arrow

महिला तथा युवतीका लागि सूचना र सञ्चार प्रविधिले ल्याएको सम्भावना

logo
ई.श्रीभद्र वाग्ले,
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
girls-in-ict-2018.jpg

स्कुले बालिका, छात्राहरु, वयस्क युवतीहरु तथा कामकाजी महिलाहरुलाई लक्षित गरेर हरेक वर्ष आजको दिनमा “Girls in ICT Day” (युवतीहरुका लागि सूचना र सञ्चार प्रविधि दिवस) मनाइन्छ। भनिन्छ २१औँ शताब्दी सूचनाको युग हो, सञ्चारको जमाना हो अथवा सूचना नै सर्वोपरी हो। 

दिवस सन्दर्भ :
विश्वभरी नै दुरसञ्चार, छापा तथा प्रकाशन, प्रशारण तथा सूचनाका क्षेत्रमा अनेकन संस्थाहरु व्यापक खुलेका छन्। आधुनिक तथा डिजिटल प्रविधि र सो प्रविधि जन्य टुल्स तथा सेवाहरुको प्रयोग गरी थप व्यवसाय, उद्योग तथा कारोबारहरु फस्टाइरहेका छन्। अनेकन क्षेत्रबाट हुने कार्यहरु, उपलब्धिहरु, आयोजना तथा कार्यक्रमहरुबाट विश्वको आर्थिक परिदृश्यमा तथा कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य योगदान रहिआएको छ।

यसै पृष्ठभूमिलाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु र अन्तराष्ट्रिय दुरसञ्चार संघ (आइ.टि.यु.) को अग्रसरतामा प्रत्येक वर्ष अप्रिल महिनाको चौथो बिहीबारलाई Girls in ICT Day को रुपमा मनाउन थालिएको हो। विगतका वर्ष झैँ यस वर्ष पनि अप्रिल महिनाको चौथो बिहीबार विश्व व्यापी रुपमा मनाइने यो दिवस यस वर्ष २६ अप्रिल आजका दिन नेपालमा पनि मनाइदैछ। 

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को विकास, व्यवस्थापन तथा नियमन गर्ने अग्रणी निकाय नेपाल दुरसञ्चार प्राधिकरणको अग्रसरतामा राज्यभरी नै यस दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् र गरिदैछन्। 

किन र कसरी मनाउने ? 
यो दिवसको सुरुवात गर्ने क्रममा  अन्तराष्ट्रिय दुरसञ्चार संघ (आईटियु) ले सरोकारवाला निकाय सदस्य राष्ट्रहरु र व्यक्तित्वहरुसँग छलफल गरी यस दिवसको उद्देश्य तयार गरेको हो। यस दिवसको मुल उद्देश्य भने बालिका तथा युवतीहरुको सशक्तीकरण गरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा तिनीहरुको वृत्ति विकास स्थापित गर्न विश्वव्यापी रुपमा वातावरण सिर्जना गर्ने नै हो। यसका अलावा यस क्षेत्रमा युवतीहरु तथा कामकाजी महिलाहरुको सहभागिता बढाउदै लाने र तिनीहरुलाई आधारभूत र माध्यमिक स्कुलदेखि नै यस प्रविधि बारे सिकाउने र अभ्यास गराउँदै लाने हो। यसले गर्दा उच्च माध्यमिक तह तथा विश्वविद्यालय शिक्षामा समेत समावेश भएको पाठ्यक्रम मार्फत् डिजिटल साक्षरता (Digital Literacy)बढाउँदै लाने हो । 

हरेक देशका सरकारहरु, यस क्षेत्रका नियमाक निकायहरु, निजी तथा बहुराष्ट्रिय कम्पनीहरु, शैक्षिक संस्थाहरु, गैरसरकारी निकायहरु, युएन सम्बद्ध संस्थाहरु तथा अन्य सरोकारवाला र सूचना सञ्चार क्षेत्रका विज्ञ व्यक्तित्वहरु सहभागि भई यो दिवस अभियानका रुपमा मनाउने गर्दछन्। सरकारी तहमा अन्य क्षेत्र जस्तो शिक्षा, श्रम तथा रोजगार, युवा मन्त्रालयहरु समेत यस दिवस तथा अभियानका साझेदार हुन्। 

Image may contain: 1 person, smiling, outdoor and closeupयस वर्षको नारा Expand Horizons, Change attitudes अर्थात् फराकिलो दायरा र परिवर्तित सोच रहेको छ। यस नारालाई मूर्त रुप दिन देश तथा विदेशमा कार्यशाला, गोष्ठी तथा प्रतियोगिता आयोजना गर्न र विभिन्न सङ्ख्यामा अवलोकन भ्रमण तथा वृत्ति विकास सम्बन्धी मेला, प्रदर्शनीहरु आयोजना गर्न सकिन्छ। यस्ता कार्यक्रमबाट उनीहरुले आफ्नो बहुआयामिक विकासका लागि विभिन्न अवसर तथा जानकारीको सदुपयोग गर्न सक्छन्।  

कसरी प्रभावकारी बनाउने ? 
यस दिनको कार्यक्रमलाई एक दिनमा मात्र नभई हप्तामा, महिनामा तथा वर्षभर केही न केही कार्यक्रम थप गरी यसलाई विस्तार गर्न सकिन्छ। विशेषगरी यस दिवसको मुल उद्देश्य प्राप्त गर्न तीन विभिन्न क्षेत्र तथा विधामा यसको उपयोग गर्न सकिन्छ। 

शिक्षा : 
यो दिवसले मूलतः स्कुले छात्रा तथा बालिकाहरुको बौद्धिक, शैक्षिक तथा सामाजिक विकासमा ध्यान दिएको छ। नेपालमा स्कुले शिक्षा सामान्यतः यो आधारभूत र माध्यमिक तहमा प्रदान गरिन्छ। आधारभूत तहले कक्षा १ देखि कक्षा ८ सम्म पढाई लेखाईलाई बुझिन्छ। आइसिटी तथा यस क्षेत्रको आधारभूत सिकाई, शब्दावलीहरुको अध्ययन तथा व्याख्या, सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाको परिचय तथा जानकारी, आइसिटीको महत्व र यसको बहुआयामिक पहुँच तथा असर बारे विज्ञान तथा सामाजिक शिक्षा विषयमा पाठ्यक्रम थप गर्न सकिन्छ। साथै यस प्रविधिबाट लिन सकिने यसको फाइदा तथा यसको दुरुपयोग तथा नकारात्मक प्रभाव र साइबर सुरक्षा (cyber security) का बारेमा अपनाउनुपर्ने आधारभूत पक्षहरुका बारे छात्रछात्रालाई सिकाउन र अभ्यास गराउन सकिन्छ। 

माध्यमिक तहको शिक्षामा सूचना प्रविधिका व्यवसायिक पक्षहरु, प्रविधिगत तौरतरिका, विधि, टुल्स, एप्सका बारेमा व्यवसायिक शिक्षा दिलाउन सकिन्छ। नेपालमा सिटिईभिटिले मान्यता दिएका यस्ता संस्थाहरुका लागि यस सम्बन्धी थप सिकाई, पढाईका सामग्रीहरु तयार गर्न सकिन्छ। प्राविधिक तथा व्यवसायिक शिक्षाले नै प्लस टु तथा कलेज लेभलका छात्रा तथा त्यस्ता विषयलाई पेशा बनाएका कामकाजी महिलाहरुको शैक्षिक तथा बौद्धिक विकासमा टेवा पुर्याउन सक्छ। त्यस्तै हाल अध्यापन गराइने कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन इन्जिनियरिङ्ग, कम्प्युटर एप्लिकेशन्स, कम्प्युटर साइन्स तथा इन्फरमेशन टेक्नोलोजी जस्ता विषय लिई प्रविणता प्रमाणपत्र, व्याचलर्स तथा मास्टर्स तहका विद्यार्थीहरु यसबाट लाभान्वित हुन सक्छन्।

उद्यम तथा व्यवसाय : 
आइसिटी क्षेत्रको व्यापक विकास तथा नयाँ प्रविधिको विकास मोडल प्रयोग गरी सञ्चालित व्यवसायहरुको सञ्जाल हाल बढ्दो छ। यस क्षेत्रमा घरेलु व्यवसायको रुपमा, मोवाइल व्यवसायको रुपमा, साझेदारी व्यवसायको रुपमा तथा बहुराष्ट्रिय कम्पनीको रुपमा हाल विभिन्न उद्यम तथा उद्योगहरु स्थापित छन्। यस्ता क्षेत्रमा लगानी बढी आकर्षित भइरहेको र यसका लागि केही हजार देखि लाख रुपैयाँमा व्यवसाय (Start up) कम्पनीका रुपमा सुरु गर्न सकिन्छ। सुरुमा साना तथा मझौला व्यवसाय अथवा परामर्श व्यवसाय कम्पनीको रुपमा पनि बढी आकर्षण रहेको पाइन्छ। मोवाइल फोन तथा इन्टरनेट सञ्जालको व्यापक विस्तारले समेत वस्तु तथा सेवा वितरणमा सहजता आएको छ। वायरलेस तथा सेलुलर प्रविधि मार्फत फोन तथा मेसेजिङ्ग प्लेटफर्ममा आफ्नो उत्पादन तथा सेवाको बजारीकरण गर्न तथा उपभोक्ता सम्म सेवाको पहुँच पुर्याउन थप सजिलो भएको छ। तसर्थ युवती तथा महिलाहरुका लागि घरमै बसी तथा आफ्नो मोवाइल अफिस प्रयोग गरी कम समय, कम खर्च तथा तुरुन्त आफूले चाहेको व्यवसाय सुरु तथा सञ्चालन गर्न सकिने यो क्षेत्र अत्युत्पादक हुन आउँछ। 

रोजगारी :
विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले गरेको अध्ययन बमोजिम आउँदो दशक तथा सन् २०३० सम्ममा आईटि तथा डिजिटल प्रविधिको क्षेत्रमा अन्य प्रविधिको क्षेत्रको तुलनामा बढी अवसर तथा रोजगारी मिल्ने सम्भावना देखिन्छ। हाल यस क्षेत्रमा Skills Gap तथा सीपको खडेरी रहेको अनुमान गरिएको छ। जसले गर्दा यस्ता विषय लिई अध्ययन, अनुसन्धान गर्ने जनशक्ति आईसिटी बजारमा बिक्न तथा रोजगार पाउन सक्छन्। साथै महिला विशेषका लागि नेपाल सरकारले लोकसेवा लगायत सार्वजनिक संस्थानहरुमा आरक्षणको व्यवस्था गरेकाले महिला तथा युवतीहरुलाई पेशा रोजगारका लागि सहज भएको छ। त्यस्तै संयुक्त राष्ट्र संघ, यस अन्तर्गतका निकाय तथा अन्य अन्तराष्ट्रिय संघसंस्थाहरुमा ‘समावेशी रोजगारी’, ‘समान अवसर’, ‘महिलालाई विशेष ग्राह्यता ’जस्ता आकर्षक व्यवस्था विशेष रहेको पाइन्छ। अहिलेको शिक्षा कुनै राष्ट्रको सिमाभित्र मात्रै नभई विश्व बजारका लागि प्रदान गरिने हुनाले समेत नेपाली छात्रा, युवती तथा महिलाहरुका लागि यस क्षेत्रमा बढ्दो सुविधा प्राप्त हुन सक्छ। विश्व रोजगारको बजारमा केही वर्ष यतादेखि पुरुष भन्दा महिलाको बाहुल्यता तुलनात्मक रुपमा बढी देखिन्छ।

अन्तमा, सूचना तथा सञ्चार प्रविधि दिवस र महिला तथा युवतीहरुका लागि विशेष रुपमा लक्षित यस्ता कार्यक्रमहरुले उनीहरुको सामाजिक तथा आर्थिक साथै व्यक्तिगत विकासमा बढ्दो सम्भावना ल्याएको छ। संयुक्त राष्ट्र संघको २०३० सन् सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न विश्वव्यापी सघन कार्यक्रमहरु सञ्चालन हुँदै गरेको परिस्थितिमा यस दिवसलाई भव्य रुपमा मनाउनु आजको प्राथमिकता रहेको छ। यसबाट सिर्जित उपलब्धिहरु लगायत अन्य शिक्षा, उद्यम तथा रोजगारका अवसरहरुले आजका स्कुले बालिका, छात्रा लगायत युवती तथा कामकाजी महिलाहरुका लागि भोलिका दिनमा स्वर्णिम भविष्यको बाटो देखाउनेछ। समान अवसर तथा हरेक क्षेत्रमा जनशक्ति विविधताको व्यवस्थाका माध्यमबाट उनीहरुले आ–आफ्नो बहुआयामिक विकासका लागि आज देखि नै ‘फराकिलो दायरा र परिवर्तित सोच’को नारालाई साकार पार्न अघि बढ्नु अपरिहार्य देखिन्छ।

वाग्ले,  कान्तिपुर इन्जिनियरिङ्ग कलेजका  सह प्राध्यापक हुन् र पूर्व नायब कार्यकारी निर्देशक, रेडियो नेपाल।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ