- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । कुनैपनि जंगमान शरीरमा इन्द्रियको माध्यमले नै सबै किसिमका शारीरिक गतिविधिलाई सञ्चालन गरेको हुन्छ भन्नेकुरा अहिले विज्ञानले प्रमाणित गरेको छ । अहिले विज्ञानले यो प्रमाणित गर्नु भन्दा सयौं वर्ष पहिले पूर्वीय दर्शनका पक्षपोषक ऋषिमुनीहरुले नै यस विषयलाई पत्ता लगाइसकेका थिए ।
यो आलेखमा कुनैपनि वैज्ञानिक आविस्कारप्रति नराम्रो नजरले हेर्ने प्रयास त गरिएको होइन । तर, पूर्वीय दर्शनमा धेरै पहिले नै यस्ता विषयहरु बाहिर आएको भन्ने विषयलाई प्रकाशमा ल्याउन मात्रै खोजिएको हो ।
पूर्वीय दर्शनमा इन्द्रियको परिभाषा, शरीर लगायतको परिभाषा दिने क्रममा भिन्न भिन्न दार्शनिकहरुले भिन्न भिन्न मत राखेका छन् । तर, मूलमा अधिकांश कुरा साझा बन्ने गरेको छ । मात्रै कारक र भूमिकामा केही भिन्न हुन सक्छ ।
विशिष्टाद्वेत दर्शन आत्मालाई परमात्माको शरीर मान्छ । मानव शरीरमा साक्षीको रुपमा रहेको आत्माले कुनैपनि जीवात्माले गरेको राम्रो काममा स्यावासी दिने र नराम्रो काममा सावधानी गराउने काम गर्दैन । आत्मा त गुप्तचर जस्तै सबै कामको सुक्ष्म रुपमा निरीक्षण मात्रै गरेर बसेको हुन्छ ।
शरीर मरेपछि आत्मा मर्छ कि मर्दैन भन्ने विषयमा पनि हिन्दू दर्शनमा मतैक्य छैन । विशिष्टाद्वेत आत्मा मर्दैन र अर्काे जन्ममा पुरानो जन्मको सबै हिसावकिताव बुझाउने काम गर्छ । आत्मा परमात्माको एउटा अणुको रुपमा यो दर्शनले मान्ने गरेको छ । यसै विषयमा गीतामा पनि शरीर आत्माको एउटा वस्त्र समान छ भन्ने विषय उल्लेख गरिएको छ ।
इन्द्रिय विवेचन
इन्द्रियको व्याख्या गर्नुभन्दा पहिले प्रकृतिको बारेमा चर्चा गर्नु आवश्यक हुनसक्छ । सत्वरजतम यी तीन गुणको आश्रय नै प्रकृति हो । जुन प्रकृतिलाई अक्षरा, अविद्या र माया शब्दले चिन्ने गरिएको छ । परब्रह्मको सत्यसंकल्पबाट गुणको वैषम्यको कारण हुने प्रकृतिको जुन कार्यान्मुख अवस्था छ त्यसलाई अव्यक्त भनिन्छ ।
सोही प्रकृतिको कार्याेन्मूख अवस्थाबाट बुद्धिको उत्पत्ति हुन्छ । सोही बुद्धिबाट अहंकारको उत्पत्ति हुन्छ । सोही अहंकारबाट पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) र ११ प्रकारका इन्द्रिय (मन, श्रोत्र, चक्षु, त्वक्, घ्राण र रसना गरी ६ ज्ञानेन्द्रीय वाक्, पाद, पायु, उपस्थ, पाणि गरी छ कर्मेन्द्रिय) हरु लगायत सबैको उत्पत्ति हुने गरेको छ ।
अर्थात्, मन, कान भित्र हुने श्रोत्र इन्द्रिय, आँखा भित्र हुने चक्षु इन्द्रिय, जिब्रोमा हुने रसना इन्द्रिय, शरीरभरी हुने त्वक इन्द्रियसँगै हात, खुट्टा मुत्रालय, मलद्वार र मुख गरी ११ इन्द्रियहरु हुन्छन् ।
बुद्धिबाट प्राप्त हुने अहंकार ३ प्रकारको हुन्छ । सात्विकाहंकार, राजसाहंकार र तामसाहंकार । यसमध्ये राजसाहंकारको सहयोगबाट सात्विकाहंकारले ११ इन्द्रियहरुको रचना गर्ने गर्दछ ।
पूर्वीय दर्शनमा ‘सात्विकाहंकार उपादानकं द्रव्यमिन्द्रियम् इति इन्द्रिय लक्षणम् ।’ अर्थात्, सात्विकाहंकारद्वारा उपादान हुने द्रव्य नै इन्द्रिय हो । पूर्वीय दर्शन अन्तर्गत् पनि न्याय वा वैशेषिक र मिमांशामा कुनैपनि वस्तुको लक्षण फरक फरक उल्लेख गरिएको भेटिन्छ ।
मिमांशाको अनुसार सबै प्रकारका जीवहरुमा दुईप्रकारको इन्द्रीयहरु रहेका हुन्छन् । एउटा ज्ञानेन्द्रीय र अर्काे कर्मेन्द्रीय । ज्ञानप्रशरणशक्तमिन्द्रीयं ज्ञानेन्द्रीयम् । अर्थात् ज्ञान प्रशारण गर्ने शक्ति भएको इन्द्रिय नै ज्ञानेन्द्रिय हो ।
यो ५ प्रकारको छ । मन, श्रोत्र, चक्षु, रसना, त्वक्, घ्राण । हामीले इन्द्रिय भनेर जुन कान, आँखा लगायतलाई मान्ने गरेका छौं । त्यो सरासर गलत विषय हो । ती केवल इन्द्रिय रहने स्थान मात्रै हुन् । ज्ञानेन्द्रिय त मन, श्रोत्र, चक्षु, रसना, त्वक्, घ्राण मात्रै हो ।
यसमध्ये स्मृति आदि कार्य सञ्चालन गर्ने इन्द्रिय मन हो । यसलाई शव्द, स्पर्श, रुप, रस, गन्ध यी ५ महाभूतको विषय नै मन बाहेकका ५ इन्द्रियहरु हुन् । जस्तै, शव्दको इन्द्रिय श्रोत्र इन्द्रिय हो । यसको आश्रय स्थल आकाश हो ।
त्यस्तै, रुपको इन्द्रिय चक्षु इन्द्रिय हो यसको आधार तेजमा हुन्छ । त्यस्तै, स्पर्शको त्वक इन्द्रिय, गन्धको इन्द्रिय नाकको भित्र रहेको नासिका र रसको रसना इन्द्रिय हो ।
यसरी एकादश इन्द्रियको सहयोगले शरीर सञ्चालन भएको हुन्छ । इन्द्रियको विषयमा गीतामा मनः षष्ठानीन्द्रियाणि भनिएकोछ । यसरी गीतामा मनलाई पनि इन्द्रिय अन्तर्गत राखिएको छ । यही विषय वेदान्तमा पनि इन्द्रियको रुपमा स्वीकार गरिएको छ ।
मनको विषयलाई विश्लेषण गर्दै गौतम ऋषिको मत छ कि युगपज्ज्ञानानुत्त्तिर्मनसो लिङ्गम् । अर्थात् सबै इन्द्रियहरु यथायथ आफ्नो विषयसँग सन्निकट भएपछि सबै विषयको ज्ञान एकैपटक नभएर क्रमश हुने गरेको छ । अर्थात् यी सबै इन्द्रियहरुको आ–आफ्नै काम क्रमशः गर्दछन् ।
यसरी मन शरीरको एउटा इन्द्रिय हो भने आत्मा शरीरको निरीक्षक हो । भन्ने मत शरीरको मृत्युपछि पनि आत्मा नष्ट हुँदैन भन्ने मत राख्ने विशिष्टाद्वेत दर्शन बताउँछ । (लेखक पौडेल श्रीनिवास संस्कृत विद्यापीठ नयाँ दिल्लीमा अध्ययनरत छन् )