arrow

मेरो कम्युनिटीसंग बितेका तीन दिन...

logo
माधव चम्लागाई
प्रकाशित २०७५ वैशाख ३ सोमबार
madhav-chamlagai1.jpg

काठमाडौं । मेरा लागि अपाङ्गता भएका ब्यक्तिहरुको कम्युनिटी नौलो हैन । अपाङ्गताको सवालमा हुने सयौं कार्यक्रममा सहभागी भएको छु । अपाङ्गता भएका ब्यक्तिका सूचनाहरु बाहिर ल्याउन सक्छु की भनेर खबर गरिएका अधिकांश कार्यक्रमहरुमा उपस्थित हुन कोशिश गरेको हुन्छु । 

हाम्रा कुरा बुझेर बाहिर ल्याइदिन्छ भनेर होला अधिकांश कार्यक्रमको निम्तो आइरहेको हुन्छ । कार्यक्रममा जाँदा धेरैले भन्ने एउटै वाक्य हुन्छ, अपाङ्गताका  समस्याहरु तपाईले अनुभव गर्न सक्नुहुन्छ ।

यस्तै प्रकृतिको कार्यक्रममा सहभागी हुन मार्च २९ तारिख पोखरा पुगेको थिए ।  ‘पहुँचयुक्त पर्यटन’ सम्बन्धी अन्तराष्ट्रिय सम्मेनलमा भाग लिन अमेरिका, जापान, बेलायत, क्यानडा, भारत लगायतबाट थुप्रैको संख्यामा सहभागीहरु आएका थिए । पर्यटनमा सहजै सबैको पहुँच  पुग्नुपर्छ,  भौतिक संरचनाहरु समेत सहज बनाउनु पर्छ भन्ने कुरा बिगतमा पनि कुरा नउठेका भने हैनन् । 

तर यस पटक सहभागिताको तथा त्यहा प्रस्तुत भएका सवाल र अनुभवको हिसावले एक महत्वपूर्ण कार्यक्रम भने पक्कै थियो ।
पोखरा त दिउँसो १२ः३० मा नै पुगेको थिए तर कार्यक्रम साँझ ५ बजे मात्र सुरु हुने तालिका थियो । पोखराका केही पत्रकार साथीहरुसंग भेटघाटपछि मात्र कार्यक्रम स्थल पुग्ने निर्णय गरें । 

कार्यक्रमस्थल सांग्रिला होटललाई सजावट गरिएको थियो । अस्थायी भए पनि ह्वील चियर गुड्न सक्ने र्याम्प तयार गरिएको थियो । एक्सिसेवल ट्वाइलेटको ब्यवस्था मिलाइएको थियो । नाम दर्ता गराउन भ्याइनभ्याई थियो । निकै भीड भैसकेको थियो । 

कार्यक्रमलाई ब्यवस्थित बनाउन आयोजक खटिइरहेका थिए । यस कार्यक्रमका परिकल्पनाकार मध्येका एक अमेरिकामा बस्दै आएका सुमन तिमल्सिना आगन्तुकलाई स्वागत र ब्यवस्थापनलाई चुस्त बनाउन दौडधुप गरिरहेका देखिन्थे । यसभन्दा अघि मसंग कहिल्यै भेट नभएका उनीसग परिचय गरें । उनलाई मेरोबारेमा पहिल्यै केही थाहा रहेछ । 

उनले न्यानो स्वागत गर्दै कार्यक्रम हलतिर बस्न आग्रह गर्दै फेरि कुरा गर्ने बताए । अपाङ्गता भएका ब्यक्तिहरु उत्साहका साथ कार्यक्रम स्थलमा सहभागी भएका थिए । तिनीहरुको बीचमा नै थिएँ म पनि । चिनजानका अनुहारहरु हलभित्र खोज्न थालें । केहीले हात हल्लाए । केहीले संगै बस्न आग्रहसमेत गरे । टनाटन भरिएको हलको अन्तिम तिरबाट अपाङ्गता क्षेत्रका एक अभियन्ता गणेश केसीले संगै बस्न हातले इसारा गरे, त्यतै लागें । केसीले तयारी राम्रो गरेकाले कार्यक्रम उपलब्धिमूलक हुन्छ भन्नेमा विश्वास व्यक्त गरे । 

कार्यक्रम हल सबैतिर आँखा घुमाएँ । मनमा विभिन्न प्रश्नहरु उब्जिरहेका थिए । हाम्रा सडकहरु कहिले ह्वील चियर गुढ्न सक्ने बन्लान् ? दृष्ट्रिबिहिनहरुले सहजै हिड्डुल गर्न तथा सहजै बाटो क्रस गर्न सक्लान् ? पर्यटकीय क्षेत्रहरुमा अपाङ्गतामैत्री भौतिक संरचना कहिले बन्ला ?

सार्वजनिक भवन तथा होटलहरु अपाङ्गमैत्री संरचना कहिले बन्ला ? देशमा राजनैतिक स्थिरतापछि अब बन्ने पुन निर्माणमा अपाङ्गमैत्री संरचना बनाउने गरी नीति निर्माण तहमा काम भएको छ त ? अन्य देशको तुलनामा अपाङ्गमैत्री संरचनाहरु कत्तिको बनिरहेका छन ?  यी र यस्ता प्रश्नहरुको उत्तर खोज्न यो कार्यक्रम कत्तिको सफल होला ? 

निर्णायक तहमा बस्नेहरु अपाङ्गताको सवालमा निक्कै नै गैर जिम्मेवार छन् भन्ने कुरा पर्वतारोहण सम्बन्धी नियमावलीमा दुबै हात वा दुबै खुट्टा नभएको  वा दुबै आँखा नदेख्ने ब्यक्तिलाई ६५०० मिटर भन्दा बढी उचाइको हिमालमा पर्वतारोहण अनुमति नदिने गरी भएको नियमावली शंसोधनलाई लिन सकिन्छ । 

शारीरिक रुपमा फरक भएकै कारण कानुनी रुपमा भेदभाव गर्न पाइने छैन भन्ने संबैधानिक ब्यवस्थालाई चुनौती दिंदै पर्वतारोहरणमा यस्तो ब्यवस्था राखिएको थियो । दुबै हात नभएका नेपाली सुदर्शन गौतम र दुबै आँखा नदेख्ने  ह्वीलहेनमेयर लगायतले सगरमाथाको सफल आरोहण यसअघि नै गरिसकेका छन् । अन्य कतिपयले अन्य धेरै हिमालहरु सफलतापूर्वक आरोहण गरिसकेका छन् । 

यही असमान कानुनको विरुद्ध सर्वोच्चमा मैले अग्रज कानुन व्यवसायीको सुझावपछि रिट हाल्ने जमर्को जुटाएँ । ८००० मिटरसम्म सगरमाथाको शिखर चढिसकेका दृष्वििहीन अमिट केसी पनि यो मुद्धामा जोडिए । अपाङ्गता भएका कारण नै कानुनमा विभेद गरिएको यो घटनामा सर्वोच्च अदालतको संबैधानिक इजलाशले फागुन २३ गते पर्वतारोहण सम्बन्धी नियमावलीमा भएको संसोधन तत्काललाई कार्यान्वयन नगर्नू नगराउनू भनी नेपाल सरकारको नाममा सर्वोच्च अदालतको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्यो । 

यो मुद्दामा अन्तरिम आदेश आएको सम्बन्धमा विश्वभरका ठूला भनिएका मिडियामा समाचार बने । नेपाल सरकारले राखेको अपाङ्गता भएकै कारण कानुनमा भएको विभेद विरुद्ध सर्वोच्च अदालतले दिएको न्यायको विश्वभरका अपाङ्गताको क्षेत्रमा काम गर्नेहरुबीच चर्चा परिचर्चा गरियो । नेपालका पनि केही अंग्रेजी मिडिया तथा अन्यले समाचार प्रकाशन गरे ।
 
पोखराको यो कार्यक्रममा सहभागी हुन पुगेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मसँगको कुराकानीमा भन्दै थिए –पर्वतारोहरणमा हामीसँग पनि सल्लाह नगरी यो कुरा मन्त्रालयले राखेकोले विदेशमा नराम्रो छाप परेको थियो । अदालतको अन्तरिम आदेशले यस क्षेत्रका व्यक्तिहरुको आत्मा सम्मानमा पुगेको चोटमा केही भए पनि मल्हम लगाएको छ । यो अन्तरिम आदेशले सगरमाथाको आरोहण गर्न लागिरहेका दुबै खुट्टा गुमाएका पूर्व ब्रिटिश आर्मी हरिबहादुर बुढा र दृष्ट्रिविहीन अमिट केसीलाई समेत बाटो खुलेको छ ।

खासमा हाम्रो समाजले अपाङ्गता भएका ब्यक्तिहरुलाई बिचराको दृष्टिकोणले मात्र हेरिरहेको छ । अवसर दिएर सक्षम नागरिक बनाउनेतिर परिवार तथा राज्यले फिटिक्कै ध्यान दिएको देखिंदैन । निःशुल्क शिक्षाको अवधारणा राज्यले ल्याए पनि अझै पनि ठूलो संख्यामा गाउँ गाउँमा अपाङ्गता भएका व्यक्तिहरु शिक्षाबाट वञ्चित रहेका छन् । उनीहरुलाई व्यवहारिक तथा व्यवसायीक शिक्षा दिंदै अवसर दिएमा जटिल ठानिएका कामहरुसमेत सहजै पार लगाउन सक्नेछन् भन्नेमा द्धिविधा छैन ।

केही महिना अमेरिका बसाईमा मैले नेपाल भन्दा धेरै अमेरिका घुमेको छु भनेर एक जना ह्वील चियर प्रयोगकर्ता अपाङ्गता क्षेत्रका अगुवा सागर प्रसाईले लेखेको कतै पढेको थिएँ । यो उनले सायद भौतिक संरचनाको कारण चाहेर पनि जान खोजेको नेपालका ठाउँसम्म पुग्न नसकेर भनेका होलान् । ह्वील चियर लिएर एक्लै हिड्न सक्ने बाटोघाटो, एक्सिसेवल ट्वाइलेट, सार्वजनिक यातायातमा चढ्न र उत्रिन अवरोध नै अवरोध रहेको छ । 

अब हामीले पर्यटनको कुरा गर्दै गर्दा पर्यटकीय क्षेत्रका सहजै जान सक्ने अवस्थाको भौतिक संरचना निर्माणमा विशेष ध्यान दिएर अघि बढ्न सक्ने अवस्था सृजना गर्नुपर्ने देखिन्छ । विश्वमा पाँच बिलियन डलर भन्दा बढी अपाङ्गता भएका व्यक्ति तथा बुढाबुढीहरुले घुम्नको लागि खर्च गर्ने गरेका छन् । नेपालमा पनि साहसिक पर्यटनको कुरा उठिरहेको अवस्थामा पर्यटकीय क्षेत्रहरुमा भौतिक संरचना निर्माण गर्दा सबैको पहुँचयोग्य बनाउन सके विदेशी पर्यटकहरुलाई समेत आकर्षण गर्न सकिने तर्फसमेत कार्यक्रममा सहभागीहरुले बताएका थिए । 

आर्थिक बृद्धिको पक्षलाई हेर्दा तथा मानवअधिकारको पक्षबाट हेर्दासमेत सबैको पहुँचयुक्त पर्यटकीय क्षेत्र बनाउनु पर्ने जरुरी देखिन्छ । हाम्रा होटलहरुको अवस्था त झन् दयनीय नै छ भन्दा फरक पर्दैन । र्याम्प हालिहाले पनि ह्वील चियर सहजै गुड्न सक्ने गरी बनाएको पाइँदैन । 

हुन पनि ती र्याम्पहरु ह्वील चियर गुडाउनको लागि बनेका होइनन् । ती त यात्रुका सुटकेस लगायतका सामान गुडाउन बनाएको हो भन्नेहरु पनि धेरै छन् । ट्वाइलेट, बाथरुपमा समेत अपाङ्गता भएका व्यक्तिहरुलाई सहज तरिकाले प्रयोग गर्न सक्ने बनाउन जरुरी रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ह्वील चियरमा सवार व्यक्ति आएमा उसले प्लेनबाट सहजै उत्रिन र बिना रोकटोक सार्वजनिक यातायात भएको ठाउँसम्म पुग्न सक्ने अवस्था कहिले आउला ? सुधार एयरपोर्टबाट नै सुरु गर्नु जरुरी रहेको छ । सबैको पहुँचयुक्त बनाउन सरकारका नीति निर्माणमा बस्नेहरु, कार्यान्वयनमा लाग्नेहरु मात्र नभएर निजी क्षेत्र तथा पर्यटन व्यवसायमा होमिएकाहरुले सक्ने काम सबैले आफ्नो ठाउँबाट गर्न जरुरी छ । 

राजनैतिक स्थिरता कायमसंगै देश निर्माणको रफ्तारमा पहुँच बनाउने गरी काम गर्नु नै जरुरी रहेको छ । अझ भनौं दीगो विकास लक्ष्यले राखेका उदेश्यहरु पूरा गर्न बनेका योजनाहरु कार्यान्वयनमा आउँदा एक्सिसेबल बनाउने सवालमा पूर्ण रुपमा ध्यान दिनुपर्नेमा सबै पक्ष लाग्नु पर्ने देखिन्छ ।

पोखरामा भएको कार्यक्रमपछिको डिनरमा लोकदोहोरी गीतमा विदेशी तथा नेपालीहरुले नाचेर निकै रमाइलो गरे । नाच्नेहरुको अग्रपंक्तिमा ह्वील चियर प्रयोगकर्ताहरु तथा सहायक सामग्रीहरु बिग्रिए बिग्रियोस् भन्ने भानका साथ उत्साहपूर्वक संसार बिर्सेको झै संगीतमा रमाएको देख्दा मनोरन्जन, खुशी, सबैको लागि हो, अवसर पाए सबैले जे पनि गर्न सक्छन् भन्ने स्पष्ट पार्यो ।

अपाङ्गता कोटाबाट राष्ट्रियसभाको सभासद बनेका प्रकाश पन्थीले भन्दै थिए –हाम्रा सवालमा सबैभन्दा बढी हामी नै लाग्ने हो । एकजुट भएर लाग्यौं भने सबै समास्याहरु समाधान गर्न सकिन्छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सबलाङ्गसंगै घुलमेल गर्दै हरेक काममा संगै सहभागी गराउँदा अझ राम्रो नतिजा आउने अपाङ्गता सम्बन्धी विज्ञ जोनले बताउँदै थिए । उनको कुरा सुनिरहेका नेपालका लागि अमेरिकी पूर्व राजदुत स्कट डेलिसीले मुन्टो हल्लाउँदै सहमति जनाए ।        

अफ्गानिस्तानको विष्फोटमा दुबै खुट्टा गुमाएका पूर्व ब्रिटिश आर्मी सो कार्यक्रमका प्रमुख वक्ताले बाँकी जीवन अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्ति र जीवनस्तर उकास्न लाग्ने बताए । साथै उनले सन् २०१९ मा सगरमाथा आरोहण गरेर यस क्षेत्रका व्यक्तिहरुलाई चाहेमा जस्तो सुकै काम गर्न सकिन्छ भन्ने उदाहरण दिएर प्रोत्साहन दिने बताउँदा सबैले खुशी ब्यक्त गरे । 

दृष्टिविहीन अमिट केसीले पनि २०१९ भित्रमा सगरमाथाको आरोहण गरेर नै छोड्ने उद्घोष गरे । उनले भने ‘पहिला पनि ८००० मिटर पुगेर प्राविधिक कारणले आरोहण त्याग्नुपर्यो अब भने पूरा तयारीका साथ जाने हुँदा यस पटक सफल बन्ने दृढ विश्वास छ ।’

तेस्रो दिन पोखराको नौडाँडामा बनेको पहुँचयुक्त पदयात्रामा हिड्ने क्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्षले सुदर्शन सुवेदीले भन्दै थिए –यो पदयात्रामा अपाङ्गता भएका व्यक्ति मात्र हैन बुढाबुढीलाई समेत मनोरम दृश्य हेर्न सहज हुनेछ । त्यसैले अब पर्यटनमा सबैको पहुँच बनाउनु पर्ने कुरा सर्वब्यापी बन्दै गएको छ ।

कार्यक्रम सकिएपछि कुराकानीमा सुमन तिमल्सिना भन्दै थिए ‘एक्सिडेन्ली यो क्षेत्रमा हामफालियो, कार्यक्रम समापनपछि अपाङ्गता भएका व्यक्तिको मुहारमा देखिएको खुशीले यस क्षेत्रमा लागिरहने प्रेरणा मिलेको छ । दया र बिचराको दृष्टिले हेर्ने मेरो पहिलाको मन अब बदलिएको छ । अवसर दिएमा चुनौतीको सामना गर्ने उनीहरुको स्वभाव देखेर म परिर्वतन भएको छु । पंकज प्रधानाङ्गसंगको कुराकानीले नै यता मलाई डोर्यायो ।’

पहुँचयुक्त पर्यटनको विश्वब्यापी संभावना र ब्यापारभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्टै काम गर्ने सोचका कारण नै यस क्षेत्रमा लागेको प्राधानाङ्गले भन्दै आएका छन् । पहुँचयुक्त पर्यटककीय क्षेत्र बनाउन सके ठूलो संख्यामा पर्यटन भित्राउन सकिने सम्भावना रहेको उनको दावी छ ।

दुइ दिनको सम्मेलन र पोखराको नौडाँडामा बनेको  पहुचँयोग्य ट्रेकिङ ट्रेलमा सरकारी तहदेखि सबै खालको सरोकारहरुको सहभागीताले अब बन्ने नयाँ नेपालमा सबैको पहुँचयोग्य भौतिक संरचना बन्नेछ भन्नेमा केही आशा भने जगाएको छ ।  
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ