- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गत वर्षको असोज १७ गतेदेखि सुरु भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताका लागि समय खर्चेको थुप्रै भयो । एमाले र माओवादीका नेताहरु भेट हुँदासाथ एकताका लागि आजैको दिन काट्न नपाउने तर्क हुन्छन् ।
तर त्यो एकता सजिलो देखिएको छैन । पटक पटक नेताहरुले भाका फेरेका छन् । गत बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमै पार्टी एकता गरी ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम राख्ने निर्णय भएको थियो ।
त्यो मिति सर्यो महान् कम्युनिष्ट नेता कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीमा । अर्थात् बैशाख २२ गते । त्यो पनि ख्यालठट्टामै बित्यो ।
गत बैशाख ९ गते संयुक्त पत्रकार सम्मेलन गर्ने क्रममा दुई अध्यक्षले भनेका थिए, ‘अब मिति तोकिन्न फ्याट्टै एकता गर्ने हो ।’
तर त्यो भनाई २४ घण्टा पनि मानेनन् नेताहरु स्वयंले र भन्न थाले, ‘बैशाख २२ मा एकता निश्चित रुपले हुन्छ ।’ तर भएन ।
एमाले र माओवादीको एकता कार्यदलले सबै कुराको छिनोफानो गर्ने जिम्मा दुवै अध्यक्षलाई दिएको छ । त्यसैले त एकता हुन कठिन बनेको भन्नेहरु धेरै छन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुवै हातमा लड्डु भएकाले एकता गर्नु र नगर्नुमा कुनै अर्थ छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सशंकित छन् ।
ओली बाहिर गए प्रचण्ड काठमाडौंमा छट्पटिन्छन् । अनि प्रचण्ड बाहिर गए ओली छट्पटिन्छन् । थुप्रै्र पटक त वार्ता गर्ने मिति तोकेर नै जानीजानी ढिला काठमाडौं उत्रन्छन् नेताहरु ।
यो क्रम ओलीले पनि निभाए र प्रचण्डले पनि निभाए । आपसमा सकभर भेट हुन नपरे हुने हो भन्ने जस्तो गरिरहेका छन् नेताहरु ।
समस्या कहाँनेर ?
समस्या जताततै छ । सबैभन्दा ठूलो समस्या अविश्वासको हो । एक आपसमा विश्वास गर्न नसकेकै कारणले गर्दा नेताहरुबीच छट्पटी छ । ‘कम्युनिष्टमा विश्वास भन्ने हुँदैन’ भन्ने सिद्धान्त पुरानो हो । त्यतिबेला हतियार हुन्थ्यो । त्यसैले मान्छेको विश्वास भए पनि हतियारले को आफ्नो को पराइको भनी चिन्दैन भन्दथे ।
अहिले ठ्याक्कै त्यो अवस्था छैन । हतियार छैन । मन छ । तर त्यही मन चञ्चल छ । स्वार्थी छ । खास मिल्नपर्ने दुई पार्टीबीचको सार मिलेकै छैन । शक्ति बाँडफाँड मिलेको छैन । सिद्धान्त मिलेको छैन ।
जब पार्टीमा हैसियत र सिद्धान्त मिल्दैन भने कुनै पनि शक्तिले एकता गर्न सक्दैन । तर बच्ने बाटो भने नेताहरुले निकालिरहेका छन् –बाह्य शक्तिले चलखेल खेल्यो ।
अहिलेसम्म कुन शक्तिले चलखेल खेल्यो भन्न चाहीं नसक्ने तर झुठो बोलिरहने भएकाले पनि ओली र प्रचण्डको भरोसा उड्दै गएको छ । भरोसा सर्वसाधारणमा हैन भरोसा एमाले र माओवादीका नेताहरुमा उड्दै गएको छ ।
एक माओवादी केन्द्रका नेताले भने, ‘यही गतिले एकता हुने सम्भावना त छैन तर अब दैवको भने भर भएको छ ।’ उनी भन्दैथिए, ‘चमत्कारै हुनुपर्छ एकता हुनलाई, भर दैवकै छ ।
नेताहरु अवसरवादी भएकैले पनि उनीहरुबीच कुरा मिल्न सकेको छैन । केवल उनीहरुबीच नाटक चलिरहेको छ । त्यो नाटकको चुरो न त एमालेका दोस्रो तहका नेताहरुलाई थाहा छ न त माओवादीका ।
ओलीलाई माधव नेपाल पक्षको विवाद मिलाउन सकस भइरहँदा प्रचण्डको विवाद अझ कठिन लागिरहेछ । अनि प्रचण्डलाई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल देख्दा आफू तेस्रो वा चौथो वरियतामा झरिएला कि भन्ने चिन्ता छ ।
यसैले पनि ओली प्रचण्ड रनभुल्लमा छन् । उनीहरु जनतालाई भुलभुलैयामा पारिरहेका छन् कि छिट्टै हुन्छ एकता भन्दै । तर त्यो सम्भावना टाढिँदै गएको छ ।
नास्तिकलाई पनि दैवको भर ?
जब सबै शक्ति निरीह हुँदै जान्छन् तब सम्झने भगवान वा दैवलाई नै हो । मानव चोलाको प्रयास असफल भएपछि सम्झने दैवलाई नै हो ।
खोक्रो राजनीतिमा एमाले र माओवादी ईश्वर मान्दैनन् । तर घरघरमा पूजापाठ सबै हिन्दूसंस्कार अुनसार नै चलिरहेको हुन्छ । ओक्रो आदर्श लाद्ने तर पूज ागर्न नछाड्ने कम्युनिष्ट लीला अपरम्पार छ ।
अहिले पनि नेताहरु ईश्वर पुकारिरहेका छन् । सायद ईश्वरले पो एकताका लागि कुनै चमत्कार गर्थे कि !