प्रधानमन्त्री कार्यालयमा बजेट थुपार्नु र संस्था भुलेर व्यक्तिका हातमा पार्नु डरलाग्दो कुरा (अन्तर्वार्ता)
‘यो बजेटले सुशासन कायम हुँदैन’, ‘भ्रष्टाचार रोकिँदैन
प्रकाशित २०७५ जेठ १९ शनिबार
742
Shares
सरकारले वित्तीय अनुसाशन कायम गर्ने गरी बजेट ल्याएको दावी गरेको छ । अब यहि बजेटबाट वित्तीय संघीयता पूर्णरुपमा लागु भएको पनि भनिएको छ । तर, अहिले रहेको प्रशासनिक अराजकता हटाउने किसिमले बजेट आयो त ? भ्रष्टाचार निवारण गरी सुशासन कायम गर्ने तवरले यो बजेट आयो त ? कसरी सरकारले दावी गर्न सक्यो कि यहि बजेटबाटै वित्तीय संघीयता पूर्ण कार्यान्वयनमा आउँछ भनेर ? केन्द्र सरकारलाई ७८ प्रतिशत बजेट राखेर स्थानीय सरकारलाई जम्मा २२ प्रतिशत खु्म्च्याईएको छ । यो अवस्थामा वित्तीय संघीयताको पूर्ण कार्यान्वयनमा गरौँ भन्नु कति बुद्धिमानी ? यो बजेट बुद्धिमताका साथ आयो वा नेताहरुले भाषण गरेकै पेरिफेरिमा रहेर आयो ? सुशासन कामय गर्न र भ्रष्टाचार निवारण गर्न यो बजेटले केही बोल्यो कि बोलेन भनेर हामीले ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालसँग कुरा गरेका छौँ ।
० बजेट सुन्ने मौका पाउनु भयो ?
–पाए, सुनियो ।
० यो बजेटमा सुशासनको प्रत्याभूति हुने र भ्रष्टाचार न्यूनिकरण गर्ने केही कार्यक्रम सुन्नु भयो ?
–सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनिकरण गर्नका लागि मुलुकमा मूलतः जति पनि संस्थाहरु छन् । ति संस्थाहरु सुव्यवस्थित हुनु पर्दछ । भनाईको अर्थ गर्ने व्यक्तिले होईन संयन्त्रले गर्ने हो । संयन्त्रका ईम्पोजहरु के हुन् भने, त्यसका संचालकहरु हुन् । संयन्त्र एकदमै कमजोर छ । संयन्त्रहरुलाई कसरी बलशाली बनाउने ? कसरी प्रभावकारी बनाउने भन्ने कुरा कतै पढ्न पार्ईएन । जस्तो, सरकार सञ्चालनको मूल टाउको प्रधानमन्त्री कार्यालय अथवा प्रधानमन्त्री हो । त्यसैले सबैलाई परिचालन गर्ने हो । त्यसैले प्रधानमन्त्री कार्यालय अत्यन्त सशक्त हुन जरुरी छ । सबल, सक्षम हुनुपर्छ त्यसमा विवाद छैन । तर, बजेट व्यापक रुपमा प्रधानमन्त्रीको कार्यालयमा थुपारिएको छ । संयन्त्र र संरचनामार्फ जाने विश्वसनीय आधार बजेटले दिन सकेको छैन । त्यो सबैभन्दा डरलाग्दो कुरा हो । किन भने पैसा त साधन हो । साध्य त जनताको सेवा हो । जनताको सेवासँग विकासका आधारभूत कुराहरु तय गर्नका लागि संयन्त्र बनाउने र संयन्त्रलाई चुस्त–दुरुस्त राख्ने कुरा के आयो त बजेटमा ? यो सबै भन्दा ठूलो प्रश्न हो । हामी अर्कोतिर जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिलेसम्म प्रमुख नियुक्त गरिएको छैन । न्यायपालिकाको अवस्था दयनीय बनाईएको छ । अहिले जस्तो अदालत कमजोर कहिल्यै पनि भएको थिएन । मैले भन्ने खोजेको आखिरमा सुशासन भनेको के ? भ्रष्टाचार नियन्त्रण गर्ने, अन्याय परेका जनतालाई न्याय दिलाउने । यस्तै कुराहरुबाट मूलुक अगाडि बढ्ने हो । त्यतातिर कुनै गुन्जायसै छैन, प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी पैसा राखिएको छ । न्यायपालिकामा बजेट एकदमै घटाईएको छ । न्यायपालिकामा अहिले काम यति धेरै चाप छ, कुरा गरी साध्य नै छैन । त्यो चापलाई थेग्न र न्यायपालिकालाई चलाउनका लागि विश्वासीलो र भरपर्दो रकमको व्यवस्था हुनु पर्दथ्यो । एउटा कुरा हामीले के विचार गर्नु पर्छ भने, लोकतान्त्रिक गणतन्त्रको प्रारम्भ गरेका छौँ । लोकतन्त्र भन्नासाथ वैयक्तिक स्वतन्त्रता सबैभन्दा ठूलो कुरा हो । त्यो मौलिक अधिकार हो । त्यसलाई प्रत्याभूत गर्ने अन्तिम निकाय भनेको न्यायपालिका हो । अथवा, त्यो सर्वोच्च अदालत हो । यि सबै निकायहरु ध्वस्त भएर जाने, निरिह बन्ने अनि देशमा सुशासन कायम गर्छु भन्ने, कसरी सम्भव छ ? त्यसकारण यि सबै कुराको सेरोफेरोमा रहेर बजेट निर्माण हुनुपथ्र्यो । यो पटकको बजेट यसकारण महत्वपूर्ण छ कि नयाँ संविधानपछि देशले गणतन्त्र तथा संघीयता कार्यान्वयन गर्नका लागि तीन तहको सरकार निर्माण गर्यो । यि तीन तहकार सरकारकोबीचमा अत्यन्त संतुलन कायम हुनु पर्छ । अहिले सन्तुलन मिलेन भन्ने आवाज जताततै सुनिन्छ । यस्तो अवस्थाबाट मुलुकमा कसरी सुशासन र सम्वृद्धि कायम हुन्छ । यो डरलाग्दो कुरा छ ।
० साच्चै सापेक्षतामा जानेहो भने, –उच्च नेतृत्वकर्ताले सरकार भनेको ‘नेपाल सरकार’लाई बुझ्नु पर्दछ । संघीयतामा पनि ‘नेपाल’ पहिलो ब्राण्ड हो भनिरहनु भएको उहाँहरु । उहाँहरुले संघीयतामा गएको कुरा याद नगरेको कि बुझेर पनि पेलेर लान खोजेको कि ? कुरा प्रष्ट भएन । यो रबैयामा वित्तीय अनुशासन कायम हुन्छ र सम्वृद्धि हासिल हुन्छ भन्ने केही आधारहरु देख्नु हुन्छ ?
-प्रारम्भमै हाम्रो गति कतातिर जान्छ भन्ने कुरा ख्याल गरिनु पर्दथ्यो । राजनीतिक नेताहरुले जवाफका लागि जवाफ दिने र क्रियाको प्रतिक्रिया दिने उनीहरुको संस्कृति नै हो । ओठे जवाफ दिने, ओठे टिप्पणी गर्ने उनीहरुको चरित्र हो । यो चरित्रबाट जबसम्म नेताहरु मुक्त हुँदैनन् । तबसम्म गणतन्त्र कार्यान्वयनको लागि प्रतिवद्ध छन् भन्ने बुझ्न सकिँदैन । पहिलो कुरा त मुलुकले राम्ररी गणतन्त्र पचाएकै छैन । यसलाई पचाउने काम गरिनु पर्दछ । माथिबाट आएको कुरा हो । जनताबाट गणतन्त्र आएकै होइन । भोट हाले जनताले त्यो आफ्नो ठाउँमा छ । देशव्यापी रुपमा गणतन्त्र चाहियो कि चाहिएन भन्ने कुराको छलफल व्यापक रुपमा भएर गणतन्त्र आएकै होइन । यही बजेटबाट बुझ्न सकिन्छ । गणतन्त्रलाई यिनै नेताहरुले राम्ररी पचाउन सकेका छैनन् । गणतन्त्र कसरी चल्छ र चलाउनुपर्छ भन्ने हेक्का उनीहरुलाई पनि छैन । त्यसकारण यो बजेट यसरी आइरहेको छ । सबैभन्दा ठूलो दुर्भाग्य के हो भने, सांसद भनेको के ? विधायकहरु । कानुन बनाउने, नीति निर्माण गर्ने जिम्मेवार जनप्रतिनिधिहरु हुन् । उनीहरुलाई के चाहिएको छ, भने कार्यकारी अधिकार । रकम कलममा हात हाल्न पाईयोस् भन्ने छ । त्यसका लागि राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई तिमिहरुको भूमिका यो हो, तिमिहरु यो प्रयोजनको लागि चुनिएका हौ र पैसाको कुरातिर तिमिहरुको दृष्टि जानु हुँदैन भन्ने कुरा मूल रुपमा बुझाउन सक्नु पर्दथ्यो । पार्टीहरुले बुझाउनु पर्दथ्यो । त्यो पार्टीले बुझाउन सकेनन् । यसबाट के प्रष्ट हुन्छ भने, चुनाव हुन्जेल यि नेताहरु जनताका माझ र मागमा थिए। चुनाव जितेपछि जनताबाट टाढिने प्रयत्न गर्दै छन्। जस्तै, निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुलाई उनको नाममा १० करोड चाहियो । तर, सिद्धान्ततः सांसदको तजविजमा खर्च हुने गरी एक पैसा राखिनु हुँदैन । उनीहरुले भनेको गर्ने हो र ? समष्टिमा हेरिनु पर्दछ ।