arrow

प्रत्येक स्थानीय तहमा जनसंख्या अधिकृतकाे सिट चाहिन्छ (अन्तर्वार्ता)

सन्दर्भ : विश्व जनस‌ंख्या दिवस

logo
प्रकाशित २०७५ असार २७ बुधबार
bidan.JPG

सन् १९८१ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसंख्याका मुद्दालाई सम्बोधन गर्ने गरी विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । विश्वभरिका जनसंख्याका मुद्दा के–के हुन्छन् । जनसंख्याले भीड बढछ, भीड बढेपछि त्यहाँ धेरै कुराको अभाव हुन थाल्छ । त्यसले पूर्वाधार निर्माण खोज्छ, विकास खोज्छ । विभिन्न प्रकारका व्यवस्थापन पनि खोज्छ । यसै विषयमा हामीले जनसंख्याविद् विधान आचार्यसँग कुरा गरेका छाैँ :

० जनसंख्याका मुद्दा पनि हुन्छन ?
– जुलाई ११ लाई हामी विश्व जनसंख्या दिवसका रुपमा मनाउँछौं । यो दिवस हामीले सन् १९८९ देखि मनाउँदै आएका हौं । सन् १९८७ मा विश्वको जनसंख्या ५ अर्ब पुग्यो, त्यसपछि हामीले जनसंख्या दिवस मनाउन थालेका हौं । जनसंख्याका मुद्दा हुन्छन् । जनसंख्या जहिले पनि समस्या मात्र होइन, जनसंख्याले संख्या बढाउँछ, संख्या बढाएपछि आवश्यकता बढ्छन् । आवश्यकता बढेपछि त्यसका निम्ति पूर्वाधारहरु चाहिन्छन् । हाम्रो देशको सन्दर्भमा यो सत्य होला, तर संसारका कतिपय देशमा जनसंख्या घटेर गएको कारणले गर्दा उनीहरुले डिभी अर्थात् अन्य प्रकारले बाहिर देशका आफ्नो देशमा आकर्षित गरेर लिएर जान्छन् ।

जनसंख्या आफैमा श्रोत साधन हो, जनसंख्या नभइकन विकास हुँदैन । त्यसकारण जनसंख्या विकासका निम्ति पनि अपरिहार्य वस्तु हो । जनसंख्याको एकै ठाउँमा एउटै कुरा हुँदैन । जस्तो, हाम्रै हुम्ला, जुम्ला र डोल्पामा जनसंख्याको अवस्था बेग्लै हुन्छ भने झापा, मोरङ, पर्सा र बाँके जिल्लामा जनसंख्याको अवस्था बेग्लै होला । त्यसैले जहाँ जस्तो प्रकारको समस्या छ, त्यो समस्यालाई हेरेर, बुझेर त्यसलाई सम्बोधन गर्नु कुनै पनि नीति निर्माता अथवा सरकारको प्रमुख दायित्व हुन आउँछ ।

० जनसंख्या अवसर हो कि चुनौति ?
– दुवै हो, जनसंख्या चुनौति पनि हो, अवसर पनि । कतिपय देशमा जनसंख्या कमीका कारण उनीहरुलाई असाध्य अप्ठ्यारो परेको छ । र, कतिपय देशमा जनसंख्या वृद्धिदर बढी भएको कारणले गर्दा उनीहरुलाई विकासका योजना, नीति निर्माण गर्नका लागि अप्ठ्यारो परेको छ । हालसालै नेपालका विभिन्न गाउँ र नगरपालिकाहरुको अध्ययन गर्दा कतिपय ठाउँमा जनसंख्या विस्तारै घट्दै गएको छ । सहरमा जनसंख्या बढेर गएको छ, ग्रामीण इलाकामा जनसंख्या घटेर गएको छ । जनसंख्या घटेको ठाउँमा आफूसँग उपलब्ध श्रोत साधन प्रयोग गर्न सकिएको छैन । ती साधनश्रोत प्रयोग नगरिएको अवस्थामा छन् । धेरैजसो मानिसहरु सहरी क्षेत्रमा बसाइसराइ गरेर आउने कारणले गर्दा सहरी क्षेत्रमा बेरोजगार बढ्नु, शिक्षामा समस्या आउनु, सिप र दक्ष्यताको अभाव हुनुजस्ता समस्या देखिएका छन् । नेपालको सन्दर्भमा हामीले हेर्ने हो भने यहाँ रोजगारी पाइएन भनेर हामफालेर बाहिर गएका छन् । उनीहरु ५० डिग्री ताँतोमा काम गर्छन र महिनाको २० हजार रुपैयाँ मात्र कमाउँछन भने नेपालमै अलिकति राम्रोसँग काम गर्ने हो भने महिनामा ५० हजार रुपैयाँ कमाउन सकिने सम्भावना पनि छन् । हामीले त्यो सम्भावना देखाइदिन सकेका पनि छैनौं । त्यसअर्थ हाम्रा लागि जनसंख्या चुनौति र अवसर दुवै हो ।

० एकातिर जनसंख्या बढ्ने अर्कोतिर जनसंख्या घट्नाले के फरक पार्छ ?
– यस्ता घटनाले स्पष्ट रुपमा इंगित गरेको छ । विकासको अवस्था कम भएको स्थितिमा जनसंख्या बढ्छ, जब विकास राम्रो रुपमा हुन्छ, जनसंख्या घट्दै जान्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने सन् १९९० हाराहारीमा एकजना महिलाले जीवनकालमा ५ भन्दा बढी सन्तान जन्माउने अवस्था थियो । सन् २०१६ को तथ्यांक हेर्ने हो भने एकजना महिलाले जीवनकालमा दुई र त्योभन्दा थोरै बढी सन्तान जन्मिाउँछिन् । महिला र पुरुष मिलेर दम्पती बन्छ, उनीहरु दुईजनालाई यो पृथ्वीमा वंश कायम राख्न अरु दुई सन्तान मात्र भए पुग्छ । दुईजनालाई दुईजना भयो भने त्यसलाई प्रतिस्थापन दर भनिन्छ । ताकि उनीहरु यो पृथ्वीमा नरहँदा आफ्नो ठाउँमा दुईजना मात्र सन्तान यो ठाउँमा छोडून्।

विस्तारै प्रजनन दर घटेर गएको छ । सन् १९९० मा नेपालको प्रजनन दर ५ दशमलब ५ बाट अहिले २ दशलमलब २ को हाराहारीमा आइपुगेको छ । सहरी क्षेत्रमा २ पनि पुग्दैन । जनसंख्याको वृद्धिदर आफैमा धेरै देशका लागि समस्या होइन । धेरै देशमा प्रजनन घट्दै गएको छ । प्रजनन दर घट्दै गएको कारणले गर्दा आन्तरिक बसाई सराइ, सहरीकरण, आधारभूत पूर्वाधारको विकास र जनसंख्याले शिक्षा, स्वास्थ्य र रोजगारी प्राप्त गरोस् भन्ने कुरामा उनीहरुको ध्यान बढी केन्द्रित भएको छ ।

परिवार नियोजन नै मानवअधिकार हो भन्ने यसपटकको जनसंख्या दिवसको नारा हो । अझै पनि कतिपय देशहरुमा विशेषः गरिब र विकासोन्मुख देशहरुमा परिवार नियोजनलाई महिलाहरुले चाहेको ढंगले उपयोग गर्न पाइरहेका छैनन् । अर्थात् छोरी जन्मियो भने महिलामाथि आरोप लगाउने, उनीहरुलाई धेरै सन्तान जन्माउन बाध्य पारिन्छ । एकातिर हाम्रो विवाहको उमेर बढ्दै गएको छ, यदि विवाहभन्दा अगाडि नै यौन सम्बन्ध भयो भने, त्यस यौन सम्बन्धबाट हुनसक्ने गर्भधारणको जोखिम, त्यसले युवा महिलाको शरीरलाई पार्न सक्ने प्रभावका बारेमा पनि हामी उत्तिकै चिन्तित हुन आवश्यक छ । त्यसकारण परिवार नियोजनको साधन प्रयोग गर्नका निम्ति त्यसलाई मानवअधिकारको रुपमा लिनुपर्छ । १९९४ मा कायरोमा सम्पन्न सम्मेलनमा परिवार नियोजन हरेक व्यक्तिको च्वाइस हुनुपर्छ भनिएको थियो । प्रजनन च्वाइसका आधारमा हुनुपर्छ, चान्सका आधारमा होइन । अहिले आएर परिवार नियोनलाई छनोट र अधिकारको रुपमा स्थापित गर्नुपर्छ ।

० जनसंख्या व्यवस्थापनमा हाम्रो ध्यान पुग्न नसकेको हो ?
– होइन, हाम्रा नीतिहरु कमजोर छैनन । होला, कार्यक्रम कार्यान्वयनमा केही कठिनाइहरु छन्, त्यो स्वभाविक हो । काठमाडौं बढी भिडभाड भयो, त्यसको विकल्प खोज्नुपर्छ । हाम्रो नयाँ संविधानले हामीलाई संघीयतातिर लिएर गएको छ । सातवटा प्रदेशलाई हामीले व्यवस्थित र विकास गर्ने संकल्प हामीले लिएका छौं । यो संकल्पले काठमाडौंमा भीडभाड केही न केही घटेर जान्छ । काठमाडौं पनि व्यवस्थापन योग्य सहर परिणत हुन्छ भन्ने मलाई लाग्छ ।

संघीय व्यवस्थाअनुसार ७ सय ५३ वटा हाम्रा स्थानीय तहहरु छन् । सातवटा हाम्रो प्रदेशहरु छन् । प्रदेशका आ–आफ्नै राजधानीहरु छन् । प्रदेशका राजधानीबाहेक उत्तिकै प्रतिस्पर्धी सहरहरुको विकास भएको छ । जस्तो प्रदेश २ मा जनकपुर र वीरगन्ज । जस्तो प्रदेश ४ मा पोखरा मात्र नभएर दमौली र गोरखा विकसित हुँदै छन् ।

अब मानिसहरु सा–साना कामका लागि कञ्चनपुरको मानिस अब काठमाडौं आउनुपर्दैन । उनीहरुको व्यवस्थित बसोबास त्यतै हुनसक्छ । हाम्रो जनसंख्याको व्यवस्थापनलाई सहरीकरणको व्यवस्थापनले नयाँ आयामहरु दिनसक्छ । स्थानीय पालिकाहरुले पनि आफ्नै खालेको सहरीकरण र विस्तारिकरण गर्न सक्छन् । संक्रमणकालमा कुनै पनि देशमा केही सहरको विकास हुनसक्छ, तर विस्तारै कुन सहर ठूलो, कुन सहर सानो भन्ने हुँदैन ।

० प्रदेश सरकारका लागि जनसंख्या कति चुनौतिपूर्ण मुद्दा हो ?
– यो चुनौतिपूर्ण मुद्दा हो, प्रादेशिक सरकारमा सामाजिक विकास मन्त्रालय छ । यो मन्त्रालयको मातहतमा शिक्षा, स्वास्थ्य र जनसंख्या छ । प्रत्येक स्थानीय पालिकामा जनसंख्या अधिकृत भन्ने सिट चाहिन्छ । उसले स्थानीय पञ्जिकाअधिकारीको काम प्रमुखले गर्न भ्याउँदैन । जनसंख्या अधिकारीले पञ्जिकाअधिकारीको काम पनि गरोस्, जन्म, विवाह, बसाईसराई, सम्बन्धविच्छेद र मृत्युजस्ता कामको दर्ता उसले गरोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ