arrow

इतिहासकै कठिन मोडमा कांग्रेस

logo
विजय सन्तोषी राई,
प्रकाशित २०७५ असार २० बुधबार

धरान। निर्वाचनमा पराजय भएको यतिका लामो समयसम्म पनि कांग्रेसले आफूलाई रुपान्तरण गरी गति दिन नसकेको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको पार्टीमा आन्तरिक एकतासमेत कायम गर्न नसक्दा तीनै तहको सदनदेखि सडकसम्म यतिबेला कमजोर  मात्र देखिएको छैन, इतिहासकै कठिन मोडमा कांग्रेस उभिएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले वर्तमान सरकारले गरेको लोकतन्त्रको विरोध गर्न पाउने शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै राजधानी काठमाडौंलगायत ७७ वटै जिल्ला सदरमुकाममा निषेधित क्षेत्र तोक्ने कार्य को प्रतिरोध गर्दै तोड्न नसक्नु ,प्रेसमाथिको हस्तक्षेपलगायत जनविरोधी निर्णयहरु, दैनिक उपभोग्य सामाग्रीहरुको चर्को मूल्यवृद्धि, बालकृष्ण ढुंगेललाई दिएको आममाफी, हतियारसहित भारतीय सेनाको राजधानी काठमाडौंैलगायतका क्षेत्रहरुमा भएको उपस्थिति, सरकारको नीति तथा कार्यक्रम, नक्कली राष्ट्रवाद, लम्पसारवादलगायत महत्वपूर्ण विषयहरुमा संघीय संसद तथा प्रदेश संसद र सडकमा सशक्त रुपमा विरोध गर्न नसक्नुले प्रतिपक्ष दलको भूमिका अत्यन्तै कमजोर र प्रभावहीन महसुस सबैले गर्न थालेकाले यी मुद्धाहरुमा अब कांग्रेसले सदन र सडक दुवै ठाउँमा चर्कोरुपमा उठाउँदै आन्दोलनको आँधीबेहोरी ल्याउन सक्नुपर्छ ।

सक्रिय तथा उर्जाशील र समाधानमुखी गुटरहित संघ, प्रदेश तथा स्थानीय  तहमा प्रभावकारीरुपमा प्रमुख प्रतिपक्षको सशक्त भूमिका  निवार्ह गर्नसक्ने  २१ शताब्दीको नयाँ नीति तथा कार्यक्रमसहितको आधुनिक कांग्रेस यतिबेला नेपाली युवाले चाहेका र खोजेका छन् । गुट-उपगुटले गाजेको समस्या नै समस्याले भरिएको अनि विकृति विसंगतिले सताएको र पुरानै शैली, संस्कार र परम्परागत ढंगमा चल्ने पुरातन शैलीको  कांग्रेस होइन सक्रिय तथा उर्जाशील र समाधानमुखी गुटरहित संघ, प्रदेश र स्थानीय  तहमा प्रभावकारीरुपमा प्रमुख प्रतिपक्षको सशक्त भूमिका  निवार्ह गर्न सक्ने  २१ शताब्दीको कांग्रेस अहिले युवाले चाहेका र खोजेका हुन् ।

लोकतन्त्रलाई गतिशील बनाउन र राख्न सरकार पक्षसँगै प्रतिपक्ष पनि उत्तिकै शक्तिशाली र बलियो हुनुपर्छ तर यतिबेला संघ, प्रदेश र स्थानीय तहमा संख्यात्मक हिसाबले र भूमिकाको दृष्टिले पनि उपस्थिति अत्यन्तै कमजोर देखिन्छ । त्यसैले यतिबेला सत्ता पक्षसँगै बलियो र दरिलो प्रभावकारी प्रतिपक्ष दलको भूमिकाको खोजी  सबै सरोकारवालासँगै कांग्रेसजनको अनि मुलुकका लागि पनि महत्वपूर्ण विषय भएको छ । यतीबेला सरकारको जताजतै हस्तक्षेप र रवैयाले न्याँयलय, प्रेस, प्रशासन, कर्मचारीतन्त्रलगायत  सबै क्षेत्रमा सेल्पसेन्सरीपले गर्दा नीति नियमसंगत स्वतन्त्रतापूर्वक कसैले कार्यसम्पादन गर्न सकिरहेका छैनन् यसले गर्दा सबै आतंकित हुन थालेका छन् ।

उमेरमा पनि जेठो, कर्मले पनि जेठो, सिद्धान्तले पनि जेठो पार्टी नेपाली कांग्रेस समयअनुरुप आफूलाई रुपान्तरण गर्न नसकेका कारण अहिले पुरानै शैली र संस्कार तथा आन्तरिक कलहले इतिहासमा नै अत्यन्त कमजोर भएकाले इतिहासमा नै यसपटक कांग्रेसको भूमिका ज्यादै कमजोर भएकोले  सरकार स्वेच्छाचारी र अधिनायकबाटतर्फ अग्रसर भएको देखिन्छ  । यसले गर्दा देशभर नै अहिले प्रतिपक्षको भूमिका कमजोर र फितलो भएकोमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन् ।

कांग्रेसले कांग्रेसलाई शत्रु सम्झने, कांग्रेसले कांग्रेसलाई नै हराउने, अन्य पार्टीकालाई भने मित्र सम्झने कांग्रेसजन भित्र एकले अर्कालाई तल्लोस्तरसम्म झरेर गाली गर्ने चरित्रहत्या गर्ने, गलत प्रचार गरी नेताहरुलाई खुइलाउने अहिले तीव्ररुपमा भइरहेकाले यसले नेतालाई मात्र होइन, पार्टीलाई पनि कमजोर बनाउने भएकाले यस्तो कार्यको अविलम्ब अन्त्य गर्दै नेता तथा कार्यकर्ताहरुले आफ्ना सबै नेता तथा कार्यकर्ताहरुको फेस र सेफ गर्ने परिपार्टीको तत्काल थालनी गर्नुपर्छ ।  

नेपाली कांग्रेसले राणा शासनविरुद्धको सशस्त्र युद्ध जितेर नेपाललाई स्वतन्त्र बनायो र राजतन्त्रलाई समाप्त गर्ने महत्वपूर्ण युद्धमा विजय प्राप्त गरेर नेपालको संविधान २०७२ मा संवैधानिकरुपबाटै राजतन्त्र र जनवादी कम्युनिष्ट व्यवस्थाको मार्ग नै बन्द गरी विपी कोईरालाले तय गर्नुभएको लोकतान्त्रिक मार्गको बाटो  सही छ भनी प्रमाणित गरी सोहीअनुरुप अहिले नेपाल हिँडिरेहेको छ । नेपाली कांग्रेसले राजनीति जित्यो तर निर्वाचन हार्‍यो । त्यसैगरी कांग्रेसले लडाइँ हारेर पनि युद्ध भने जितेको छ । त्यसैले अहिलेको निर्वाचनमा हार्दा  लडाइँमा हारेको जस्तो सिपाहीको मानसिकताबाट नभएर युद्ध जितेको मानसिकताबाट अगाडी बढ्दै पार्टीलाई नयाँ गतिका साथ नयाँ संरचनाअनुरुप २१ शताब्दीको कांग्रेस निर्माण गर्न नयाँ उत्साहका साथ  सबैलाई संगठित गर्न आजैदेखि लाग्न जरुरी भएको छ ।

पृथ्वी नारायण शाहले पनि नेपाल एकीकरण गर्दा धेरै ठाउमा लडाइँ हारे तर युद्ध जितेका कारण युद्ध जितेको मानसिकताबाट हारेका ठाउँहरुमा पुनः लडाइँ लडेका कारण हारेका ठाउँमा विजय प्राप्त गर्न सफल भएकाले नै नेपाल एकीकरण भएको हो । अंग्रेजसँगको युद्धमा पनि नेपालले धेरै ठाउँमा लडाइँ हारेको तर युद्ध जितेका कारण नेपाल रहेको हो । त्यसैले कांग्रेसले पनि राणा शासनविरुद्धको युद्ध र राजासँगको युद्ध जित्दै गर्दा सानातिना लडाइँ हारेपनि युद्ध जितेकै कारण स्वतन्त्र नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण भएको हो ।

नेपाली कांग्रेसले युद्ध पनि जितेर लडाइँ पनि जितेको भए मुलुक सहजरुपमा लोकतान्त्रिक मार्गमा अगाडि बढ्न सक्थ्यो तर कांग्रेसको लोकतान्त्रिक एजेण्डा संविधान सभाबाट पास भयो तर तीनै तहको निर्वाचनमा भने दुई तिहाई बहुमत कम्युष्टिहरुको आएकाले अहिले मुलुक सर्वसत्तावादँंगै अधिनायकवादतर्फ अगाडि बढ्ने प्रयास गरिरहेको छ ।

 नेपालको संविधान २०७२ को संविधानमा राज्यको पुनर्संरचनाअनुरुप संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरे पनि देशकै पुरानो पार्टी नेपाली कांग्रेसले भने निर्वाचनअघि र पछि अनि अहिलेसम्म पनि नयाँ संरचनाअनुसार संगठन निर्माण गर्न नसक्दा तीनै तहको निर्वाचनमा नराम्रोसँग पराजय भोग्नु परेको र अहिले प्रभावकारी प्रतिपक्षको भूमिकासमेत तीनै तहमा निर्वाह गर्न नसकेको महत्वपूर्ण कारण हो  ।

नेपाली कांग्रेसले अब केन्द्र, प्रदेश, स्थानीयतहको वडा-वडासम्म छाया सरकार गठन गरी हरेक तहमा उम्मेदवार भएकाहरुलाई पनि जिम्मेवारी दिई परिचालन गर्ने र भातृ तथा शुभेच्छुक संस्थाहरुको नियमित अधिवेशन गरी भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि देशभरी परिचालन गरी सक्रिय बनाउनु पर्छ । विकास निर्माण लगायत प्रत्यक जनताको,समस्या चाहना र आवाश्यकता तथा काम र सेवामा अब कांग्रेसको अर्थपूर्ण उपस्थितिका साथ प्रभावकारी भूमिका जनताले महसुस अनी अनुभूति हुने गरी हुनुपर्छ । कांग्रेस हरेक तह तथा निकायमा समस्या भएर होइन समाधान भएर जिम्मेवारपूर्वक जनताको साथमा प्रस्तुत हुनुपर्छ ।

विशेषगरी युवा नेताहरुले पनि पार्टी नेतृत्वलाई खबरदारी गरी गलत निर्णयहरुलाई सुधार्न लगाउनुभन्दा पनि त्रय नेताहरुकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरुमा विभाजित भई नेतृत्वमा जाने, टिकट लिने सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नुपर्‍यो । त्यसले गर्दा  युवा नेताहरुले पनि  हारको  दोष र जिम्मेवारी दिँदै  अब पार्टीलाई पहिलो बनाउन युवापुस्ता बढी जिम्मेवार र सक्रिय हुनुपर्छ ।

पार्टीका नेताहरुमा  व्यवस्था परिर्वतन भए पनि व्यावहार परिवर्तन नहुनु, नीति र नियम परिवर्तन भएपनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु, सरकार पविर्तन भए पनि संस्कार र संस्कृति परिवर्तन नहुनु नै कांग्रेस भित्रको मूल समस्या हो ।

महाभारतको युद्धमा पाण्डवले जित्नुमा कौरव पक्षको सेनापती भीष्म पितामह, गुरु दोर्णचार्यलगायत अधिकांश सेनाहरुसमेत कौरवको पक्षमा लडाइँ लड्दै गर्दा पनि पाण्डवको जित होस् भन्ने भित्री चाहनाका साथ युद्धमा सहभागी भएकाले पनि महाभारतको युद्धमा कौरव हारेका हुन । यस पटकको तीनै तहको निर्वाचनमा कांग्रेसमा गुट उपगुटका कारण  टिकट नपाएको र आफ्नो पक्षले टिकट नपाएको झोंकमा घात-प्रतिघात र अन्तरघात भएका कारण कांग्रेसले नै कांग्रेसलाई निर्वाचन हराएको र वाम गठबन्धनले जितेको हो।

तीन तहकै निर्वाचनबाट हारको परिणामले कांग्रेस मरेको छैन र सकिसकेको पनि छैन र आर्यघाटमा पनि पुगेको छैन । अहिले कांग्रेस कमजोर र बिरामी भएर अस्पतालको शैय्यामा मात्र पुगेको छ कांग्रेसलाई बचाउन सकिन्छ । अस्पतालको शैय्याबाट उपचार गरी जीवन्तता दिदै निष्क्रिय बनेका कांग्रेसजनमा सक्रियता र उर्जा थप्दै पहिलेको भन्दा सशक्त र ऊर्जाशील कांग्रेस बनाएर २१ औं शताब्दीको भारी बोक्न सक्ने गरी देशकै ठूलो र सर्वाधिक शक्तिशाली जनताको प्रिय र आधुनिक पार्टी बनाउनुपर्छ ।

त्यसका लागि देशभरीका कांग्रेसीहरु र हामी युवा तन्नेरी कांग्रेसजनले सबैभन्दा पहिले व्यापक र घनिभूतरुपमा आत्मसमीक्षा गरी आफू  बदलिएर कांग्रेसलाई बदल्नु जरुरी छ ।  मेचीदेखि महाकाली, हिमाल, पहाड, तराईसम्म सशक्तरुपमा जागरण अभियान संचालन गर्नुपर्छ । कांग्रेस इतिहास बोकेको, सफल वर्तमान भएको र भविष्य पनि सुनिश्चित भएको पार्टी भएकाले कांग्रेसजनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहासलाई  भुल्नुहुन्न र सार्थक र सफल वर्तमानलाई आत्मसाथ गर्दै उज्यालो भविष्यलाई पनि सुनिश्चित गर्नुपर्छ । त्यसका लागि विशेषगरी कांग्रेसका अहिलेका तन्नेरीहरुले इतिहास भजाएर खाने मात्र होइन अघिल्लो तन्नेरी पुस्ताले इतिहास निर्माण गरेकोमा गौरव गर्दै नयाँ इतिहास  रच्नका लागी आत्मैदेखीनै क्रियाशिल हुनु पर्छ ।

राणाशासनले मास्न नसकेको कांग्रेस अनि राजा र पञ्चायतले  छेक्न र रोक्न नसकेको कांग्रेस माओवादीले मार्दा पनि नसिद्धिएको कांग्रेस  यसपटकको निर्वाचनमा हार्दा कांग्रेस सिद्धियो भनेर खुसी साथ रमाउने विपक्षीहरु र शिथिल र हतोत्साही भएका कांग्रेसका शुभचिन्तकहरुले बुझ्न जरुरी हुन्छ कांग्रेससँग हार्दै जित्दै गरेको जीवन्त इतिहास पनि छ । बुद्धले आफ्नो भक्तजनहरुलाई (चेलाहरुलाई) भन्नुभएजस्ते यो समय सधै यस्तै रहँदैन  यहा खुसीहुनेहरु पनि रुनुपर्छ । हार्नेहरुले पनि जित्छन् र जित्नेहरुले पनि हास्छन्। राम्रो कर्म गर्नुपर्छ ।

अहिले राजावादीदेखि कम्युष्टिहरुसम्म कांग्रेसले हिँडेको लोकतन्त्रको बाटो ठिक छ भनी निर्विकल्प रुपमा स्वीकार गरिसकोले अब हाम्रो मुलुक नेपालमा पुरानो युगको अन्त्य भै संविधानको कार्यान्वयनका साथ नयाँ राजनैतिक युगको  आरम्भ भएको छ । त्यसैले युग परिर्वतनसँगै अब नेपाली कांग्रेसले नयाँ नीति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुनव्र्याख्या गर्दै संगठनको पुनर्निमार्ण गर्न  अति आवश्यक भएको छ । यदि कांग्रेसले यसो गर्न सकेन भने प्रजा परिषद जस्तै इतिहासमा मात्र सीमित हुनसक्छ त्यसैले नेतृत्वमा रहनुभएकाहरुले बेलैमा त्यसतर्फ ध्यान पुर्‍याउनु पर्छ ।  युवाहरुसँगै पार्टीभित्र आदीवासी, जनजाती, दलित, मधेसी र महिला तथा सीमान्तकृत वर्गलाई पनि नेतृत्वमा निर्णायक ढंगमा सहभागी गराउँदै सबैको साझा कांग्रेस पार्टी समेत बनाउनुपर्छ ।

निर्वाचन परिणामाबाट शिथिल र निष्क्रिय बन्दै गएको कांग्रेसजनमा सक्रियताका साथ उत्साह र उर्जा बढाउदै नयाँ संरचना अनुरुप २१ शताब्दीअनुरुप नेपाली कांग्रेसलाई अगाडी बढाउन र सशक्त बनाउन  सबै कांग्रेसजनले मेहनेत र पसिना, पाका तथा अभिभावकको अनुभव तथा सल्लाह र आशिर्वादबाट मात्र संभव  हुन्छ ।  

योग्यता र क्षमतको आधारमा युवा, मध्य र पाका  गरी तीनै पुस्तालाई पार्टीको नेतृत्वमा समायोजन गरी पार्टीका पदाधिकारी तहमा सम्म युवाहरुको निर्णायक ढंगबाट सहभागी गराई पार्टीलाईप ूरै रुपान्तरण गरी अभियान संचालन गरे मात्र नेपाली कांग्रेस आगामी दिनमा देशकै ठूलो  र पहिलो आधुनिक पार्टी बन्नसक्छ अनि मात्र नेपाललाई अधिनायकवादतर्फ जानबाट बचाउन  सकिन्छ ।

महासमितिको बैठक तत्काल  बोलाएर नयाँ परिवेशमा पार्टीको संघीय विधान पारित गर्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्र्दभमासमेत २१ शताब्दीअनुसारको नयाँ युगका लागि पुनव्र्याख्याका साथ पुनर्लेखन गर्नुपर्छ । आर्थिक, समाजिक र छिमेकी मित्र देशहरुको सम्बन्धलगायतको बारेमा पार्टीको सबै विषयमा सैद्धान्तिक तथा बैचारिक दस्तावेज पारित गरी नयाँ ढंगबाट पार्टीलाई पुनर्संगठित गर्नुपर्छ ।

नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्नसक्ने कांग्रेसको संगठनको ढाँचा महासमितिको बैठक बाटै निर्णय गरी पार्टीको संघीय विधान पारित गरी संघीय संरचनाअनुरुपको पार्टीको संगठन पुर्नगठन शीघ्र गर्नुपर्छ । चरम संकटमा फसेको पार्टीलाई नयाँ उर्जा र नयाँ जीवन दिनका लागि कुनै पक्ष बाधक बन्नु हँुदैन पार्टी सभापतिलगायत संस्थापन पक्षले पनि सबैलाई समेटर एकताबद्ध ढंगले पार्टीलाई संचालन गर्नुपर्छ र अन्य पक्षले पनि संस्थापन पक्षलाई पार्टी संगठनलाई सक्रिय बनाउन सहयोग गर्नुपर्छ अनि इतिहासकै कठिन मोडमा उभिएको कांग्रेसले चरम संकटबाट पार पाउँदै देशले अहिले खोजेको  २१ शताब्दीको  भारी बोक्न सक्ने आधुनिक कांग्रेस  बनाउनुपर्छ ।  
(लेखक नेपाली कांग्रेस धनकुटाका सचिव एवं नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष र नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष  हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ