arrow

के इरान सम्झौताबाट बाहिरिएला अमेरिका ?

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
Iran-america-deal.jpg

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इरान सम्झौताबाट बाहिरिने वा सोही सम्झौतामा रहने भन्ने कुराको निर्णय गर्नको लागि अब केही दिन मात्र बाँकी रहेको छ । अमेरिकाको यो निर्णयले समग्र विश्वमा नै एक किसिमको तरङ्ग पैदा हुनसक्ने देखिन्छ । गएको फेब्रुअरी महिनामा अन्तर्राष्ट्रिय एटोमिक इनर्जी एजेन्सी (आईएईए)ले इरान सम्झौताअनुसार नै चलिरहेको विवरण सार्वजनिक गरेको थियो । सझौताका केही कुराहरुमा अमेरिका तथा अन्य केही मुलुकहरु पनि सकारात्मक देखिएका थिए ।
 
यदि अमेरिकी राष्ट्रपतिले अहिले इरान सम्झौताबाट बाहिरिने निर्णय गरेको खण्डमा यो कदम अमेरिकाको लागि सन् २०१५ मा भएको न्युक्लियर सम्झौताको विरुद्धमा रहनेछ । यद्यपि अमेकिा यो सम्झौताबाट बाहिरिने तयारीमा रहेको छ ।

के हुन सक्छन् इरानमाथि प्रतिबन्धको विकल्पहरु ?

यो सम्झौतामा इरानमाथिको प्रतिबन्ध हटाउने कुरा पनि उल्लेख गरिएको थियो र ट्रम्प आउनुअघि इरानमाथिको प्रतिबन्ध हटेको पनि थियो । यसको परिणामस्वरुप इरानले पनि आफ्नो न्युक्लियर कार्यक्रम रोकी आफ्नो मुलुकमा आउने अन्तर्राष्ट्रिय नियामकहरुलाई केही खुकुलो बनाएको थियो । अहिले यो इरान सम्झौताबाट बाहिरिँदा अमेरिकाले इरानमाथिको प्रतिबन्ध बढाउन सक्छ । इरानको तेल निर्यातलाई असर पुग्ने किसिमको योजना आउनसक्ने देखिन्छ । जसका लागि अमेरिकाले तेल खरिद गर्ने कम्पनीहरुमाथिको निगरानी बढाउनसक्छ ।

त्यसका लागि अर्को प्रतिबन्धको लागि तयार पारिएको विवरण आगामी जुलाई ११ मा नवीकरण गर्नुपर्ने हुन्छ । यो योजनामा भने विभिन्न चार सय इरानियन कम्पनीहरु तथा व्यापारिक क्षेत्रहरु तथा व्यक्तिहरु रहेका छन् । अमेरिकाको लागि प्रतिबन्धको अर्को विकल्प भनेको यसअघिका सबै किसिमको प्रतिबन्ध पुनः दोहोर्‍याउनु हो । यो इरानसँग भएको सम्झौताको उलंघन हुनेछ । सम्झौतामा इरान यो सम्झौतामा अडिग रहेसम्म कुनै किसिमको प्रतिबन्ध उसमाथि नलगाइने विवरणमा उल्लेख गरिएको थियो ।

यो सम्झौतामा ट्रम्पको प्रतिक्रिया कस्तो छ ?

इरानसँग भएको सम्झौताको विषयमा डोनाल्ड ट्रम्पले सधैं स्पष्ट कुरा राख्ने गरेका छन् । उनले यो सम्झौता अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता रहेको बताउँदै आएका छन् । यसैबीच उनले यो सम्झौतामा सुधारको मत पनि राखेका छन् । उनले इरानलाई सन् २०२५ पछि मात्र न्युक्लियर कार्यक्रम सुरु गर्न दिने किसिमको योजना पनि अघि सारेका छन् ।

यस सम्झौतामा हस्ताक्षर नगर्नका लागि ट्रम्पले आफ्नो पक्षमा रहेका विदेशी नेताहरुलाई पनि दबाब दिँदै आएको केहीले बताएका छन् । यसअघि राष्ट्रपतीय निर्वाचनको क्रममा पनि डोनाल्ड ट्रम्पले इरान सम्झौता मुलुकको लागि सही नभएको र आफू अमेरिका यो सम्झौताबाट बाहिरिनु पर्छ भन्ने पक्षमा रहेको बताएका थिए । धेरै अमेरिकी अधिकारीहरु पनि अमेरिका यो सम्झौतामा अडिग रहेको हेर्न चाहन्छन् । इरान सम्झौताबाट बाहिरिएको खण्डमा पनि आगामी दिनमा कुन हिसाबमा अघि बढ्ने भन्ने स्पष्ट योजना भने अमेरिकासँग छैन ।
 
यसमा युरोपको के भनाइ छ ?

बेलायत, फ्रान्स, जर्मनी र अन्य युरोपियन युनियन (ईयू)का सदस्य राष्ट्रहरुले अमेरिकालई यो सम्झौतामा रहनका लागि आग्रह गरेका छन् । इरानलाई नियमन गर्ने र के भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि यो निमै महत्वपूर्ण उपाय रहेको उनीहरुको भनाइ छ । यद्यपि फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोन र बेलायती विदेश सचिव बोरिस जोनसोनले भने यो सम्झौतालाई थप बलियो बनाउनका लागि केही सुधारहरु गर्नु आवश्यक रहेको बताउँदै आएका छन् ।
जर्मनीले भने यस विषयमा आफ्नो एउटै मत रहेको र आफूहरु कुनै पनि हिसाबमा विश्व सुरक्षित रहनुपर्छ भन्ने पक्षमा रहेको बताएको छ ।

इरानले के गर्ला ?

इरान अमेरिका यो सम्झौतामा बसोस् भन्ने चाहन्छ । जसको कारण मुलुकको अर्थतन्त्रमा सुार आउने र राजनीतिक हिसाबमा पनि केही स्थिरता आउने विश्वास इरानको रहेको छ । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिका यो सम्झौताबाट बाहिरिएको खण्डमा इतिहासमै नमानेको पछुतो हुने चेतावनी दिएका छन् । उनले इरानले न्युक्लियर हतियार यसअघि पनि नबनाएको र आगामी दिनमा पनि नबनाउने उनको भनाइ थियो । यदि इरानलाई कमजोर बनाउनका लागि यस किसिमको योजना ल्याइएको हो भने इरानले त्यसको जमेर सामना गर्ने पनि उनले बताएका थिए ।

यो क्षेत्रको रेखदेख गरिरहेका अधिकारीहरुले भने यदि इरान सम्झौताबाट अमेरिका बाहिरिएको खण्डमा इरानमा न्युक्लियर हतियारको काम पुनः सुरु हुनसक्ने बताएका छन् । यस विषयमा इरानमा पनि व्यापक आवाज उठिरहेकोले पनि इरान सम्झौताबाट बाहिरिनु कसैका लागि पनि राम्रो नभएको उनीहरुको भनाइ छ ।

यसले उत्तर कोरियाको मामिलामा के असर पार्छ ?

उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा पछिल्लो समय केही सुधार आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको बीचमा भेटवार्ता हुने कार्यक्रम तय भइसकेको अवस्थामा इरानसँग भएको सम्झौताबाट बाहिरिनु अमेरिकाको लागि राम्रो नहुने अधिकारीहरुले बताएका छन् ।

यदि इरान सम्झौताबाट अमेरिका बाहिरिएमा उसले आफ्नो सम्झौताप्रतिको विश्वास गुमाउने र उत्तर कोरियासँग पनि अमेरिकाको सम्झौता हुने आधार साँघुरो हुने विश्लेषकहरु बताउँछन् ।

ट्रम्प के गर्न जाँदैछन् ?

अमेरिकाको राष्ट्रपति पदमा आएसँगै ट्रम्पले के गर्दैछन् र अबको यात्रा कस्तो हुन्छ भन्ने कुराको पूर्वानुमान लगाउनु निकै कठिन रहेको साबित भइसकेको छ । यद्यपि १२ मे मा इरान सम्झौताबाट अमेरिका बाहिरिने सम्भावना बलियो रहेको विश्लेषकहरुको भनाइ छ । नकारात्मक नतिजा मात्रै पनि हासिल नहुन सक्छ । यस्तोमा अमेरिकाले यी तीन चरणहरुको विषयमा अध्ययन गर्न सक्छ ।
पहिलो सम्भावना भनेको ट्रम्पले यो सम्झौतामा यसअघिको जस्तै गरी हस्ताक्षर गर्नेछन् । उनले आफ्नो कार्यभार सम्हालेसँगै प्रत्येक चार चार महिनामा यो सम्झौतामा हस्ताक्षर गर्दै आएका छन् । यद्यपि उनले यो सम्झौताको विषयमा लगातार केही मागहरु थप गरिरहेका छन् । यसले भने इरान सम्झौतालाई बचाइराख्न सक्छ ।

दोस्रो बाटो भनेको अमेरिकाले यो सम्झौतामा हस्ताक्षर नगर्ने तर तत्कालै कुनै प्रतिबन्ध पनि नलगाउने हुनसक्छ । इरानमाथिको प्रतिबन्ध विशेषगरी केन्द्रीय बैंकलाई लक्षित गरी अघि सारिएको छ, जसको कारण इरानको अन्तर्राष्ट्रिय तेल सम्झौतमा पनि असर पर्न सक्छ । यो सम्झौतामा आगामी छ महिनासम्म कुनै किसिमको असर नपरोस् भन्ने पक्षमा अमेरिका रहेको छ ।

तेस्रो बाटो भनेको अमेरिकाले यो सम्झौतामा हस्ताक्षर पनि गर्दैन र इरानमाथि थप प्रतिबन्ध लाग्नेछ । त्यसका साथै ट्रम्प इरानमाथि थप प्रतिबन्धको माग गर्दै संयुक्त राष्ट्रसंघमा पनि जानेछन् । स्रोत : इन्डिपेन्डेन्ट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ