- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षामा भक्तपुरको महेन्द्र विद्या आश्रमका छात्र सार्थक मल्लले देशभरबाटै सबै भन्दा बढी अंक ल्याएको दावी गरिएको छ । उनकाे विद्यालयले नेपाल टप गरेकाे भनि दावी गरेकाे छ । भक्तपुरको सूर्यविनायकस्थित महेन्द्र विद्या आश्रमबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएको प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए । जिपिए ४ ल्याउने मल्ल नै देशव्यापी रुपमै पहिलो भएको उहाँले दाबी श्रेष्ठले गरेका छन् । हामीले जिपिए चार ल्याउने सार्थक मल्लसँग कुराकानी गरेका छौँ ।
० एसईई 'टपर' हुन्छु भन्ने अपेक्षा गर्नुभएको थियो ?
– अपेक्षा गरेको थिइँन, तर भएछु । सोसल बिग्रेजस्तो लागेको थियो, तर राम्रै भएको रहेछ ।
० अाफुले दिएकाे परीक्षाबाट कस्तो परिणामकाे अपेक्षा गर्नुभएको थियो ?
– ३ दशमलब ९५ सम्म आउँछ जस्तो लागेको थियो । सोचेभन्दा राम्रो भएछ ।
० कत्तिकाे पढ्नु हुन्थ्यो ?
– पढ्न चाहिँ धेरै पढ्थे, त्यस्तै हो ।
० रुटिन बनाएर पढ्नुहुन्थ्यो ?
– रुटिन बनाउनु त परिहाल्यो, रुटिनमा अभ्यास धेरै थियो ।
० पढाइमा दैनिक कति समय दिनुहुन्थ्यो ?
– रुटिन थियो, विषय हेरेर समय विनियोजन गरेको थिएँ ।
० पढ्दा गाह्रो भयो भने कसको सहयोग माग्नुहुन्थ्यो ?
– दिदी हुनुहुन्थ्यो, टिचरहरु हुनुहुन्थ्यो । उहाँहरुसँग सोध्थे । सबैबाट पूरा सहयोग पाएँ ।
० यसकाे श्रेय कसैलाई दिन चाहनुहुन्छ ?
– श्रेय आमाबुवा र टिचरहरुलाई दिन्छु । आफूले पनि मेहनत गरें ।
० सफलता पाउनका लागि टिउसन पढ्नुपर्छ ?
– टिउसन पढन जरुरी छैन, सबै कुरा आफूमै निर्भर रहन्छ । यो कुरा चाहिँ विद्यार्थीको क्षमतामा निर्भर रहन्छ ।
० अब, तपाईंको लक्ष्य ?
– मेरो पहिलेदेखिको लक्ष्य सफ्टवेयर इन्जिनियर बन्ने हो । बुढानीलकण्ठबाटै ‘ए’ लेबल गरिन्छ, त्यसपछि सफ्टवेयर इन्जिनियर पढिन्छ ।
० पढाइबाहेक अरु के कुरामा रुचि छ ?
– अन्य कुरामा रुचि राख्नैपर्छ । किनभने त्यो पनि विद्यार्थीका लागि जरुरी नै हुन्छ । पढाइ मात्र भन्नुहुँदैन, दिमागलाई फ्रेस पनि गराउनुपर्छ । तर, मेहनत चाहिँ गर्नैपर्छ ।
० जुनियरलाई तपाईंको सन्देश ?
– सबै कुरा अभ्यास हो, अभ्यास भयो भने हामीले सफलता पाउन सक्छौं । पढाइ भनेको बुझ्ने कुरा हो, नबुझी धेरै घोक्नु हुँदैन । घोक्यो भने माक्स चाहिँ आउँछ, तर पढाइ भन्ने कुरा बुझ्नुपर्छ ।
० यही सूत्र प्रयोग गर्नुभएको हो ?
– हो, पढाइ भनेको बुझ्नुपर्छ । बुझ्न कठिन हुन्छ, त्यस्तो बेलामा टिचरहरुको सहयोग लिनुपर्छ । कक्षामा बढी प्रश्न सोध्ने, अभ्यास बढी गर्नाले पनि बुझिन्छ । घरमा पनि बुझ्ने प्रयास गरेर पढ्नुपर्छ ।
० फुटबल हेर्नुहुन्छ ?
– हेर्छु, म फ्रान्सको समर्थक हुँ ।