- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
केही समयअघि चितवनमा रगतको अभाव देखियो । नेपाल रेडक्रस शाखा चितवनले सार्वजनिक अपिल गर्दै रक्तदानका लागि आह्वान ग-यो । यस्तो अभाव कहिले काठमाडौंमा देखिन्छ, कहिले विराटनगरमा । अर्थात् नेपालका प्रायः सबै क्षेत्रमा जहाँ अस्पतालको सुविधा छ, शल्यक्रियाको सुविधा छ, त्यहाँ सधैं रगतको अभाव हुने गरेको देखिन्छ । नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभावलाई पूर्ति गर्न सकेको छैन । र, दाताहरु पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रक्तदाताको यस्तै भीडमा अर्जुनप्रसाद मैनाली त्यस्ता रक्तदाता हुन् जसले १६३ पटक रगत दिइसकेका छन् । हामीलाई कति रगत अभाव हुन्छ ? यसको व्यवस्थापन कसरी सहजरुपमा सम्पन्न हुन्छ ? आम व्यक्तिलाई रक्तदान गर्न कसरी उत्पे्ररित गर्न सकिन्छ । यिनै विषयमा केन्द्रित रहेर हामीले रक्तदाता अर्जुनप्रसाद मैनालीसँग कुरा गरेका छाैँ ।
० कहिलेकाहिँ रगत नदिउँजस्ता लाग्दैन ?
– मैले पहिलो पटक १९८७ अगस्ट २० मा काठमाडौंको विशाल बजारमा रक्तदान गरें । पछिल्लो पटक २६ मे २०१८ मा थाइल्यान्डमा समेत गरेर १ सय ६३ पटक रक्तदान गरें । यति रक्तदान गर्दा ८१ लिटर परिणाम हुन्छ । मेरो आफ्नै रगतले ४ सय ८९ जनालाई बचाउन सहयोग पुग्छ ।
मैले विश्वका ६ वटै महादेशका १४ वटा देशमा नेपाली बसोबास गरेको समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु । र, आफूले पनि रक्तदान गरेको छु । नेपालमा रहँदा विरामीलाई रगत उपलब्ध गराउन, युवाहरुलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि १९९० डिसेम्बर ५ का दिन रक्तदान गरेको १ घन्टापछि नेपाल अधिराज्यव्यापी साइकल यात्रा गरेको थिएँ ।
रक्तदान गरेको १ घन्टापछि कडा परिश्रम पनि गर्न सकिन्छ, कमजोर भइँदैन भनेर देखाउनका लागि ३१ दिनसम्म लगातार गरेको साइकल यात्राले २२ सय किमी दूरी तय गरेको थियो । १९९१ जनवरी ५ मा त्यो मिसन पूरा भएको थियो । विभिन्न समयमा युवाहरुमाँझ रक्तदान गोष्ठी गर्ने, रक्तदान कार्यक्रम आयोजना गर्ने जस्ता काम गरेको थिएँ ।
अहिले काठमाडौंमा प्रति दिन ४ सय ५० युनिट रगत चाहिन्छ । तपाईं हामीजस्ता स्वयसेवीले करिब डेढ सय युनिट रगत दान गछौं । अहिले पनि दैनिक ३ सय जना जति विरामीले रगत पाउँदैनन ।
रगतको श्रोत स्वस्थ्य युवाहरु नै हुन् । रक्तदान जीवन दान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरु रक्तदानमा सहभागी हुँदैनन । आम रुपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ ।
० अनि युवाहरु रक्तदानमा सहभागी किन नभएका होलान ?
– देशको जनसंख्या पुगनपुग ३ करोड छ । १ प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झन्डै सवा ३ लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग २ लाखले मात्र रक्तदान गरेका थिए ।
१९८५–८६ तिर त्रिविवि पाठ्यपुस्तकमा द ब्लटर भन्ने पाठ थियो । त्यो पाठमा एउटा व्यक्तिले रक्तदान गरेर धेरैको ज्यान बचाएको कथा थियो । त्यस कथाबाट प्रभावित भएर हाम्रा समकालीन धेरै साथीहरुले रक्तदान गर्थे । त्यसबेला ९० प्रतिशतले सजिलै रगत पाउँथे । १० प्रतिशतलाई अर्कोलाई रगत दिन लगाउँदा हुन्थ्यो ।
अहिले पाठ्यक्रममा पाठ छैन । मैले पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरमा गएर भने, ‘माध्यमिक तहको पुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ ।’ अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने सम्बन्धित निकाय जस्तै रेडक्रसको रक्तसंचार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त व्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय संघ संस्थालाई प्रोत्साहन गर्नुपर्छ । रक्तदान कार्यक्रम राख्नका लागि केही सुविधा दिन सक्यो भने रक्तदातालाई उत्पे्ररणा गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।
उपचारका लागि विरामीले ब्लड बैंकबाट रगत लिएर जान्छन, कहिलेकाहिँ सबै रगत अस्पतालमा प्रयोग नभएको हुँदो रहेछ । प्रयोग नभएको रगत ब्लड बैंकलाई फिर्ता ग-यो भने त्यो अर्को विरामीले पाउन सक्छन् ।
० प्राविधिक रुपमा रक्तदान गर्न सक्षम को–को हुन्छ ?
– पुरुषमा प्रतिकिलो ७५ र महिलाहरुमा ६५ एमएल रगत हुन्छ । र, दैनिक काम गर्नका लागि हामीहरुलाई ५० एमएल रगत भए पुग्छ । पुरुषमा रहेको २६ एमएल अतिरिक्त रगत र महिलामा रहेको १६ अतिरिक्तमध्ये हामीले प्रतिकिलो ९ एमएल रगत मात्रै दिने हो । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन भन्ने कुरा चाहिँ म आफैले १ सय ६३ पटक रक्तदान गरेको अनुभव म सेयर गर्न चाहन्छु ।
नेपालको परिपेक्ष्यमा जो मान्छे १८ वर्ष पूरा भएर ४५ किलो वजनका छन्, जो ६५ वर्ष नाघेका छैनन, उनीहरुले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडाको केसमा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ । वर्षमा ६ पटकसम्म १६ वर्षपुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरुले रक्तदान गर्न सक्छन् ।
विश्वको इतिहास हेर्ने हो भने अस्ट्रेलियाका डा. जेम्स हेरिसनले १ हजार १ सय ६३ पटक रक्तदान गरेका छन् । गत वर्ष विश्वभरिमा ११ करोड २५ लाख मान्छेले रक्तदान गरे । नेपालमा केशमा हेर्ने हो भने रक्तसञ्चार केन्द्र स्थापना भएको ५३ वर्ष पुगेको छ, त्यस अवधिमा ३३ लाख मानिसले रक्तदान गरेर अरुको जीवन बचाउने प्रयास गरेका छन् ।
यो सम्पूर्ण तथ्यांकले के देखाउँछ भने– रक्तदान गरेर कमजोर भइँदैन र रक्तदान गर्नका लागि म प्रेरित गर्छु ।