- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पारिवारिक पृष्ठभुमिबाटै पाएको व्यवसायिक छविलाई उद्यमीको स्वरुप दिएका हुन बालकृष्ण शिवाकोटीले । आफ्नो व्यवसाय थालनी गर्दै विभिन्न क्षेत्रमा स्थापित हुँदै आएका उनले युवाहरुले विदेश जाने ट्रेण्डलाई परिवर्तन गरि देशमै केहि गर्ने मनस्थिति बनाउनु पर्ने बताएका छन्। उनै शिवाकोटीसँग हाम्राकुरा डटकमले गरेको कुराकानीको सम्पादित अंशः
तपाई व्यवसायमा कसरी आकर्षित हुनु भयो ?
मलाई थाहा भएसम्म मेरा घर परिवारको नै व्यवसायिक पृष्ठभुमि थियो। मैले मेरा हजुर बुवालाई त देखिन, तर, हजुरबुवाको पालादेखि नै पसल राखेर व्यवसाय शुरु गरिएको थियो रे। त्यसैलाई निरन्तरता मेरो बुवा र ठुलो बुवाले पनि दिनुभयो। बुवा उद्योग गर्न अलिकति बढी उत्साहित हुने मान्छे भएको हुनाले उहाँको प्रेरणा र त्यो छाप हामीलाई पर्यो । दुर्गम ठाउँमा भएपनि सबै किसिमका व्यवसाय बुवाले गर्नुभयो। कति सफल कति असफल भन्ने कुरा वेग्लै छ। विभिन्न व्यवसाय गर्ने क्रममा बुवाले नै सुरु गर्नु भएको काठको काम पछि हामीले सुरुवात गर्यौं । काठमाडौं आएर हाम्रो व्यापार विशेष गरेर काठसँग जोडियो। काठ खरिद गर्ने, विक्री गर्ने काम गर्न थालियो। त्यस पछाडी विस्तारै विस्तारै भाइहरुको सहयोगले पनि विभिन्न किसिमका सानो ठुलो किसिमका व्यवसायमा हात हालिरहेका छौं । व्यवसायमा आउनु मेरो परिवारिक पृष्ठभुमि पनि हो। त्यसैले हामीले अलिकति प्रेरणा मिल्यो । एवं क्रमले शुरुवात हुँदै आयो।
दोलखाबाट नै सुरु गरिएको व्यवसाय हाल कहाँ केन्द्रीत गर्नु भएको छ?
व्यवसाय त बढी काठमाडौंमा नै छ । आफू जन्मेको ठाउँ भएको हुनाले त्यसको केही अंश चाँहि दोलखामा गर्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यहाँ आफुले पनि केही गर्न सकिन्छ र अरुलाई पनि प्रेरणा होस् भन्ने हिसावले पनि पछिल्लो समय म अलिकति बढी फोकस दोलखामा हुन लागेको हुँ । सम्भवत दोलखाबाट आएर पहिलो काठको काम गर्ने मान्छे भएर होला मसँगै काम गरेका धेरै साथीहरुले आफ्होनो काम शरु गर्नुभएको छ।काठमाडौंमा पचास वटा भन्दा पनि बढी काठको काम गर्ने साथी भाईहरु मसँगै शुरुमा काम गरेका हुन्। त्यस्तो देख्दा खुसी पनि लाग्छ। धेरै साथी भाईहरु मसँग सिकेर गए। अहिले पनि, सोध्छन। जस्तो अब दोलखामा पनि हामीले एकदमै कठिनाई पूर्ण काम गरेका छौं प्लाईको । त्यहाँ भनेको जस्तो मान्छे पाइदैन । भनेको बेला सामान ढुवानी हुँदैन। तैपनि त्यहाँ काम गर्यो भने, दुईतीन सय मान्छेले रोजगारी पाउँछन् । त्यसको आधारमा गाउँ गाउँमा सासना पिलिङहरु स्थापना हुन्छन्। रोजगारी थप सिर्जना हुन्छ भन्ने हाम्रो सोच छ। स्थानिय कच्चा पदार्थ पनि प्रयोग हुने भयो। यस्ता किसिमका व्यापारहरु गर्न सकियो भने समाजमा केही परिवर्तन गर्न सकिन्छ कि भनेर लागियो। अब केही व्यवसया चाँहि दोलखामा गर्नु पर्छ भनेर सुरु गरेका छौं।
अहिले दोलखामा के के गरिरहनु भएको छ?
अहिले खासै एउटा दिव्य प्लाई उद्योग छ। एउटा कालिन्चोक केवलकार भयो। अलिकति अब होटेलको बारेमा सोच्दै छौं। एउटा राम्रो खालको होटेल चरिकोटमा र कालिन्चोकमा चलाउने योजनामा छौं। अनि जिरीमा एउटा जिरी चिया छ। पन्ध्र, सोह्र वर्ष अगाडी सञ्चालन चिया वगानलाई व्यवसायिक टीम नै लिएर सञ्चालन गरिरहेका छौं । त्यो चियाको उत्पादन सुरु भइसकेको छ ।अहिले लगभग एक हजार देखि १२ सय केजी चिया उत्पादन हुने गरेको छ। एकदमै सय प्रतिशत अर्गानिक र एकदमै राम्रो चिया प्रत्येक वर्ष उत्पादन गरिरहेका छौं। अब भनेजति उत्पादन गर्न सकेका छैनौं । अब बर्षैभरि उत्पादन दिने अवस्थामा पुगेको छ। एउटा कुरा के हो भने, जिरीको चिया संसारको दोस्रो ठुलो उचाई भएको ठाउँको चिया भनेर भनिन्छ । असाध्यै राम्रो छ । तर, थोरै उत्पादन भएको हुनाले बजारमा त्यति पुर्याउन सकिएको छैन।
कति जग्गामा चिया खेती गरिरहनु भएको छ?
अहिले आठ सय रोपनी छ वगानको जमिन। चिया चाँहि लगभग चार देखि साढे चार सय रोपनीमा छ। त्यसलाई विस्तार गरिरहेका छौं । प्रत्येक वर्ष बेर्ना तथा विरुवा रोप्ने काम गरिरहेका छौं ।
आफ्नो चिया उद्योग बाहेक अरुहरुलाई पनि छेउछाउमा उत्पादन गर्न लगाएर आफ्नो क्वालिटीमा त्यसलाई आफ्नो ब्राण्ड बनाएर जाने सम्भावना कस्तो छ?
एकदमै राम्रो । यो चीजलाई अलिकति प्राथमिकतामा राख्नु पर्ने हो । समस्या के हुन्छ भने, बजार राम्रो नभए पछाडी गाह्रो हुँदो रहेछ। थोरैथोरै लगायो अनि त्यसको उत्पादनले बजार राम्रो पाएन भने, पैसा आएन भने मान्छेले लगाएको पनि चिया काट्ने आवस्थामा पुग्दो रहेछ। यही उत्पादन पनि एकदमै कम भएको हुनाले हामीले बाहिर दिन सकिरहेका छैनौं। बजार सानो छ, नेपालमा ग्रीन टी खाने भनेको भर्खर भर्खर चलन चल्तीमा आएको छ। आम मान्छेले खाँदैन। थाहा पनि छैन। यसलाई हामीले बजारमा एक्सप्लोर गर्न सकेका छैनौं। बजार नभए पछाडी थोरथेरै उत्पादन गरेको चीजको त्यति महत्व हुँदो रहेनछ। सबैभन्दा ठुलो कुरा उत्पादन भएको चीजलाई बजारीकरणको आवश्यकता हुँदो रहेछ। बजारीकरण गर्न सक्ने हो भने, धेरै मान्छेले लगाउँछन् यो पक्का कुरा हो। अनि हामी कहाँ त एकदमै अर्गानिक चिया उत्पादन हुन्छ। यो एकदमै राम्रो चीज हो ।
अहिले कहाँ गइरहेको छ चिया ?
अलिअलि थोरै थोरै कोही साथीहरु आयो भने, उनीहरुले लान सक्ने उनीहरुले लिएर जान्छन् ।
कुन ब्राण्डमा उत्पादन हुँदैछ अहिले?
ब्राण्डको नाम पनि जिरी चिया नै रहेको छ ।
भनेपछि दोलखामा पर्यटन र उत्पादन उद्योगमा बढी केन्द्रित भएर काम गरिरहनु भएको छ?
चरिकोटमा तुरुन्तै अब दुइटा होटेल बनाउने सोचमा छौं । एउटा चरिकोट र एउटा कालिन्चोकमा सञ्चालनमा ल्याउने गृहकार्य शुरु भएको छ। कुरीमा हाम्रो केवलकारका स्टेसन भएको ठाउँमा नै बनाउँदै छौं । यो हाम्रो मास्टर प्लान अनुसार नै स्टार होटेल बनाउने छौं ।
केवलकार निर्माण सहितको खर्चमा हो कि रु यो होटेल छुट्टै हो ?
त्यसलाई हामीले त्यही कम्पनी भित्रै जोडिने गरेर छुट्टै निर्माण गर्न लागेका छौं । किनभने, धेरै मान्छेसँग काम गर्दाखेरी सहज पनि हुन्छ। राम्रो पनि हुन्छ । जति धेरै भयो, व्यापारिक दृष्टिकोण पनि फरक हुन्छ। मान्छेले सबैले हाम्रो भनेर भन्दिए भनेमा गर्व लाग्छ। अप्नत्वको कुरा पनि आउँछ। व्यापारमा जति धेरै मान्छे संलग्न भए त्यति धेरै राम्रो हुन्छ।
दोलखाबाहेक अन्य ठाउँमा व्यवसायमा कसरी संलग्न हुनुहुन्छ?
विभिन्न कलेजहरु, होटेल आमादब्लममा छु। काठको व्यवसाय त हाम्रो पुरानै हो। सामान्य हिसावले कलजेहरुतिर संलग्न छौं । समग्र रुपमा आजसम्म दशदेखि बाह्र कम्पनीसँग आबद्ध छु।
यी व्यवसयामा आबद्ध हुँदा कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छुँ । कर्ममा विश्वास गर्ने मान्छे भएको हुनाले विहानदेखि वेलुकासम्म एकदम बेफुर्सदी हुन्छु। काम गर्दा मलाई आनन्द लाग्छ, अरु सबै चीज विर्सिन्छु।
कहिले कतै, कहिले कतै दौडधुप गर्नुपर्दा अलमलमा पर्नु हुन्न ?
त्यस्तो त धेरै हुन्छ । कहिलेकाँही सयम व्यवस्थापनका लागि एकदमै गाह्रो हुन्छ। साथी भाईहरुले कन्सिडर गर्नुहुन्छ। खुसी लाग्छ । कुनै दिन पनि विदा यस्तो, त्यस्तो भन्ने नै हुँदैन, एकदमै सधैंभरि व्यस्त हुन्छु। एकदमै खुसी लाग्छ।
पाारिवारिक देखि अन्य कुरामा कसरी समय व्यवस्थापन गर्नु हुन्छ?
अलि अलि गाह्रो पनि हुँदो रहेछ। कहिले पनि घर परिवारलाई समय भएन, समय भएन, भन्ने हुन्छ। विश्रामको बेला आउँछ, त्यति बेला घर परिवारसँग बस्ने भनेको छु। यो त उर्जावान समय हो । यो समयले त सधैं पर्खिँदैन । यतिखेर केही गर्नुपर्छ। एउटा प्रेरणाको स्रोत पनि बन्न सकिन्छ कि भन्ने पनि लाग्छ ।
तपाई आबद्ध रहेको व्यवसायहरुमा कति मान्छेले रोजगारी पाएका छन् ?
प्रत्यक्ष रुपमा काम गर्ने त, एक देखि डेढ सयसम्म होलान। अप्रत्यक्ष रुपमा त अब धेरै ठुलो सँख्यामा छ।
तपाईबाट उद्यम सिकेको र तपाईबाट प्रेरितहरु देख्दा कस्तो लाग्छ ?
मलाई एकदम सन्तुष्ट लाग्छ । उनीहरुले एकदम गर्वका साथ भन्छन् दाईसँग सिकेर यसो गर्न पाइयो भनेर । म कहाँ धेरै काम गर्ने साथी भाईहरु हुनुहुन्थ्यो, अहिले सबैले एकै किसिमको व्यवसाय गरेर बसेका छन् । उनीहरुको व्यवसाय देख्दा मलाई एकदमै खुसी लाग्छ । उनीहरुले अहिले पनि भेटेर केही कुरा सोध्छन्, मेरो नामै लिएर व्यापार गर्न खोजेको यसरी सहयोग पायौं भनेर भन्छन् । मलाई खुसी लाग्द छ । धेरै भाईहरुले त्यसो भन्छन। बजारमा म फलानो दाईको भाई हुँ भनेर हामीले यसो गर्यौं भन्छन् । मेरो नाम, बदनाम नगर जे गर्दा पनि हुन्छ भनेर भन्छुँ । मेरो नामले कसैको राम्रो हुन्छ भने मेरो नाम नलेउ भन्ने कुरा हुँदैन ।
आगामी दिनमा के गर्ने योजना रहेको छ ?
काम गर्दै जाँदाखेरि अगाडी के आइपर्छ भन्ने कुरा हुन्छ। ठ्याक्कै यस्तो गर्छु भन्ने केही योजना बनाइएको छैन। अब यो एउटा दुइटा काम सकियो भने, सोच्नु पर्ला । अहिले ठ्याक्कै यस्तै गर्छु भन्ने केही पनि सोचको छैन ।
एउटा व्यवसायीको नाताले भन्नुपर्दा के भयो भने नेपालको व्यवसायहरुमा अझैं सुधार आउने थियो जस्तो लाग्छ?
यो सबै हेर्दाखेरी चाँहि पूर्वाधारहरु विकास गरिदिनु पर्यो । काम गरेपछाडी पुँजीको सुरक्षाको ग्यारेन्टी गरिदिनु पर्यो। सबै काम कुराको वातावरण बनाउनका निम्ती सरकारको भुमिका महत्वपूर्ण हुन्छ। व्यवसायीहरुको पनि उत्तिक भुमिका हुन्छ। हामी जो उपभोग गर्छौं ती मान्छेहरुको पनि उत्तिकै भुमिका हुन्छ । यी सबै चीजलाई संयोजन गर्न सकियो भने, सबै कुरा हुन्छ । नभए एकले अर्कोलाई भनेर, पन्छाएर, यसले गरेन, उसले गरेन, भनेमा त, त्यो नगर्नका निम्ती मात्रै हो । त्यसैले हामी सबैको भुमिका उत्तिकै छ। उत्तिकै भुमिका सबैले निर्वाह गर्नुपर्छ । त्यसमा विशेष गरेर राज्यको भुमिका अलि बढी महत्वपूर्ण हुन्छ।
व्यवसायमा आकर्षित गर्न नयाँ पुस्तालाई के भन्नु चाहनु हुन्छ?
केही काम गर्नै पर्छ। व्यवसाय नै सबै चीज होइन भन्छु। अहिले नयाँ पुस्ताका मान्छेहरुले धेरै कुराले अगाडी छन्। टेक्नोलोजीको हिसावले, पढाईका हिसावले । जुन हिसावले हामीले पढेका थियौं, त्यो भन्दा फरक ढंगले अहिलेको नयाँ पुस्ताले पढ्दैछ। त्यसैले हामी भन्दा अड्भान्स छ नयाँ पुस्ता। त्यो भएको हुनाले हामीकहाँ सम्भावना छैन, विदेश जानुपर्छ भनेर म चाँहि भन्दिन्नँ। विदेश जाने एउटा ट्रेण्ड नै बनिसकेको छ । पल्ला घरको साथी गयो, ओल्ला घरको साथी गयो, म पनि जानु पर्छ भन्ने । अब चाँहि के हो भने, म यहाँ बस्छु, म यहाँ बसेरै केही गर्न चाहन्छुँ भन्ने किसिमको हुनुपर्यो । वेक्कारमा पल्ला घरको साथी चाँहि गएछ, र फर्केर आएपछि उ पनि केही गरेर बस्छ, भन्ने किसिमको हुनु पर्यो । यो नयाँ पुस्ताका लागि अति आवश्यक भइसकेको कुरा छ। किनभने, यत्तिको सम्भावना भएको मुलुक संसारमा विरलै छन्। नभएको होइन, हामीले हाम्रो भएको चीजलाई पहिचान गर्न नसकेर मात्रै बाहिर गइरहने अवस्था छ। नेपालमा भने अनुसारको जागिर नपाएका कारण सरकारको नीतिलाई पनि दोष दिने चलन छ। केही हदसम्म त्यो पनि ठिकै हो । त्यो भन्दा पनि हामीले केही गर्नु पर्छ भन्ने धारणा हुनुपर्छ। हामी अलिकति सहज खोज्छौं, सजिलो खोज्छौं । चुनौतीको बीचमा पनि काम गर्नुपर्छ । चुनौतीका बीचमा काम गर्न सक्नुपर्छ । एक जनाले राम्रो काम गर्न सक्यो भने, सँगै भएको अर्को भाईले पनि फलानोले यस्तो काम गर्यो म पनि गर्न सक्छु भन्ने किसिमको हुनु पर्यो । एकजना पढेलेखेको विदेश गयो भने, अर्को भाईलाई पनि के लाग्छ, भने, फलानो गएछ, त्यहाँ राम्रो छ, म पनि जाऔं भन्ने सोच्छ। यो भएका युवा, राम्रा मान्छेलाई सबै पलायन हुने बाटो हो। यसकारण पनि प्रत्येकले आ–आफ्नो ढंगले मैले मुलुकमा केही गर्नैपर्छ भनेर लाग्नुपर्छ । सम्भावना छ, सकिन्छ ।