दुई तिहाइको सरकार र अधिनायकवादको रोइलो !

महादीप पोख्रेल, प्रकाशित मिति : २०७५ श्रावण १४ सोमबार
फाइल तस्विर

काठमाडौं । बिगत केही महिनादेखि संसदीय प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई अधिनायकवादी भनेर आलोचना गरिरहेको छ।अधिनायकवाद र लोकतान्त्रिक व्यवस्थालाई एक अर्काका बिपरित व्यवस्थाका रुपमा बुझ्ने गरिन्छ । २ तिहाइको दम्भ र कार्यशैलीको कारणले बिपक्षीप्रती अनुदार यो सरकारलाई एक ढंगले हेर्दा यो आरोप स्वभाबिक नै लाग्न सक्छ, तर यो सरकार अधिनायकवादी हो होइन एकछिन चर्चा गरौं :-

१) आवधिक निर्वाचन, चुनावी प्रतिस्पर्धा, सबैभन्दा ठूलो पार्टीको सरकार अनि प्रतिपक्ष संसदीय व्यवस्थाको बिशेषता हुन ।  यहाँ सरकार बनाउनु भनेको म्युजिकल चियर खेल्नु जस्तै हो । त्यसलै सरकारवाला र प्रतिपक्षी बिच एक आपसमा अधिनायकवादी, भ्रष्टाचारी, अन्यायी भनेर दोहोरी खेल्नु सामान्य हो । भारतमा पनि मोदीको सरकारलाई कांग्रेसआईले बेलाबेलामा अधिनायकवादी भनेर आलोचना गर्दछ । अमेरिकी ट्रम्पको सरकारको पनि आलोचना भएको छ । अहिले त्याहाँको डेमोक्रेटिक पार्टीले अमेरिकी प्रजातन्त्र खतरामा छ भनेको छ ।

२) यो सरकार वास्तविक कम्युनिष्टहरुको होइन।  वास्तविक कम्युनिष्टले बलपुर्बक सत्ता जित्न सफल भएको भए त्यहाँ सर्बहारा अधिनाकत्व अन्तर्गत कै व्यवस्था हुन्थ्यो। उनिहरुले सामन्त, वैदेशिक साम्राज्यवादका पृष्ट्पोषक, दलाल पुजिपती माथी अधिनायकवाद लागू गर्थे र ९०% जनताको अधिनायक्त्व १०% माथी लागू हुनेहुदा उक्त व्यवस्था सकारात्मक अधिनायकवादी हुन्थ्यो भन्न सकिन्छ । सच्चा कम्युनिष्टहरु साम्यबादी हुने भएकोले उनिहरु बास्तबमा अधिनायकवादी हुनै सक्दैनन । किनकी साम्यबादमा कुनै सत्ता नै हुदैन, शासक र शासित दुबै नहुनाले त्यहाँ पुर्ण लोकतन्त्र हुन्छ, मानबताबादको राज हुन्छ । नेपाली कांग्रेसले यो सरकारलाई अधिनायकवादी भन्नू भन्दा पहिले यो सरकार कसरी आएको हो ख्याल गर्नु पर्ने थियो । जबकी अर्को संसदीय निर्वाचनमा उनिहरु पनि उस्तै प्रक्रियाद्वारा सरकारमा आउनसक्ने सम्भावना पुरै मरिसकेको छैन ।

३)व्यवहारत यो सरकारमा २ तिहाईको दम्भ छ र संसदीय प्रतिपक्षीहरुप्रती पनि अनुदार छ । बिशेषगरि अहिलेका प्रधानमन्त्री ओली र प्रचण्डले नेपाली कांग्रेसलाई तुच्छ शब्दहरू प्रयोगगरि आलोचना गर्छ्न । यसैबिच पनि कांग्रेस सिद्दियो, गोबिन्द के सीको बैसाखी टेकेको छ, माइतीघर मण्डलामा सिमित छ, आदि जस्ता शब्द र वाक्यांश प्रयोग भएका छन । भर्खरै मात्र प्रधानमन्त्रीले आफ्नो सरकार विरुद्ध अमेरिका र युरोपबाट डलरको खोलो बगाएको कुरो गरेका छन्  तर डलर भित्र्याउने अधिकांश आइएनजिओमा आफ्नै पार्टीको बर्चस्व भएको बिर्सिएक कि ।

त्यति मात्र नपुगेर यो क्रान्तीकारी शक्तीहरुप्रती असाध्य निर्मम छ । बिप्लब, मोहन बैद्य, आहुती आदीलाई राष्ट्रद्रोही देख्न थालिएको छ । उनिहरुसँग कुरा गर्न रुचाउनु हुन्न । प्रधानमन्त्री ओलीले आफू पनि १४ बर्ष जेल बसेको र गृहमन्त्री थापाले १० बर्ष छापामार युद्ध गरेको बिर्सिएका हुन कि कुन्नी ! उनिहरु संबिधान प्रदत्त अधिकारलाई समेत कुल्चेर थुनछेक र दमनमा उत्रेको छ । बार्ता र छलफल गर्ने चाहना राख्दैन  । देशमा फेरि गृहयुद्धको खतरा बढेर गएको छ ।

आर्थिक समृद्धी र राष्ट्रियताको जति नारा फलाके पनि व्यबहारमा त्यस्तो छैन। स्मार्ट सिटी, पानीजजाज, रेल, पाइपलाइनद्वारा ग्यास बितरण आदीको कुरा गरेपनी यो सरकार बाटोको खाल्डाखुल्डी, धुलो, धुवा र बेलाबेलाको प्राकृतिक बिपत्ति बिचै अल्झिएको छ । राष्ट्रियताको कुरो गर्छ, तर वैदेशिक शक्ति केन्द्रहरु अगाडी लम्पसार पर्छ । आजका दिनसम्म पनि नेपाल भन्ने देशको स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीति छैन । अनेकन समयका प्रधानमन्त्रीहरु ओहदाको प्रमाणपत्र चढाउन गए जस्तै गरि सपथग्रहण लगत्तै इण्डियाको भ्रमणमा जान्छ्न र अनेकन बुँदामा राष्ट्रघाती संन्धी/ सम्झौता /सहमती गर्छन । यी सब हर्कतबाट नेपाली जनता प्रताडित भैरहेका छन। त्यसकारण यो सरकार प्रतिपक्षी नेपाली कांग्रेसप्रती होइन नेपाली जनाताको निम्ति अधिनायकवादी /फासीबादी बन्दैछ।

४)आफुलाई प्रजातान्त्रिक ठान्ने शक्तीहरुले कम्युनिष्टहरुलाई आलोचना गर्दा बिशेषगरी अधिनायकवादी भन्ने गरिन्छ । यसमा को असली हुन, को नक्कली कम्युनिष्ट हुन भनी बिचार गरेको पाइदैन। सोभियत सँघ रुसको विघटनमा पनि उनिहरुको यस्तै गलत मुल्यांकन भएको थियो । जबकी प्रजातान्त्रिक भन्नेहरूले सोभियत सँघको विघटनमा समाजबादको मृत्यु भयो भनी खुशीयाली मनाए तर त्यहाँ धेरै बर्ष अघि ख्रुश्चेबको उदयसँगै समाजबादको अबशान भैसकेको थियो । त्यहाँ जे ढल्यो, त्यो सामाजिक फासीबाद थियो । सामाजिक फासीबादको पतन पछी बिश्वमा संसदीय व्यवस्थाको लहर चलेकै हो र क्रान्तीकारी शक्तीहरु उक्त परिघटना पछी पनि अफेन्सिभ हुन सकेनन, डिफेन्सिभ नै हुन पुगे। लिडरशिप र कार्यदिशाको संकटबाट गुज्रीन पुगे, जुन अबस्था अद्यावधि कायमै छ । यसलाई समाजबादको असफलता होइन कि सामाजिक फासीबादीको असफलता हो भन्ने कांग्रेसले बुझेको छैन ।

नेपालमा पनि बर्तमान सरकार संसदीय विपक्षीलाई पेल्ने मात्र होइन संसद बाहिर रहेका क्रान्तीकारीहरुप्रती पनि दमनचक्र चलाइरहेको छ । उ आफैले फलाकेर नथाक्ने आर्थिक समृद्धी र राष्ट्रियताको बिषयमा रत्तिभर प्रगती छैन । यस्का नेताहरू वर्गसंघर्षको कुरा त गर्छन तर जनतासँग उल्टो वर्गसंघर्ष गरेका छन । देश भित्र किसान, मजदुर दिनानुदिन पिडित हुँदै जाने तर माफिया, तस्कर, नाफाखोरहरु   मोटाउदै जाने स्थिती छ । उनिहरुको प्रगती दिन दुगुना र रात चौगुना भैरहेको छ । स्थानीय निकायले साइकल, कुखुरा, बाख्रा समेतको कर लिन थालेको समाचारहरु आएका छन । जन्म/विवाह /मृत्यु दर्ता र बसाइँसराइमा समेत महङ्गो कर लिइएको छ भने शिक्षा, स्वास्थ्य र बुढेसकालको सामाजिक सुरक्षातर्फ राज्य गैरजिम्मेवार हुँदै गैरहेको छ ।

त्यसकारण यो सामाजिक फासिबादतर्फ अग्रसर सरकार हो, तर नेपाली कांग्रेस लगायत केही संसदीय पार्टीहरुले यो सरकारलाई कम्युनिष्ट सरकार, अधिनायकवादी भन्न राजनैतिक ढंगले सही होइन, यो केबल एउटा फत्तुर बाहेक केही होइन । कथमकदाचित अर्को निर्वाचन मार्फत उनिहरु सरकारमा आउन सफल भएपनी उनिहरुले गर्ने पनि उस्तै हो । नेपाली जनताकोतर्फबाट सरकारको सामाजिक फासीबादी कदमहरुको बिरोध र शसक्त घेराबन्दी गर्नुको विकल्प छैन, अन्यथा देश विघटनतर्फ जाने खतरा बढेर गएको छ । प्रतिपक्षी कांग्रेस लगायत अन्य पार्टीहरुलाई घृणित राजनैतिक दाउपेचबाट मुक्त हुँदै रास्ट्रको बारेमा सोच्ने शक्ति मिलोस । संसद बाहिरका क्रान्तीकारी शक्तीहरु पनि व्यापक रुपमा जनताको बिचमा जान सकुन । अन्त्यमा सबलाई चेतना भया ।

नयाँ