arrow

दुई सामुदायिक विद्यालय गाभिएपछि हरेक शिक्षकलाई ल्यापटप अनिवार्य

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ चैत १३ मंगलबार
school-murge.jpg

बुटवल। बुटवलमा रहेका दुई सामुदायिक विद्यालय एक आपसमा गाभिएसँगै कालिका मानवज्ञान माध्यमिक विद्यालयका रुपमा संचालनमा आउने भएको छ ।

बुटवल कालिकानगरमा रहेको कालिका माध्यमिक विद्यालय र रामनगरमा रहेको मानवज्ञान माध्यमिक विद्यालय एकआपसमा गाभिएसँगै आउने नयाँ शैक्षिक शत्र २०७५ बाट कालिका मानवज्ञान माविका रुपमा संचालनमा आउने भएका हो ।

मर्जभएसँगै मल्टिमिडियाका आधारमा अध्यापन हुने समेत भएको छ । विद्यालयमा पढाउने र घोकाउने होईन, सिक्ने र सिकाउने थलोनै विद्यालय भएको बताउदै आएको कालिकाले मानवज्ञानसँगै गाभिएपछि मल्टिमिडियाका आधारमा अध्यापन गराउने कुरालाई केन्द्रमा राखेको हो ।

कालिका मानवज्ञानका प्राचार्य घनश्याम पाठकले भने –‘अव शिक्षक कक्षा कोठामा विद्यार्थी पढाउने जाने होईन, सिक्न भनेर कक्षाकोठामा छिरेका विद्यार्थीलाई सिकाउने हो । हाम्रा शिक्षकले कक्षा कोठामा पस्दा चक डस्टर होईन, काखिमा ल्यापटप र हातमा प्रोजेक्टर बोकेर जाने छन् । मानवज्ञान र कालिका एक आपसमा गाभिएर बनको कालिका मानवज्ञानलाई हामीले उपयोगि र सीप सिक्ने थलोका रुपमा विकास गर्न थालेका हौं ।’’

विद्यालय मर्जर घोषणा कार्यक्रममा प्राचार्य पाठकले ल्यापटप नचलाउने, प्रविधिलाई नजान्ने र अल्छी शिक्षकले अब विकल्प खोज्नु पर्ने सुझाव दिए । 

गुरुकुलमा आधारित पुरानो शिक्षालाई नभएर आधुनिक प्रविधिलाई महत्व दिईने नमुना र सबैले खोज्ने विद्यालयका रुपमा कालिका मानवज्ञानको गुरुयोजना बनेको पाठकले बताए । 

कालिका मानवज्ञानलाई अन्तरराष्ट्रिय सिकाई केन्द्रका रुपमा विकास गर्ने उद्देश्य सहितको गुरुयोजना निर्माण गरेको विद्यालयले कालिकालाई सेक्टर वान र मानवज्ञानलाई सेक्टर टु भनि क्षेत्र विभाजन गरेको छ ।

गुरुयोजना अनुसार सेक्टर वानमा अन्डरग्राउण्ड पार्किङ्ग सहितको प्रयोगशाला, म्यूजियम सहित चार सय छात्रछात्राहरुको लागि छात्रावास बनाईने छ यस्तै सेक्टर टुमा प्राविधिक विषय इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्ग कक्षा नौदेखि १२ सम्म सचांलन गरिने, स्टेडियम, छात्राबास, शिक्षक आवास, स्वीमिङ्गपुल, आधुनिक मल्टिमिडिया सहितको कक्षा कोठा, विज्ञान÷कम्प्यूटर प्रयोगशाला बनाईने योजना अगाडि सारेको छ ।

गुरुयोजना सम्पन्न पार्नका लागि ८८ करोड बजेटिङ्ग गरिएको छ भने गुरुयोजना शिक्षा विभागमा विद्यालयले बुझाई सकेको छ । नियात्रा कन्सल्टेन्सिले गुरुयोजनालाई हेरि रहेको छ । यस्तै आगामी ५ वर्षभित्र ८ हजार ५ सय विद्यार्थी पुर्याउने लक्ष्य विद्यालयले लिएको प्राचार्य पाठकले जानकारी गराए । 

दुई सेक्टर अनुसार अध्यापन गराउने कालिका मानवज्ञानले एक (मानवज्ञान भवन) मा नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा मात्र पढाईहुने छ भने सेक्टर दुई (कालिका) मा अंग्रेजी र नेपाली दुबै माध्यममा कक्षा १२ सम्मै पढाई हुने छ ।

कालिकाका ४ हजार ३ सय ६४ र मानवज्ञानका ढाई सय गरि चार हजार छ सयबढी विद्यार्थी कालिका मानवज्ञानका भएका छन् भने दुई सयबढी शिक्षकले ति विद्यार्थीलाई अध्यापन गराउने छन् । 

यस्तै मानवज्ञानको ३ बिगाहा बढी र कालिकाको दुई बिगाहाबढी गरि अब पाँच विगाहा दुई कट्ठा क्षेत्रफल कालिका मानवज्ञानको वनेको छ ।

दुई विद्यालय गाभिएर बनेको कालिमा मानवज्ञान माविले पहिले भन्दा अझै गुणस्तरिय र उपयोगि शिक्षा दिनेकुरामा अझै जवाफदेही हुने कालिका मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बताए ।

यस्तै मानवज्ञान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमुना काउचाले कालिकामा गाभिनु गुणस्तरीय शिक्षालाई अझै बढावा दिनु भएको उल्लेख गर्दै दुई विद्यालय गाभिएर बनेको विद्यालयले शैक्षिक विकासमा अझै उदाहरणीय कार्य गर्ने अपेक्षा राखे ।

वुटवल उपमहानगरपालिका वडानम्बर १० का वडाध्यक्ष पदम थापाले एउटै वडाका दुई विद्यालय एक आपसमा गाभेर नविन कार्यको सुरुवात भएको बताउदै सबैका लागि सहज र सजिलो शिक्षा तथा गुणस्तरीय शिक्षा दिने कुरामा कालिका मानवज्ञान विद्यालय मुलुकमै नमुना बन्ने उल्लेख गरे ।

त्यसो त कालिका मानवज्ञान विद्यालय मुलुकमै धेरै विद्यार्थी र शिक्षक भएको विद्यालयका रुपमा देखिएको छ भने यस अघि कालिका तीन–तीन पटक उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत समेत भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ