arrow

त्रासमा संस्थान : कृषिमा आधारित पहिलाे उद्योग डीडीसी तहस–नहस बनाउने खेल (कुराकानीसहित) 

५० वर्ष पुगिसकेको उद्योग धरासायी हुने ‘खतरा’

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
DDC.JPG

दुग्ध विकास संस्थान डीडीसीमा निमित्त महाप्रबन्धक सेवानिवृत्त भएकै भोलि पल्ट तरंग र त्रास सिर्जना भएको छ । संस्थानकै अध्यक्षको हवाला दिँदै समाचार आएपछि व्यवस्थापन र कर्मचारी त्रसित भएका छन् । डीडीसीले दुधको तर मारेर करोडौँ घोटाला गर्ने गरेको भनि अध्यक्ष रघु गौतमकै हवाला दिई समाचार सार्वजनिक भएपछि शुक्रबार दिनभर जसो डीडीसीको सञ्चालक समिति र कर्मचारी तनावमा रहे । उनीहरुले अध्यक्षलाई समेत सोधपुछ गरे । अध्यक्षले आफुलाई यसबारे कसैले नसोधेको र आफुले कसैसँग केही कुरा नखोलेको बयान दिए । त्यति मात्र भएन शनिबार विहानै डीडीसीको दुःध उठेन । कार्यकारी नभएको छेको पारेर डीडीसीको व्यवसायलाई धरासायी बनाउन रचिएको षड्यन्त्र हो भन्छन्, डीडीसीका डीजीएम ईश्वरी न्यौपाने । हामीले डीजीएम न्यौपानेलाई वास्तविकता के हो त भनि सोधेका छौँ । 

० कृषिमा आधारित एक मात्र उद्योग हो भनिन्छ डीडीसी । नीजि क्षेत्रले उठाउन नसकेको दुध उठाउने क्षमता राख्छ तर, दुधको तर मारेर करोडौँ हिनामिना गर्ने गरिएको कुरा सुन्दा आम उपभोक्ता के बुझिरहेका होलान् ? अनि वास्तविकता के हो ? 
–यहाँको सञ्चार माध्यमबाट सम्पूर्ण उपभोक्तालाई नमस्कार ।  दुग्ध विकास संस्थान यो देशको कृषिमा आधारित पहिलो उद्योग हो । यो संस्थान विगत ५० वर्षदेखि छ । देशको ग्रामीण क्षेत्रमा किसानहरुले उत्पादन गरेको दुधको उचित मूल्य र स्थायी बजारको सिर्जना गरी ठाउँ ठाउँमा संकलन गरेर शहरमा, जहाँ दुध तथा दुग्ध पदार्थको कमि छ । त्यहाँ स्वस्थ र गुणस्तरीय दुध र दुग्ध पदार्थहरु उत्पादन गर्दै ५० वर्षे यात्रामा रहेको संस्थान हो । यसले देशका ग्रामीण क्षेत्रहरुमा करोडौँ रुपैयाँ प्रवाह गरेर देशको ग्रामीण अर्थतन्त्रको उन्नति, प्रगति र सम्वृद्धिको लागि टेवा पुर्‍याउँदै आएको अवस्था हो । एउटा कार्यकारी प्रमुख नभएको अवस्थामा दुग्ध विकास संस्थानको अध्यक्षलाई नै हवाला दिएर जुन समाचार सम्प्रेसण भयो । त्यसप्रति हामी समग्र दुग्ध व्यवसायीहरु, व्यवस्थापनका जिम्मेवार पदाधिकारीहरु र कर्मचारीहरु आश्चर्यचकित भएका छौँ । हामीले यस विषयमा दिनभर छलफल गरेका छौँ । हामीले अध्यक्षलाई राखेर कुरा गर्‍यौँ । उहाँले यो समाचारप्रति कुनै सत्यता छैन । मैले दिएको पनि होइन । मैले कसैसँग कुरा गरेको पनि होइन । संस्थानमा नेतृत्व नभएको अवस्थामा जुन समाचार सम्प्रेषण भयो र जसरी यसलाई हिट गर्न खोजियो यसप्रति हामी अतिनै संवेदनशील छौँ । आज देशका विभिन्न ठाउँ दुधको उत्पादन बढ्ने र निजी क्षेत्रबाट दुध संकलन गर्न नसकेर हामीप्रति दुधको फ्लो बगिराखेको अवस्थामा यो प्रहार गम्भीर र सोचनीय छ । हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म किसानको दुध विक्रि होस् भनेर जुन प्रकारको व्यवस्थापन हामीले गरिरहेका छौँ । यो खवस्थामा समाचार सम्प्रेषण गरेर संस्थानप्रति आघात गर्ने र संस्थानको व्यवसायलाई कमजोर बनाईदिने र संस्थानप्रति नराम्रो सन्देश प्रवाह गर्न यो नियोजित रुपमा खरिएको षड्यन्त्र हो । त्यो समाचारमा कुनै सत्यता छैन । म यहाँहरुलाई विनम्रताका साथ भन्छु, कुनै पनि सत्यता छैन । यो एउटा निहित र कुण्ठित उद्देश्यका साथ गरिएको गलत प्रचार हो । 

० यसको प्राविधिक पक्षः दुधमा तरको परिमाण २.८ मात्रै भेटियो भन्ने छ । गुणस्तरमा कमि आएको हो । स्वीकार्नु हुन्छ यो कुरा ? 
–विलकुलै होईन यि कुराहरु । विभिन्न किसिमका दुधहरु हामीले उत्पादन गरेर बजारमा वितरण गर्छौँ । एउटा टि मिल्क भन्ने छ, एउटा स्ट्यान्डर्ड मिल्क भन्ने छ, काउ मिल्क भन्ने र होल मिल्क भन्ने छ । विभिन्न किसिमका दुधहरु हामी बजारमा बाँड्छौँ । त्यसको गुणस्तर हेर्ने एउटा टेक्निकल विधि छ । हाईली टेक्निकल जब हो त्यो । त्यो टेक्निकले हामी परीक्षण गर्छौँ । दुध उत्पादनका हरेक आयोजनाहरु जहाँ प्रोसेसिङ प्लान्टहरु छन् । प्रासेसिङ प्लान्टले उत्पादन गरेको दुध परीक्षण गर्ने त्यहीँ गुण नियन्त्रण प्रयोगशाला छ । त्यहाँ हाम्रा स्पेसिफाइड अर्थात् उच्च प्रविधिज्ञहरुले त्यसको परीक्षण गर्नु हुन्छ । त्यो दुध परिक्षण गरेर जुन दुधको परिमाण तोकेको छ, नेपाल सरकारले जुन मापदण्ड तोकेको छ । त्यो मापदण्ड अनुसार ठीक छ भनेपछि मात्रै हामीले प्याकिङ गर्ने र मार्केटिङ गर्ने काम गर्छौँ । यसलाई अनुगमन गर्न हाम्रो दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालयमा समेत केन्द्रीय गुण नियन्त्रण प्रविधि विकास विभाग भन्ने छ । बेलाबेलामा गुणस्तर परीक्षण गरेर त्यसको मात्रा ठीक छ छैन भनेर त्यसलाई अनुगमन गर्ने कार्यपनि हामी गरेर पठाउने गर्छौ । जुन हवाला दिइएको छ । त्यो हवाला कसले ल्यायो ? कहाँबाट ल्यायो । प्राविधिक कुरा कहाँबाट आयो । परीक्षण गर्ने विधि के हो ? कसले परीक्षण गर्‍यो भन्ने कुरा पनि त्यसमा छैन । मन्त्रालयदेखि लिएर अनुगमन गर्ने विभिन्न निकायहरु छन् । ति निकायले पनि बेला बेलामा परीक्षण गर्नु हुन्छ । कहाँ परीक्षण गरियो भन्ने कुरा नै नखुलाई बाहिर प्रचार गरिएको छ । संस्थानप्रति पूर्ण नकारात्मक भई यो हर्कत गरिएको छ । यसले व्यवसाय गर्न नसकोस् र बन्द होस् भन्ने मनसाय राखिएको छ । दुग्ध व्यवसायलाई नै आघात पर्ने गरी समाचार सम्प्रेषण गरिएको छ । समाचार सम्प्रेषण गर्दा संस्थानको प्राविधिक पक्षको जिम्मेवार को हो भन्ने समेत सोचिएको छैन । कोही मान्छेलाई सम्पर्क गरिएको छैन । 

० मापदण्ड कति हो ? दुधमा चिल्लो पदार्थको मात्रा ३ प्रतिशत हुनैपर्छ भन्ने हो ? 
–हो । यो नेपाल सरकारको मापदण्ड हो । प्रशोधित स्ट्यान्डर्ड दुध । मैले अघि नै भने । विभिन्न दुधहरुको नेपाल सरकारले मापदण्ड बनाएको छ । जुन अहिले कुरा आईरहेको छ । त्यो भनेको स्ट्यान्डर्ड दुध हो । त्यो दुधमा चिल्लो पदार्थको मात्रा ३ प्रतिशत हुनै पर्छ । त्यो स्ट्यान्डर्ड मापदण्ड हो । 

० तर, त्यसमा २ दशमलब ८ प्रतिशत मात्रै भेटियो भन्ने छ, त्यो तपाईहरुको परीक्षणले निकालेको कि अन्तैबाट आएको ?
–त्यही त हामी अचम्म छौँ । यो कहाँबाट निकालियो । कुनै सत्यता छैन त्यसमा । 

० तपाईहरुले निकाल्दा कति आउँछ ? 
–हामीले निकाल्दा ३ प्रतिशत फ्याट आउँछ । 

० पक्का ?
–मैले यहाँलाई अघि नै भने । जुन किसिमको मापदण्ड तोकिएको छ । त्यही मापदण्डको दुध नै हामी परीक्षण गरेर बजारमा पठाउँछौँ । आज देश भरीका दुध उत्पादकहरुले निजी क्षेत्रबाट दुध नकिनेर हामीतिरै फ्लो भएर गएको छ । अहिले हामीलाई व्यवस्थापनमै हम्मे छ । यद्यपि, हामीले लगानी गरिरहेका छौँ । हामीले यसलाई व्यवस्थित र आधुनिक बनाउँदै लगेका छौँ । अहिले संस्थानमा कार्यकारी नभएको बेलामा र निमित्त पनि सेवा निवृत्त भएको भोलिपल्टै यस्तो भएको छ । जहाँ अर्को महाप्रवन्धक वा निमित्तलाई जिम्मेवारी दिईएको छैन । यही छेकोमा  समाचार सम्प्रेषण गरेर उपभोक्ताहरुमा नकारात्मक सन्देश प्रवाह गरिएको छ । जसले शनिबार विक्रिवितरणमा ठूलो नोक्सानी गरेको छ । झण्डै ८–१० हजार लिटरको मार्केट गुमाएका छौँ । अब त्यसलाई हामीले रिकभर गर्नलाई निकै समस्या हुन्छ । किसानको दुध किन्न नसक्ने अवस्थाको सिर्जना गरियो । यो संस्थानलाई बदनाम गरेर धरासायी बनाएर तहस–नहस पार्ने खेल हो ।  निजीकरणको नाउमा अब सरकारी संस्थानहरु धरासायी बनाइँदै छ । निजीकरण गर्नेहरु सल्बलाएका छन् । 

० अबका दिनमा पनि हामीले यस्ता समाचार सुन्नु पर्छ कि पर्दैन ?
–त्यसप्रति हामी सजक छौँ । उहाँहरुलाई केही चाहियो भने हामी सबै देखाउन तयार छौँ । हामी अन्तरक्रियाका लागि पनि तयार छौँ । म के भन्छु भने । राज्यले देखेको सम्वृद्धिको सपना र स्वदेशमै रोजगारी दिने दीर्घकालीन सोंच कृषिमा आधारित उद्योगलाई विस्ता गरेपछि मात्रै पूरा हुन्छ । ५० वर्ष कटेको एकमात्रै कृषिमा आधारित उद्योगलाई हामीले संरक्षण र विस्तार गर्न जरुरी छ । नभए सम्वृद्धि हासिल हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ