शंकराचार्य आवेग र सहानुभूतिले पाउने पद होइनः स्वामी रमणानन्द गिरी

प्रकाशित मिति : २०७५ श्रावण १२ शनिबार
१००८ स्वामी रमाणानन्द गिरी

काठमाडौं। नेपालकी हेमानन्द गिरी पशुपति मठको शंकराचार्य पदले विभुषित भएको भन्ने कुराले नेपाल र भारतका सन्त समाज र सनातन हिन्दु धर्मावलम्वीमा अनेक टिकाटिप्पणी सुनिन थालेको छ। काशी विद्वत परिषदले हेमानन्द गिरी शंकाराचार्य नै नरहेको र उनको घोषणा अवैध भनेको छ। यहि विवादका बीच नेपालको सन्त समाज पनि शंकराचार्यको घोषणाको विपक्षमा उभिएको छ। यसैबीच नेपाल सन्त समाजका उपाध्यक्ष १००८ स्वामी रमणानन्द गिरीसँग हामीले केहि कुरा गरेका छौं। प्रस्तुत छ शंकराचार्य  विवादमा गिरीका मतः 

प्रश्नः अखिल भारतीय विद्वत् परिषद्ले शंकराचार्यको पदवी दिने र काशी विद्वत् परिषद्ले खण्डन गर्ने गरिरहँदा आपसी विवाद देखिएन ?

उत्तरः ज्योतिष्पीठको शंकराचार्य विवादका सन्दर्भमा इलाहबाद उच्च न्यायालयले काशी विद्वत् परिषद् र भारत धर्म महामण्डलले नाम चयन गरी तीन पीठका शंकराचार्यहरूको सहमतिअनुसार ज्योतिष्पीठको शंकराचार्य नियुक्ति हुनु पर्ने निर्णय सुनाएको थियो । न्यायालयले दिएको समयसीमा सकिएपछि काशी विद्वत् परिषद्ले थप समय मागेको अवस्था छ । यस सन्दर्भमा अखिल भारतीय विद्वत् परिषद्को कुनै आधिकारिक भूमिका छैन । त्यसैले काशी विद्वत् परिषद्ले खण्डन गर्नु उचित छ ।

प्रश्न हेमानन्द नेपाली चेली भएकीले उनी ज्योतिष्पीठको शंकराचार्य बन्न नसके पनि पशुपतिपीठको शंकराचार्य बन्नु त गौरवकै कुरा होइन र ?

उत्तरः आधिकारिक रूपमा नियुक्त भएदेखि गौरव हुन सक्थ्यो, तर अखिल भारतीय विद्वत् परिषद् शंकराचार्य नियुक्ति गर्ने आधिकारिक संस्था होइन । हिन्दू धर्मको सर्वोच्च पदको मर्यादाको प्रश्न भएकाले यसको निर्णय गर्दा कुनै आवेग र सहानुभूतिलार्इ प्रयोग गर्ने छुट छैन । आज आवेगले निर्णय गर्दा भोलि हेमानन्दको कुनै चारित्रिक त्रुटी भेटियो भने त्यसबाट सम्पूर्ण शंकराचार्य परम्पराकै बेइज्जत हुँदैन ? नेपालको गौरव बढाउनु छ भने सबै मिली नेपाललार्इ भ्रष्टाचारमुक्त र सनातन धर्मको संरक्षक राष्ट्रको पहिचान दिलाउँ । यदि हेमानन्दको त्यस्तो उल्लेखनीय योगदान भएदेखि उनलार्इ कुनै अन्य सम्मान वा उपाधिले विभूषित गरौँ, तर शंकराचार्यको नामकै दुरुपयोग न गरौँ ।

प्रश्न श्री हेमानन्द गिरि ज्योतिष्पीठको शंकराचार्य प्रतिस्पर्धामा चार जनामध्ये छानिएकी होइनन् ? यदि होइनन् भने यत्रो प्रचारबाजीमा दोष कसको ?

उत्तरः भारतको साधुसमाज, अखडा परिषद् र आधिकारिक पत्रपत्रिकाहरूबाट यस विषयमा कुनै पुष्टि हुन सकेको छैन, अतः यस विषयमा नेपालका मिडियाहरू पीतपत्रकारिताको चपेटामा परेको देखिन्छ । यस विषयमा कीर्तिपिपासु हेमानन्दको कमजोरी होला, जसले जसरी भए पनि प्रसिद्ध बन्न खोजिन् । तर मिडियाले तथ्य पत्ता नलगार्इ धर्मको विषयमा जथाभावी लेख्ने गर्नु अझै ठुलो समस्या हो । यस विषयमा ती मिडियाहरूमाथि जनभावनामाथि खेलबाड गरेको अभियोग लागेको छ ।

नयाँ