arrow

अाधा-अाधाकाे भागबण्डाले पार्टी एकता हुँदैन : कार्यदल सदस्य भूषाल (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
beduram_bhushal.JPG

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न संघीय संसदको निर्वाचनपछि निरन्तर बैठक चलिरहेको छ । पार्टी एकता गर्न गठन भएको कार्यदलको बैठक पनि निरन्तर बसिरहेको छ । पछिल्लो समय एमाले–माओवादी एकता कता अघि बढ्दैछ । अहिले देखिएको विवाद के हो ? विवाद सतहमा आएजस्तै हो त ? भन्ने विषयमा हामीले एमाले पोलिटव्यूरो सदस्य तथा एकता कार्यदल समिति सदस्य बेदुराम भूषालसँग कुराकानी गरेका छाैँ:

० पार्टी एकताका लागि कार्यदल कहाँ पुगेर अड्कियो ?
– कहीँ अड्किएको छैन, निरन्तर काम भइरहेको छ । दुईवटा कार्यदल बनेको छ, एउटा कार्यदलले राजनीतिक प्रतिवेदनका रुपमा नीतिगत दस्तावेज तयार गर्दैछ, अर्को कार्यदलले पार्टीको विधान मस्यौदा तयार गर्नेर पार्टीको संगठनात्मक एकता तयार गर्ने काम गर्दैछ । त्यसमध्ये म पछिल्लो कार्यदलमा छु । यो कार्यदलको अहिलेसम्म ८ वटा बैठक सम्पन्न भए । पछिल्लो बैठकमा हामी निष्कर्षमा पुगेका छौं । विधान पारित भएको छ । र, जनसगठनहरुको एकतासम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।

० जनयुद्ध र चुनाव चिन्हबारे सहमति नजुटेको हो ?
– हो, यी दुई विषयमा अझै सहमति भइसकेको छैन । प्रस्तावना राख्ने सन्दर्भ छ, प्रस्तावनामा कुन शब्द प्रयोग गर्ने भन्ने कुरामा हामीबीच थोरै फरक धारणाहरु छन् । एउटा धारणा जनक्रान्ति भन्ने फराकिलो शब्द राखौं भन्ने हो । विगतमा यो पार्टीले विभिन्न प्रकारको जनआन्दोलन र जनक्रान्तिको नेतृत्व गरेर आएको हो भन्ने धारणा छ, अर्को चाहिँ जनयुद्ध भन्ने शब्द राख्नुपर्छ भन्ने हो । जनयुद्ध भन्दा जनक्रान्ति फराकिलो शब्द हो, यसले धेरै कुरालाई समेट्छ, युद्ध, क्रान्तिअन्तर्गतको एउटा अंश हो भने क्रान्ति समग्रता हो । यी कुरा पनि मिल्छन् । पार नै नलाग्ने विवाद होइन, त्यस्तो धेरै अप्ठ्यारा छैनन् । उपयुक्त कुन होला भन्ने विषयमा भिन्न दृष्किोण रहेको हो ।

त्यसैगरी सूर्य चुनाव चिन्ह धेरै समयदेखि जनतामा स्थापित छ । त्यो लोकप्रिय पनि छ । जनता त्यसमा मतदान गर्न अभ्यस्त पनि छन् । त्यसकारण सूर्य चुनाव चिन्ह राख्दा राम्रो होला । संघीय निर्वाचनका बेला हामीले सूर्य चिन्हमा चुनाव लड्ने सहमति पनि हामीले गरेका थियौं । पछि पार्टी एकता नहुँदै एउटै चिन्हमा नजाऔं भनेर फरक चिन्हमा चुनाव लड्यौं । पार्टी एकता भइसकेपछि हिजोको धारणाअनुसार नै जान सक्छौं भन्ने एउटा तर्क हो । सूर्यभित्र हसिया हतौडा मिसाउँदा कस्तो होला भन्ने तर्क अर्को छ । हसिया हतौडा हाम्रो छुटै झन्डा भएको हुनाले झन्डा र चुनाव चिन्ह फरक फरक राखेर हामी हिड्न सक्छौं । सूर्यमा हसिया हतौडा खप्टाउनुभन्दा बेग्लाबेग्लै राख्दा राम्रो होला भन्ने तर्क छ ।

० जनयुद्ध शब्द एमालेले र सूर्य चिन्ह माओवादीले राख्न नचाहेजस्तो देखियो होइन ?
– त्यस्तो होइन, ठ्याक्कै त्यसरी बुझ्नु हुँदैन । कुन चाहिँ उपयुक्त होला भन्ने सन्दर्भमा तर्क वितर्क आएका हुन् ।

० पार्टी एकता गर्न एमालेलाई हतार भएको हो ?
– किन हतार गर्नु ?

० अनि, प्रधानमन्त्री भारत भ्रमण जानुअघि नै एकता गर्न खोज्दै हुनुहुन्छ ?
– मैले हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेको हुँ, त्यस्तो केही भन्नुभएन । कार्यदलको कामबारे प्रधानमन्त्रीले सोध्नुभयो, मैले यो अवस्थामा पुगेको छ, हामीले गरिरहेका छौं भने, उहाँले नआत्ती, राम्रोसँग गर्नुस्, आत्तिनुपर्ने, हतार गर्नुपर्ने कुरा केही छैन, जतिसकिन्छ, राम्रो बनाउने हो, त्यसरी नै काम गर्नुस् भन्नुभएको छ ।

० माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता अाधा–अाधा हुनुपर्छ भन्दै हिड्नुभएको छ नि ?
– अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको एउटा कार्यक्रममा एकता सम्मानजनक ढंगले हुन्छ भन्नुभएको रहेछ । त्यसको अर्थ संख्यामा समानता हो भन्ने मलाई लाग्दैन । सम्मानजनक भनेको जनाआधारको सम्मान गर्ने होला । विगतको भूमिका र इतिहासको सम्मान गर्ने होला । एकातिरको मात्र सम्मानजनक होइन होला । समानता भनेको विचार र दृष्टिकोणमा समानता होला । त्यसलाई संख्यामा मात्रै समानता हो भनेर किन बुझ्नुपर्‍यो ? संख्यामा समानता भएर पार्टी एकता काहिँ कतै भएको छैन । अाधा-अाधाकाे भागबण्डाले एकता हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ