arrow

सन्दर्भ आठौं बेजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव

नेपाललाई के फाइदा ?

logo
अजय अलौकिक,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
Baijing_International_Film_Festival.jpg

बेजिङ । विश्वको दोस्रो ठूलो आर्थिक शक्ति र सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीन हाल हरेक क्षेत्रमा अग्रणी देखिन्छ। त्यसै गरी पछिल्ला वर्षहरूमा चिनियाँ चलचित्र उद्योग पनि तिव्र गतिमा अघि बढ्दैछ। यसको बजार पनि ठूलो भएकाले हलिउडलगायत अन्तर्राष्ट्रिय चलचित्र उद्योगले आफ्नो बजार यतातिर विस्तृत गर्दैआइरहेका छन् र कतिपय अरू प्रयासरत छन्। साथै कतिपय बिग बजेटका हलिउड चलचित्रलाई चिनियाँ बजार र दर्शकले जोगाएका पनि छन्। त्यसै गरी पछिल्ला चिनियाँ तथा विदेशी चलचित्रले पाएको लोकप्रियता तथा बक्स अफिसमा बन्दै गएका नयाँ रेकर्डले पनि चीनमा चलचित्र बजार फस्टाउँदै गएको घामजस्तै छर्लङ्ग भइसकेको छ।

त्यसै गरी चीनले पनि आफ्ना चलचित्र र टिभी श्रृंखलालाई विश्वसम्म पुर्याउने प्रयास चालिरहेको छ र अबका दिनमा विश्व चलचित्र उद्योगका लागि चिनियाँ बजार र चिनियाँ चलचित्र उद्योग विश्वका लागि हुनेमा कुनै शङ्का पनि नहोला। बेल्ट एण्ड रोड ईनिसिएटिभ नवीन रेशममार्गमार्फत सफ्टपावरको पनि आदानप्रदान बढेकै छ र चिनियाँ चलचित्रको प्रतिनिधित्व गर्दै पैचिङ राष्ट्रिय सांस्कृतिक केन्द्र र अन्तर्राष्ट्रिय विनिमय केन्द्रको निर्माणमा पनि अघि बढिरहेको छ। र यसैको ज्वलन्त उदाहरण हो – बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव। पैचिङले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको थालनी गरेको सात वर्ष भइसकेको छ।

आठौं बेजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव बिजेआईएफएफ २०१८ चीनको राजधानी पैचिङमा अप्रिल १५ देखि २२ सम्म आयोजना हुँदैछ। उक्त महोत्सवको उद्घाटन समारोह बेजिङ यानछी लेक अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्रमा अप्रिल १५ को साँझमा भइसकेको छ जहाँ चिनियाँ तथा अन्तर्राष्ट्रिय चलचित्र जगत्का हस्तीहरू भेला भएका थिए। यसै महोत्सवबीच थ्येनथान (त्येनतान) एवार्ड पनि आयोजना गरिने छ र साथै चलचित्रसम्बन्धी विविध अरू कार्यक्रम पनि हुने छन्। थ्येनथान एवार्डबाहेक विशेषत बेजिङ फिल्म प्यानोरामा, चलचित्र बजार, विषयगत छलफल मञ्च, चलचित्र महोत्सव र चलचित्र प्रदर्शनी नै मुख्य हुन्।

त्यस बाहेक "सुधार र खुलापनको ४०औं वर्षगाँठको अवसरमा प्रदर्शनी" नामक एक प्रदर्शनीको पनि आयोजना हुनेछ। यस प्रदर्शनीमा पछिल्ला ४० वर्षमा चिनियाँ फिल्म कलाले पाएको महत्वपूर्ण उपलब्धि दर्शाउने चिनियाँ चलचित्रहरूको सूची जारी गरिने छ।

सन् २०११ बाट शुरू भएको यस महोत्सव हाल वार्षिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको रूपमा स्थापित भइसकेको छ जुन देशीविदेशी चलचित्र र यसैसँग सम्बन्धित् आदानप्रदान मञ्च बनिसकेको छ। त्यसै गरी सन् २०१३ बाट यस महोत्सवले थ्येनथान एवार्ड पनि वितरण गर्दैआएको छ। हालसम्म करिब ९० भन्दा बढी देश र क्षेत्रका तीन हजारभन्दा बढी चलचित्रको नाम दर्ता भइसकेको छ। त्यसै गरी यस वर्षको थ्येनथान एवार्डका लागि ७१ वटा देश र क्षेत्रबाट ६५९ वटा चलचित्रले आफ्नो नाम दर्ता गराएका थिए जहाँ विविध विधा र जन्रका गरी ५३२ वटा अन्तर्राष्ट्रिय र १२७ वटा चिनियाँ चलचित्र थिए। हाल धेरै चरणको छनौट पछि पुरस्कारका लागि दुई वटा चिनियाँ चलचित्रसहित १५ वटा चलचित्र छानिएका छन्। एवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता-अभिनेत्री, उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सङ्गीत गरी दश विधामा एवार्ड दिइने छ।


त्यसै गरी आयोजना हुने बेजिङ फिल्म पानोरामाले "विविध संस्कृतिको आदानप्रदान" को सिद्धान्तलाई प्रतिनिधित्व गर्दछ, र चलचित्र विषयगत सञ्चार र सञ्चार माध्यमसँगको छलफल र चलचित्र प्रेमी प्रशंसकसँग छलफल तथा चलचित्र प्रिमियर सम्बन्धमा बैठक र छलफल गर्नेछ, जहाँ चिनियाँ र अन्तर्राष्ट्रिय चलचित्र सेलिब्रेटीहरू, मिडिया र चलचित्र प्रेमीहरूको उपस्थिति हुनेछ। महोत्सवको दौरानमा पछिल्ला चिनियाँ तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको पनि प्रदर्शनी हुने नै छ। त्यसै गरी विश्वव्यापी फिल्म उद्योगमा भएका लिङ्ग विभेदका मुद्दालाई पनि उठाउने छ र नारी शक्ति तथा महिला निर्माता र नारी-विषयक चलचित्रमा पनि चर्चा परिचर्चा तथा सम्बन्धित चलचित्र पनि प्रदर्शन हुने छ।

चिनियाँ चलचित्र बजारले धेरै नै सम्भावना बोकेका कारण बेजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव एक विशाल चलचित्र महोत्सव हो जुन विश्व भरका सम्बन्धित उद्योगका पेशेवरहरुका लागि महत्वपूर्ण छ। चिनियाँ बजारमा वर्षमा करिब ४० वटा विदेशी चलचित्रमात्र प्रदर्शन गर्ने नियम बनाए तापनि हलिउडका लागि चीन मुख्य टेरिटोरी बनिसकेको छ। पछिल्लो समय बलिउडले पनि चिनियाँ बजार तताएको छ। त्यसर्थ पनि यस महोत्सवको सान्दर्भिकता झल्कन्छ।

बेजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवले चिनियाँ र विदेशी चलचित्रहरूका लागि आदानप्रदान र व्यापारिक प्लेटफार्म प्रदान गर्दछ र साथै चिनियाँ दर्शकहरूलाई उत्कृष्ट विदेशी फिल्महरू पनि पस्किने छ। र यसै बीच यस पटकको महोत्सव बिजेआईएफएफ २०१८ मा नेपालको पनि सहभागिता रहेको छ। यस अर्थमा कुनै चलचित्र छनौट भएको होइन न त नेपाली चलचित्र नै प्रदर्शन गरिने छ। तर नेपालको पहिलो पटकको सहभगितालाई भोलिका दिनमा उपलब्धिमुलक हुने आशा गर्ने प्रशस्त ठाउँ दिएको छ।

सत्य घटनामा आधारित नेपाली चलचित्र मैनाका निर्माता तथा निर्देशक र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष के.पि. पाठक यस महोत्सवमा सहभागी भएका छन्। उनका अनुसार, चीन र नेपाल बीचको मित्रता युगौंयुगदेखि रहँदै आए तापनि भौगोलिक अफ्ठ्याराका कारण दुवै देश बीचको सांस्कृतिक आदान-प्रदान खट्केको छ। चलचित्र र टेलिभिजनबाट दुई देशबीच आदान-प्रदान गरिने पुलको स्थापना गर्न सकिने छ। जनस्तरीय आदान-प्रदानका लागि चलचित्र मुख्य छनौट हुने उनको भनाइ छ।

बेजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आयोजनाको मुख्य सार पनि चलचित्रबाट संस्कृतिको आदानप्रदान नै हो र साथै चीनको बढ्दै गएको अन्तर्राष्ट्रिय प्रभावलाई अझै विस्तार गर्नु पनि हो। यसर्थ चिनियाँ चलचित्र बजार विस्तारबाट हजारौं वर्षको इतिहास बोकेको चीन र विश्वलाई अचम्म पार्दै गरेको आजको चीन र यसको प्रविधि, विकास, संस्कार, शैलीको अनुभव ग्रहण गर्न सकिन्छ। योसँगै चीन र विश्वबीच पनि आदानप्रदान त हुने नै छ। यस्तो मौका नेपालले पनि छोप्नु पर्छ।

हाललाई नेपाली चलचित्रका लागि चिनियाँ बजार होइन मात्र आउटडोर शुटिङस्थलको रूपमा नेपालमा चिनियाँ चलचित्र छायाङ्कन गर्ने सहज वातावरणमात्र बने पनि समग्र नेपाललाई फाइदा पुग्ने छ। सन् २०१३ को अन्तमा प्रदर्शित नेपालमा शुटिङ गरिएको चिनियाँ चलचित्र तङ फङ लाई (अप ईन द विण्ड)को कारण पनि धेरै चिनियाँले नेपाललाई आफ्नो भ्रमण गन्तव्य बनाएका थिए ।

(लेखक अजय अलौकिक जन गणतन्त्र चीनको पैचिङमा अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विशेषज्ञ हुन्।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ