- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ऐतिहासिक तथा पूरातात्विक महत्वको रानीपोखरी पुनःनिर्माण गर्न प्रयोग गरिएको आधुनिक कंक्रिट हटाउने काम भइरहेको छ । त्यति मात्रै होइन अबको १०–१२ दिनभित्रमा सकिन्छ भनिएको छ । तर, त्यहाँ पहिलो हालिएको कंक्रिट डोजरले भत्काउने काम मात्रै भएको छ ।
केही ठाउँमा रडहरु झिकिएको छ । तर ति कतै लगिएका छैनन् । त्यसै अलपत्र छोडिएका छन् । त्यसमा प्रयोग गरिएको बालुवा गिट्टी राम्ररी झिकिएको छैन । काम ढंगले भएको छैन । यसले तोकिएको समयमा पुनःनिर्माणको काम सुरु नहुने देखिएको छ ।
यो कंक्रिट हटाउन मात्रै १३ लाख रुपैयाँ सकिने भनिएको छ । काठमाडौं महानगरपालिकाले यसअघि यमलेश्व मन्दिरलाई नबिगारेर पोखरीको वरिपरिको भागलाई नयाँ डिजाइन अनुसार बनाउन ठेक्का दिए पनि त्यसको विरोध भएपछि वरिपरीको केही भाग निर्माण गरिसकेपछि काम बन्द गरिएको थियो ।
१८ औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भनी चौतर्फी विरोध भयो । पछि पुरातत्वविदहरको सुझावमा पुरानै निर्माण सामाग्री प्रयोग गरेर निर्माण गर्ने निधो गरियो।
चैत २२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, काठमाडौं महानर प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच लामो छलफल भयो । भेलाले आधुनिक निर्माणका सामग्री हटाउने निष्कर्ष निकाल्यो ।
त्यो निर्णयअनुसार महानगरले २२ वैशाखमै यसअघि पुनर्निर्माणका क्रममा प्रयोग भएका कंक्रिट हटाउन बोलपत्र आह्वान गरिदियो । रानीपोखरीको पुनःनिर्माणका लागि प्रयोग भएको कंक्रिट हटाउन चार बोलपत्र परे ।
सबैभन्दा कम दर राख्ने चक्रकुमारी कम्पनीलाई मूल्यांकन समितिले कंक्रिट हटाउन जिम्मा दियो । उसले सबैभन्दा कम १३ लाख ६७ हजारमा टेन्डर हालेको थियो । महानगरले भने कंक्रिट हटाउन १६ लाख लगानी लाग्ने अनुमान गरेको थियो ।
पहिले प्रयोग भएका समाग्री हटाएर जेठ १५ बाटै पुनःनिर्माण सुरु गर्ने भनिएको थियो तर, असार मसान्तमा पनि सुरु नहुने छाँट देखिएको छ । महानगरले आउने वर्षका लागि बजेट समेत ल्याईसकेको छ । तर, रानीपोखरीको कंक्रिट हटाउने ठाउँमा एउटा स्काभेटर थन्किएको अवस्थामा छ ।
के थियो रानी पोखरी ?
ललितपुरको पाटनमा सात सय वर्षअघि पिम्बहाल पोखरी निर्माण भएको भनिन्छ । त्यही पोखरीका आधारमा साढे तीन सय वर्षपहिले काठमाडौंमा रानीपोखरी बनेको बताइन्छ । यी दुवै २०७२ साल वैशाख १२ को भुइँचालोमा क्षतिग्रस्त भए । रानीपोखरीको मध्य भागमा रहेको यमलेश्वर अथवा बालगोपालेश्वर मन्दिर भत्कियो ।
साढे सातसय वर्ष पुरानो पिम्बहाल ललितपुर महानगरपालिकाले पुनःनिर्माण गरिसकेको छ । पिम्बहाल भत्किनुअघिको स्वरूपमा बनेन होइन । एक सय ६५ वर्षअघि जर्मनीका चित्रकार जोन हेनरी एम्ब्रोसले बनाएको तस्वीरको स्वरूपमा बन्यो । आधुनिक शैलीमा बन्न लागेको रानीपोखरी अब पुरानै शैलीमा बन्नेछ ।
महानगरले आय आर्जन गर्ने सोंचका साथ रोडा, सिमेन्ट, बालुवा प्रयोग गरेर रानीपोखरी बनाउन खोजेको थियो । उसले म्युजिकल वाटर फाउन्टेन बनाउने भनेको थियो । चिया–कफी पसल खुल्ने भनेको थियो । बस्न र घुम्न छेउछाउ पार्क बनाउने कुरा पनि थियो । पोखरीसँगै बगैँचा जोडिएको तथा वरिपरि झिलिमिली बत्ती जडानको योजना थियो ।
रानीपोखरी राजा प्रताप मल्लले छोराको निधनपछि रानीको मन बुझाउन बनाएकोे बताइन्छ । यो मल्लकालीन राजा प्रतापकै उपहार थियो, भन्नछन्, संस्कृतिविद् सत्यमोहन जोशी ।
रानीपोखरी १७ औं शताब्दीमा ६२ रोपनी १३ आना २ पैसा जग्गामा निर्माण भएको हो । मन्दिरमा तीनवटा शिलालेख छन् जुन संस्कृत, नेपाली र नेपाल भाषामा लेखिएको छ । शिलालेखअनुसार प्रताप मल्लले तीन जना ब्राह्मण, प्रधान र खस मगरलाई प्रत्यक्षदर्शी बनाएर यो मन्दिर निर्माण गरेका थिए ।
गुम्बज शैलीको यो मन्दिर यसअघि थुप्रै पटक पुनर्निर्माण भइसकेको छ । विक्रम संवत १९५१ मा जंगबहादुर राणाले छाने शैलीको साटो गुम्बज शैली दिँदै वरिपरि पर्खाल लगाए । ९० सालको भूकम्पमा भत्किएपछि जुद्धशम्शेरले पुनःनिर्माण गराए । यसको ठूलो पुनर्निर्माण २०१३ मा भएको थियो । वैशाख १२ को भूकम्पले भत्किनुअघि पुरातत्व विभागले पहिलेजस्तै सुर्खीचुना नै प्रयोग गरिरहेको थियो ।
यो ऐतिहासिक पोखरीको सुन्दरता प्राचीनकालमा तिब्बत–भारत छिचोल्ने यात्रीहरूले लेखेका दस्तावेजमा वर्णित छ । पोखरीको लम्बाइ १८० र चौडाइ १४० मिटर छ । शिलालेखअनुसार पोखरीमा राजा प्रताप मल्लले भारतीय उपमहाद्वीपका ५१ वटा महत्वपूर्ण स्थानबाट ल्याएको जल हालेका थिए । त्यो जल अब रहेन । यस्तो ऐतिहासिक र पुरातात्विक महत्वको पोखरीका माछा सारेर पानी सुकाउने लगायत काम महानगरले कसैसँग नसोधी गरेको थियो । त्यसैले त सम्पदा तथा पूरातत्वविद्हरुको कन्सिरी तातिन्छ ।