- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडाैँ । केही दिनदेखि ऐतिहासिक हरिभवन भत्काउने चर्चा चलेपछि सम्पदा बचाऊ अभियानकर्ताले दरबार नभत्काउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ।
हाल काठमाडौँ महानगरपालिकाले भाेगचलन गरिरहेको बाघदबारका नामले चिनिने हरिभवन गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको छ । सम्पदा बचाऊ अभियानकर्मी सञ्जय अधिकारीले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी ऐतिहासिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक महत्व बोकेको बाघदरबार भत्काउन खोज्नु दुर्भाग्यपूर्ण हो ।”
अद्वितीय कलाकृतिसहित विशिष्ट वास्तु लक्षणका रुपमा रहेको अमरसिंह थापा र भीमसेन थापाको बाघदरबारलाई मास्न नहुने बताउँदै विज्ञप्तिमा जीर्ण भवनलाई जोगाउन सबलीकरण गर्न सकिने विकल्प दिइएको छ । शीतल निवास, वसन्तपुरको गद्दी बैठकलगायत दरबार सबलीकरणका उदाहरण दिँदै बाघदरबारलाई पनि कामपाले सबलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । कामपाले दरबार भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । दरबार भत्काएपछि मल्लकाल, नेवारी शैली र आधुनिक शैली संयोजन गरेर भवन निर्माण गर्ने योजना कामपाको छ । उक्त दरबार कामपाले २०६० सालदेखि प्रयोगमा लिएको हो ।
पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि हरिभवन भत्काइँदै छ । “करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ,” काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्छन् ।
भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र रु एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उहाँ भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारले अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताउँछन् ।
गत असोज पहिलो साता कामपाले पुनःनिर्माण प्रक्रिया अघि बढाए पनि विभागले रोक लगाएको थियो । उक्त भवनका योजनाकार इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठ हरिभवन नयाँ शैलीको हुने भएकाले उक्त भवन नेपालकै नमूना हुने उल्लेख गर्छन् । परम्परागत पाटी, ढुंगेधारा, चोक आदि निर्माण हुने सो भवनमा अपांगमैत्री शौचालय, पर्याप्त लिफ्ट, विपत्तिको सामना गर्न आकस्मिक कक्षको निर्माण र आकाशेपानी संकलनजस्ता काम हुने भएको छ ।
तीन भागमा निर्माण हुने सो भवनको पहिलो भागलाई तीन तला, लिच्छविकालीन शैलीको दोस्रो भागलाई साढे ६ तला र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ । महानगरको सो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारी अटाउने छन् । एकै ठाउँमा प्रमुख, उपप्रमुख, इजलास, बोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास र कार्यपालिकाको बैठक कक्ष पनि हुनेछ ।
भवनमा विविध विशेषतायुक्त चार चोक-आँगन रहने छन् । मुख्यचोक र प्रमुखकामा जाँदा भेटिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् । प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत तथा अतिविशिष्ट व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश द्वार हुनेछन् ।
गोरखा भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारको राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन् ।
दरबार पुनःनिर्माणका विषयमा विषयगत निकायबीच मतान्तर भएपछि भवनको जोखिम मूल्यांकन र सबलीकरण सम्भावनाका विषयमा नियुक्त परामर्शदाताले महानगरमा बुझाएको प्रतिवेदनमा हालको हरिभवन विसं १९९२ मा पुनःनिर्माण भएको उल्लेख छ । उक्त दरबारमा पाटेबाघ पालिएकाले बाघदबार भनिएको हो ।
इतिहासकार प्रा दिनेशराज पन्त गीर्वाणविक्रमको पालामा विक्रम संवत् १८६८ तिर बाघरदरबार बनेको बताउँछन् । भीमसेन थापाले गीर्वाणविक्रमबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको उनकाे भनाइ छ । प्राज्ञ पन्त भन्छन्, “अहिलेको भवन बाघदरबारको भवन होइन, बाघदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो ।” हालको दरबार हरिशम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हुन सके पनि दरबारलाई बाघदरबार भन्दा फरक नपर्ने उनकाे धारणा छ ।
विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनःथापाहरूलाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि विसं १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंह थापाको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनः सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ ।
उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोगमा ल्याएकामा १९९० को भूकम्पले संरचना जीर्ण भएकाले पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरिशम्शेरको स्वामित्वमा पुगी भोग चलन गरेका हुनाले सो भवनलाई हरिभवन भनिएको हो ।
बाघदरबार अहिलेको भवन होइन, अहिलेको भवनमा रहेका इँटामा श्री ३ जुद्ध १९९० र श्री ३ जुद्ध १९९१ लेखिएको छ । यदि १९९० अघि बनेको भवन भए श्री ३ जुद्ध लेखेका इँटा कसरी पर्खालमा हुन्थे ? –सम्पदा संरक्षणमा काम गर्नेहरूको प्रश्न छ । विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा बीचमा केही समय अर्थ मन्त्रालयको कामकाज भएको थियो । विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले दरबारको साँचो कामपालाई दिएको थियो । त्यसै वर्ष चैत २७ गतेदेखि महानगरको काम सो दरबारबाट शुरु भएको थियो । रासस