arrow

शताब्दी पुरुषलाई गाडी दिने कन्सेप्ट डिजाइनर भन्छन् : पटक–पटक पुर्याउन जाँदा जाँदै फुरेको हो 

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
chiribabu1.JPG

काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख बनेपछि चिरिबाबुलाई थुप्रै ठाउँको निम्ता आउन थाल्यो । ती कार्यक्रममा चर्चित संस्कृतिविद सत्यमोहन जोशीलाई पनि डाकिएको हुन्थ्यो । जोशीसँग महर्जनको चिनाजानी लामो समयदेखिको हो । शताब्दी पुुरुष जोशी आउँदा जाँदाको समय महर्जन विचार गरिरहेका हुन्थे।

न कार्यक्रममा ल्याइदिने मान्छे, न पुर्रयाइदिने मान्छे । कैयौं पल्ट आफैंले पुर्यारइदिएका छन् उनले जोशीलाई । पटक पटक यसरी ड्रप गर्दा गर्दा एक दिन चिरिबाबुलाई लाग्यो, यस्ता धरोहरका लागि स्थायी रुपमै कार्यक्रममा ल्याउने लैजाने विकल्प हुन सक्तैन ? महानगरसँग व्यवस्था गर्नसक्ने रकम पनि छ । सम्मान गर्दा महानगरकै इज्जत पनि बढ्छ । अनि उनले निधो गरे, वाङ्मय शताब्दी पुरुष जोशीका लागि चालक सहितको गाडीको व्यस्था गरेरै छाड्छु । 

मनमा निर्णय त आयो तर जोशीले मान्ने हो कि नमान्ने हो, उनलाई समस्या पर्रयाे । एकदिन उनी जोशीको घरमै गए । शुरुमा जोशी अन्कनाए । तर कुनै पार्टी विशेष नभएर महानगरले सम्मान स्वरुप गाडीको सुविधा दिने भनेपछि जोशी सहमत भए । 

आफुले गरेको निर्णय उनले महानगर कार्यपालिका बैठकमा प्रस्ताव राखे । कस्सैले आपत्ति जनाएनन् । चैत १५ गते ललितपुर महानगरका २९ वटै वडाका अध्यक्ष सहित प्रतिनिधिले  सर्वसम्मतिमै मेयर चिरिबाबु महर्जनको प्रस्ताव पारित गर्रयो, एकल एजेण्डा थियो त्यो । 

जोशी छुट्टै मोवाईल बाकेर हिँड्थेनन् । घरको ल्याण्डलाईन फोन मात्रै हो उनीसँग कुरा गर्न मिल्ने । त्यसैले उनीसँग सहज सम्पर्कका लागि छुट्टै मोवाईल दिने पनि निर्णय भयो । 

जोशीलाई दिइएको चालक सहितको मारुती कार र सुरक्षा गार्ड, मोवाईलमा लाग्ने रकम सहित महानगरले महिनाको ५० हजार रुपैयाँजति खर्च हुने अनुमान गरेको छ । यो सेवा दिगो हुने विषयमा मेयर महर्जन ढुक्क छन् । उनी भन्छन् “शताब्दी पुरुष जोशीलाई सम्मान गर्न पाउनु महानगरका लागि आर्थिक भारको कुरा होइन, गर्वको विषय हो” । अब त महानगरले गाडी सुविधा दियो, तपाईं उहाँसँग लिफ्ट माग्ने कि नमाग्ने ? मेयर महर्जनले पुलकित हुँदै भने “मौका पाएँ भने त चढिहाल्छु नि” । 

जोशी भन्छन् गाडी पाए पनि हिँड्न छाड्दिन  

सस्कृतिविद जोशी हत्त पत्त गाडी चढ्न मन गर्दैनन् । हिँड्नै रुचाउँछन् । जोशीले ९९ औं जन्मदिन मनाउन अब करीब ४० दिन मात्रै बाँकी छ । लामो उमेरका धनी जोशीलाई अनुभव छ, गाडी चढ्न भन्दा हिँड्दा स्वास्थ्यलाई धेरै राम्रो हुन्छ । तर उनले धपेडी गरेर हिँडेको महानगरलाई चित्त दुख्यो र चालक सहितको गाडी दियो । अब त हिँडाइ कम होला नि ? जोशीले भने, “कहाँ हुन्छ, म त मिलेसम्म हिँड्ने हो । हिँँडेर संभव नहुने ठाउँमा मात्रै गाडी प्रयोग गर्ने हो । फेरी जथाभागी गाडी चढेर म महानगरलाई आर्थिक बोझ बढाउन पनि चाहन्न”। 

जोशीको दीर्घजीवी दर्शन  
महानगरले अर्को वर्ष जोशीको सयौं जन्मोत्सव भव्य रुपमा मनाउने निधो पनि गरिसकेको छ । यो घोषणा मेयर महर्जनले सोमबार पाटनढोकामा आयोजित कार्यक्रममा गरे । जोशीको सयौं जन्मोत्सव मनाउन महागरले छुट्टै कमिटि समेत गठन गर्दैछ । एकपछि अर्को सम्मान गर्ने महानगरको योजना सुनेपछि जोशी थप उत्साहित बने । उनले भने “मलाई लागेको थियो यत्ति धेरै बाँचिसकें अब कति बाँच्नु, न छोरा पाउनु छ, न छोरी पाउनु छ, न केही काम गर्न नै बाँकी छ । तर महानगरले नै मेरो सयौं जन्मोत्सव मनाउने भने पछि थप कन्सस भाको छु, उर्जा पनि थपिएको छ । सय वर्ष त जसरी पनि बाँच्नै पर्ने भयो” । 

कार्यक्रमको अन्त्यतिर जोशीले लामो जीवन जिउने दर्शन पनि सुनाए । उनले भने, “बुढेसकालको दर्शन भनेको जिउनु वा बाँच्नु मात्रै होइन, सबै ज्ञानेन्द्रीयले राम्ररी काम गरेको पनि हुुनुपर्छ, अनि मात्रै बुढ्यौलीको सार्थकता हुन्छ । त्यसका लागि चिन्ता लिएर होइन चिन्तन गरेर जिउनुपर्छ ” । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ