arrow

कांग्रेस बैठकमा डिलाको प्रस्ताव, हारको दोष पदीय जिम्मेवारी अनुसार

logo
डा डिला संग्रौला,
प्रकाशित २०७४ चैत १२ सोमबार
dila-sangraula.jpg

काठमाडौं । नेपालको संविधान २०७२ लागु भइ संविधान कार्यान्यवनको महत्वपूर्ण प्रकृयामा रहेको स्थानीय तहदेखि प्रदेश, संघीय तहसम्मको चुनाव सम्पन्न भइसक्दा नेपाली काँग्रेस प्रतिपक्षको भुमिकामा रहेको छ। देशको सबैभन्दा पुरानो र विभिन्न चरणमा विभिन्न रुपका संघर्ष गर्दै नेपाली काँग्रेस आजको अवस्थामा आएको छ। 

इतिहास अत्यन्त गौरवपूर्ण भए पनि आजको अवस्थामा काँग्रेस अत्यन्त कठिन र कमजोर जस्तो भान पर्न गएको जस्तो देखिन्छ । जहाँनियाँ राणाशासनको समाप्तीको लागी गरेको संघर्ष देखि निरंकुश राजतन्त्र विरुद्धको लडाई गर्दै आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसम्म आइपुग्दा काँग्रेसको शक्ति, विशेषता र कमजोरी एवं निर्वाचनको पराजय आदि सबै पक्षको अत्यन्त सुक्ष्म ढंगले अनुसन्धान र विश्लेषण हुन अन्यन्त जरुरी छ। 

त्यसैले २०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भइरहेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सोच नयाँ दृष्टिकोण र नयाँ गन्तव्य सहित रोडम्यापको माध्यमबाट अगाडी बढ्न जरुरी छ। नेपाली काँग्रेसको पराजयलाई चुनौति र अवसर दुवैको रुपमा लिदै सामुहिक भावनाको आधारमा स्पष्ट मार्गचित्र कोर्न अनिवार्य छ।

चुनौति र अवसरहरु
१, पार्टीभित्र मौलाउँदै गएको चरम गुटबन्दी एवं व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्दै पार्टीलाई विधान बमोजिम सामुहिक नेतृत्वको आधारमा सम्पूर्ण नेतृत्व वर्गले आफ्नो पदीय दायित्व अनुसार आत्माआलोचना एवं समीक्षा गर्दै केन्द्रदेखि गाउँ, नगर वडासम्मका सबै नेता तथा कार्यकर्ता बिच वृहत एकता हुन जरुरी छ।

२, नेपाली काँग्रेसले अँगालेको प्रजातान्त्रिक समाजवादलाई हरेक नेता तथा कार्यकर्ताले आफ्नो व्यवहार र आचरणमा उतार्दै प्रजातान्त्रिक समाजवादको माध्यमबाट मुलुकलाई शान्ती र समृद्धीतर्फ उन्मुख बनाउन देशव्यापी कार्यक्रम तय गरी संगठनलाई परिचालित गर्न सक्नु पर्दछ।

३, पार्टीको संगठनात्मक ढाँचा र संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउँदै पार्टी संगठनका प्रमुख एवं पदाधिकारीहरुलाई इमान्दारीता एवं जवाफदेहिता बोध गराउन सक्नु पर्दछ।

४ बदलिँदो परिस्थितिमा संघीय संरचना अनुसार पार्टीलाई केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै वडा सम्मका संरचनाहरु तयार गरी महासमितिको बैठक डाकी विधान संसोधन  गर्न आवश्यक छ। नेपाली काँग्रेसले आफ्नो गौरबमय इतिहासबाट पाउनु पर्ने प्रतिफल पाइसक्यो अब त्यसको श्रेय लिएर मात्र अगाडी बढ्न नसक्ने स्थिति प्रष्ट भइसकेकोले अब अग्रगामी सोच, ठोस नीति, रणनीति र कार्यनीति तय गरि हाल्नु पर्ने अवस्था छ।

५, प्रत्येक कार्यकर्ताले गरेको कार्यको उचित मुल्याङ्कन गरी केन्द्रदेखि वडास्तर सम्मका सबै संरचनाहरुमा उनीहरुको अभिलेखीकरण अध्यावधीक गर्दै त्यही मापदण्डको आधारमा उनीहरुको पदोन्नति र जिम्मेवारी दिन सक्नु पर्दछ।

६, विधान वमोजिम पार्टीका सबै संरचनाहरुलाई पूर्णता दिई भातृ तथा शुभेच्छुक संस्थाहरुलाई प्रभावकारी ढंगले संचालन गर्न सक्नु पर्दछ।

७, नेपाली काँग्रेसले भोग्नु परेको निर्वाचनको पराजयको पीडा, छटपटी र घोर निराशाका क्षणहरुलाई मेटेर हामीले भविष्यको कदम चाल्न सक्नु पर्दछ किनकी “इतिहासमा म र मेरो भन्नेहरु हराएर गएका छन्, हामी र हाम्रो भन्नेहरुले इतिहास निर्माण गरेका छन् ।” त्यसैले सुनौलो इतिहास निर्माण गर्न सामुहिक प्रतिवद्धताको खाँचो छ।

८, मुलुकको राजनीतिको घटनाक्रम तीव्ररुपमा विकसित हुँदै गइरहेको सन्दर्भमा केही र केही रुपमा नेपाली काँग्रेसले ती घटना क्रमसँग आफुलाई सामञ्जस्यता गर्न चुकेको देखिन्छ। यसमा काँग्रेसको वैचारिक तथा संगठनात्मक दुवै दृष्टिकोणबाट कमी कमजोरी रहन पुगेको हो। जस्तै मधेश आन्दोलन, आर्थिक नाकावन्दी, विभिन्न जातिय, धार्मिक मुद्दाहरु, राज्यको पुनसंरचना पूर्व सभापति शुशिल कोइरालालाई पुनः प्रधानमन्त्रीमा उठाउने निर्णय, सरकारमा रहँदा केही विवादास्पद निर्णयको परिणाम जस्ता महत्वपूर्ण विषयहरुमा काँग्रेसले ठोस र दृढ धारणा बनाउन नसक्नुले पनि सबै तहको निर्वाचनमा पराजयको पीडा भोग्नु परेको पनि एक महत्वपुर्ण कारण नै हो। 

९ चुनावको पराजयको आन्तरीक कारण मुलतः टिकट वितरण गर्दा विना मापदण्ड, प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न नसक्नु हो भने हाम्रा चुनावी घोषणापत्र एवं एजेण्डा र रणनीति समय सापेक्ष जनतालाई आकर्षण गर्न नसक्नु पनि हो। यसको साथै वाह्य कारणमा वाम गठबन्धनको चुनावी तालमेल नै हो। यसको विरुद्ध नेपाली काँग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धन फितलो र प्रभावकारी हुन नसक्नु नै हो। 

१०, निर्वाचन पराजय पश्चात् काँग्रेस भित्र यसको दोष कस्ले भोग्ने भन्ने विषयमा पार्टी भित्र तिव्र आलोचना प्रत्यालोचना शुरु भइसकेको अवस्थामा सबैले विना आग्रह र पूर्वाग्रह ढंगले सोच्ने हो भने आ–आफ्नो पदीय जिम्मेवारी र भुमिका अनुसार सबैले यसको दोष तथा जिम्मेवारी वहन गर्नै पर्छ । 

११, पार्टी भित्र गुट उपगुट मौलाउँदै जानु, नीति र निष्ठा भन्दा पद र शक्ति संचयलाई वढावा दिनु जस्तो कार्यले पार्टीलाई अत्यन्त कमजोर बनाएको छ र कार्यकर्तामा निराश उत्पन्न हुन गएको छ। जबसम्म पार्टीलाई सामुहिक र पूर्ण संस्थागत भावनाले अगाडी बढाउन सकिदैन तबसम्म कुनै सकारात्मक परिमाण नआउने निश्चीत नै छ। त्यसैले अहिले प्रतिपक्षको भुमिकामा बस्नु परेकोमा चिन्तीत भइ समय खेर फाल्नु भन्दा यसलाई पुनः पार्टी सुदृढीकरणको महत्वपूर्ण अवसरको रुपमा लिई कार्य गर्न अग्रसर हुनुपर्ने देखिन्छ।

१२, पार्टीलाई अब मास बेसबाट क्याडर बेसमा रुपान्तरण गर्दै विधमान क्रियाशिल सदस्य भन्दा माथि अर्को प्रतिवद्ध सदस्य बनाउनु पर्दछ। यसरी सदस्यताको तह साधारण, क्रियाशिल र प्रतिवद्ध सदस्यता हुने व्यवस्था गरिनु पर्दछ।

१३, अब संगठनको संरचनाको ढाँचा गाँउपालिका नगर, वार्ड, टोल हुँदै क्षेत्रका प्रदेश समेतलाई संगठनको ढाँचामा समावेश हुने गरी जिल्ला, प्रादेशिक तह, महाधिवेशन, महासमिति, केन्द्रिय समितिको संरचना वैज्ञानिक र वस्तुपरक ढंगले निर्माण गरिनु पर्दछ। यो ढाँचालाई बटम टु टपको अवधारणामा लैजानु पर्दछ।

१४, नेपालको संविधानले संस्थागत गरेको मधेशी महिला, आदिवासी जनजाती, सिमान्तकृत र भौगोलिक दृष्टीकोणले पछाडी परेका समुदाय र अल्पसंख्यक सबैको उन्नति र हितलाई कसरी अगाडी बढाउने भन्ने विषयलाई आधिकारिक रुपमा पार्टीले आफ्ना अवधारणा र रणनीति अविलम्व तय गर्न जरुरी छ । साथै विधान संसोधन गर्दा ३३ % महिला पदाधिकारी सहित गाँउ देखि केन्द्र सम्म रहने व्यवस्थाको सुनिस्तिता हुनै पर्दछ ।

१५, अबको नेपाली काँग्रेस भनेको नेता तथा कार्यकर्तामुखी मात्र नभएर आम जनता र देशको सर्वतोमुखी विकासलाई ध्यान दिई जनताको सुख दःखमा भिज्ने, निरन्तर सम्पर्कमा रही रचनात्मक कार्यमा अग्रसर भइ पार्टी पंत्तिलाई संस्थागत ढंगले परिचालन गर्न सक्नु पर्दछ।

१६, अब एक प्रकारले धेरै राजनीति मुद्दाहरुको टुगों लागिसकेकाले तिब्र बिकास निर्माण, युवाहरुको लागि दक्षता अभिवृद्धि र रोजगारीको थालनी गर्दै सुसासन, पारदर्शिताको पद्धतिलाई अंगिकार गर्दै वर्तमान अवस्थामा पाएको प्रतिपक्ष भुमिकालाई अत्यन्त जिम्मेवारी र प्रभावकारी ढंगले केन्द्र, प्रदेश, स्थानिय तहमा समेत छाँया सरकारको रुपमा क्रियाशिल भै पार्टीमा पुनः वृहत्तर एकता कायम गर्दै पुनर्जागरणको कार्यक्रम लिएर देशव्यापी रुपमा हामी सबै परिचालित हुनु नै पर्दछ । (नेपाली काँग्रेस केन्द्रीय समितिको वैठकमा सोमबार केन्द्रीय सदस्य डा डीला संग्रौलाले पेश गरेको लिखित धारणा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ