वा व्यवस्थापकबाट दुईहजार रुपैयाँसम्म दिलाई दिनुपर्छ । तर, माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम भराइने खर्च, कृया खर्च र क्षतीपूर्तिको कूल रकमको पाँच प्रतिशत भन्दा बढी चालकबाट भराइने छैन । बीमा कम्पनीले व्यहोर्नु पर्ने क्षतीपूर्ति बापतको बीमा रकम यथाशीघ्र भराई दिनु पर्नेछ भनि दफा ५मा उल्लेख छ।
दुर्घटना र दोषीलाई कारवाहीको अवस्था
माघ २९ गते बिहान ५ बजे ललितपुरको थसिखेलमा बा २ ख ३६०६ नम्बरको बसले दोलखाका फुरनाङ शेर्पालाई ठक्कर दियो। बसको ठक्करबाट शेर्पाको घटनास्थलमै मृत्यु भयो। भक्तपुरबाट कंलकीतर्फ जाँदै गरेको उक्त बस शेर्पालाई ठक्कर दिएर भागेको थियो। केहि समय पछी बस पत्ता लाग्यो ठक्कर दिने चालकले उक्त गाडी चलाउन छोडेर काभ्रेतिर डोजर चलाउन थालेका रहेछन्। फागुन ११ गते काभ्रेबाटै पक्राउ गरेर प्रहरीले उनलाई कारवाही अघि बढाएको छ ।
देशमा सवारी दुर्घटनाबाट दैनिक सरदर ५ जनाको मृत्यु हुने गरेको छ । व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटनाका बारेमा संसदमा चलाएको एक छलफलमा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक महाशाखाले समितिसमक्ष आर्थिक वर्ष २०७२–७३ प्रस्तुतको विवरणमा सवारी दुर्घटनाबाट मर्नेको संख्या दिन प्रतिदिन बढेको उल्लेख गरेको छ। महाशाखाका अनुसार आव २०७२–७३ मा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
“घाइते नै चै छोडिन्न”
के सडक दुर्घटनामा पर्नु भनेको ज्यान गुमाउनु नै हो त ? सामान्य घाइते हुने गरि दुर्घटना नहुने नै हो ? कि घटना बाहिर नआउने हो ? डाइभरहरुले घाइतेको हत्या गरि दुर्घटनाको रुप दिने हुन् ? उत्तर खोज्दै जाने क्रममा काठमाण्डौ काकडभित्ताका एक बस चालकले भने ‘नछुनु भन्दा छोइसकेपछि जिन्दगी भरि उपचार गर्नु भन्दा सिद्ध्याइदियो अलिक समय जेल बस्यो धरौटीमा छुटिहालिन्छ, क्षतिपूर्ति हामीले तिर्नुपर्ने हैन के भयो र !
दुर्घटना हुनासाथ तपार्इको दिमागमा के आउँछ त भनि गरिएको प्रश्नमा एक ट्रीपर चालकले भने ‘के आउनु नि आफ्नो गल्ती छ भने जति सक्यो चाडो कुलेलाम ठोक्ने हो । त्यो अवस्था नभएमा घाइते नै चै छोडिन्न । सजाय पनि कम क्षतिपूर्ति वापत दिनुपर्ने रकम पनि उपचार खर्च भन्दा कमि हुन आउने ।‘
“नियम परिवर्तन गराउने यातायात व्यवस्था विभागले हो हामीले होइन”
ट्राफिक प्रहरी महाशखाका प्रवक्ता उमेश रंजितकार “नियम सोच परिवर्तन गर्नु जरुरी छैन ?” भन्ने प्रश्नमा भन्छन् “गर्नु पर्ने धेरै छ तर सम्बन्धित पक्षमा कुरा पुर्याउने हामीले हो, कुरा गर्छौं पनि तर नियम परिवर्तन गर्ने बिषयमा भने हामीले नियम बनाउने होइन। कारवाहीको रकम कम भएको छ, लापरवाहीको कारण घटना घटाएको कुरामासम्बन्धित निकायमा परिवर्तन गर्नु जरुरी छ । नियम परिवर्तन गराउने यातायात व्यवस्था विभागले हो हामीले होइन । गर्न जरुरी छ तर सबै कुरा हाम्रो हातमा हुदैन ।“
“सरकारी वकिलले मुद्दा दर्ता गर्ने हो”
सुरुको आवस्थामा ट्राफिकले हेरे पनि मुद्दा दर्ता भैसकेपछि प्रहरीको जिम्मेवारी महत्वपुर्ण हुन्छ। कति सम्म सजाय माग दावी गर्ने भन्ने कुरा, प्रहरीले हेरिसकेपछि सरकारी वकिलले के कसरी गर्ने भन्ने कुरामा भर पर्छ । नीति नियम नभएको होइन छ तर बुझाइको कमी छ ।
समग्रमा हेर्दा नियम नभएको होइन मान्छे मारेर उन्मुक्ति पाइने पनि होइन तर कम बुझाइ या गलत बुझाइका कारण यस्तो भएको देखिन्छ। अर्को पक्षबाट हेर्दा घाइते या अंगभंग भएको अवस्थामा बढी क्षतिपूर्ति तिर्नुपर्ने तथा सवारी चालकको टाउकोमा खासै बोझ नपर्ने हुनाले पनि दुर्घटनामा मृत्यु बढेको तथ्यहरूले देरवाउँछ ।