arrow

देशको दशा र दिशा

तीतो विगतबाट सिकौं

logo
चन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन ११ शुक्रबार
chandra-bhandari1.jpg

काठमाडौं। “ हरेक राम्रा निर्णय अनुभवलाई आधार मानेर गरिन्छ, ती अनुभवहरु गलत निर्णयबाट प्राप्त हुन्छ ।” यी भनाइ भारतीय पुर्वराष्ट्रपति अब्दुल कलामका हुन्। लामो समयदेखि यो देशलाई राम्रो हुने काम कसैले इमान्दार पूर्वक गरेका छैनन् । धेरै जसो नेता, कर्मचारी कालोकोट धारी, ठेकेदार, ब्यापारी लगायत समाजसेवी, योजनाविदसम्म सम्पन्न हुने तर भोट खसाल्ने जनता मात्र गरिव कसरी हुन्छन् ? यस परिणामको निष्कर्ष हो ‘ विगतमा हाम्रो नेतृत्व राम्रो थिएन ’ । त्यसो हो भने विगतका गलत निर्णयबाट अब हामी सिक्न तयार छौ ! त्यो हाम्रो चुनौती हो ।

नेपालमा इमान्दारिता कम देखियो । एक जना आठ कक्षा पढेको ब्यक्तिले खुलमखुला सार्वजनिक सञ्चार माध्यमबाट भन्दछ मसंग केही थिएन अहिले आठ अरवको सम्पति छ । यति धेरै सम्पती कसरी प्राप्त भयो ? त्यसको छानविन गर्ने वा उसैसँग भोज भतेरमा लाग्ने ? नेपाल सरकारका सबैभन्दा ठूला आयोजनाहरु ठूला ठेकेदारले ठेक्का लिने तर काम समयमा नगर्ने। तिनीहरुको सम्पतीमा नेताहरुले आहाल जमाउने अनि कसरी हुन्छ राम्रो र छिटो काम ? देशको विकास ?

सरकारी सम्पतिदेखि सार्वजनिक जग्गा जमिन जहाँ पार्कदेखि खेलकुद मैदान बन्दछन तीसबै ब्यक्तिका नाममा दर्ता भैरहेका छन्। सबैको मुखमा पट्टी बाँधिएको छ। सरकारले खरिद गर्ने कुनै साना सामान मात्र होइन जहाजदेखि जग्गासम्म आधा भन्दा बढी भ्रष्ट्राचार भएको हुन्छ । चारैतिर सबै मिलेका हुन्छन् । नदिनाला पहाड सबै बिक्री भैसकेका छन । देश कुरुप भैसकेको छ । युवाहरु विदेशमा सस्तो श्रम वेच्न वाध्य भएका छन्। जवानी विदेशीलाई कम्जोर र बृध्द शरिरलाई नेपाली आमाले गोद लिनुपर्ने विडम्वना छ ।

समाजका घेरै क्षेत्रमा दागी व्यक्तिहरुको चयन नेतृत्वका लागि रुचिकर छ। आफ्नो देशको सिमाना सुरक्षा गर्न नसक्नेहरु दान र बक्समा प्राकृतिक श्रोत र साधन सुम्पनेहरु दिगो र टिकाउ हुन्छन् । सायद ठुला राष्ट्रवादी पनि तिनीनै हुन्छन् ! नेपालका अहिले सम्मका धेरै जसो नेताहरु आफ्नो जवानीमा धेरै जसो जेल जिवन विताए, कठोर यातना भोगे र युध्दभूमिमा होमिए। तिनीहरुको निर्देशनमा निर्दोष जनता मारिए विस्थापित भए । आज उनीहरु सत्तामा आउँदा पनि देशका नागरिकको हालत भने उस्तै छ। 

जनता बिमारी हुँदा औषधी उपचार गर्न सक्दैनन् । किड्नीको विरामी, क्यान्सरको विरामी हुँदा जनताले मृत्यु रोज्नु बाहेक विकल्प छैन । नेताहरु बिरामी हुँदा राज्यले करोडौँ लगानी गर्दछ । आफ्नो देशमा सुविधा सम्पन्न हस्पिटल बनाउँ र जेनेरिक औषधी जनतालाई पुर्‍याउँ भन्ने सोचनै नेतृत्व वर्गमा छैन । जुन ब्यक्तिहरु सत्तामा बसे अकुत सम्पती कमाए उनीहरुलाई नै पूर्व पदाधिकारी भनेर संसदले सुरक्षा र सुबिधा बढाइन्छ। जनप्रतिनिधिहरुले विवेक बन्धक राखेर समर्थन गर्नुपर्दछ । पार्टीहरुमा विवेकको कुरा हुँदैन गुट उपगुट र गिरोहको दादागिरी चल्दछ। जनता पार्टीगतरुपमा विभाजित छन् जसले गर्दा नेताहरुको आदेश हुबहु लागु हुन्छ । हरेक विवादको समाधानका लागि नया संविधान - सिंहदरवारको अधिकार गाँउमा भनी बनाइयो तर घेरै जसो क्रान्तिकारी अध्यक्षहरुले डोजर, बालुवा, गिट्टीदेखि प्लाष्टिकका बाल्टीसम्म आफै किन्ने बाड्ने र नक्कली विल बनाएर ठूलो विकृति भित्र्याइ रहेका छन्।

जनता, नागरिक समाज जवसम्म बलियो हुँदैन तवसम्म नेपालजस्तो अर्धविकसित देशका नेताहरुमा परिवर्तन आउँदैन जसको प्रत्यक्ष प्रभाव गोविन्द केसीले गरेर देखाएका छन् । जसले जति भाषण गरे पनि जुन पार्टीको बिल्ला लगाए पनि केही व्यक्ति पार्टी वा पार्टीका सीमित नेताहरू मोटाएका होलान्, नेपाल र नेपाली जनता सम्पन्न हुन सकेनन्। गल्ती कमजोरीले भरिएको यो तीतो विगतबाट हामी सबैले सिक्न जरुरी छ। नेपालको भोलिको भविष्य कस्तो बनाउने, विगतका गलत निर्णयबाट सिक्ने वा नसिक्ने  हामीले नै सोच्नुपर्छ। आखिर सबै राजनैतिक नेतृत्वकै हातमा छ। भोलिका दिनमा हाम्रो नेतृत्व जनताबाट सम्मानित भएर जीवन्त रहन चाहन्छ वा दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क र पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाब सरिफको झैं भ्रष्टाचारको आरोपमा जेलको बाटो अँगाल्दछ ? “देशको दशा र दिशा “नेताहरुको हातमा छ।

(भण्डारी नेपाली काँग्रेसका नेता हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ