arrow

निजी कलेजको अचाक्ली प्रचार : कुहिएको चिजको हो प्रचार गर्नु पर्ने, राम्रोको गर्नु पर्दैन 

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
parchar.JPG

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड कार्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा भएको त्रुटिबाट टेन्सन मुक्त हुन सकेको छैन। यता, विद्यार्थी तान्ने निजी कलेजहरुले अभिभावक र विद्यार्थीलाई टेन्सन दिन थालिसके । अहिले केन्द्रको राजधानीबाट निस्किने ब्रोडसिड पेपरहरु अचाक्ली प्रचारले रंगिन थालेका छन् । यो नौलो कुरा होईन, तर शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो बजारीकरण हुनु चिन्ताजनक हो। शिक्षाविद्हरु यो शिक्षाको मूल्य मान्यता विपरीत भन्छन् । शिक्षा क्षेत्रमा वस्तुभाउको जस्तो मोलमोलाई पटक्कै सुहाउँदैन । शिक्षाविद् डा. विद्यानाथ कोईरालाले त यो प्रचार शैलीलाई कुहिएको चिजको प्रचार भनेका छन् । राम्रो र नराम्रोको मापन हालसम्मका उपलब्धी र वर्षौंको सफलतालाई आधार मानेर हुनु पर्ने हो । तर, निजी कलेजहरुको अचाक्ली प्रचारले सबैलाई कन्फ्यूज बनाईदिएको छ । अर्कोतिर, संघीयताको धज्जी नै उडाईदिएका छन् उनीहरुले । सबैले केन्द्रमै विद्यार्थी तान्ने रणनीति अपनाएका छन् । के साँच्चै यसरी प्रचार गर्न मिल्छ ? गर्न आवश्यक छ ? हामीले शिक्षाविद् डा. विद्यानाथ कोइरालालाई सोधेका छौँ ।  

० डाक्सा’व यो प्रचारको शैली जुन देखियो, साँच्चै यसाे गर्न मिल्छ ? 
–वास्तवमा के हो भने कुहिएको चिज मात्रै प्रचार गर्ने हो । राम्रो चिजको प्रचार गर्नु पर्दैन । त्यसैले उहाँहरुको कुहिएको चिज रहेछ भन्ने बुझ्ने हो । त्यो त आ–आफ्ना वेबसाइटमा गरिदिए हुने हो । यसरी हल्ला गर्नु पर्ने त लाग्दैन मलाई । मूलतः के होला ? यो निजीले के बुझेका छन् भने, जतिधेरै प्रचार गरियो, त्यति धेरै कुरा बुझ्छन् र आउँछन् भन्ने जनभावनालाई टार्गेट गरेका होलान् । यसरी प्रचार गर्नु पर्ने चैँ होईन । 

० त्यसो भए शिक्षामा यसरी व्यापारिक प्रचार गरिरहन जरुरी छैन ? 
–छैन । किन जरुरी छैन भने, निश्चित ठाउँमा, क्याम्पस क्याम्पसमा, स्कुल स्कुलमा केटाकेटी मार्फत प्रचार गरे भइहाल्यो नि ! हल्ला किन गर्नु परेको ? 

० यसलाई अभिभावकले कसरी बुझ्छन् ? 
–अभिभावकले के बुझेका छन् भने, जहाँ धेरै प्रचार प्रसार छ, त्यही नै काईदा हो भन्ठान्छन् । फुर्ति धेरै लगाएको ठाउँमा पढाउन उनीहरु पनि उत्साही हुन्छन् । ता कि उनीहरुलाई पनि छिमेकीलाई देखाउनु छ । अभिभावकको त्यही चेतना, विद्यार्थीको त्यही चेतनालाई साहुजीहरुले व्यापार बनाउँछन् । 

० यसको प्रचार, अहिलेसम्मको उपलब्धी र वर्षौंको सफलतामा अाधारित हुनु पर्ने हो ?  
–कसरी बुझ्नु पर्दछ भन्दा, नाप्ने त त्यसैगरी हो । नाप्दा उनीहरुको विद्यार्थीले राम्रो गरेको बेलाको तथ्याङ्क हेर्दा राम्रो विवरण आउँथ्यो । तर, हाम्रो संस्कारको विशेषता के रहेछ भने, शिक्षकहरु त्यसरी नगर्दा रहेछन् । केही शिक्षक अपवादमा होलान् । कतिपयले एकै पटक झ्यापझुप्प जाँच लिँदा रहेछन् । विद्यार्थीले पनि मैले कतिपटक प्रयास गर्नुपर्छ भन्ने चिन्तन नराख्दा रहेछन् । अनि एकै पटक जाँच्ने र जचाउने भएको हुनाले हो, नभए यस्तो गर्नु पर्ने विषय होईन । 

० यसबाट बुझ्ने के हो ? 
–यसबाट बुझ्ने के हो भने, बजार प्रचारमुखि, अभिभावक प्रचारमै लाग्ने किसिमको, विद्यार्थीहरु पनि प्रचारकै पछि लाग्ने किसिमको र शिक्षकहरु जसरी पनि आफ्नो कामलाई पन्छाऔँ भन्ने खालको चिन्तनमा छन् । उनीहरु जिम्मेवारी लिन तयार छैनन् । 

० अहिले शिक्षा प्रणाली सुधारको बहस चलिरहेको छ, के यो चलन हटाउला त राज्यले ?
–म चैँ स्थानीय तहलाई राज्य भन्छु । म स्थानीय तहसँगकै छलफलका सिलसिलामा छुँ । मैले के बुझेको छु भनेर भन्दा, शिक्षक र त्यहाँको स्थानीय तहका मान्छेहरुबीच संवाद जरुरी छ । सम्भावना निकाल्दिने चिन्तन भएका मान्छेहरुको खाँचो छ । मैले के देखिरहेको छैन भने, शिक्षा मन्त्रालयका साथीहरु र संघीय मामिला मन्त्रालयका साथीहरु कसरी सम्भावना छ भन्ने बारेमा कहिल्यै संवाद पनि गर्दैनन् । कहिल्यै कुनै किसिमको कुरा पनि गरेका छैनन् । त्यसैले ठूलो खाडल भईरहेको मैले देख्छु । जनप्रतिनिधि रहरमा छन् । शिक्षकहरु अन्योलमा छन् । शिक्षक महासंघले हामी स्थानीय सरकारका नीति नियम मान्दैनौं भनिरहेको छ । निजीहरु हामीले भनेको हुनुपर्छ भनेर छाडापन देखाउँदै छन् । यो अन्योललाई चिर्ने सरकारी संयन्त्र हामीसँग रहेन । 

० संघीयतामा गए पनि विद्यार्थी केन्द्रमै तान्ने होड चलिराखेको छ, यो हुनुहुँदैन थियो हो ?
–ठिक भन्नु भो । हामीले गोपालमान श्रेष्ठ मन्त्री हुँदा हामीले बनाएको प्रतिवेदनमा उल्लेख गरेका थियौँ । त्यो कार्यान्वयन भएन। दुई वटा शब्द त्यहाँ उल्लेख थियो । एउटा नक्साङ्कन भनेर, अर्को जोनिङ भनेर । निजीलाई पनि सरकारीलाई पनि नक्साङ्कन र जोनिङ गर्ने र धैरै भएका विद्यालयलाई मर्ज गरिदिने । थोरै भएका विद्यालयहरु कहाँ पुग्न सकिन्छ, त्यसरी खुलामोडतिर लाने । यो किसिमको प्रक्रियाबाट जान सकियो भने, हामीले खोजेको कुरा पनि हुन्छ । तर, त्यो जानलाई निजीहरु दिँदैनन् । निजीहरु धेरै तागतवार रहेछन् भन्ने अहिले पाठ्यक्रमको कार्यान्वयन गर्न नदिएकोबाट थाहा भईहाल्यो नि ! त्यसो भएपछि त्यसलाई कसरी नियमन गर्ने ? भन्ने कुरा जरुरी छ भने, शिक्षक महासंघले हामी स्थानीय तहका नियम मान्दैनौ भन्दाखेरी पनि कसैले पनि कारबाही नगर्ने ? उनीहरुलाई यसो गर भनेर आदेश पनि नदिने । त्यो अवस्था रहेकाले अन्योल बाँकी छ । त्यसको समाधान खोज्नु पर्छ । 

० शिक्षाको अन्यन्त निजीकरण बढेर भोलि सबैले सजिलो र शुलभ रुपमा शिक्षा पाउने कुराको अन्त्य हुँदैछ, हामी खतरामा छौं? 
–ठिक भन्नु भो, वास्तवमा निजीलाई नियमन गर्ने कि बन्द गर्ने वा छाडा छोड्ने भन्ने तीन वटा दृष्टिकोणबारे मतैक्यता भएन । मैले लामो समयदेखि बल गरिरहेको छुँ, उहाँहरु त्यो चिन्तनमै हुनुहुन्न । यहाँलाई थाहा नै छ, शिक्षामन्त्रीले निजी बन्द गर्ने भन्नु भो, प्रधानमन्त्रीले के भन्नु भो भने, अहिले हतारो नगरौँ, भन्नु भो । उहाँहरु दुईजनाकै संवाद इसारा काफी छ । जसरी प्रधानमन्त्रीले चीन जाँदाखेरी निजीवालालाई सँगै लगेर जानुभयो । सरकारी विद्यालयवालाई बोकेर लैजाने हिम्मत गर्नु भएन । यसबाट के देखिन्छ, भने निजी छाडा हुन्छ की ? यो डर छ । भन्ने बेलामा समाजवादी भन्ने ? निजीलाई छाडा छोड्ने दिशा हो भने, समाजवाद गफै हुन्छ । त्यसैले नियमन गर्ने तरिका ल्याउनु पर्छ । नियमन गर्न स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ । त्यसो भए केही होला ।

० स्थानीय तह नै अबको वाहक हुन् ? 
—संविधानले दिएको अधिकारै हो । कि संविधान मुर्दावाद भन्न थाल्नु पर्‍यो । कि संविधान अनुसार चल्न थाल्नु पर्‍यो । यही दुई वटा विकल्प हो । नभए स्थानीय सरकारले नसक्ने भो, प्रदेश सरकारलाई दिउँ, प्रदेश सरकाले पनि नसक्ने भो, केन्द्र सरकारलाई दिउँ भन्ने निर्णयमा पुग्नु पर्छ । मैले तीनवटा कुरा भने, स्थानीय सरकारलाई तिमिनै गर भनेर सघाउनु पर्छ । कि तिमि सक्दैनौँ प्रदेशमा लान्छु अर्थात् केन्द्रमा लान्छु भन्नु पर्‍यो । कि संविधानमा लेखेको गल्ती हो भन्नु पर्‍यो । त्यो भन्दा विकल्प हामीसँग के छ र ?    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ