arrow

स्थानीय तहअनुसार भत्तामा मन परी

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
dadeldhura.png

डडेल्धुरा । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो ।

असार महिना शुरु हुनुपूर्व एक महिना मात्रै बाँकी रहँदा विकासको चटारो बढेको र विकास निर्माणका कार्य सम्पन्न भएसँगै भइरहेका कार्य तथा सम्पन्न विकास निर्माण योजनाको अनुगमन गरेबापत दिनुपर्ने दैनिक भ्रमण भत्ताको दर पनि स्थानीय तहले आआफ्नै किसिमले तोकेका छन् ।

अजयमेरु गाउँपालिकाले अनुगमन बैठक भत्ताबापत दैनिक रु एकहजार ६००दिने गरेको अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए । अनुगमन प्रतिवेदन बुझाएपछि मात्र रकम भुक्तानी गरिने समेत उनले जानकारी दिए ।

भागेश्वर गाउँपालिकाले भने निर्माणाधीन योजना र निर्माण सम्पन्न योजनाको अनुगमन गरेबापत दैनिक रू एक हजार दिने गरेको जनाएको छ । तेह्र प्रतिशत कर कटाएर अनुगमन भत्ता दिने गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए । आलिताल गाउँपालिकाले अनुगमनकर्ताले बास बस्नु पर्ने अवस्था आएमात्र खाना र बासका लागि  ७०० अनुगमन भत्ता दिने गरेको अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

गन्यापधुरा गाउँपालिकाले पनि अनुगमनबापत  ८५० दिने गरेको उक्त गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए । गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको र सोही अनुसार दैनिक दुईदेखि तीनवटा योजनाको अनुगमन गरिने जनाइएको छ । अमरगढी नगरपालिकाले अनुगमन बैठक भत्ताबापत एक हजार ५०० मा १५ प्रतिशत रकम कर काटी एक हजार २५० प्रदान गर्ने गरेको नगरपालिकाका प्र्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । पाँच लाखभन्दा तलका योजनाको वडाध्यक्षले नै अनुगमन गर्ने भएकाले त्यसमा रकम दिनु नपर्ने भएको छ तर पाँच लाखभन्दा माथिको योजना अनुगमन गरेमा बैठक भत्ता दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

परशुराम नगरपालिकामा नगर भित्रका योजनाको अनुगमन गर्दा एक हजार ५०० का दरले अनुगमन भत्ता दिँदै आएको त्यहाँका प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए ।

परशुराम नगरपालिकाको प्रमुख भीमबहादुर साउदले भने कुनै पनि किसमको योजना अनुगमन बैठक भत्ता नलिएको जनाए । भत्ताका लागि नभई विकास निर्माण र जनताको सेवा गर्नका लागि जनप्रतिनिधि भएको उहाँले बताउनुभयो । कुनै कार्यक्रमबापत आएको रकम पनि नगर भित्रका गरीब, असहाय, ज्येष्ठ नागरिक तथा अपांगलाई सहयोग दिने गरेको प्रमुख साउदको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ