- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। काठमाडौं महानगरपालिका मुलुककै जेठो महानगर। हराभरा महानगर मात्रै होईन, स्मार्टसिटीको सून्दर सपना बोकेका छन्, मेयरसावले। नामै विद्यासुन्दर। नाम सुन्दै विद्वान र उत्तिकै सन्दुर भन्ने अर्थ लगाउन सकिन्छ। आइतबार मात्रै अागामी आर्थिक वर्षको बजेट ल्याएका छन्, उनले। आउने आर्थिक वर्षका लागि उनको बजेट राशि हो, १३ अर्ब २ करोड।
मेयर विद्यासुन्दरले आन्तरिक स्रोतबाट चार अरब ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको बताएका छन् । बाह्य स्रोतबाट ५ अरब १९ करोड र अन्यतर्फबाट १ अर्ब ४ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ । तर, महानगरको आफ्नो कमाई भनेको महानगर क्षेत्रबाट उठ्ने कर र महानगरले भाडामा लगाएका संरचनाबाट उठ्ने बहाल मात्रै हो ।
उपमेयर हरिप्रभा खड्कीले कुरा लुकाईनन् । उनने भनिन्, ‘हाम्रो आन्तरिक स्रोत भनेको अहिलेलाई बहाल र कर मात्रै हो ।’ यहिबाट थाहा हुन्छ महानगर कति धनी छ भनेर । यो बजेटमा बाह्य स्रोत नै बढी देखिएको छ । बढी देखिएको भनेको केन्द्रले दिने अनुदान नै हो । त्यसबाट पनि थप प्रष्ट हुन्छ, महानगर आन्तरिक स्रोतमा कमजोर छ भनेर ।
बजेटमा नयाँ स्रोत पहिचान गर्नु भएको छ ? जवाफमा उनले, ‘अहिलेलाई बहाल र कर मात्रै हो । अब केन्द्र सरकारले काठमाडौंभित्रका सबै क्षेत्र हामीलाई हस्तान्त्रण गरोस् भन्ने हो । जसबाट करको दायरा बढ्ने छ । नयाँ स्रोत पहिचान हुनेछ’ भनिन् ।
विकास निर्माणमा खर्च धेरै छुट्याएको काठमाडौं महानगरले नुवाकोटको सिसडोलमा रहेको ल्याल्डफिल्ड साइटमा फोहोरमैला व्यवस्थापनमा बारम्बार समस्या आएकाले यो आर्थिक वर्षमा वैकल्पिक ल्याण्ड फिल्ड साइट व्यवस्थापनको लागि पनि बजेट बिनियोजन गरेको छ । तर, त्यो पर्याप्त होइन ।
स्मार्टसिटीको सपना देखेको महानगरले वातावरण व्यवस्थापन शिर्षक अन्तर्गत ५४ करोड ४५ लाख रुपैयाँ मात्रै बजेट बिनियोजन गरेको छ । मनोरेल, इलेक्ट्रिक बस, फ्लाईओभर, इट्वाइलेट, ईपार्किङ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने लगायतका लागि १५ करोड १० लाख रुपैयाँ बिनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
महानगरपालिकाले सहरी योजना आयोग मार्फत वातावरणीय सुधारको र साइकल ट्रयाकको लागि ९ करोड ४६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गाँठीकुरा के छ भने, फोहरमैला संकलनलाई सोलोडोलो एउटैमा हालिएको छ । जसलाई महानगरपालिकाको भवन निर्माण, वडा कार्यालय निर्माणसँग जोडिएको छ । आफ्नो भवन निर्माण, वडा कार्यालय निर्माण र फोहोरमैला संकलन गर्ने सवारी तथा अन्यउपकरण खरिदको लागि भन्दै सोलोडोलो दुई अरब ३६ करोड रुपैयाँ बिनियोजन गरेको, महानगरले ।
मेयरसा!वले भन्या जस्तो भेटिएन
आइतबार नगरसभामा मेयर विद्यासुन्दरले बजेट पेश गरे । बजेट भाषण उपमेयर हरिप्रभा खड्कीले गरिन् । बजेपछि उपमेयर खड्कीलाई हामीले सोध्यौँ, ‘काठमाडौँको फोहरको समस्या समाधान गर्न बजेटमा के व्यवस्था छ ? जवाफमा उनले भनिन्, ‘राम्रै बजेट आएको छ । बैकल्पिक ल्याण्डफिल साइटको सम्भाव्यता अध्ययन गर्ने कुरा छ ।’
उनले अहिले फोहरकाृे समस्या नरहेको बताईन् । केही दिनअघि मात्रै सिसडोलका बासीन्दाले फोहर फाल्न अवरोध गरेका थिए, त्यो समस्या हटिसकेको छ, उनले भनेकी छन् । अहिले फोहर कतै अड्किएर बसेको छैन । साँच्चै हो ? हाँस्दै उनले जवाफ दिइन म दुई पटकसम्म आफै नुवाकोटको ओखरपौवा पुगेको छुँ, अहिले समस्या छैन’ उनले आश्वस्त पार्न खोजिन् ।
तर, उनकै घर रहेको वडा २८ कै वडा कार्यालय अगाडि यस्तो दृष्य देखियो ।
पुरानो वसपार्कमा रहेको वडा २८ को कार्यालय अगाडी थुप्रिएको फोहर
अवार्नेस पुगेन भन्छन् वडा सचिव
फोहरको थुप्रोबारे वडा सचिव सुशील कुँवर पूर्ण जानकार छन् । तर, उनले घुमाउरो भाषामा भनिदिए । अहिले ढलको म्यानहोल मंगालको काम भइरहेको छ, त्यसको काम गर्नेहरुले काम गर्दा अफ्ठेरो हुँदा बोरामा हालेर यहाँ ल्याएर थुपार्छन् । त्यो फेरि अहिले छ, भने भोलि विहानको गाडीले लगिहाल्छ भन्छन् उनी । उनले सजिलै बोरामा राखेको फोहर हो भनिदिए । तर, त्यहाँको वास्तविक तस्विर यही हो ।
उनी भन्छन्, ‘अवार्नेसको कमि हो ।’ उनले उदाहरण पनि दिए, ‘हाम्रा कचिकारहरु विहान ७ बजे अघि नै सफा गरेर हिँडिहाल्छन् । यहाँका सटर पसल ८–९ बजेतिर खुल्छन् । बेलुका भित्रै राखेको फोहोर विहानै लगेर बाटोमा राखिदिन्छन् । वडाको फोहर टेकुमा लगेर थुपारिन्छ, उनी भन्छन्, ‘महानगरले दैनिक फोहर उठाईरहेको छ । थुप्रिएको छैन ।’
डस्टविनहरु कहाँ गयो ? उनले भने, ‘त्यो डस्टविनहरुको प्रयोग पनि जानेनन् । त्यो बाटो हिड्ने बटुवाहरुको लागि राखिएको थियो । तर, त्यो राति राति रेष्टुरेन्टको फोहर भर्ने डिब्बा बन्यो । यति सम्म कि डस्टविन नै पुरिनेगरी फोहर थुपार्ने काम भयो । त्यसको परिपरी पनि खाली राखिएन । त्यसकारण सफा होस भनेर राखेका डस्टविनहरु हेर्नै नसकिने घिन लाग्दा भए ।’ त्यसको सदुपयोग भएन ।
सबै भन्दा फोहोरी ठाउँ हो रे नि त वडा २८ ?
सचिव कुँवरसँगै कुम टाँस्न आइपुगेका वडा सदस्य देवेन्द्र खड्कीले भने, ‘बागबजार क्षेत्र भन्नु भएको होला हैन फोहोर भनेर ।’ यता सुन्नुस कुरा, उनले भने, ‘यो वडामा ३२–३४ सय घर छन् । त्यस मध्ये वडा अध्यक्षलाई मत खसाल्ने जम्मा ४२ सय मतदाता हुन् । अन्य सबै बाहिरबाट आएर बहालमा बस्ने मान्छेहरु हुन् ।’ कमर्सियल ठाउँ भएर घरबेटीहरु यहाँ प्राय बस्दैनन्, उनले अगाडि थपे, बाहिरबाट आउने मान्छेलाई अपनत्व हुँदैन । उनीहरुलाई कहाँ फोहर फाल्ने भन्ने होस हुँदैन ।’ एक पटक महानगरले सबै भन्दा फोहोरी मान्छे बस्ने ठाउँ भनेर वर्गीकरण गरेको थाहा छ ? यत्ति भन्दा उनको मुखबाट खित्का छुट्यो । त्यो त, थाहा भएन, बागबजारलाई त्यस्तो भन्न खोजिएको हो, भने यहाँ २५ हजार मान्छे बन्छन्, अनि बसपार्क यहीँ छ । सेन्टर क्षेत्र हो, उनले भनेका छन् ।
कर्मचारी सफा, भर्याङभरी फोहर
वडा कार्यालयका कर्मचारी चिटिक्क परेका सफा, सुकिला छन् । कार्यालयको भित्रपट्टी ठिकै । तर, कार्यालय जाने भर्याङमा रहेका यी दुई तस्वीर काफी छन् । यी दृष्य स्मार्टसिटीको सपनाका तगारो होईनन् र मेयरसा’व ?
त्यस्तै, वडा कार्यालयबाट झण्डै ३०–३५ मिटर वर वाल्मिकि विद्यापीठ अगाडी पनि फोर आधा उठेको आधा नउठेको देखियो । सडक किनाराबाट फोहर उल्टै पैदल यात्री हिँड्ने फुटपाथमा राखिएको छ । त्यति मात्रै होइन । अहिले दरबार हाईस्कुल समेत त्यहीँ सरेको छ । उसको ढोका छेवैमा रहेको फोहरको गन्धका कारण गेटपाले गेटमा बस्न सक्दैनन् । त्यति मात्र होईन शिक्षकहरु नाक थुनेर अफिसमा बस्छन् ।
अति नै भएपछि दरबार हाईस्कुलका प्रधानाध्यापकले वडा कार्यालयलाई अवदेखि यहाँ फोहर नथुपार्न भनि निवेदन दिएका छन् । विद्यार्थी छिर्ने गेटैमा नाक थुनेर हिँड्नु पर्छ । फोहर उठाईको भएपनि ढलको ढकनी खुल्लै छ । स्मार्ट सिटीका विद्यालयको गेटअघि यस्तो दृष्य शोभनीय होईन ।