arrow

'सुशिल दा' ले भन्नुभो

logo
राजिव रिमाल,
प्रकाशित २०७२ माघ २७ बुधबार
sushil-koirala-handshake.jpg.jpeg
पुष महिनाको चिसो बिहान, झिसमिसे नै थियो, काठमाडौंको सडक खासै उघारिएको थिएन। पोखराको इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल  क्याम्पस नेविसंघका सभापति पवन बाबू बास्तोला र सचिब म त्यो बिहान निकै ठूलो हुटहुटि मनमा बोकेर महाराजगन्ज तर्फको पैदल यात्रामा थियौं। रातभरको अनिदो र बढ्दै गइरहेको चिसो सिरेठोले हामी दुबैको ओठ कलेटी परिसकेका थिए। एकसरो कपडामा पोखराबाट हानिएर आएका हामी दुई तन्नेरीको तातो काठमाडौं खाल्डोमा सेलाइ सकेको थियो। सायद मनमा एउटा न एउटा उत्साहको रक्तसञ्चार नहुदो हो त शरीरका शिरा र धमनी पनि चिसोले चल्न छोड्थे होलान् त्यो बेला। हामी निदाइरहेको काठमाडौंलाई बिउँझाउदै यात्रामा निरन्तर थियौं। 
 
भर्खर-भर्खर काठमाडौं छिरेका हामी बास्तवमा सेती भन्दा पनि रहस्यमयी काठमाडौंका गल्ली बारे अनभिज्ञ थियौं। पेप्सिकोलाबाट रातको १ बजे महाराजगन्ज सुशील दाइको निवासका लागी पैदल यात्रामा निस्केका हामी यसै निस्किएका थिएनौ। हामीमा त्यो भेटलाई अविस्मरणीय बनाउने उत्कट इच्छा त थियो नै, थोर बहुत तन्नेरी जोशले पनि उक्साहट थपिरहेको थियो। कतै आफैसँग हराउदै त कतै अपरिचित राजधानीसंग लुकामारी खेल्दै हामी अगाडि बढिरहेका थियौं। साइरन बजाउदै कुदेका केही थान एम्बुलेन्स र पुलिस भ्यानले हामीलाई सडक अनुशासनमा सतर्क बनाउथे। करिव ४ घण्टाको पैदल यात्राले थकित हामीमा उत्साह भने पुर्ववत थियो। अब भने यदाकदा गाडीको ओहोरदोहोर सुरु भैसकेको थियो, हामी केही गाडीलाई रोक्ने प्रयास त गर्थ्यौ तर उनिहरु हामी नजिक आएपछि झन जोडले हुइकिन्थे। केही थान यस्तै प्रयास पछि हामी एउटा माइक्रो चढ्यौ। कलेजका तन्नेरीहरुले खचाखच माइक्रो चढेपछी मात्र था भो हामी गौशाला चोकमा आइपुगेका रहेछौ। कुन बाटो, गल्ली चोक हुँदै हामी त्यहाँ आइपुग्यौ मलाइ कुनै जानकारी छैन। केही बटुवा र सडक बालकको इसारा बाहेक अरु कुनै स्रोत थिएन हाम्रो यात्रामा। 
 
माइक्रोबाट नारायण गोपाल चोक झरेर भोको पेटमा एक कप दूध चिया हालेर अमिलो मुख बनाउदै हामी सिधै सुशील दाइको निवास हानियौ। गेट नजिकै एकजना सिपाहीले सोधपुछ गरेर हामीलाई भित्र छिर्न दियो। हाम्रो उदेश्य उहाँलाई भेट्नु मात्र थिएन। केही समयको प्रतीक्षा पछि सुशील दा बडो चम्किलो र गोरो अनुहारमा मिठो मुस्कान लिएर घर बाहिर आउनु भयो जहाँ हामी उहाँलाई कुरिरहेका थियौं। मैले झोलाबाट निकै हतार-हतार केही निकाल्न खोजेको देखेपछि उहाँले भन्नूभयो "किन आत्तिएको, बिस्तारै गर्नुस" म अवाक भए। सुशील दा लाई यति सरल अनुभुत गर्न पाउदा मलाइ भने निकै गार्‍हो भैरहेको थियो। सरासर झोलाबाट निकालेर मैले एउटा किताब उहाँको हातमा थमाए। एकछिन किताब नियालिसकेपछी उहाँले सिधै मतर्फ हेरेर सोध्नुभयो "तपाई नै हो त्यहाँको प्रमुख मान्छे?" म सुशील दाइको सरलता र शालीनताबाट निकै नर्भस भैसकेको थिए। म यसपटक पनि फेरि अवाक भए। छेउमै उभ्भिएको सभापतिलाई बेवास्ता गर्दै मैले 'हो' को इसारामा टाउको हल्लाएछु। पछि परिचय पछि हामी तिनैजनाले हाँस्दै अंकमाल गर्यौ र एउटा निम्तोको खाम उहाँको हातमा थमाएर हामी छुट्टियौ। त्यो दिनको भेट नै उहाँ संगको पहिलो र अन्तिम भेट बन्न पुग्यो। 
 
उहाँलाई नै हस्तान्तरण गरेको किताबको दोस्रो संस्करणको विमोचनका लागि यहि माघ २९ गते कार्यक्रम तय भैसकेको थियो, विमोचनमा सुशील दाइको स्वास्थ्य प्रतिकुलता कारण आदरणीय गगन दाइलाई लैजाने निश्चित गरेर म हिजो नै चितवन हुँदै पोखरा जाने योजनामा थिए। एकाबिहानै पोखराबाट एकजना दाइले फोनमा "त आज पोखरा नआइज, सुशील दाइको श्रद्धाञ्जलीमा जानुपर्ने भो,म पनि आउछु" भन्ने शब्द सुन्नासाथ मेरा कान टिन्न गर्न थाले, म अवाक र अर्धसुन्य भए। देशको अभिभावक, पार्टीको प्रमुख मान्छेको यस्तो खबर सुन्दा मेरो स्मृतिमा फेरि एकपटक उहाँकै प्रश्न "तपाईं नै हो त्यहाको प्रमुख मान्छे?" आलो बनेर दुख्यो। सुशिल दा संगै त्यो वाक्यांश पनि मेरो मानसपटलमा सदा स्मरणीय रहनेछ। हार्दिक बिदाई सुशील दाई।
 
(रिमाल नेविसंघ इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखराका सचिव हुन।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ