arrow

बुटवल उप–महानगरका ३ हजार बढि एकल महिला आत्मनिर्भर योजना

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार २५ सोमबार
mahila_news_butwal.jpg

बुटवल । बुटवल उप–महानगरपालिकाले नगरका एकल महिलाहरुका लागि सीपमूलक र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले एकल महिलाहरुका लागि आवश्यकता अनुसारका सीपमुलक कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

उप–महानगरमा रहेका एकल महिलाहरुको विस्तृत विवरणसहितको तथ्यांक समग्री शुक्रबार बुझ्दै प्रमुख सुवेदीले एकल महिलाका साझा समस्याहरुलाई पहिलो प्राथमिकता दिंदै सोही अनुरुपका कार्यक्रमहरु तय गरिने बताए ।  मानवअधिकारमैत्री समाज निर्माणमा आफुहरु केन्द्रित हुने उल्लेख गर्दै प्रमुख सुवेदीले नागरिक समाजको सहकार्य जरुरी रहेको बताए ।

एकल महिलाका समस्या तथा उनीहरुको हकहितका बारेमा जनचेतना फैलाउने र उनीहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमको तयारी भइरहेको प्रमुख सुवेदीले बताए ।  त्यस्तै उप–प्रमुख गुमादेवी आचार्यले नगरलाई लैंगिक हिंसामुक्त बनाउने अभियान स्वरुप महिलाहरुमा आर्थिक, सामाजिक अधिकारका क्षेत्रमा पनि विशेष कार्यक्रम बनाइने बताईन् । उनले एकल महिलाहरुले भोग्नुपरेका विद्यमान समस्याहरुको पहिचान गर्दै समाधानका कार्यक्रमहरु बनाइने बताईन् ।

कुनै पनि महिलाहरु आधारभुत आवश्यक्ता र सुविधाहरुबाट बञ्चित रहनु नपर्ने गरी योजनाबद्ध कामको थालनी भएको भन्दै उपप्रमुख आचार्यले विभेद र साझा सरोकारका बिषयमा सहकार्यका साथ कार्यक्रम सञ्चालन गरिने बताए । उप–महानगरपालिकाको सहयोगमा मानवअधिकारका लागि महिला एकल महिला समूहले नगरभरीका एकल महिलाहरुको तथ्यांक संकलन गरी नगरप्रमुख र उपप्रमुखलाई बुझाएको थियो ।

उक्त समूहका रहेका ९ जना महिलाहरुले गत बैशाख १ गतेदेखि नगरमा रहेका एकल महिलाहरुको तथ्यांक संकलनको काम सुरु गरेको समूहका अध्यक्ष पवित्रा खनालले जानकारी गराईन् ।  प्रत्येक वडामा पुगेर घर परिवारलाई भेटेर एकल महिलाको विवरण संकलन गरिएको बताउँदै समूहकी सचिव नारायणी पाटा मगरले एकल महिलाहरुका समस्याहरुसमेत अभिलेखमा समावेश गरिएको बताईन् । नगरमा १८ देखि १ सय ७ वर्ष उमेर समूहका एकल महिलाहरु रहेको नगरमा बुझाइएको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै एकल महिला वडा नं. ११ मा रहेका छन् । त्यहाँ ८ सय ८५ जना एकल महिला रहेको समूहकी अर्की सदस्य अरुणा श्रेष्ठले जानकारी दिईन् ।सबैभन्दा कम ६३ जना वडा नं. ४ मा  रहेको उउनले बताईन् ।  एकल महिलाहरुमा आर्थिक अवस्था कमजोर रहेको, अंशवण्डा नपाउने, नागरिकता वनाउन समस्या हुने, छोराछोरीलाई छात्रवृति, शिक्षा स्वास्थ्य रोजगारीलगायत साझा समस्या रहेको अभिलेखमा समेटिएको छ ।

कतिपय एकल महिलाहरुले भेदभावको शिकार भइरहेको शिक्षा र समाजबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै गुनासो गरेको तथ्यांक संकलनमा खटिएकी अगुवा पाटा मगरले बताए ।  सो अवसरमा उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसी, प्रवक्ता रामप्रसाद रेग्मी तथा कार्यपालिका सदस्यहरु र सामाजिक विकास शाखाका प्रमुख भुवाप्रसाद लुइँटेललगायतले तथ्यांकले योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ